+

‘अनिद्रा र तनावले गर्दा बालबालिकाले डरलाग्दो सपना देख्छन्’

२०८० असार  २८ गते १३:११ २०८० असार २८ गते १३:११
‘अनिद्रा र तनावले गर्दा बालबालिकाले डरलाग्दो सपना देख्छन्’

निदाएको बेला कहिलेकाहीं डरलाग्दो सपना देखिन्छ । यस्तो सपना देख्दा राति अचानक निद्रा खुल्ने, डर लाग्ने पनि हुन्छ । यस्तो समस्या वयस्क व्यक्तिको तुलनामा बच्चामा धेरै हुन्छ ।

निद्रामै उठेर बच्चाहरू एक्कासि ब्युँझिन्छन्, रुन थाल्छन् वा उठेर हिंड्छन् । बच्चाले यस्तो गतिविधि देखेर अभिभावकहरू डराउने पनि गर्छन् । बच्चाले बारम्बार नराम्रो सपना देखिरहन्छन्, निद्राबाट बिउँझिन्छन् भने यसको पछाडि कारणहरू हुन्छन् ।

बालबालिका निद्राबाट अचानक उठ्छन् भने उनीहरूमा निद्रासम्बन्धी समस्या ‘नाइट मेयर’ र ‘नाइट टेरेर’ भएको हुन सक्छ ।

नाइटमेयर

नाइट मेयर विशेषगरी तीन वर्षभन्दा माथिका बालबालिकामा धेरै देखिने गर्छ । किनकि बच्चाले निद्रामा सपना देख्न थाल्ने उमेर तीन वर्षमाथि हो । निद्राको मुख्यतया दुईवटा चरण हुन्छन्, नन-र्‍यापिड आई मुभमेन्ट र र्‍यापिड आई मुभमेन्ट । निद्राको दोस्रो चरणमा बच्चाले भयानक सपना देख्ने हुन्छ ।

साना बालबालिकाले सपनामा जंगली जनावरले लखेटेको देख्ने, कार्टुनमा वा फिल्ममा राक्षस देखेका छन् भने त्यसलाई देख्ने गर्छन् । अलि ठूला बालबालिकाले कुटपिट भएको, मान्छे मरेको, आफू हराएको लगायतका भयानक सपना देख्न सक्छन् त्यो नै नाइट मेयर हो ।

ठूला बालबालिकामा तनाव, चिन्ता, एन्जाइटी तथा डिप्रेसन हुँदा पनि नाइट मेयर आउने गर्छ ।

नाइटटेरेर

नाइट टेरेर निद्राको पहिलो चरणमा देखिन्छ । यो समस्यामा बच्चा राति एक्कासि ब्युँझिएर कराउने, चिच्याउने, रुने, पसिना निकाल्ने, छिटो-छिटो सास फेर्ने गर्छन् । राति के सपना देखेर एक्कासि ब्युँझिएको भन्ने कुरा बच्चालाई याद हुँदैन । नाइट टेरेरमा बच्चा कहिलेकाहीं उठेर हिंड्ने पनि गर्न सक्छ ।

नाइटमेयर र नाइटटेरेरबीच फरक  

नाइट मेयरमा बालबालिकाहरू बिहान उठेर डराउने, तर्सिने गर्छन् भने नाइट टेरेरमा बच्चाहरू राति नै निद्राबाट एक्कासि ब्युँझिएर आत्तिने, रुने, कराउने गर्छन् ।

नाइट मेयरमा के सपना देखेको बच्चालाई याद हुन्छ भने नाइट टेरेरमा के सपना देखेको थियो भन्ने याद नै हुँदैन ।

यस्तो समस्या देखिनुको कारण

बालबालिकामा देखिने यस्तो नाइट मेयर र नाइट टेरेर जस्ता समस्या निद्रासम्बन्धी समस्या हुन् । बच्चालाई पनि विभिन्न तनाव हुन्छ । जस्तो पढाइको चिन्ता, राम्ररी निद्रा पाएन र उसमा केही शारीरिक समस्या छ भने यस्तो समस्या देखा पर्छ । साथै एन्जाइटी डिप्रेसनको कारण नाइट मेयर र नाइट टेरेरको समस्या देखिन्छ ।

उपचार

अनिद्रा र तनावका कारण बच्चामा यस्तो समस्या देखा पर्ने हुन्छ । त्यसैले बच्चामा यस्तो समस्या देखा पर्‍यो भने बच्चा के कारणले राम्ररी सुतेको छैन, उसलाई के कुराले तनाव भएको छ भनेर अभिभावकले पत्ता लगाएर त्यसको व्यवस्थापन गर्नुपर्छ । यसो गर्दा समस्या कम हुन्छ ।

बच्चामा नाइट मेयरको समस्या देखियो भने अभिभावकहरू आत्तिने गर्छन् । तर यसको लागि विशेष उपचार हुँदैन । बच्चालाई के कारणले तनाव भएको छ, त्यसलाई व्यवस्थापन गरेपछि यो समस्या कम हुन्छ ।

नाइट टेरेरमा बच्चा निद्राबाट उठेर रुने, कराउने, उठेर हिंड्ने भएकाले अभिभावकले बच्चाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । उठेर हिंड्दा दुर्घटना हुन सक्ने भएकाले उसलाई सुरक्षित ठाउँमा सुताउनुपर्छ र सँगै सुत्नुपर्छ ।

नाइट टेरेरको समस्या बारम्बार दोहोरिरह्यो भने केही महिनाको लागि औषधि पनि खानुपर्ने हुन्छ । तर नाइट मेयर र कतिपय नाइट टेरेरको समस्या अभिभावकको परामर्शबाट नै निको हुन्छ ।

नाइट टेरेर र छारेरोगको लक्षण मिल्ने भएकाले अभिभावकहरू झुक्किन सक्छन् । त्यसैले बच्चा राति उठेर रुने, कराउने र आत्तिने गर्छ भने कस्तो समस्या हो भनेर पत्ता लगाउनुपर्छ । नाइट टेरेरमा बच्चामा यस्ता लक्षण दुईदेखि पाँच मिनेटसम्म रहन्छ भने छारेरोगमा भने दुई मिनेटसम्म मात्र देखिन्छ ।

(डा. कार्की कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

नाइट मेयर बच्चा सपना
डा. उत्कर्ष कार्की
लेखक
डा. उत्कर्ष कार्की
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८८१५ अध्ययन : एमबीबीएस, एमडी (मनोचिकित्सा), डीएम (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा) हाल काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय