+

‘पायल्सको उपचारमा मिनिमल इन्भेसिभ सर्जरी उपचार विधि प्रभावकारी’

२०८० साउन  २३ गते १६:२१ २०८० साउन २३ गते १६:२१
‘पायल्सको उपचारमा मिनिमल इन्भेसिभ सर्जरी उपचार विधि प्रभावकारी’

काठमाडौं । हिजोआज धेरै जना पायल्सको समस्याबाट पीडित छन् । मलद्वार र मलाशयका भित्ताहरूमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुट्कारा पाउन सकिन्छ । तर अवस्था जटिल बनेमा भने विभिन्न समस्या निम्तिन सक्छ ।

पायल्सको उपचार शल्यक्रिया, आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट गरिन्छ । तर यसको उपचारमा अहिले नयाँ विधि पनि थपिएको छ ल्याप्रोस्कोपी ‘मिनिमल इन्भेसिभ सर्जरी’ । यो कस्तो उपचार विधि हो ? कसरी गरिन्छ ? यसै विषायमा केन्द्रित रहेर जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. प्रभाकर शाहसँग गरिएको कुराकानी :

मिनिमल इन्भेसिभ सर्जरी उपचार विधिमा पायल्स, फिसरफिस्टुलाको उपचार कसरी गरिन्छ ?

पायल्सको ल्याप्रोस्कोपी उपचार विधिलाई ‘मिनिमल इन्भेसिभ सर्जरी’ भनिन्छ । जुन शल्यक्रिया सानो घाउ पारेर दूरबीनको सहयोगले गरिन्छ । यो उपचार विधि पित्तथैलीमा भएको ढुंगा झिक्न, हर्नियाँ, एपेडिन्स र मलद्वारसम्बन्धी समस्या लगायत विभिन्न समस्यामा पनि गरिन्छ ।

कस्तो कस्तो अवस्थामा यस्तो उपचार सम्भव हुन्छ ?

पायल्स,  फिसर,  फिस्टुला मलद्वारभित्र छ भने यो विधिबाट उपचार हुन्छ । तर बाहिरी पायल्स, फिसर फिस्टुला छ भने त्यसमा यो विधिले उपचार सम्भव हुँदैन ।

यो उपचार विधिको फाइदा के छ ?

यस उपचार विधिका फाइदा धेरै छन् । यो उपचार विधिमा शल्यक्रिया गर्दा जस्तो ठूलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन ।

घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ ।

पायल्सको जटिलता के हो ? कुन अवस्थामा उपचार गर्नै कठिन हुन्छ ?

पायल्सको समयमा उपचार भएन भने मलद्वारबाट रगत बग्ने, मासु मलद्वारभन्दा बाहिर निस्किने, आन्द्रा पाक्ने लगायतको जटिलता निम्तिन सक्छ । त्यसैले विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गर्नुपर्छ ।

जुनसुकै अवस्थाको पायल्सको उपचार पनि हुन्छ । तर जति छिटो उपचार गर्‍यो, त्यति छिटो निको हुन्छ र बल्झिने सम्भावना पनि कम हुन्छ ।

पायल्सको कुन चरणमा उपचार सजिलो र छिटो हुन्छ ?

मलद्वारमा घाउ भएको र मलद्वारभित्र मासु पलाएको अवस्थामा उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।

उपचारपछि पूर्णतया निको हुन्छ ?

मिनिमल इन्भेसिभ सर्जरी पद्धतिबाट मलद्वारसम्बन्धी प्राय: सबै प्रकारका समस्या पूर्णतया निको हुन्छ ।

उपचारपछि के कस्ता खानेकुरा बार्नुपर्छ ?

पायल्सको उपचारपछि यो खाना खाने यो नखाने भनेर बिरामीलाई लामो सूची थमाइदिने चलन छ ।  तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु  लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ । उपचारपछि खाना बार्ने चक्करमा घरमा बनेका खानेकुरा पनि बार्न थालियो भने बिरामीमा  अन्य समस्या निम्तिन सक्छ ।

मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।

फिस्टुलाको चाहि कुन अवस्थामा उपचार सम्भव हुन्छ ?

फिस्टुलाको पनि जुनसुकै अवस्थामा पनि मिनिमल इन्भेसिभ सर्जरी पद्धतिबाट उपचार गर्न सकिन्छ । सुरुको चरणमा नै यो उपचार गरियो भने झन् प्रभावकारी हुन्छ । यो उपचार पद्धतिबाट फिस्टुलाको उपचार पनि प्रभावकारी तरिकाले हुन्छ र पूर्ण रूपमा निको हुन्छ ।

यस्ता रोगहरू लाग्नै नदिन के गर्ने ?

पायल्स हुनै नदिने उपाय भनेको पायल्स हुन सक्ने कारण पत्ता लगाएर त्यसको उपचार गर्नु हो । कब्जियत हुन दिइएन भने पायल्स हुने सम्भावना पनि कम हुन्छ । जीवनशैली परिवर्तन गरियो, खानपानमा ध्यान दिइयो र नियमित व्यायाम गरियो भने पायल्सलगायत मलद्वारसम्बन्धी विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

पायल्स स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय