+

अकुपन्चर थेरापी कसरी गरिन्छ, के छन् फाइदा ?

२०८० भदौ  २५ गते १४:०८ २०८० भदौ २५ गते १४:०८
अकुपन्चर थेरापी कसरी गरिन्छ, के छन् फाइदा ?

अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर ।

पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । इतिहास लामो बोकेको यो उपचार पद्धति सन् १९७९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पछि विश्वका अधिकांश देशमा प्रयोग हुँदै आएको छ ।

डब्लुएचओले २५० वटा रोगमा अकुपन्चर प्रभावकारी रहेको ठहर गरे पनि विश्वव्यापी रुपमा अकुपन्चर हाडजोर्नी तथा नसासम्बन्धी समस्यामा प्रयोग हुँदै आएको छ । कम्मरको दुखाइ, गर्दनको दुखाइ, पारालाइसिस, न्युरलजिया, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्यामा पनि अकुपन्चर प्रभावकारी छ ।

यसले कसरी काम गर्छ ?

शरीरमा मुख्य गरी मेरिडियनमा अवस्थित ३६१ अकुपन्चर बिन्दु हुन्छन् । जुन समस्या अनुसारको छुट्टाछुट्टै रोगमा प्रयोग गरिन्छ । सो बिन्दु अकुपन्चरिस्ट पहिचान गर्न सक्छन् । यद्यपि तीमध्ये ९० वटा बिन्दु छानेर उपचार गर्ने अहिलेसम्मको अभ्यास छ ।

रोगको पहिचान गरेपछि ९० वटा बिन्दु छानेर त्यसमा ‘फिलिफर्म’ नामक सियोले घोचिन्छ । एउटा बिन्दुबाट अकुपन्चर बिन्दुहरूमा सुईले केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई प्रभाव पार्नुका साथै शरीरका धेरै भागमा रगतको प्रवाह पनि बढाउने, इन्डोरफिन हार्मोन रिलिज गराई प्राकृतिक पेन किलरको काम गर्छ ।

त्यस्तै, अटोनामिक नर्भस सिस्टममार्फत शरीरको नसा, रक्तचाप, पारा सिम्पाथेटिकको आउट फ्लोलाई सन्तुलन गर्छ । रोगसँग लड्ने क्षमता बढाइदिन्छ । साइकोलोजिकल प्रभाव बढ्छ, जसले दिमागले निकाल्ने केमिकललाई सन्तुलन गर्छ ।

कुपन्चरको सिद्धान्त

अकुपन्चरको कार्यमा दुईवटा सिद्धान्त लागू हुन्छ । प्राचीन चिनियाँ मेडिसिन र मोडर्न चिनियाँ मेडिसिन कन्स्पेट ।

प्राचीन चिनियाँ मेडिसिन अनुसार शरीरमा दुईवटा फोर्स हुन्छ, सकारात्मक र नकारात्मक । चिनियाँ भाषामा सकारात्मकलाई ‘यिङ’ र सकारात्मकलाई ‘याङ’ भनिन्छ । यी दुई तत्वको सन्तुलन बिग्रिंदा रोग लाग्छ । यसलाई सन्तुलन गर्ने टेक्निक ‘इङयाङ ब्यालेन्स सिद्धान्त’ हो ।

यसमा यिङ र याङको सन्तुलन बिग्रिनुको कारण पत्ता लगाई त्यसले असर गरेको पोइन्ट समातेर उपचार गरिन्छ । जसले गर्दा रोग निको हुन्छ ।

आधुनिक विज्ञानका अनुसार अकुपन्चरका ६ वटा प्रभाव छन् ।

एनाल्जेसिक्स इफेक्ट : अकुपन्चर गर्दा प्राकृतिक पेन किलर रिलिज हुन्छ । जसले गर्दा शरीरमा हुने सबै किसिमको दुखाइजन्य समस्या कम गर्छ ।

सिडेक्टिभ इफेक्ट : दिमागले तरंगहरु निकाल्छ । त्यो तरंगलाई अकुपन्चरले सन्तुलन गरिदिन्छ । जसले गर्दा एन्जाइटी, डिप्रेसन लगायत विभिन्न मानिसक समस्यामा मद्दत गर्छ ।

इम्युनोइन ह्यान्सिन इफेक्ट : अकुपन्चरको निश्चित केही बिन्दुमा घोच्दा शरीरमा प्रतिरोध क्षमता सन्तुलन हुन्छ । यसले प्राकृतिक रुपमा प्रतिरोध क्षमता बढाउँछ ।

होमोस्ट्याटिक ब्यालेन्स : यसले स्नायुप्रणालीमा हुने पारासिमप्याथेटिक र सिमप्याथेटिक प्रवाहलाई सन्तुलन गर्छ । जसले गर्दा मुटुको हार्ट रेट, पल्स र शरीरमा उत्पादन हुने हार्मोन रिलिजलाई समेत सन्तुलन गर्छ ।

मोटर रिकभरी : प्यारालाइसिस भएका व्यक्तिमा यस उपचार विधिले दिमागको चलेको भागलाई बायो फिडब्याक मेकानिजममार्फत दिमागको अर्को भागलाई ट्रेनिङ गरेर निको बनाउन मद्दत पुग्छ ।

साइकोलोजिकल इफेक्ट : ब्रेनमा हुने नियुरोरसायनहरुलाई सन्तुलन गर्छ । पार्किन्सन,  उपचारमा प्रभावकारी छन् ।

बिरामीको अवस्था अनुसार अकुपन्चरसँगै अकुप्रेसर र फिजियोथेरापी गर्दा झनै प्रभावकारी र छिटो नतिजा निस्किन्छ ।

अकुपन्चरसम्बन्धी केही जिज्ञासा

अकुपन्चर कति पटक गर्ने ?

अकुपन्चर १० दिनसम्म दैनिक गर्नुपर्छ । त्यसपछि केही दिनको फरकमा पुन: बिरामीको अवस्था हेरेर गरिन्छ । कति पटकसम्म अकुपन्चर गर्ने भन्ने कुरा व्यक्ति अनुसार र रोगअनुसार पनि फरक पर्न सक्छ । प्यारालाइसिस भएकालाई ९० दिनसम्म गरिन्छ । पुरानो र जीर्ण रोगमा धेरै समय लाग्छ ।

अकुपन्चरमा प्रयोग हुने सुईले दुख्छ ?

अकुपन्चरमा लगाइने सुई देख्दा धेरैलाई दुख्न सक्छ कि भन्ने लाग्न सक्छ । सामान्यतया अकुपन्चरको सई राख्दा केही घोचेको जस्तो अनुभव हुन्छ तर दुख्दैन । किनभने यसमा प्रयोग हुने सुई निकै मसिनो २.५ एमएम डायोमिटरको  हुन्छ । कहिलकाहीं संवेदनशील बिन्दुमा राख्दा हल्का दुखाइ हुन्छ । जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुन सक्छ ।

खर्च

एक चरणको ५० देखि ७०० रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

र्घरोगको औषधि लिइरहेकाले अकुपन्चर गर्न मिल्छ कि मिल्दैन ?

दीर्घरोग भएका व्यक्तिलाई यसले कुनै साइड इफेक्ट गर्दैन । अकुपन्चर यस्तो पद्दति हो, जुन सबै चिकित्सा पद्धतिसँग मिसाउन मिल्ने भएकाले दीर्घरोग भएकाले पनि गर्न सक्छन् ।

तर रगत पातलो हुने रोगमा भने रगत जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा भने विशेष सावधानी अपनाएर मात्र गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

अकुपन्चर धेरै समयसम्म भोको रहेको अवस्थामा गर्न मिल्दैन । मदिरा सेवन गरेको समय, गर्भवतीको पहिलो र अन्तिम चरणमा तथा सरुवा रोगमा गर्न मिल्दैन ।

(अकुपन्चरिस्ट बस्नेत सुस्वास्थ्य अस्पतालका अध्यक्षसमेत हुन् )

अकुपन्चर स्वास्थ्य
अकु. सुदर्शन बस्‍नेत
लेखक
अकु. सुदर्शन बस्‍नेत
अकुपञ्चरिस्ट

एनएचपीसी-बी ३ दुई दशकदेखि अकुपञ्चर, अकुप्रेसर, मोक्सीबस्टनको क्षेत्रमा कार्यरत, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय