+

के हुन्छ जब हामी पानी पिउँछौं ?

२०८० साउन  ११ गते १६:४१ २०८० साउन ११ गते १६:४१
के हुन्छ जब हामी पानी पिउँछौं ?

मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ । जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ ।

शरीरमा पानीको कमी भएमा विभिन्न समस्या हुन्छ । त्यसैले त्यसैले दुई-दुई घण्टाको फरक पानी पिउनु एकदम लाभदायक हुन्छ । पानीले शरीरमा ऊर्जा दिनुका साथै पाचन पक्रिया सहज बनाउँछ ।

पानीमा कुनै पोषक तत्व हुन्छ ?

पानीमा पाइने मिनरल्स वा खनिज पदार्थ प्राकृतिक रुपमा मुहानको पानी पाइन्छ । तर आजभोलि पिउने पानीमा मिनरल्सको कमी पनि हुन सक्छ । तर मिनरल्स पनि शरीरलाई फाइदा र बेफाइदा गर्ने हुन्छन् । पानीमा आइरन, कपर अत्यधिक मात्रामा भएमा हानिकारक हुन्छ भने मिनरल्सले खानेकुरा पचाउन, शरीरमा तरल पदार्थ सन्तुलन मिलाउन र हड्डी बलियो बनाउन मद्दत गर्छ ।

पानीले धेरै फाइदा पुर्‍याउने अंग

सामान्यतया पानीले शरीरका सबै अंगलाई फाइदा नै गरिरहेको हुन्छ । यही नै अंग भनेर तोक्न सकिंदैन । मुख्यतया मिर्गौला सही तरिकाले काम गर्न मद्दत पुर्‍याउँछ । यसबाहेक शरीरमा रगत बनाउन, हड्डी बलियो बनाउन, मांसपेशी तन्दुरुस्त र पाचन पक्रिया बलियो बनाउन भूमिका निर्वाह गरिरहेको हुन्छ ।

शरीरभित्रको पोषक तत्व सोस्न, रक्तप्रवाह निरन्तर गर्न, मिर्गौलामा पत्थरी, हार्मोन, दिमाग स्वस्थ र मानसिक रुपमा फूर्तिलो बनाउन र छालाको सौन्दर्यलाई जीवन्त राख्न मद्दत गर्छ ।

पानी कति पिउनुपर्छ ?

शरीरमा पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसम र तौलमा निर्भर गर्छ । सामान्य काम गर्ने मानिसले दैनिक तीनदेखि चार लिटर पिउन जरुरी हुन्छ । तराईमा बढी गर्मी हुने भएकाले पानी पिउने मात्रा अझै बढी हुनुपर्छ ।

यदि पिसाबको रंग सेतो छ भने शरीरमा पानीको मात्रा ठीक यदि पहेको भएमा पुगेको छैन भनेर थाहा पाउन सकिन्छ ।

पानी कति अवधिमा पिउनुपर्छ ?

बिहान उठ्नै बित्तिकै मनतातो पानी पिउने, खाना खानुघि र खाना खाइसकेको आधा घण्टापछि पानी पिउने गर्नुपर्छ ।

पानी पिउनुका फाइदा

नियमित पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने मिर्गौला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिन्द्रा, एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, मधुमेह, चायापोतो, डण्डीफोर, महिनावारीको गडबडी, हार्मोनहरुको गडबडी, कोलेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ । यी रोग लागेकाले नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।

पानीले हानि पनि गर्नसक्छ ?

पानी मात्र होइन जुनसुकै खानेकुरा अत्यधिक रुपमा सेवा गरेमा त्यसले फाइदाको सट्टा हानि गर्छ । यद्यपि पानी पिउँदै नपिउँदा वा थोरै पिएमा पनि शरीरमा असर गर्दछ । शरीरमा पानीको कमी भएर यी समस्याहरु हुन सक्छ ।

टाउको दुख्ने, थकान महसुस हुने

शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी हुने वा दुख्ने गर्छ । पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसले गर्दा थकान, अल्छी, ध्यानकेन्द्रित नहुने जस्ता समस्या हुन्छ ।

जोर्नी र मांसपेशीमा समस्या

पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । त्यसैले यसको त्यस्तै, पिंडुला दुख्ने, जोर्नीहरु दुख्ने, बाउँडिने समस्या देखा पर्छ ।

पाचनसम्बन्धी समस्या

खानेकुरा राम्रोसँग नपच्नुमा पाचन प्रक्रियामा गडबडी हुन सक्छ । यसले गर्दा कब्जियत, अल्सर, अपच हुने समस्या देखिन्छ ।

मिर्गौलामा समस्या

शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । किनकि पानीको कमी हुँदा मिर्गौलाले फिल्टर गरेर शरीरमा भएका विकार तत्व बाहिर निकाल्न सक्दैन । फलस्वरुप मिर्गौला कमजोर भएर मिर्गौलामासमेत पत्थरी हुने जोखिम हुन्छ ।

न्यून रक्तचापको समस्या

पानीको कमीका कारण शरीरमा अचानक रक्तचाप (ब्लडप्रेसर) घट्न सक्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिंगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन् ।

छाला सुक्खा

शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, तथा विभिन्न छालाका समस्या आउन सक्छ । साथै कम उमेरमा नै बुढ्यौली तथा छाला चाउरी पर्ने हुन सक्छ । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने समस्या हुन्छ ।

मुड परिवर्तन

कहिलेकाहीं एक्कासि रिसाउने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी हुने गर्छ । डिहाइड्रेसन हुँदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।

बेहोस हुने

शरीरमा पानीको कमी हुँदा डिहाइड्रेसन भएर बेहोस हुन सक्छ । पानीको कमी भएका गर्मीमा हिंड्ने वा परिश्रम धेरै गरेमा अचानक बेहोस हुने समस्या हुन्छ ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

पानी स्वास्थ्य
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय