+

धेरै मासु खाँदा के हुन्छ ?

२०८० भदौ  २७ गते १८:३८ २०८० भदौ २७ गते १८:३८
धेरै मासु खाँदा के हुन्छ ?

काठमाडौं । मासु जिब्रोको लागि स्वादिलो त हुन्छ नै, यो प्रोटिनको राम्रो स्रोत पनि हो । बदलिंदो खानपान शैलीसँगै मासु दिनहुँ खाने चलन पनि बढिरहेको छ । तर यसरी हरेक दिन मासु खानु कति स्वास्थ्यबर्द्धक हुन्छ ? यो प्रश्न धेरैको मनमा आउन सक्छ ।

पोषणविद् आयुष अधिकारी भन्छन्, ‘धेरै खाएमा मासु मात्र होइन, सबै खानेकुराले हानि गर्छ । दैनिक वा नियमित शरीरलाई चाहिने भन्दा बढी मासु खाँदा फाइदा भन्दा पनि बेफाइदा हुन्छ ।’

रातो र प्रशोधित मासु धेरै मात्रामा खाँदा शरीरमा खराब कोलोस्टोरेल बढ्ने र मासुमा हुने बोसो र चिल्लो धमनीमा जमेर मुटुरोगको तथा उच्च रक्तचापको जोखिम पनि उत्तिकै हुने उनी बताउँछन् । त्यस्तै पाचन प्रक्रियामा समस्या भएर कब्जियत, पायल्स, फिसर, फिस्टुला जस्ता समस्या हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धेरै मात्रामा प्रशोधित मासु खाँदा क्यान्सर हुन सक्नेसमेत उल्लेख गरेको छ । मासु धेरै खाँदा शरीरमा बोसो जम्छ र प्रोटिन धेरै भएर मोटोपन पनि हुने पोषणविद् अधिकारी बताउँछन् ।

मासु धेरै खाँदा रक्तसञ्चार प्रणाली वृद्धि भएर रक्तचाप बढ्छ । साथै मधुमेह र अन्य रोग लाग्ने जोखिम हुन्छ ।

पेट तथा कलेजोरोग विशेषज्ञ डा. सुरेन्द्र शाह भन्छन्, ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तो मासु धेरै खानाले पनि नकारात्मक असर गर्छ । तर मासुले नै प्रत्यक्ष रुपमा असर गर्ने होइन, त्यसमा प्रयोग गरिने मरमसला, चिल्लो पदार्थ र पकाउने तरिकाका कारण पेटमा असर गर्छ । यदि मासु उसिनेर कम मरमसला हालेर सन्तुलन गरी खान सके यसले शरीरमा हानि नहुने उनी बताउँछन् ।

ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले मासु खान हुँदैन भन्ने भ्रम पनि छ । तर यसमा सत्यता नभएको डा. बताउँछन् । ‘सन्तुलन मिलाएर खान सकिन्छ । ग्यास्ट्रिक भएकाले पनि मासु खान मिल्छ । मासु धेरै खाँदा कब्जियत गराउने भएकाले पायल्स, फिसर र फिस्टुलाजस्ता मलद्वारसँग सम्बन्धित रोगको जोखिम हुन्छ । यस्ता समस्या पहिलै भएमा बल्झिने सक्ने सम्भावना बढी हुन्छ,’ उनी भन्छन् ।

धेरै मासु खाएमा आन्द्राको पचाउने क्षमतामा पनि समस्या आउन सक्ने हुन्छ । पेटको संक्रमण भएमा, भर्खरै कुनै शल्यक्रिया गरेकोमा, आन्द्रासम्बन्धी समस्या भएका मानिसले धेरै मासु नखानु नै राम्रो हुने डा. शाह बताउँछन् ।

मासुमा पनि रातो मासु भन्दा कुखुरा र माछाको मासु खानु उपयुक्त हुने उनी बताउँछन् । ‘सेतो मासुमा कोलेस्टोरेलको मात्र कम हुन्छ । जसले गर्दा मुटु, मधुमेह र उच्च रक्तचापको जोखिम कम हुन्छ,’ उनी भन्छन् ।

मासु कति खाने, कसरी खाने ?

मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्था अनुसार मासु खानु उपयुक्त हुने पोषणविद् उमा कोइराला बताउँछिन् ।

‘सबैलाई यति नै मासु खाएमा फाइदा हुन्छ भन्न मिल्दैन । तर विश्वव्यापी मान्यताअनुसार शरीरमा एक किलो तौल बराबर एक ग्राम प्रोटिन चाहिन्छ भनिन्छ । त्यस हिसाबले हेर्दा हामीलाई सरदर ५० किलो तौलको मान्छे छ भने ५० ग्राम मासु खानुपर्छ,’ उनी भन्छिन्, ‘तर हामीले मानिसको तौल र मासु नापतौल गरेर खाने सम्भव हुँदैन र छैन पनि । त्यसैले सरदर एक जनाले दिनमा सय ग्राम मासु खान सकिन्छ ।’

नेपालको परिवेशमा हेर्ने हो भने शहरी क्षेत्रका मानिस दिनुहँजस्तै मासु खाइरहेका हुन्छन् भने गाउँघरतिर नियमित खाने चलन हुँदैन । यस हिसाबले गाउँघरका मानिसले केही बढी खाए पनि खासै ठूलो हानि नगर्ने पोषणविद् कोइराला बताउँछिन् ।

‘शहरका मान्छे हिड्दैनौं, डुल्दैनौं । खाएर सुत्ने, एकै ठाउँमा बसिराख्छौं र पचाउन सकिंदैन । जसकारण अलिकति सोचेर खानु नै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘हप्तामा तीन-चार पटकसम्म बढीमा चार-पाँच पिसका दरले मात्र मासु खानसके उत्तम हुन्छ । सकेसम्म मासु झोल बनाए वा उसिनेर खान सकिन्छ ।’

स्वास्थ्यलाई भन्दा जिब्रोको स्वादलाई ध्यान दिएर मासु खानु राम्रो नहुने उनी बताउँछिन् । भुटेर, तारेर, पोलेर, फ्राइ गरेर चिल्लो र मरमसला धेरै हालेर मासु खानु हानिकारक हुन्छ । मासु पच्नै पनि अरु खानेकुराभन्दा बढी समय लाग्छ । शाकाहारी खाना २४ घण्टामा पच्छ भने मासु पच्न ७२ घण्टा लाग्ने कोइराला बताउँछिन् ।

मासु धेरै खाँदा हुने समस्याका बारेमा १८ वर्ष लामो अनुसन्धान गरिएको थियो । अनुसन्धानमा १० युरोपेली देशका पाँच लाख मानिस सहभागी थिए । यस अवधिमा उनीहरुको खानपानको ट्रयाक राखिएको थियो । जसमा क्यान्सर, मुटुरोग र मधुमेहको पनि निगरानी गरिएको थियो ।

उक्त अनुसन्धानले धेरै मासु खाने मानिसको अल्पायुमै मृत्यु हुने सम्भावना अधिक देखाएको थियो । साथै शाकाहारी खानेकुरा मात्रा खाने मानिस पनि खासै लामो समय नबाँच्ने देखाएको थियो । यी दुवैको तुलनामा कम वा ठिक्क मात्रामा मासु खाने मानिस लामो समय बाँच्ने निष्कर्ष निकालिएको थियो ।

त्यस्तै जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्रामभन्दा बढी मासु नखान सुझाव दिएको । साथै ससेज जस्ता प्रशोधित मासुबाट टाढा बस्न पनि सुझाइएको छ ।

कस्ता बिरामीले मासु नखाने ?

उच्च रक्तचाप, कोलेस्टेरोल, मिर्गौला, पित्तसम्बन्धी रोग, बाथरोगका बिरामी, युरिक एसिडका बिरामीले माछामासु नखाँदा राम्रो हुने पोषणविद् कोइराला बताउँछिन् । ‘कतिपय मिर्गौलाका बिरामीले तागतका लागि मासुको एकदम पातलो झोल चाहिं खान सकिन्छ । मधुमेहका बिरामीले मासु कम खानु राम्रो हुन्छ,’ उनी भन्छिन् ।

खानपान मासु स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय