+
+

भारतमा सरसफाइको काम गर्ने ११ महिला बने करोडपति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ९:४४

११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् ।

चिठ्ठा जित्ने महिलाहरू हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गर्छन् । काम गरेबापत उनीहरुले प्रत्येक दिन २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो आर्जनले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् ।

न्युन आर्जनका कारण एकल रुपमा चिठ्ठाको टिकट खरिद गर्न नसक्ने भएपछि महिलाहरुले समूहमा मिलेर लगानी गर्थे । भारतको अन्य राज्यमा चिठ्ठा अवैध भए पनि केरलामा भने सरकारलेनै चिठ्ठा सञ्चालन गर्छ । निजी क्षेत्रलाई यो काम गर्न प्रतिबन्ध छ ।

सरकारी चिठ्ठामा ती महिलाहरुलाई यसअघि एक हजार रुपैयाँ परेको थियो । त्यो रकम उनीहरुले आपसमा बाँडेका थिए ।

यो रकम पनि आपसमा उनीहरुले बाँडफाँट गर्ने बताएका छन् । टिकट खरिदका लागि ९ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ लगानी गरेका थिए । चिठ्ठा परेको विषय आफूहरुले धेरैबेरसम्म पत्याउनै नसकेको ७२ वर्षीया कुट्टीमलुले बताइन् ।

जतिसुकै रकम जिते पनि बराबर बाँड्ने हाम्रो सहमति थियो । तर हामीले यो परिमाणको चिठ्ठा पर्ने अपेक्षै गरेका थिएनौं,’ उनले भनिन् ।

चिठ्ठा खरिद गरेको चौथो पटकमा आफूहरु करोडपति बनेको उनले सुनाइन् । ६२ वर्षीया बेबी आफू निकै अभागी भएको बताउँथिन् । आफ्नो भाग्यनै नभएको ठान्ने उनी यसपटक करोडपति बनिन् । यो खुशी साट्दै उनी भन्छिन्, ‘यो संसारकै अभागी व्यक्ति मै हुँ भन्ने लाग्थ्यो । घर बाढीले बगायो । ऋण धेरै नै लाग्यो । अहिले मेरो भाग्य खुलेझैं भयो । यो रकमले अब म घर जोड्छु ऋण तिर्छु,’ उनले भनिन् ।

५० वर्षीय के बिन्दुले मिर्गौला फेलका कारण आफ्नो पति गुमाएकी थिइन् । घर बनाउँदा बनाउँदै उनका पतिले संसार छोडेका थिए । उनका पतिले पनि डायलासिस गर्न राखेको रकमबाट चिठ्ठा किन्थे । पतिले संसार छोडेपछि बिन्दुले चिठ्ठा जितिन् ।

पतिले अपुरो छोडेको घरलाई पूरा गर्ने उनले योजना बनाइएकी छिन् । ‘मेरा पतिले घर बनाउँदा बनाउँदै संसार छोडे । उनी डायलासिस गर्न राखेको पैसाबाट चिठ्ठा किन्थे । यसपटक चिठ्ठा पर्‍यो अब म घर निर्माण पुरा गरेर छोरीको शिक्षामा लगानी गर्छु,’ उनले आफ्नो योजना सुनाइन् ।

४९ वर्षीय लक्ष्मीले गरिबीका कारण आफूहरु भविष्यप्रति निकैनै चिन्ता गर्दै बसेको सुनाइन् । भारी वर्षाका कारण काम नहुँदा मजदुर गर्ने उनको पतिको आम्दानी यसपटक भएन । यो रकमले आफूहरुलाई निकै राहत दिएको उनले बताइन् ।

अब यसलाई छोरीको शिक्षा र उनको अपरेशनका खर्च गर्ने उनको भनाइ छ । ‘अब मैले मेरो छोरीको उपचारका लागि कुनै चिन्ता गर्नुपरेन । हाम्रो भविष्य पनि राम्रै रुपमा अघि बढ्ने भयो,’ उनले भनिन् ।

कर कट्टी गरेर महिलाहरुले ६ करोड ३० लाख रूपैयाँ पाउनेछन् । उनीहरुले आपसमा त्यसलाइ बाँड्नेछन् । चिठ्ठा परेसँगै रकमको दाबीका लागि ११ महिला सरकारी कार्यालयमा पुगेका थिए । सधैंझैं उनीहरु कामदारकै पोशाकमा थिए ।

चिठ्ठाले करोडपति बनेपनि आफूहरुले काम नछोड्ने ती महिलाहरुले बताए । ‘हाम्रो सामूहिक समृद्धिको सारथी यही काम हो । हामी यो कामलाई निरन्तरता राख्नेछौं,’ लीलाले भनिन् ।

केरलालाई सफा सहर बनाउनका लागि आफूहरूले योगदान गरिरहने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?