+
+

उद्धव थापा २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री, ३० दिन कटाउन कठिन

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १६ गते २०:४६

१६ साउन, विराटनगर । कोशीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमको पनि समर्थनमा २१ असारमा मुख्यमन्त्री बनेका थापा २१औं दिनमा ११ असारमा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार अपरान्ह ५ बजेसम्मको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका नेताहरुले ६ प्रदेशसभा सदस्य भएको राप्रपाको समर्थनमा जुटाउने प्रयास गरेका थिए । राप्रपाले समर्थन नगरेपछि सभामुखको राजीनामा दिने विकल्प अघि सारे । किनकी सत्ता गठबन्धनसँग ४६ मत मात्र थियो ।

गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रका सांसद संख्या १३ पुग्यो । कांग्रेसका २९, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ सांसदले सामर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरे ।

लगते मुख्यमन्त्री नियुक्ति भएका थापाले सत्तारुढ गठबन्धनभित्र छलफल गरेर संविधानमा व्यवस्था भएअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रतिक्रिया दिए । ‘संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र लिने हो, हाम्रो सरसल्लाह हुन्छ, छलफल गर्छौं उपयुक्त समय निश्चित गरेर विश्वासको मत लिन्छौं’, उनले भने ।

विश्वासको मत पाउने सम्भावना छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री थापाले प्रतिप्रश्न गरे, ‘गठबन्धनमा बहुमत पुगेकै छ, यसमा कुनै शंका छ र ?’

सभामुख गौतमले राजीनामा दिइसकेकाले ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्तापक्षसँग बहमुत (४७ मत) छ । तर विश्वासको मत लिने बेलासम्म यो अवस्था रहन्छ भन्नेमा प्रश्न छ । किनकी एमालेले सत्तारुढ गठबन्धनलाई अप्ठ्यारो पार्न उपसभामुख सिर्जना दनुवारलाई राजीनामा गराउने छलफल सुरु भएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्न सक्छन् । त्यो अवस्था ल्याउन पनि एमालेले उपसभामुखलाई राजीनामा गराउने सम्भावना छ ।

यद्यपि एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी भने उपसभामुखले राजीनामा नदिने बताउँछन् । ‘उहाँहरु कसरी आउनुहुन्छ, बराबरको विपक्षीलाई उहाँहरुले कसरी सम्बोधन गर्नुहुन्छ हेरौं’, भण्डारीले भने, ‘अहिले सबै कुरो नगरौं पछि के हुन्छ त्यही बेला हिसाब किताब गरौला ।’

उपसभामुखले राजीनामा दिए वा बैठकमा उपस्थित नभए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेशसभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । कांग्रेसका एक नेता मण्डललाई मन्त्री बनाएपछि ज्येष्ठ सदस्य एमालेका प्रदेशसभा सदस्य हुने बताउँछन् । तर एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराए बैठकको अध्यक्षता सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने हुन्छ ।

यो अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था नरहने गठबन्धनमा रहेका दलका नेताहरु बताउँछन् । किनकी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइने प्रदेशसभा बैठकको अध्यक्षता सत्तापक्षकै ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्ने अवस्था आएमा प्रस्तावको पक्ष र विपक्षमा बराबर मत परेमा मात्र उनले मत दिन पाउँछन् ।

प्रतिपक्षी दलले आफ्ना एक जना प्रदेशसभा सदस्य मात्र अनुपस्थित गराए पनि अध्यक्षले निर्णयक मत दिन नपाउने अवस्था बन्ने छ ।

मुख्यमन्त्री उद्धव थापा भने उपसभामुखको राजीनामाबारे नसोचेको बताउँछन् । ‘अहिले हामीले उहाँको राजीनामाको परिकल्पना गरेका छैनौं,’ मुख्यमन्त्री थापाले भने, ‘समस्या आए त्यसबेला समस्याको निकाशतिर लाग्छौं ।’

माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि उपसभामुखले राजीनामा दिए परिस्थिति अनुसार अघि बढ्ने उनले बताए । मुख्यमन्त्रीले विश्वासको मत लिन ३० दिनको समय भएका कारण अन्य विकल्प पनि खोजिने नेताहरु बताउँछन् । कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले उपसभामुखको राजीनामा नआउने र आएमा पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने दाबी गरे ।

तर सत्ता गठबन्धनमा रहेका दलहरु बाहेक प्रदेशसभामा एमाले र राप्रपा मात्र छन् । ४० प्रदेशसभा भएको एमाले संविधानको धारा १६८(३) अनुसार आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा छ भने ६ प्रदेशसभा सदस्य रहेको राप्रपाले १६८ (५) मा पुग्दा पनि समाधान ननिस्किए मात्र निर्णय दिने बताएको छ ।

अर्थात २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत लिन सहज छैन ।

को हुन् थापा ?

नेपाली कांग्रेस संसदीय दलका नेता थापा पार्टी भित्र कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । सिटौलाकै जोडबलमा दलको नेता बनेका उनी सिटौलाले नै अडान नछाडेका कारण मुख्यमन्त्री नियुक्त भएका थिए ।

शंकरदेव क्याम्पसमा नपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थापा केही समयपछि पञ्चायतकै समर्थक बन्न पुगे । २०४६ को जनआन्दोलन दबाउन गठित प्रतिकार समितिमा समेत बसेका उनी आन्दोलन सफल भएपछि पुन कांग्रेसमै फर्किएका थिए ।

थापाले १२ औं महाधिवेशनमा कांग्रेसका हालका महामन्त्री विश्वप्रकाश शर्मालाई जिल्ला सभापतिमा पराजित गरेका थिए । दुई पटक जिल्ला सभापति भएका १४औं महाधिवेशनबाट प्रदेश सभापति निर्वाचित भएका थिए ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सदस्य बनेका उनले संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा पक्षका अमृत अर्याल र शेखर कोइराला पक्षका केदार कार्कीलाई पराजित गरेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?