काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय रहन्छन्, गीत गुन्गुनाउन र चित्र कोर्न पनि रुचि राख्छन् ।
डा. कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको दुई कार्यकाल डिन समेत भए । एक हप्ताअघि मात्र उनले डिनको कार्यभारबाट अवकाश पाएका छन् । धुलिखेल अस्पतालको संस्थापक सदस्य पनि हुन् डा. कोजु ।
उनै प्रा. डा. कोजुले धुलिखेल अस्पतालमा मुटुरोग विशेषज्ञको रूपमा काम गरिरहँदा र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन हुँदा बटुलेको अनुभव हामीसँग साटेका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन
धुलिखेल अस्पतालको स्थापना २०५३ सालमा भयो । अस्पतालको स्थापनाकालदेखि नै डा. कोजु धुलिखेल अस्पतालसँग जोडिए । चार वर्ष धुलिखेल अस्पतालमा फिजिसियन भएर बिरामीको सेवा गरे । त्यसपछि एमडी अध्ययनको लागि उनी बंगलादेश पुगे । मुटुको विशेषज्ञ डाक्टर बनेर सन् २००३ मा नेपाल फर्किए । एमडी सकाएर नेपाल फर्किएपछि उनले फेरि धुलिखेल अस्पताल नै रोजे ।
उनले धुलिखेल अस्पतालमा रहेर धेरै मुटुरोगीको सेवा गरे । उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन भएर सेवा गरेको पनि ६ वर्ष पूरा भएको छ । कोजु डिन हुँदा उनकै नेतृत्वमा मेडिकलका थुप्रै कोर्सहरू थपिएका छन् ।
अहिले धुलिखेल अस्पतालमा एमबीबीएस, बीडीएस, बीपीटी, बीएस्सी नर्सिङ, बीएनस, बीएस्सी ल्याब, बीएमआईटी, एमडी, एमएस, एमडीएस, एमएस्सी नर्सिङ, एमपीटी, एसएस्सी माइक्रोबायोलोजी, पीएचडी लगायतका कोर्स सञ्चालन भइरहेका छन् ।
काठमाडौंबाहिर मुटुरोगको उपचारको लागि धुलिखेल अस्पताल
डा. कोजुले मुटुरोग विशेषज्ञ भएर धुलिखेल अस्पतालमा काम गरिरहँदा अनगिन्ती मुटु खोतले । तर ६ वर्ष डिन भएपछि जिम्मेवारी फेरियो । जसले गर्दा उनले धेरै समय बिरामीलाई दिन पाएका थिएनन् । अब डिनबाट अवकाशपछि बिरामीको सेवामा बढी केन्द्रित रहने उनी बताउँछन् ।
‘धुलिखेल अस्पतालको मुटुरोग विभाग अहिले तीन जना मुटुरोग विशेषज्ञ, दुई जना रेसिडेन्ट चिकित्सक गरेर पाँच जना चिकित्सकको नेतृत्वमा चलिरहेको छ,’ डा. कोजु भन्छन् ।
अस्पतालमा मुटुरोगसम्बन्धी उपचारका लागि आवश्यक पर्ने स्रोत साधनको पनि राम्रो व्यवस्था छ । क्याथ ल्याब, इको कार्डियोग्राफी, ट्रान्सेसोफेगल इको, मुटुमा पेसमेकर राख्ने लगायत सेवा उपलब्ध भएको कोजु बताउँछन् ।
हरेक दिन बहिरंग विभागमा १५० जना बढी मुटुरोग बिरामीको उपचार हुन्छ । हार्ट अट्याक, हार्ट फेलियर, मुटुको बाथरोग भएका बिरामीहरूलाई भर्ना नै गरेर पनि उपचार भइरहेको छ । अस्पतालमा मुटुरोगको लागि २४ सै घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ । मुटुको शल्यक्रियासम्बन्धी काम यो हप्ताबाट धुलिखेल अस्पतालमा सुरु हुँदैछ ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा सिन्धुलीलगायतका जिल्लाबाट मुटु र अन्य रोगको उपचारको लागि धुलिखेल अस्पताल आउने गर्छन् ।
डा. कोजु भन्छन्, ‘यो मुनाफारहित अस्पतालले सस्तो शुल्कमा उपचार सेवा दिइरहेको छ । अशक्त, निमुखाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । साथै भौतिक पूर्वाधार, उपकरण, सेवासुविधामा यसले आफूलाई अरू उन्नत र सहज बनाउँदै लगेको छ ।’
