+

यी लक्षण, जसले क्षयरोगको संकेत गर्छन्

२०८० भदौ  १७ गते १५:४९ २०८० भदौ १७ गते १५:४९
यी लक्षण, जसले क्षयरोगको संकेत गर्छन्

टिबी एवं क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर, धेरैजसो फोक्सो, घाँटी, हड्डी, पेट, मस्तिष्कमा यसको असर रहन्छ । क्षयरोगबाट सबैभन्दा बढी फोक्सो प्रभावित हुन्छ । ७० देखी  ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । क्षयरोग एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्छ ।

के कारणले हुन्छ

यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोलाई निशाना बनाउँछ, तर यसले फोक्सोका साथै शरीरका अन्य भागहरूलाई पनि क्षति पु¥याउँछ ।

यो हावाबाट सर्ने रोग हो । क्षयरोग लागेको व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा माइक्रोब्याक्टेरिया हावाको माध्यमबाट अन्य व्यक्तिमा सर्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ ।

कसरी थाहा हुन्छ ?

क्षयरोगको सामान्य लक्षणहरूमा २ हप्ता भन्दा बढी ज्वरो आउने हुन्छ, जुन सामान्यतया साँझपख सुरु हुन्छ । खान मन नलाग्ने, तौल घट्ने, कमजोर महसुस हुने र राति पसिना आउने यसका सामान्य लक्षण हुन् ।

-फोक्सोको क्षयरोगले लामो समयसम्म खोकी लाग्ने, खकारमा रगतको छिटा देखा पर्ने, सास फेर्न गाह्रो हुने र फोक्सोमा दुखाइ हुन सक्छ ।

-घाँटीको क्षयरोग हो भने घाँटीको ग्रन्थिहरू बढ्दै जाने सुन्निने जस्ता लक्षण देखिन्छन् ।

-हाड जोर्नीको क्षयरोगले सामान्यतया मेरुदण्डलाई असर गर्छ, जसले मेरुदण्ड दुख्ने,  हड्डी कमजोर हुने हुन्छ ।

-पेटको क्षयरोग भएमा पेट दुख्ने, फुल्ने, पेटमा पानी जम्ने, पेट भारी हुने र पखाला लाग्ने हुन्छ ।

-मस्तिष्क क्षयरोग भएमा टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता हुने, पक्षाघात हुने, शारीरिक सन्तुलन गुमाउने जस्ता लक्षण देखिन्छन् । यसको लक्षण छारे रोगसँग पनि मिल्दोजुल्दो हुन्छ ।

-छालाको क्षयरोग हो भने छालामा दागहरू देखा पर्ने र त्यो दागहरू उपचार गर्दा पनि निको भएन भने क्षयरोगको लक्षण हुन सक्छ ।

-आँखा रातो हुँदै जाने  समस्या छ भने आँखाको क्षयरोग हुन सक्छ । जुन अंगमा समस्या छ त्यही अंगमा विभिन्न लक्षणहरू देखा पर्छन् । साथै यसको लक्षण अरु रोगसँग पनि मिल्दोजुल्दो हुन्छ ।

के छ त उपचार ?

क्षयरोग विभिन्न प्रकारको हुने भए पनि उपचार भने एउटै प्रकारको औषधिले गरिन्छ । तर, रोग कति जटिल छ त्यो अनुसार औषधि सेवन गर्नुपर्ने समय फरक पर्छ ।

सामान्य खालको क्षयरोगमा ६ महिनासम्म नियमित औषधि खाए निको हुन्छ । मस्तिष्क, हाडजोर्नी र शरीरमा फैलिएको क्षयरोगमा ९ देखी ११ महिना औषधि खानुपर्छ  ।

जटिल खालको क्षयरोगमा ९ महिना देखी १८ महिनासम्म पनि औषधि खानुपर्ने हुन सक्छ । नियमित औषधि आए क्षयरोग पूर्ण रूपमा निको हुन्छ ।

औषधि निःशुल्क पाइने भएकाले यसका लागि खर्च लाग्दैन । क्षयरोगको लक्षण देखिए जाँच गराएर औषधि खाएर यसलाई निको पार्न सकिन्छ ।

के कुरामा ध्यान दिने ?

क्षयरोगको जोखिम सबै उमेर समूहलाई हुन्छ । यद्यपि, बालबच्चा, बुढापाका र दीर्घरोगी क्षयरोगको बढी जोखिममा हुन्छन् ।

पोषणयुक्त सन्तुलित खाना खाने, मद्यपान र धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने गरियो रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र क्षयरोगको जोखिमबाट बच्न सकिन्छ ।

खोक्दा वा हाँच्छ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने । बालबालिकामा निश्चित समयमा बिसीजी खोप लगाउने । क्षयरोग लागेका व्यक्तिभन्दा टाढै बस्ने । रोगीको जुठो नखाने । यसरी सतर्कता अपनाए क्षयरोगको जोखिमबाट बच्न सकिन्छ ।

(डा. पंगेनी ह्याम्स अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ हुन् )

डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय