+

यसरी बनाउन सकिन्छ स्वादिलो क्वाँटी

२०८० भदौ  १३ गते १४:३९ २०८० भदौ १३ गते १४:३९
यसरी बनाउन सकिन्छ स्वादिलो क्वाँटी

काठमाडौं । जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । पहिला पहिला नेवार समुदायमा सीमित क्वाँटी अचेल सबै मानिसबीच लोकप्रिय बनेको छ । क्वाँटीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउलगायत नौ प्रकारका गेडागुडी मिसाइएको हुन्छ ।

क्वाँटी भनेको के हो ?

जनैपूर्णिमाका दिन नेवार समुदायले क्वाँटी पूर्णिमा मनाउँछन् । यस पर्वमा क्वाँटी खाने चलन छ । क्वाँटी शब्द नेपालभाषाको क्वाति शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ ‘तातो’ र ‘ति’ को अर्थ ‘झोल’ वा सुप हो । यस अर्थ क्वाति वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ ।

क्वाँटी पकाउने तरिका आ-आफ्नै हुन्छ । सामान्यतया क्वाँटी खाने दिनभन्दा चार-पाँच दिनअघिदेखि पानीमा भिजाएर गेडागुडीको टुसा उमार्ने गरिन्छ । यसमा सानो सानो रोटी बनाएर पनि राख्ने चलन छ । क्वाँटीमा तोरीको तेल ज्वानो फुराएर हालिन्छ । ज्वानोले चिसो हटाउने विश्वास गरिन्छ । अनि यसलाई उहिले कसौडीमा बनाउने चलन थियो भने आजभोलि प्रेसर कुकुरमा बनाइन्छ ।

किन खाइन्छ ?

संस्कृतविद् ओभ धौभडेल भने साउन महिनामा किसान खेतीपातीमा अर्थात् धान गोलमेलमा व्यस्त हुन्छन् । वर्षाको समय खेतमा रुझेर काम गर्दा शरीर थकित हुने, मांसपेशी कमजोर हुने र शरीरमा चिसो लाग्ने उनी बताउँछन् ।

‘शरीरको थकान हटाउन अर्थात् शरीरमा ऊर्जा ल्याउन क्वाँटीको तातो झोल खाने चलन छ । यसले शरीरमा स्फूर्ति र जाँगर बढाउँछ,’ धौभडेल भन्छन्, ‘त्यस्तै यसले पाचनक्रियालाई पनि सक्रिय बनाउन मद्दत गर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।’ जनैपूर्णिमाका दिन खाने चलन भए पनि यसलाई अरु दिन पनि खानु राम्रो हुने उनी बताउँछन् ।

क्वाँटीका खानुका फाइदा

गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । यसमा आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा हुन्छ ।

दैनिक खाने खानेकुरामा क्याल्सियम र प्रोटिन केही मात्रामा हुन्छ तर फाइबर सबैमा हुँदैन । त्यसैले गेडागुडीमा प्रयाप्त मात्रामा फाइबर हुन्छ । यसले गर्दा पाचन पक्रिया बलियो हुन्छ । पेट सफा राख्न मद्दत गर्छ ।

झन् बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । यसले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो मानिन्छ ।

क्वाँटी खानेकुरा जनैपूर्णिमा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय