+

डिप्रेसनको औषधि जीवनभर खान जरुरी छ ?

२०८० भदौ  २७ गते १६:३७ २०८० भदौ २७ गते १६:३७
डिप्रेसनको औषधि जीवनभर खान जरुरी छ ?

डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि खान थालेपछि जीवनभर खानु पो पर्छ कि ?

कति बिरामी त औषधि जीवनभर खानुपर्छ भन्ने डरले उपचारको लागि अस्पताल नै पुग्दैनन् । डिप्रेसन र अन्य मानसिक रोगको बारेमा अझै पनि चेतनाको अभाव छ ।

डिप्रेसनको औषधि एकपटक सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने धेरैलाई लाग्छ । सबै डिप्रेसनका बिरामीले जीवनभर औषधि खानुपर्छ भन्नेमा सत्यता छैन । रोगको प्रकृति, आवश्यकता र शारीरिक मानसिक अवस्था हेरेर औषधि कति समय खाने भन्ने कुरा निर्धारित हुन्छ ।

पहिलो पटक कोहीलाई डिप्रेसन निदान भएपछि ६ देखि नौ महिनासम्म औषधि चलाइन्छ । समस्या बिस्तारै ठीक हुँदै गएपछि औषधि घटाउँदै बन्द गर्न सकिन्छ । कुनै केशमा यो भन्दा कम समयमा पनि औषधि छुट्न सक्छ ।

डिप्रेसनको प्रभाव व्यक्तिपिच्छे फरक हुन सक्छ र औषधिको आवश्यकता पनि फरक हुन सक्छ । त्यसैले एउटा बिरामीले ६ महिना औषधि  खान्छ भने अर्को बिरामीले पनि ६ महिना नै खानुपर्छ भन्ने हुँदैन । कडाखाले मानसिक रोग सिजोफेर्नियाको प्रभाव दीर्घ समयसम्म रहन सक्छ । त्यसैले बिरामीको अवस्था हेरेर औषधि दीर्घकालीन रूपमा चलाउनुपर्ने हुन सक्छ ।

औषधि कति समय खाने, कुन डोजको खाने भन्ने कुरा चिकित्सकको निरन्तर परामर्शमा मात्र गर्नुपर्छ ।

डिप्रेसनको औषधिको लत लाग्छ ?

डिप्रेसनको औषधि कुनै लत हुन सक्ने पनि हुन्छन् । बेन्जोडाइजेपाइन्स जस्ता औषधि लामो समय चिकित्सकको सल्लाह बिना खाइयो भने यसको लत लाग्ने सम्भावना पनि हुन्छ । तर अन्य मानसिक स्वास्थ्यका औषधिहरू चिकित्सकको  सल्लाह अनुसार घटाउँदै गएर छोड्दा लत लाग्ने हुँदैन ।

डिप्रेसनको उपचारमा औषधि र परामर्श दुवै उत्तिकै महत्त्वपूर्ण

डिप्रेसनको उपचारमा औषधि मात्र प्रयोग र परामर्श मात्र भन्दा औषधिसँगै परामर्श पनि राम्रो भएको अवस्थामा बिरामीको समस्या छिटो समाधान हुन्छ ।

औषधिसँगै बिरामीलाई स्वहेरचाह, तनाव व्यवस्थापन पनि सिकाइयो भने समस्या छिटो कम हुँदै जान्छ । त्यसैले बिरामीले मनोचिकित्सकको सल्लाहमा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श लिनु राम्रो हुन्छ ।

औषधिको साइड इफेक्ट

औषधिको प्रकृतिअनुसार केहीको साइड इफेक्ट देखिन सक्छ । कुनै औषधिले तौल बढ्ने, थकान महसुस हुने, मुख सुख्खा हुने, कब्जियत र कोलेस्टेरोलको मात्रा घटबढ गराउने सम्भावना रहन्छ । यद्यपि सबै औषधिको सबैलाई साइड इफेक्ट हुन्छ भन्ने होइन ।

कुनै औषधिको सेवनले टाउको दुख्ने, हातखुट्टा झमझमाउने जस्ता साइड इफेक्ट पनि देखिन सक्छन् । तर मनोचिकित्सकले राम्ररी जाँच गरेर दिएको औषधिले के कस्तो साइड इफेक्ट हुन सक्छ भन्ने कुरा बिरामीलाई पहिले नै जानकारी गराउनुपर्छ । साइड इफेक्ट देखिए त्यसलाई निवारण गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । जस्तै, कुनै औषधिले मोटोप बढ्छ भने व्यायाम गर्ने, सन्तुलित खाना खाने गरेर मोटोपनबाट बच्न सकिन्छ ।

लामो अध्ययन अनुसन्धान गरेर मात्र औषधि बनेको हुन्छ । त्यसैले साइड इफेक्ट हुन्छ भनेर औषधि प्रयोग गर्न डराउन भने हुँदैन ।

सबैखाले डिप्रेसनमा औषधि खानैपर्छ भन्ने छैन

डिप्रेसन तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा औषधि प्रयोग गर्नैपर्छ भन्ने पनि हुँदैन । कतिपय समस्या परामर्श मात्रले पनि निको हुन्छन् ।

औषधि प्रयोग गर्नुपर्छ कि पर्दैन, कति मात्रामा गर्नुपर्छ भन्ने कुरा चिकित्सकले बिरामीको गम्भीरता र  आवश्यकता हेरेर निर्धारण गर्छन् । यदि औषधिको प्रयोगबिना परामर्श मात्र निको हुन्छ भने पनि चिकित्सकले परामर्श सुझाउँछन् ।

(त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सगुनबल्लभ पन्तसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

‍औषधि डा. सगुनबल्लभ पन्त डिप्रेसन
लेखक
डा. सगुनबल्लभ पन्त, मनोचिकित्सक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय