+
+

कसरी बन्यो ‘गाउँ आएको बाटो’ ?

शिव मुखिया शिव मुखिया
२०८० साउन ३२ गते ७:४०

झरी परिरहेको हालैको मध्याह्न, हामीले भेट्यौं नविन सुब्बालाई । भनिरहनु परेन, नेपाली सिनेमाका लागि एउटा गतिलो ‘कोर्स बुक’ हुन् उनी । सिनेमाको अध्येता, विचारक र उत्पादक पनि ।

तर उनी फ्याक्ट्री होइनन्, जहाँबाट तात्तातो सिनेमा तारन्तार बजारमा आइरहन्छ । नविन सुब्बालाई त जुगौं कुर्नुपर्छ, फगत एउटै सिनेमाको लागि । जस्तो कि, ‘गाउँ आएको बाटो’ ।

नुमाफुङ’ प्रदर्शनमा आएको २२ वर्षपछि र ‘गुडबाई काठमाडौं’ आएको ६ वर्षपछि बल्लतल्ल ‘गाउँ आएको बाटो’ तयार भयो । हामीले भेट्दा नविन सुब्बा यसैलाई अन्तिम रुप दिन भ्याईनभ्याईमा थिए । उनी भन्दै थिए, ‘साउन्ड डिजाइनको काम सिध्याएर पर्सितिर क्यानडा लाग्छु होला ।’

चुपचाप सम्पादनकै क्रममा रहेको ‘गाउँ आएको बाटो’ले एउटा सरप्राइज दिएको छ, टोरन्टो फिल्म फेस्टिभलबाट वर्ल्ड प्रिमियर हुने । ४८औं संस्करण अन्तर्गत हुन लागेको टोरन्टो फिल्म फेस्टिभलको ‘सेन्टर पिस’ सेक्सनमा यो सिनेमा छनोट भएको हो ।

त्यसो त उनै नविन सुब्बा हुन्, जसले खाङ्ग्री : द माउन्टेनलाई पहिलो पटक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुर्‍याए । त्यसपछि बनेको नुमाफुङ नेपाली सिनेमाको एक शानदार दस्तावेज बन्यो । त्यसअघि कुनै पनि नेपाली सिनेमामाथि त्यति आयामिक काम र विमर्श भएको थिएन ।

नविन सुब्बाको दायाँ–बायाँ, तल–माथि अरु केही छैन । छ त, सिनेमा । त्यसैले त सिनेमाको बारेमा उनी के सोच्छन्, कसरी काम गर्छन् ? चासो हुन्छ । त्यस्तै चासो बोकेर हामीले यसपालि उनलाई सोध्यौं, ‘पछिल्लो सिनेमाको काम गर्ने आइडिया कस्तो थियो ? यो सिनेमा कसरी बन्यो ? मस्तिष्कमा कथा बोकिरहँदा तपाईंमा जस्तो चित्र कोरिएको थियो, क्यामेरामा दुरुस्तै उतारियो कि उतारिएन ?

राई बुझ्न तीन महिना लाग्यो

यसपालि हामीले नयाँ भाइबहिनीहरुसँग काम गर्‍यौं । उनीहरु सबै राई समुदायका थिएनन् । त्यसैले राईलाई बुझ्न नै दुई तीन महिना लाग्यो । हामीले आफ्नो कथालाई राई समुदायमा सेटिङ गरेका थियौं । त्यसैले राई को हुन् ? उनीहरुको विश्वास पद्धति के हो ? उनीहरुको कलर आइडिया के हो ?

यसरी राई बुझिसकेपछि कथा बुझ्नतिर लाग्यौं । कथामा चरित्रको मनोविज्ञानदेखि लिएर चरित्रले किन त्यसो गर्छ, किन त्यसरी बोल्छ ? खोज्यौं । राईको संगीत, मुन्धुम, जीवन पद्धति, वास्तुकला, गरगहना, दैनिक जीवनमा चलाउने सरसामानहरु सबैबारे खोज अध्ययन गरियो ।

किनभने सिनेमाको कथालाई एउटा चरणसम्म परिपक्व बनाउन यस्ता सूक्ष्म कुराहरु जरुरी हुन्छ ।

रचनात्मक सहकार्य

हामो सिनेमा उद्योगमा अझै पनि खोजे जस्तै जनशक्ति पाउन सकिंदैन । मान्छे नभएको होइनन्, तर भएकाहरुमा पारम्परिक ज्ञान मात्र छ । अनुभवको आधारमा आएका साथीहरु छन् । त्यो पनि एउटा तागत त हो । तर, त्यो भन्दा पनि हामीलाई रचनात्मक रुपमा इनपुट दिने जनशक्ति चाहिएको थियो ।

त्यसैले हामीले सिनेमामा काम गरिरहेका, सिनेमाको अध्ययन गरिरहेका नयाँ भाइ–बहिनीलाई ल्यायौं । हरेकलाई फरक फरक जिम्मेवारी दियौं । कसैले कस्ट्युम विभाग सम्हाल्ने, कसैले आर्टको, कसैले कलरको ।

उनीहरुले आ–आफ्नो भागको काम मिहिन रुपमा गरे । यो एउटा गाउँको कथा थियो, जहाँ सडक विस्तार भएपछि विस्तारै धेरै कुरा बदलिन्छ । आर्ट विभागका भाइबहिनीहरुले एउटा गाउँ क्रमश: कंक्रिटमा रुपान्तरण हुँदैछ भन्ने आइडियामा गज्जब काम गरे । कलरको जिम्मा लिएकाहरुले पनि राईहरुको कलर सेन्स के हो ? भन्ने कुरामा मिहिन खोज गरेर काम गरे ।

नयाँ भाइबहिनीहरुसँग अन्तरक्रियात्मक ढंगले काम भयो । सिनेमा गरिरहँदा म निर्देशक हुँ, मलाई यो चाहिन्छ भन्ने भन्दा पनि यो कुरा के हो त ? भनेर सबैले खोज्नु उपयुक्त हुनेरहेछ । सबै जनाको छलफलबाट एउटा न एउटा साझा निचोड निकाल्न सकिने रहेछ । कतै न कतैबाट गज्जब आइडिया आउँथ्यो । त्यो इन्जोइङ मुमेन्ट थियो ।

दयाको हिंड्ने शैली कसरी बदल्ने ?

हामीले मुख्य भूमिकामा दयाहाङ राईलाई ल्यायौं । के भनिने रहेछ भने, दया सबै फिल्ममा एउटै ढंगले हिंड्छन् । त्यसलाई कसरी ब्रेक गर्ने भन्ने थियो । फेरि हिंडाइ मेकानिकल पनि हुनुभएन । दयाको हिंडाइमा कसरी फरक शैली ल्याउने त ? सबैजना घोत्लिरहेका थियौं ।

यस्तो कुराहरुमा निर्देशक र स्वयम् कलाकारको प्रयास मात्र पनि नपुग्ने रहेछ । हाम्रो कस्ट्यम डिजाइनरले यस्तो चप्पल ल्याइदियो कि, त्यसले दयाको हिंड्ने शैली फरक पारिदियो । यी स–साना चिजले पनि समग्र सिनेमामा धेरै ठूलो काम गर्छ । फिल्म मेकिङको मज्जा भनेको यो पनि हो ।

मिहिन काम गर्न मज्जा

केही दिनअघि मात्र हामी साउन्डमा काम गरिरहेका थियौं । हाम्रो सिनेमामा दुई वर्ग छन्, मध्यम र निम्न । एउटा श्रमजीवी छन्, अर्को घरखेत भएका ।

यी दुई फरक वर्गको दृश्यमा एम्बिएन्स साउन्ड कसरी गर्ने ? छलफल गर्‍यौं । अब गाउँको परिवेशमा चराचुरुंगी, झ्याउँकिरीको आवाज हुन्छ । तर, यसमा पनि केही फरक पर्ने रहेछ । जस्तो हुनेखानेको घरमा आसपासमा अन्न खान आउने चराचुरुंगी बढी हुने रहेछ । जस्तो रुपी, भँगेरा, परेवा । अनि विपन्नको घरमा चाहिं कीरा फट्याङ्ग्रा खाने चराचुरुंगी हुने रहेछ ।

हामीले देखाएको परिवेश, याम, समय अनुसार कस्तो चराचुरुंगी हुन्छ त ? त्यसलाई खोजेर एम्बिएन्स साउन्डको काम भयो । यसरी यो लेयरमा काम गर्दा पनि रमाइलो हुने रहेछ ।

साउन्डमा मात्र होइन, कस्ट्युममा, कलरमा यसरी नै काम भएको छ ।

स्क्रिप्टदेखि छायांकनसम्म

म आफैं पनि लेख्छु । या त लेखकसँग निरन्तर छलफलमा हुन्छु । स्क्रिप्टको मोटामोटी आइडिया हुन्छ । स्क्रिप्ट लक भइसकेपछि टिम बनाउँछौं । टिमले स्क्रिप्टका कुरामा वर्कआउट गर्छन् । त्यसपछि यसलाई अरु प्रक्रियामा लैजाने काम हुन्छ ।

जस्तो यसको विषय के हो ? विषय किन त्यस्तो छ ? त्यसमा चरित्रहरु को हुन् ? उनीहरु कसरी त्यहाँ पुगे ? यावत् कुराको अर्थ र सार्थकता खोज्ने काम हुन्छ । जब यसमा चित्तबुझ्दो जवाफ मिल्छ तब हामी ग्राउन्डमा जान्छौं ।

हामीले खोजे जस्तै लोकेसन कस्तो हो ? कहाँ हो ? त्यहाँको स्थिति के छ ? कसरी छायांकन हुन्छ ? इत्यादि कुरामा अध्ययन हुन्छ । त्यसपछि बल्ल हामी सुटिङमा निस्कन्छौं ।

कथा लेखिसकेपछि लेखक मर्छ

हामीकहाँ लेखकले के लेखेको छ भनेर भन्छौं । तर, अहिले संसारभर लेखिसकेपछि  लेखक मर्छ भनिन्छ । त्यसपछि हामीले टेक्स्टमा के छ त्यो हेर्ने हो । त्यसलाई विश्लेषण गर्ने हो । स्क्रिप्टले त त्यो कुराहरुलाई एउटा प्रवाहमा राख्न मात्र काम गर्छ ।

लेखकले लेखिसकेपछि अब त्यसमा अरु कुरा हामीले खोज्ने हो । त्यसपछि सिनेम्याटोग्राफी आउँछ । अनि सम्पादन । सम्पादनमा स्क्रिप्टलाई फ्याँकिदिने हो । त्यसपछि जुन भिजुअल आउँछ, त्यही नै टेक्स्ट हो । यसरी काम गर्दा बल्ल चरित्र, कथालाई न्याय हुने रहेछ । यो एकदमै रचनात्मक पनि हुन्छ ।

यसले सिनेमा भनेको सामूहिक उत्पादन हो भन्ने देखाउँछ । निर्देशक क्याप्टेन त हो तर यसमा सबैसँगको अन्तरक्रियत्मक काम हुन्छ ।

सम्पादनमा आफूले खिचेको दृश्य हेर्दा मलाई एन्जाइटी हुन्छ

एउटा सिनेमा गरिसक्दा म चाहिं असन्तुष्ट हुन्छु । हाम्रा धेरै फिल्ममेकर साथी भनिरहेका हुन्छन्, ‘अहो, मैले त गजब सिनेमा बनाएँ ।’ उहाँहरुमा त्यो सन्तुष्ट कहाँबाट आउँछ ? थाहा छैन । मलाई त्यस्तो सन्तुष्टि हुँदैन ।

मलाई सबैभन्दा गाह्रो हुने भनेको पोस्ट प्रोडक्सनमा हो । आफ्नै भिजुअल हेर्दा रिस उठ्छ । तनाव हुन्छ । एन्जाइटी नै हुन्छ । आफूले गरेको काममा आफैंलाई चित्त बुझ्दैन ।

‘नुमाफुङ’मा भन्दा फरक ढंगले काम भयो

नुमाफुङमा काम गरिरहँदा म स्क्रिप्टले मागेअनुसार सबै दृश्य हु–बहु उतार्न चाहन्थें । स्टोरी बोर्ड बनाएर त्यही अनुसारको काम पनि भयो । तर, ‘गाउँ आएको बाटो’मा केही फरक ढंगले काम भएको छ ।

अहिले विश्वभर के धारणा छ भने सिनेमा भनेको कुनै एकल व्यक्ति होइन, समूहको उत्पादन हो । त्यसैले यसमा निर्देशकले कप्तानको रुपमा सबै कुरा सम्हाल्ने काम गरे पनि त्यहाँ सबैको अन्तरक्रियात्मक र रचनात्मक सहभागिता रहन्छ । सबैसँग छलफल गरेर कसरी, के गर्ने भन्ने तय हुन्छ ।

हुन त सिनेमा बनाउने मेकरहरुको आ–आफ्नै शैली हुन्छ । कसैले स्क्रिप्टलाई दुरुस्तै उतार्न चाहन्छन् । जस्तो मीन भाम । उनलाई आफुले जस्तो चाहेको हो, ठ्याक्कै त्यस्तै दृश्य क्यामेरामा आएको हुनुपर्छ । तर, कतिपयले इम्प्रोभाइज गर्छन् । जस्तो दीपक रौनियर, छिरिङ रितार शेर्पाले धेरै इम्प्रोभाइज गर्छन् ।

मैले चाहिं यी दुवैको बीचमा रहेर काम गरेको छु ।

अझै राम्रो गर्न सकिन्थ्यो जस्तो लागिरहन्छ

‘गाउँ आएको कथा’ बाबु र छोराको कथा हो । यसमा हामीले छोराको भूमिकामा गाउँकै एउटा बालकलाई लियौं । बच्चा, त्यसमा पनि नन–एक्टर । तर, उनले गजब काम गर्यो‍ । तैपनि के लाग्छ भने अझै पनि उसले राम्रो गर्न सक्थ्यो । दयाहाङले राम्रो गर्न सक्थ्यो होला, पशुपति, राज थापा, प्रेम सुब्बाहरुले अझ राम्रो गर्न सक्थ्यो होला । यस्तो चाहिं मनमा लागिरहन्छ । सम्पूर्ण रुपमा धेरै गर्न सकिन्थ्यो होला ।

फेरि हाम्रो सिनेमामा बजेट र समयको एउटा सीमा हुन्छ, जसले हामीलाई हतार–हतार काम गर्नुपर्ने बाध्यता रहन्छ । त्यसले गर्दा पनि फिल्म सोचे जस्तो ठ्याक्कै बनाउन नसकिएको जस्तो भइरहँदो रहेछ ।

यति हुँदा हुँदै पनि एक हिसाबको फिल्म बनाउन पाइएको छ ।

अन्तर्राष्ट्रिय फेस्टिभलको  निम्तो

विश्वभर थुप्रै फिल्म फेस्टिभल भइरहेका हुन्छन् । त्यसमध्ये टोरन्टो फिल्म फेस्टिभलका आयोजकसँग हाम्रो कुराकानी भइरहेको थियो । त्यसबेला गाउँ आएको बाटो निर्माणको प्रक्रियामा नै थियो र हामीले उनीहरुसँग सोही अनुरुप पत्राचार गरेका थियौं । उनीहरुले हाम्रो सिनेमालाई समावेश गरेको छ र त्यहींबाट वर्ल्ड प्रिमियर हुँदैछ ।

यो एउटा विश्वकै प्रतिष्ठितमध्येको फिल्म फेस्टिभल हो । त्यहाँ जाँदा बजार प्रवर्धन पनि गर्ने मेसो मिल्छ भनेर हामीले ठान्यौं । ‘मार्केटमा एक्सरसाइज’ गरौं भन्ने ध्येयले यसपालि हामीले टिफ (टोरन्टो फिल्म फेस्टिभल)मा जाने टुंगो गर्‍यौं ।

कुनै पनि फेस्टिभलले आफ्नो सिनमा समावेश गर्नु भनेको एक हदसम्म नतिजा प्राप्त हुनु हो । हाम्रो सिनेमाप्रति विश्वका केही वितरकहरुले रुचि देखाएका छन् । फेस्टिभलले पनि चासो देखाएका छन् ।

कुनै पनि फिल्म फेस्टिभलमा सहभागी हुनु भनेको धेरै हिसाबले लाभान्वित हुनु हो । यसले एक त नेपाली सिनेमालाई विस्तार गर्छ भने अर्कोतिर विश्व सिनेमाका हस्ती, कलाकारसँग छलफल गर्ने मेलोमेसो मिल्छ । ग्लोबल मिडिया, पत्रकारसँग सोझो अन्तरक्रिया हुन्छ । साथसाथै बजार प्रवर्धनमा पनि यसले प्रत्यक्ष सहयोग गर्छ ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?