मुटुमा देखिने मुख्य समस्याहरू
मुटुमा लाग्ने विभिन्न रोगहरूलाई समग्रमा दुई किसिमले विभाजन गर्न सकिने डा. कोजु बताउँछन् । ‘एउटा जन्मजात मुटुरोग, जुन मान्छे जन्मिंदै कुनै न कुनै मुटुरोग लिएर आउने भयो । वयस्कमा हृदयघात, मुटु फेल, मुटुको बाथ रोग, मुटुमा पानी जम्ने र मुटुको भल्बहरू खराब हुने लगायत मुटुको समस्या देखिन्छ,’ उनी भन्छन् ।
अर्को जन्मजात मुटुरोग सामान्यदेखि एकदमै जटिल खालका हुन्छन् । त्यसमा सामान्य मुटुमा प्वालदेखि मुटुको मुख्य नली उल्टो बस्ने, बच्चा जन्मिंदा नै निलो हुने कडा खालका मुटुरोग पनि हुन सक्छन् ।
कार्डियो सर्जन र कार्डियोलोजिस्टको काम फरक हुन्छ
आम सर्वसाधारणले मुटुको उपचार गर्ने चिकित्सक सबै कार्डियोलोजिस्ट भन्ने पनि बुझ्छन् । तर मुटुको उपचार कार्डियो सर्जन र कार्डियोलोजिस्ट दुई विशेषज्ञ चिकित्सकबाट हुन्छ ।
मुटुसम्बन्धी समस्या भएको व्यक्तिलाई भर्ना गरेर उपचार गर्ने, औषधि दिने र मुटु नचिरी हातखुट्टाको नसाबाट पाइप छिराएर बन्द भएको रक्तनली खोल्ने, बन्द भएको भल्ब खोल्ने काम कार्डियोलोजिस्टको हो ।
बेहोस बनाएर मुटुलाई चिरेर शल्यक्रिया गर्ने, मुटुको भल्ब फेर्ने काम भने कार्डियो सर्जनको हो ।
बालबालिकामा मुटुरोग
बालबालिकामा मुख्यतया दुई किसिमको मुटुरोग बढी देखिने डा. कोजु बताउँछन् । ‘एउटा जन्मजात मुटुरोग जस्तो मुटुमा प्वाल हुने, मुटुको भल्ब असामान्य हुने हुन्छ । अर्को पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई घाँटीको संक्रमण भएर मुटुको बाथ रोग र मुटुमा पानी जम्ने । कुनै बालबालिकामा मुटुको धड्कन तलमाथि हुने समस्या पनि हुन्छ,’ उनी भन्छन् ।
बालबालिकामा मुटु रोगको संकेत
बच्चाको शरीर निलो भएको छ भने उसमा मुटुको समस्या हुन सक्छ । बच्चा थोरै खेल्दा पनि थाक्छ, मुटुको धड्कन छिटो भएको छ, अलिकति हिंड्दा पनि स्वाँस्वाँ गर्छ, बारम्बार निमोनिया भइरहन्छ, उमेर अनुसार बढेको छैन भने पनि बच्चाको मुटुमा समस्या छ कि भनेर शंका गर्नुपर्ने डा. कोजु बताउँछन् ।
अहिले नयाँ प्रविधिको विकाससँगै गर्भावस्थाको १८ हप्तामै फिटल इको कार्डियाग्राफी गरेर बच्चाको मुटुमा समस्या भए नभएको पत्ता लगाउन सकिन्छ ।
कारण
बच्चामा देखिने जन्मजात मुटुरोगको एउटा प्रमुख कारण वंशाणुगत नै हुने डा. कोजु बताउँछन् । साथै यो रोग विभिन्न कारणको सम्मिश्रणबाट हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमाले चुरोट रक्सीको सेवन गरेको छ, विभिन्न औषधिको सेवन गरेको छ भने बच्चामा मुटुको समस्या हुने सम्भावना हुन्छ ।
गर्भावस्थामा विभिन्न भाइरल इन्फेक्सन भएको छ, महिलामा पहिलेदेखि भएका केही रोग जस्तै मधुमेह, उच्च रक्तचाप छ भने पनि बच्चामा मुटुको समस्या हुने सम्भावना रहन्छ ।
उपचार
बच्चाको मुटुमा प्वाल छ भने त्यसलाई बन्द गरेर उपचार गरिन्छ । मुटुको बाथरोग लाग्नै नदिन रोकथाम गर्नुपर्छ । जसका लागि खोप लगाउनुपर्छ । बाथको कारण भल्ब बिग्रियो भने भल्ब नै परिवर्तन गरेर उपचार गरिन्छ ।
मुटुमा पानी जम्ने समस्यामा भने पानी झिकेर उपचार गरिन्छ । संक्रमणको कारण पानी जमेको छ भने संक्रमणको पनि उपचार गर्नुपर्छ । अहिले करिब ९० प्रतिशत मुटु रोगको उपचार नेपालमा नै सम्भव छ ।
प्रतिक्रिया 4