+
+

काठमाडौंबाट एक वर्षमै १८ हजार मोबाइल हराए, १६ सय मात्रै भेटिए

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन १ गते १६:२३

१ साउन, काठमाडौं । देशको राजधानी काठमाडौंबाट एक वर्षमा १८ हजार ११२ वटा मोबाइल हराएको भन्दै प्रहरीमा उजुरी परेको छ । तीमध्ये ११ हजार १४६ वटा मोबाइल चोरी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मोबाइल खोजतलास शाखामा आर्थिक वर्ष ०७९÷०८० मा परेका निवेदनमध्ये ५ हजार ८२५ वटा सम्बन्धित व्यक्तिको लापरबाहीका कारण हराएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की बताउँछन् ।

प्रहरी कहाँ निवेदन परेकामध्ये १ हजार १४३ वटामा पाकेटमारी गरेर मोबाइल लगिएको थियो ।

‘चोरी र लुटपाट भएर मोबाइल हराउनु भनेको राज्यको, हाम्रो कमजोरी होला । तर, मोबाइल धनी स्वयम्को कमजोरीले हराउने संख्या पनि धेरै छ’, कार्कीले भने, ‘मोबाइल भेटिने दर चाहिँ एकदमै नगन्य छ ।’

उनका अनुसार, यो आर्थिक वर्षमा हराएका कुल मोबाइलमध्ये १० प्रतिशत मात्रै अर्थात् १६ सय ५० वटा मात्र फेला परेका छन् । एसएसपी कार्कीका अनुसार, हराएका अधिकांश मोबाइल भारतसम्म पुर्‍याइने हुनाले फेला पार्न कठिन हुन्छ । ‘त्यसमाथि धेरै चाप हुने भएकाले हरेकमा सधैं फलोअप गरिरहन पनि कठिनाइ छ’, कार्की भन्छन् ।

उजुरी गर्नेमा अधिकांश महिला

खोजतलास शाखाको तथ्यांकअनुसार मोबाइल चोरी भएको उजुरी गर्नेमध्ये अधिकांश महिला छन् । ‘महिलाहरुले खल्तीभन्दा लामो मोबाइल बोक्ने गरेका छन्,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘सोही कारण पनि महिलाको मोबाइल धेरै हराउने गरेको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार, कतिपय अवस्थामा बाटो हिँड्दा हिँड्दै कहिले सार्वजनिक सवारीसाधनमा चढ्दा र कहिले बैंक, पार्क, अस्पताललगायत स्थानमा बसेकै बेलासमेत मोबाइल चोरी हुने गरेको छ ।

उनका अनुसार, आर्थिक अवस्था कमजोर भएकाहरुले सहजै पैसा कमाउने उद्देश्यले पनि चोरी गर्ने गरेका छन् । ‘पहिले–पहिले पकेट काटिन्थ्यो । पर्स चोरिन्थ्यो । तर, अहिले मान्छेले पर्समा पैसा बोक्न छाडिसके’, उनी भनछन्, ‘अहिले एक व्यक्तिको पर्स चोर्दा पाँच सय रुपैयाँ भेटिएला । तर, फोन त सबैले महँगो बोक्छन् । त्यो बेच्दा कम्तिमा पनि पाँच हजार त आउँछ, त्यसैले मोबाइल चोरी बढेको छ ।’

अघिल्लो आर्थिक वर्षमा चोरिएको मोबाइल फेला पर्ने दर ५ प्रतिशत भएपछि अहिले बढेर १० प्रतिशतमा पुगेको उनी बताउँछन् । यद्यपि, त्यो सन्तोषजनक नभएको उनी स्वीकार्छन् ।

मोबाइल भेटिन्छन्, चोर भेटिँदैनन्

कतिपय मोबाइल आईएमईआई नम्बर ट्रेस गरेर भेटिने गरेका छन् । तर, मोबाइल चोरी गर्ने व्यक्ति भने कमै पक्राउ पर्छन् ।

प्रहरी अधिकृतहरुका अनुसार, मोबाइल चोरी हुनेबित्तिकै पहिले पीडित आफैंले खोजी गर्छन् । अर्को दिन प्रहरीमा पुग्छन् । त्यहाँ आईएमईआई नम्बर र अन्य विवरण टिपाएपछि ट्रेस गर्ने अनुमति लिन खोजतलास शाखामा आईएमईआई नम्बर रजिस्टर गरिन्छ । र, अदालतमा त्यो नम्बर पठाइन्छ ।

अहिले सिधै टेलिकमको वेवसाइटमा रहेको मोबाइल ट्याकिङ प्रणालीमा पनि रजिष्टर गरिन्छ । त्यसबाट मोबाइलमा नयाँ सीम हालेको पाइए सम्बन्धित व्यक्तिको मोबाइलमा डिटेल जान्छ ।

त्यसरी प्राप्त हुने नम्बरमा अदालतबाट अनुमति लिएर प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशन निकाल्छ । त्यसपछि मोबाइल चोरी गरेको व्यक्तिसम्म पुग्छ । तर, प्रहरी अधिकृतहरुका अनुसार, यसरी मोबाइलसम्म पुग्दा अधिकांश घटनामा सम्बन्धित चोरसम्म प्रहरी पुग्दैन ।

‘मोबाइल ट्रेस गरेर त्यहाँ पुग्दा उसले चोरी गरेको व्यक्तिबाट सस्तोमा किनेको खुल्छ, फेसबुकको मार्केट प्लेस लगायतबाट चोरीको मोबाइल बिक्री गर्ने गरिएको पाइएको छ’, मोबाइल खोजतलास शाखाका एक अधिकृत भन्छन्, ‘त्यसपछि सम्बन्धित चोरसम्म पुग्नै गाह्रो हुन्छ ।’

चोरीका मोबाइल सीमापारि

खोतलास शाखामा कार्यरत प्रहरीहरुका अनुसार केही वर्ष अघिसम्म भारतको बिहारमा लगेर चोरीका मोबाइल बिक्री हुने गरेका थिए । सस्तोमा पाउने लोभमा त्यस्ता मोबाइल खरिद गर्ने व्यक्तिको ओइरो लाग्थ्यो । तीमध्ये ५० प्रतिशत नेपाली नै हुने गरेको प्रहरीको भनाइ छ ।

मोबाइल खरिद गरेपछि नेपाली सिमकार्ड प्रयोग हुनेबित्तिकै प्रहरीको फन्दामा मोबाइल खरिदकर्ता पर्छन् । र, पीडितले हराएको मोबाइल फोन प्राप्त गर्छन् । तर, अहिले मोबाइल चोरको प्रवृत्ति फेरिँदै गएको प्रहरीको भनाइ छ ।

एक प्रहरी अधिकृत भन्छन्, ‘अहिले नेपालका मोबाइल फोनहरु सीधै दिल्ली पुग्ने गरेको देखिन्छ, जसले गर्दा भेटिने संख्या कम भएको हो ।’ कतिपय घटनामा मोबाइलको पाटपुर्जा निकालेर समेत बिक्री गर्ने गरेको पाइएको काठमाडौं प्रहरीका एसपी सीताराम रिजाल बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?