+
+

चुनौतीमा फोल्डेबल फोन : यस्तो छ इतिहास, बजार र भविष्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:२५

काठमाडौं । विश्वमा स्क्रिन नै फोल्ड गर्न मिल्ने स्मार्टफोनको इतिहास खासै लामो छैन । सन् २०१८ मा चिनियाँ कम्पनी रोयोलले विश्वमै पहिलोपटक रोयोल फ्लेक्सपाई ब्राण्डबाट फोल्डेबल स्मार्टफोन बजारमा ल्याएको थियो ।

चिनियाँ कम्पनीको बाटो पछ्याउँदै दक्षिण कोरियाली कम्पनी सामसुङले अर्को वर्ष अर्थात् सन् २०१९ मा आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन लञ्च गर्यो । सामसुङले यसैसाता आफ्नो पाँचौँ संस्करणको फोल्डेबल स्मार्टफोन बजारमा ल्याएको छ ।

यसअघि जुन अपेक्षाका साथ सामसुङले फोल्डेबल स्मार्टफोनहरु बजारमा ल्यायो, त्यसले प्रयोगकर्ताहरुमा खासै उत्साह र आकर्षण सिर्जना गर्न सकेको देखिएन । यद्यपि फोल्डेबल फोनका प्रयोगकर्ताको अनुभूति र सन्तुष्टिलाई अझै उत्कृष्ट बनाउनका लागि सामसुङ लगायतका कम्पनीले लगातार यो क्षेत्रमा अनुसन्धान तथा विकासमा मिहिनेत गरिरहेका छन् ।

विश्वको स्मार्टफोन बजारमा केही वर्षमै धेरै परिवर्तन आइसकेको छ । फिचर फोनको अस्तित्व करीब समाप्त नै भसकेको छ र स्मार्टफोन निर्माता कम्पनीहरुले नयाँ–नयाँ प्रयोग गरिरहेका छन् र फोल्डेबल स्मार्टफोन यसको पछिल्लो उदाहरण हो । यद्यपि स्मार्टफोनमा फोल्डेबल प्रविधि सन् २०१८ मा मात्रै भित्रिएको हो । तर फोल्डेबल मोबाइल फोनको इतिहास भने २३ वर्ष पुरानो छ ।

फोल्डेबल फोनको इतिहास

सन् २००० को सुरुवातबाटै कम्प्याक्ट तथा पोर्टेबल डिभाइसहरु विश्वभरका मानिसहरुले निकै रुचाउन थालेका थिए । सोही कारणले गर्दा कम्पनीहरुले फोल्ड गर्न सकिने मोबाइल फोनको उत्पादन गर्न थाले । यद्यपि फोल्डेबल फोनका बारेमा सन् १९६० देखि नै अनुसन्धान सुरु भएको थियो । पछि सन् १९९० को दशकमा यो प्रविधिका बारेमा धेरै काम भयो ।

मोटोरोला र नोकियासँगै सामसुङ, सोनी एरिक्सन र एलजी लगायतका कम्पनीहरु पनि आकर्षक डिजाइनका साथ फोल्डेबल तथा फ्लिप फोनको बजारमा प्रवेश गरे । कम्पनीहरुले आ–आफ्ना लक्षित ग्राहकको रुचि अनुसार फोल्डेबल तथा फ्लिप मोबाइल फोनहरु बजारमा ल्याए । मोबाइलको रङ, कभर, डिस्प्ले तथा फिचरहरुलाई उत्कृष्ट बनाउनका लागि कम्पनीहरुबीच प्रतिस्पर्धा चल्यो ।

स्मार्टफोनले बदल्यो बजार

सन् २००५–०६ तिरै बजारमा स्मार्टफोनको प्रवेशसँगै मोबाइल फोनको विश्व बजार पूर्णरुपले बदलियो । फ्लिप फोनहरु आकारमा गठिलो (कम्प्याक्ट) तथा प्रयोग गर्न निकै सजिलो भएका कारणले लोकप्रिय भैरहेको बेला टचस्क्रिनवाला स्मार्टफोनहरुले बजारमा प्रभुत्व जमाउन थाले । स्मार्टफोनको लोकप्रियता बढेसँगै बजारमा फ्लिप फोनको माग घट्दै गयो । प्रयोगकर्ताहरु स्मार्टफोनको टचस्क्रिन डिस्प्लेमा अभ्यस्त र आशक्त बन्दै गए । मानिसहरुका लागि मोबाइलको टचस्क्रिन एक प्रकारले स्टाटस सिम्बोल बन्न थाल्यो । मानिसहरुले नयाँ नयाँ स्मार्टफोनमा रुची राख्न थाले र पुराना फिचर फोन भुल्दै गए ।

उपभोक्ताहरुको रुचि बदलिएसँगै कम्पनीहरुले पनि ठूला–ठूला डिस्प्ले, बढी क्षमतायुक्त क्यामरा तथा फास्ट प्रोसेसरयुक्त स्मार्टफोनहरु बनाउन थाले । त्यसका साथै एप्स, सोसल मिडिया तथा अन इन वन डिभाइसहरु मार्केटमा आएसँगै फ्लिप फोनहरु बजारबाट झण्डै लोप भए ।

फोल्डेबल फोनको पुनरागमन

तर सन् २०१८ मा मोबाइल फोनको बजारमा फोल्डेबल फोनको पुनरागमन भएको छ तर पुरानो फ्लिप फोनको रुपमा नभई स्क्रिन नै पट्याउन मिल्ने अत्याधुनिक फोल्डेबल स्मार्टफोनको रुपमा । प्रविधिमा भएको तीव्रतर विकास र अन्वेषणसँगै स्मार्टफोन कम्पनीहरुले एकपछि अर्को गर्दै फोल्डेबल स्मार्टफोनहरु बजारमा उतारिरहेका छन् । पहिले कल्पनामा मात्रै सीमित फोल्डिङ स्क्रिनको कुरा यथार्थ बनिसकेको पनि ५ वर्ष पुगिसकेको छ । कहिलेकाहीँ यस्तो पनि लाग्नसक्छ कि फोल्डेबल फोन नै स्मार्टफोनको भविष्य हो ।

चिनियाँ कम्पनीले सन् २०१८ मा विश्वकै पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याएर यो क्षेत्रको श्रीगणेश गरेपछि अर्को वर्ष नै ग्यालेक्सी फोल्डमार्फत् सामसुङ कम्पनी फोल्डेबल स्मार्टफोन बजारमा जबरजस्त प्रवेश गर्यो । सामसुङको ग्यालेक्सी फोल्डमा लचिलो डिस्प्ले थियो, जसलाई किताबजस्तै खोल्न र पट्याएर राख्न सकिन्थ्यो । सामसुङपछि अर्को चिनियाँ कम्पनी हुवावेले मेट एक्स नामक फोल्डेबल स्मार्टफोन लञ्च गरी बजारलाई सम्भावनाहरुले भरिदियो ।

फोल्डेबल फोन : चुनौतीहरु भरिपूर्ण

वास्तवमा फोल्डेबल फोनका पछाडि एउटा लामो विकास प्रक्रिया छ जसमा कम्पनीहरुले विभिन्न खालका चुनौतिहरुको सामना गर्नुपरेको छ । यसको अर्थ यो होइन कि यी चुनौतिहरु अब समाप्त भैसकेका छन् ।

फोल्डेबल फोनको अगाडि आउने सबैभन्दा महत्वपूर्ण प्राविधिक चुनौति भनेको डिभाइसको टिकाउपन प्रमुख हो । फोल्डेबल डिभाइसलाई प्रयोग गर्दा पटक–पटक खोल्नु पर्दछ । यसले फ्लेक्सिबल डिस्प्ले र हिन्ज सिस्टममा दबाब पार्दछ ।

सामसुङको ग्यालेक्सी फोल्ड लगायतका सुरुवाती फोल्डेबल फोनहरुले यस्तो टिकाउपनाको समस्या झेल्नुपरेको थियो । परिणामस्वरुप स्क्रिनमा चिरा तथा धर्साहरु पनि देखिएका थिए । जसका कारण फोन लञ्च गर्नमै ढिलाइ भएको थियो ।

फोल्डेबल डिस्प्लेको टिकाउपना, लचिलोपना तथा यसको गुणस्तरलाई उत्कृष्ट बनाउनका लागि कम्पनीहरुले अनुसन्धान र विकासमा निरन्तर लगानी गरिरहेका छन् ।

फोल्डेबल फोनको फोल्डिङ सिस्टम पूर्णरुपमा नै हिन्ज तथा लचिलो डिस्प्ले प्रविधिमा निर्भर हुन्छ । सुरुवातमा कम्पनीहरुले फ्लेक्सिबल डिस्प्लेका लागि प्लास्टिक पोलिमरको प्रयोग गरे । तर त्यसमा स्क्रयाच आउने र बिग्रिने खतरा बढी थियो ।

उल्लेखित चुनौतिहरुबाट पार पाउनका लागि सामसुङले आफ्नो ग्यालेक्सी जेड फोल्ड थ्रीमा धेरै टिकाउ तथा स्क्रयाच प्रुफ पदार्थबाट बनेको अल्ट्रा थिन ग्लास (युटीजी) को प्रयोग गर्यो । यद्यपि युटीजीमा पनि लचिलोपना र डिस्प्लेको गुणस्तरका सम्बन्धमा फरक खालका चुनौतिहरु रहेका छन् । त्यसैले यसलाई अझै उत्कृष्ट बनाउनका लागि निरन्तर अनुसन्धान र विकासको आवश्यकता छ ।

फोल्डेबल फोनको फोल्डिङ तथा अनफोल्डिङ प्रक्रियाका लागि हिन्ज संयन्त्रले (ढोकामा हुने कब्जा जस्तै प्रणाली) पनि महत्वूर्ण भूमिका खेल्दछ । फोल्डेबल फोनको टिकाउपना तथा यसले राम्रोसँग काम गर्ने सन्दर्भमा सन्तुलन हासिल गर्नु वास्तवमा एक जटील इन्जिनियरिङ चुनौति हो ।

फोल्डेबल फोनको बजार

हाल फोल्डेबल स्मार्टफोनहरु बजारमा प्रिमियम फोन अर्थात् महंगो मूल्यका फोनको रुपमा उपलब्ध छन् र प्रविधिप्रति बढी रुचि राख्ने ग्राहकतर्फ लक्षित छन् । फोल्डेबल फोनको निर्माण तथा विकासमा धेरै लागत लाग्ने हुनाले पनि यी फोनको मूल्य उच्च भएको हो । फोल्डेबल फोनको विश्व बजारमा अहिले सामसुङ अग्रस्थानमा छ भने त्यसपछि हुवावे रहको छ ।

सन् २०२१ मा विश्वको फोल्डेबल फोनको बजार १७ अर्ब ६० करोड डलरको थियो । यो वर्षको अन्त्यसम्ममा फोल्डेबल फोनको बजार १ खर्ब ७४ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । यसले सन् २०२२ तथा २०३१ को बीचमा २६ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गर्ने अनुमान छ ।

प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्दा फोनको टिकाउपनाले यसको मूल्यभन्दा धेरै माने राख्दछ । जसरी फोल्डेबल फोनको बजार बढिरहेको छ र नयाँ–नयाँ कम्पनीहरुले यो क्षेत्रमा हाम फालिरहेका छन् कम्पनीहरुबीच केवल प्रतिस्पर्धा मात्र बढिरहेको छैन यसले नयाँ उन्नयन अर्थात् आविष्कारलाई पनि बढावा दिएको छ । यो क्षेत्रमा कम्पनीहरुको बढ्दो रुचिले के संकेत गर्दछ भने आगामी दिनहरुमा सस्तो मूल्यमै बजारमा फोल्डेबल स्मार्टफोनहरु उपलब्ध हुनेछन् ।

फोल्डेबल फोनको भविष्य

फोल्डेबल डिस्प्लेको टिकाउपना, लचिलोपना तथा यसको गुणस्तरलाई उत्कृष्ट बनाउनका लागि कम्पनीहरुले अनुसन्धान र विकासमा निरन्तर लगानी गरिरहेका छन् ।

यसका अतिरिक्त डिस्प्ले प्रविधिमा भएको विकास जस्तै फ्लेक्सिबल ओएलईडी प्यानल तथा थिन ग्लास लेयर इन्टिग्रेसन लगायतका प्रविधिले फोल्डेबल फोनको डिस्प्लेको गुणस्तरका साथै प्रयोगकर्ताको अनुभूतिलाई पनि गज्जब बनाउनेछ ।

फोल्डेबल फोन अहिले सुरुवाती चरणमै छ । भविष्यमा यो फोन मूलधारकै स्मार्टफोन हुनेछ भन्नेमा शंका छैन । भविष्यमा फोनको टिकाउपना, प्रयोगकर्ताको सन्तुष्टिका साथै फोनको मूल्य पनि कम हुन सकेमा यो फोनप्रति आम उपभोक्ताको धारणा पनि बदलिनेछ । त्यसैले फोल्डेबल फोनका सामु रहेका कठीन चुनौतिहरुका बाबजुत पनि यो फोनको भविष्य अपार सम्भावनायुक्त रहेको कुरालाई नकार्न सकिँदैन ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?