मकहाँ कतिपय मान्छे एक्कासि दम बढ्यो भने आउने गर्छन् । म उनीहरुलाई सोध्छु, ‘के चुरोट तान्नुहुन्थ्यो ?’
उनीहरु भन्छन्, कहिल्यै चुरोट खाएको छैन ।
म फेरि सोध्छु, ‘कुनै पूजाआजामा लामो समय बस्नुभएको थियो ?’
यसमा उनीहरुको ‘हो, थिएँ’ भन्ने जवाफ आउँछ । पूजापाठमा सहभागी हुनु त धार्मिक आस्थाको कुरा भयो । तर त्यहाँ बालिने धूपको धुवाँले भने श्वासप्रश्वासमा सोझो असर गर्छ । बेलाबखत यस्तो धुवाँमा बस्नु त सामान्य हो । यद्यपि जो नियमितजसो धूपको धुवाँ भएको ठाउँमा बस्छन्, उनीहरुलाई फोक्सो एवं श्वासप्रश्वासको दीर्घकालीन समस्या हुने जोखिम उच्च हुन्छ ।
यसले तुरुन्तै एलर्जी हुने भन्दा पनि लामो समयपछि समस्या ल्याउन सक्छ । अझ यसको बढी जोखिम उनीहरुलाई हुन सक्छ, जो विगतदेखि नै दम वा श्वासप्रश्वासको समस्याले सताइएका छन् । पूजाआजामा होस् वा मठमन्दिरमा धूप अनिवार्य मानिन्छ । अधिकांशले घरकै पूजाकोठा, तुलसीको मठ आदिमा धूप बाल्ने गर्छन् ।
तर धेरैलाई हेक्का नभएको कुरा के हो भने धूपले मानव स्वास्थ्यलाई हानि गर्छ । त्यसको सुगन्ध हामीलाई मन परे पनि श्वासप्रश्वासमा यसले नकारात्मक असर गर्छ । धूपले प्रत्यक्ष रुपमै फोक्सो र श्वासप्रश्वास प्रणालीमा हानि गर्ने भएकाले सजगता अपनाउनैपर्छ ।
धूपबाट जुन धुँवा निस्कन्छ, त्यो चुरोटको जस्तै हानिकारक भएको पाइएको छ । चुरोट खाँदै नखाने तर धूप बाल्नेहरुलाई पनि श्वासप्रश्वाससँग सम्बन्धित रोगहरु लागेको उदाहरण प्रशस्तै छन् । अगरबत्ती एवं धूपले श्वासप्रश्वासमा कति असर गर्छ भनेर विभिन्न अध्ययन गरिएका छन् । भारतमा एउटा अध्ययन नै गरिएको थियो, मठमन्दिरमा बस्ने पूजारीहरुमा । त्यसबाट के पाइयो भने धूपको कारण उनीहरुमा श्वासप्रश्वास वा फोक्सोको रोग छ ।
मठमन्दिरमा मात्र होइन गुम्बामा बालिने धूपले गर्दा पनि फोक्सोलाई हानि गरेको पाइएको छ । थाइल्यान्ड, चीनलगायतमा गरिएको एक अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।
नेपालको सन्दर्भमा पनि यस्तै हुनसक्छ भन्ने अनुमान छ । मठमन्दिर, गुम्बा आदिमा अत्यधिक धूप बाल्ने गरिएको छ । तर यसलाई सोझै बाल्न मिल्दैन भन्न सकिने अवस्था पनि छैन । किनभने यो धार्मिक अस्थासँग जोडिएको कुरा हो । यद्यपि धूपको धुँवाले उनीहरुलाई दमको रोगी बनाउँछ भन्ने चाहिं पक्का हो ।
केही अध्ययनमा पाइएको छ, घरभित्र धूप जलाउँदा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएच) नामक रसायनको स्तर बढ्छ, जो क्यान्सरसँग जोडिएको छ । यसको अर्थ यो हो कि कुनै पनि प्रकारका कार्बनिक पदार्थ जलाउँदा पीएएच उत्पन्न हुन्छ । तर यही नै क्यान्सरको कारण हुन्छ भन्ने होइन । यसको मात्रा कति छ ? त्यस कुरामा भर पर्छ ।
के अगरबत्ती अर्थात् धूप जलाउँदा यस रसायन पर्याप्त मात्रामा निस्कन्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।
अगरबत्ती र क्यान्सरको कारणबारे अहिलेसम्म सबैभन्दा ठूलो अध्ययन सिंगापुरमा गरिएको थियो, जसमा ६१ हजार व्यक्ति सम्मिलित थिए । यसबाट के पाइयो भने धूपको अधिक प्रयोग गर्ने व्यक्तिमा वायुमार्गको क्यान्सर हुने जोखिम सामान्य व्यक्तिको भन्दा दुई गुणा बढी देखियो ।
प्राय: धूप बाल्ने ठाउँ खासगरी घरमा अलि साँघुरो र झ्यालढोका नभएको ठाउँमा हुन्छ । यस्तो ठाउँमा धूप बाल्दा त्यसबाट फैलिएको धुवाँ सोझै मान्छेको फोक्सोमा पुग्छ । त्यसैले धूप बाल्नैपर्ने भए पनि खुला ठाउँमा बाल्नुपर्छ वा पूजापाठ गर्ने ठाउँ खुला र हावा आउजाउ गर्ने खालको बनाउनुपर्छ । दम वा श्वासप्रश्वासको कुनै पनि रोग भएकाले मठमन्दिर, गुम्बा वा पूजापाठमा प्रयोग हुने धूपको धुँवामा लामो समय बस्न हुँदैन ।
धूप बाल्दै नबालौं भनेर म भन्न सक्दिन । तर यसमा सर्तकता अपनाउनु जरुरी छ ।
(ह्याम्स अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4