+

अयला : सांस्कृतिक पेय 

२०८० भदौ  ४ गते १८:३९ २०८० भदौ ४ गते १८:३९
अयला : सांस्कृतिक पेय 

काठमाडौं । नेवार समुदायले भोजभतेर, जात्रा, कार्जे वा आगन्तुकलाई स्वागत गर्ने न्यानो पेय हो, अयला । मादक पदार्थको श्रेणीमा राखिए पनि नेवारलगायत कतिपय समुदायमा यसलाई सगुनको रुपमा लिने गरिन्छ । पूजा, शुभकार्य, सगुन दिने लिने तथा मरण कार्यमा यो अनिवार्य जस्तै हुन्छ ।

संस्कृतविद् ओम धौभडेलका अनुसार नेवार समुदायमा पाहुना आउँदा अण्डा र रक्सी दिएर स्वागत सत्कार गर्ने प्रचलन छ । मगर, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पालगायत विभिन्न समुदायमा ‘ल्होछार’ (नयाँ वर्ष), पूजा तथा अन्य उत्सवमा रक्सीको प्रयोग हुन्छ । त्यस्तै थारु समुदायले पनि छाँकी (रक्सी) चढाएर देउताको पूजा गर्छन् ।

अमेरिकी सञ्चार संस्था सीएनएनले सन् २०१७ को जुलाईमा प्रकाशित गरेको रिपोर्टमा विश्वका ५० सर्वाधिक स्वादिष्ट पेयमा नेपालको अयला अर्थात् रक्सी ४१ औं स्थानमा छ । सीएनएनले अयलाको बयान गर्दै लेखेको छ, ‘चामल र कोदोबाट तयार पारिने अयलाको कडा गन्ध नाकमा ठोकिन्छ र सोझै घाँटी हुँदै तल जान्छ । यसले अचम्मलाग्दो नरम र आनन्ददायक अनुभूति प्रदान गर्छ ।’

अयलालाई शुद्ध र कडा रक्सी मानिन्छ । सीएनएनले भारतको आँपको लस्सी, अस्ट्रियाको रेडबुल, फेन्टा भन्दा अग्रस्थानमा नेपालको रक्सी खासगरी अयलालाई समेटेको थियो ।

काठमाडौं महानगरपालिकाले अयलालाई सांस्कृतिक पेयको रुपमा ‘ब्रान्डिङ’ गर्ने योजना सार्वजनिक गरेको छ ।

कसरी बनाइन्छ ?

रक्सी थ्वँ अर्थात् पोकः बाट बनाइन्छ । थ्वँ बनाएपछि बाँकी रहको ठोस अवशेषलाई कः (चामलको सेतो लेदो) भनिन्छ । त्यसैबाट रक्सी बनाइन्छ ।

यो भातलाई पानी उम्लिरहेको फोंसी (तामा तथा सिलाबरको भाँडा)मा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ । यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ । ‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ । अर्थात्, बाफमा पकाएको भात हुन्छ । ‘हाजालाई केहीबेर चिसो बनाउन फिंजाएर राख्नुपर्छ । अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ,’ धौभडेल भन्छन् ।

हामीले साधारण तरिकाबाट चामल पकाएर वा चिउराबाट पनि जाँड बनाएको देख्छौं । परम्परागत नेवार विधि यही हो । यो भात (हाजा)मा मर्चा (जाँड बनाउन चाहिने सामग्री)लाई धूलो बनाएर सबैतिर पुग्नेगरी मोल्ने गरिन्छ । त्यसपछि हाजा भाँडामा राखिन्छ । यो प्रक्रियाबाट तयार भएकालाई पोकः भनिन्छ । यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ । त्यो जाँड लिन पुगेपछि बाँकी भएको चामल, कोदो, चामलको बाकी ठोस पदार्थलाई क भनिन्छ ।

कः लाई ड्रममा राखेर सक्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्ने हुन्छ । त्यसलाई दैनिक सकेसम्म दुईपटक काठको हठ्ठीले चलाउनुपर्छ । यसरी दैनिक चलाउने रक्सी मीठो हुने वा चाँडै रक्सी बनाउने मिल्ने हुन्छ । यसरी चलाएर ड्रममा पानी जस्तो सग्लो निस्कन्छ । बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुन्छ ।

यसका लागि चाहिने भाडाकुँडाहरु फोंसी (राख्ने तामा वा सिलिबर भाडा) हो । सबैभन्दा तल हुन्छ, यसमा कः अर्थात् सग्लो पानी जस्तो निस्केको पदार्थ राखिन्छ । त्यसको माथि हाँसी (माटोको प्वाल भएको भाँडा) हुन्छ भने त्यसभित्र डोबुचा अर्थात् रक्सी जम्मा हुने सानो माटोको भाँडा हुन्छ । त्यसमाथि अर्थात् सबैभन्दा माथि बाटा अर्थात् पानी राख्ने भाँडो हुन्छ ।

यो पानी तलदेखि आएको वाफले गर्दा तातिने गर्दछ । पानी तातेपछि रक्सी बनिसकेको संकेत मिल्छ । त्यसपछि बीचको भाँडाभित्र रहेको सानो भाँडामा रक्सी जम्मा हुन्छ । जति पानी कम राखेको हो, रक्सी उति नै कडा हुने र पानी धेरै राखेको रक्सी नरम हुने मान्यता छ ।

रक्सी जाँच्ने परम्परागत तरिका

रक्सी कडा भयो कि भएन भन्ने जाँच पनि सजिलै गर्न सकिन्छ । बनाएको रक्सी थोरै झिकेर आगोमा राख्ने वा रक्सी कप वा भाँडामा राखेर आगो बालेर हेर्न सकिन्छ । यदि कडा रक्सी भए रक्सीमा आगो मज्जाले बल्छ र नभए कम आगो बल्छ ।

रक्सीको प्रकार

रक्सी सादा र मसालेदार गरी दुई किसिमको हुन्छ । मसालेदार रक्सी आफ्नो इच्छाअनुसार ल्वाङ, दालचिनी, सुपारी, अलैंची, ठूलो सानो सुकुमेल एउटा कपडामा पोको पारेर रक्सी जम्ने सानो भाँडामा राखिन्छ । रक्सी, विभिन्न फलफूल राखेर पनि बनाउने गरिन्छ ।

‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ । यो जति पुरानो भयो त्यति राम्रो र स्वादिलो हुने मानिन्छ,’ संस्कृतिवद् ओम धौभडेल भन्छन् ।

नेवारी परम्परामा रक्सीलाई सगुनका रूपमा लिइन्छ । जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ । ‘चाडपर्वमा नेवार समुदायमा धेरै प्रकारका हेभी खानेकुरा खाने गरिन्छ । ती प्रायः चिल्लो हुन्छन् । त्यही चिल्लो खानालाई जाँडरक्सीले काट्ने गर्छ,’ उनी भन्छन्, ‘जाडोमा शरीर न्यानो र तातो बनाउँछ यसले ।’ साथै रक्सीमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाकारी हुने मान्यता छ । ‘थोरै खाएमा रक्सी औषधि हो, धेरै खाए हानि पुर्‍याउँछ,’ धौभडेल भन्छन्, ‘रक्सी रमाइलोका लागि खानु ठीकै हुन्छ ।’

अयला पेय पदार्थ रक्सी
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?