+
+
फिर्केखोलाको खोज :

‘फिर्केखोलाको पानी खान्थ्यौं, पौडी खेल्थ्यौं’

विकास रोकामगर विकास रोकामगर
२०८० साउन ३ गते २०:०७

३ साउन, पोखरा । पोखराको मध्य भाग भएर बग्ने फिर्केखोला पोखरा महानगरपालिका–६ गाईघाटका ५८ वर्षीय बाबुराम अधिकारीको घरअगाडि फेवातालमा मिसिन्छ ।

पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु हुने ८ किलोमिटर लामो फिर्केखोलाको मापदण्ड १० मिटर तोकिएको छ । तर मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिने मात्रै होइन, बीच–बीचमा ‘गायब’समेत भएको छ ।

कुनै समय ४० मिटरसम्म फैलिएको यो खोला क्षेत्र अतिक्रमण गरेर संरचना ठड्याइएको छ । केही वर्षअघिसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि लायन्स क्लब र धार्मिक समितिले व्यापारिक भवन बनाएका छन् ।

हाल फिर्केखोला अतिक्रमण मात्रै होइन, ढल तथा मलमूत्र समेत खोलामा मिसाउँदै आएका छन् । जिल्ला कारागार कार्यालय कास्की लगायतका सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनी फिर्केमा सीधै सेफ्टी ट्यांकीको ढल मिसाएका छन् । यसले खोला मात्र होइन, फेवाताल समेत दुर्गन्धित बनेको छ ।

करिब ४९ वर्षअगाडि बाबुराम अधिकारी गाईघाटमा आइपुग्दा फिर्केखोलाकै पानी पिउँथे, पौडी खेल्थे । ‘हामी यहाँ आउँदासम्म खोला एकदमै सफा थियो, अन्यत्र खानेपानी थिएन, यही खोलाको पानी खाइन्थ्यो’, अधिकारी सम्झिन्छन् । तर बस्ती विकास भएसँगै फिर्केखोलाको पानी विस्तारै धमिलो हुँदै जान थाल्यो ।

११ वर्षको उमेरमा आएका गाईघाटमा ५० वर्षीय चेतराम रनपालको पनि उस्तै अनुभव छ । ‘यहाँ हामी पौडी खेलेर कहाँ–कहाँ पुगिन्थ्यो । फेवाताल पनि पूरै सङ्लो थियो । यही पानी खान्थ्यौं’ रनपालले सम्झिए, ‘अहिले त यो पानीमा पस्न पनि डर लाग्ने भयो । भएभरको फोहोर यसैमा मिसिएर आउँछ ।’

फिर्के किनारमा बस्दै आएका स्थानीयहरूका अनुसार करिब एक दशक अघिबाट फोहोर हुन थालेको हो । खोलामा अत्यधिक ढल मिसिंदा दुर्गन्धले नजिक बस्नै नसकिने अवस्था छ । बाबुराम अधिकारी भन्छन्, ‘१२/१३ वर्ष भयो होला यो खोला यति धेरै फोहोर हुन थालेको, त्योभन्दा अगाडि सफा नै थियो ।’

पटक–पटक सिमांकन, प्रगति शून्य

अतिक्रमणको चर्को चपेटामा रहेको फिर्केखोलामाथि पटक–पटक सिमांकन र नक्सांकन भएका छन् । विभिन्न समयमा विभिन्नथरी प्रतिवेदन पनि तयार भएका छन् । तर, प्रतिवेदनहरू कार्यान्वयन नहुँदा फिर्केखोला बर्सेनि साँघुरिंदै गइरहेको छ ।

हाल जिल्ला प्रशासन कार्यालय कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका गुरुदत्त बरालको संयोजकत्वमा २०६९ मै फिर्केखोलाको सिमांकन गरिएको थियो ।

बराल तत्कालीन समयमा क्षेत्रीय प्रसारणमा कार्यरत हुँदा सिमांकन समितिको संयोजक भएर सिमांकन गरेका थिए । ‘त्यतिबेला हामीले झन्डै २० दिन लगाएर फिर्केखोलाको सिमांकन प्रतिवेदन तयार पारेका थियौं । त्यो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयबाटै सिफारिस भएको पनि थियो’ बरालले अनलाइनखबरसँग भने, ‘गृह मन्त्रालयदेखि त्यो प्रतिवेदन कार्यान्वयन गर्न पत्र आएको पनि हो । हामीले स्थानीय तहलाई चिठी पनि लेख्यौं ।’

तर, त्यतिबेला स्थानीय तह नेतृत्वविहीन भएको भन्दै प्रतिवेदन कार्यान्वयन नगरिएको ढकाल बताउँछन् । त्यतिबेला बराल नेतृत्वको समितिले २०३२ सालको नापी नक्साका आधारमा खोलाको सिमांकन प्रतिवेदन तयार पारेको थियो ।

निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि रेखांकन तथा सिमांकन प्रतिवेदन तयार पारेको थियो । २०३२ को नक्सा अनुसार १० मिटर मापदण्ड भए पनि ५ मिटर मापदण्ड आधार मानेर महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्केखोलाको सिमांकन गरिएको थियो । उक्त प्रतिवेदनले फिर्केखोला मिचेर १९२ वटा संरचना बनेको देखाएको थियो । जसमा फिर्केखोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ–संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो ।

२०७६ को उपनिर्वाचनमा फिर्केको मापदण्डमाथि चरम राजनीति भएको थियो । कुनै अध्ययन प्रतिवेदन विनै मतदाता रिझाउन १० मिटरको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सम्झौता नै गरिएको थियो । कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त पदमा भएको उपनिर्वाचनको नेकपा एमालेले नियम विपरीत १० मिटरको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सम्झौता भएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिल कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्केखोलाको मापदण्ड घटाउने सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

तत्कालीन समयमा महानगरका मेयर जिसीको प्रतिनिधिका रूपमा वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका थिए । गोप्य राखिएको उक्त सम्झौता बाहिरिएसँगै मेयर जिसीको चर्को आलोचना भएको थियो । पछि अधिकृत शर्माले ‘साँझको बेला हस्ताक्षर गरेकाले गल्ती भएको’ भन्दै माफी मागेका थिए ।

खोलाको आकार खोज्न सुरु, मापदण्ड घट्ने

पोखरा महानगरले बुधबारदेखि अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको पुरानो आकार खोज्न सुरु गरेको छ ।

अमिन वासुदेव पौडेलको नेतृत्वमा टोली गठन गरेर पोखरामा खोलाको पुरानो बाटो खोज्न सुरु गरेको हो । फिर्केखोलाको अन्तिमविन्दु गाईघाटदेखि खोलाको वास्तविक बाटो खोज्न थालिएको हो । त्यसका लागि २०३२ सालको नक्सालाई आधार मानिएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार हाल खोलाको मापदण्ड नभई खोलाघर मात्रै सिमांकन गर्न थालिएको हो ।

मेयर आचार्यले फिर्केखोला सहित सेती नदी लगायत पोखरामा भएका सबै खोलानालाको मापदण्ड तय गरेर अगाडि बढिरहेको र त्यसैक्रममा फिर्केखोला फेवातालमै मिसिने भएकाले यसैलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।

‘सबैभन्दा पहिले फिर्केको ‘राइट अफ वे’ क्लियर गर्ने कार्यपालिकाबाट निर्णय गरेका छौं । कार्यान्वयन गर्न केही समस्या देखियो, थुप्रै ठाउँबाट पनि फिर्के अतिक्रमण भयो भन्ने धेरै गुनासो आयो’ मेयर आचार्यले भने, ‘स्थानीय सरकारको ड्युटी अनुसार हामीले फिर्केको वास्तविक खोलाघर खोज्न सुरु गरेका हौं ।’

एक साताभित्र फिर्केखोलाको वास्तविक आकार पत्ता लगाइसक्ने गरी प्राविधिकहरू खटिएको महानगरको भनाइ छ । लामो समयदेखि फिर्के खोलाको मापदण्ड १० भए पनि अहिले ५ मिटर बनाउने तयारी भइरहेको मेयर आचार्यले जानकारी दिए । ‘फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्ने खालका कुराहरू पनि आएका छन् । त्यसमा अहिले विज्ञहरूको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ’ मेयर आचार्यले भने, ‘केही दिनमा मापदण्ड पनि क्लियर हुनेछ ।’

पहिलो चरणमा खोलाको वास्तविक आकार पत्ता लगाइने र मापदण्ड तोक्ने र लागू गर्ने दोस्रो चरणमा गरिने महानगरले जानकारी दिएको छ । मापदण्डका विषयमा भने असोज पछि मात्रै योजना बनाइने मेयर आचार्यको भनाइ छ ।

‘मापदण्ड लागू गर्नुभन्दा पहिले ३ महिनाको समय दिन्छौं । कतिपय ठूल्ठूला संरचना पनि बनेका छन्, तिनीहरूलाई हटाउन समय दिन्छौं’ उनले भने, ‘त्यसपछि मापदण्डभित्र बनेका सरकारी, व्यक्तिगत सबै प्रकारका संरचना हटाउँछौं ।’
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने महानगरको योजना छ । एसियाली विकास बैंक (एडीबी) को पोखरामा ‘सस्टेनेवल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने मेयर आचार्यले जानकारी दिए ।

‘त्यसको दायाँ–बायाँ साइकल लेन, फुट ट्रेल बनाउने, लाइट राख्ने, ठाउँठाउँमा चेक ड्याम बनाउने, रातिको बेला पनि सुरक्षित तरिकाले हिंड्न मिल्ने बनाउँछौं’ फिर्के कोरिडोर व्यवस्थापनका लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको भन्दै मेयर आचार्यले भने, ‘हिउँदको बेला फिर्केको पानी सुक्छ । त्यसबेला पनि मर्दी खोलाको पानी राखेर बाह्रै महिना पानी बग्ने बनाउने योजना छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?