+
+
नाडा अटो शो–२०२३ :

सवारीसाधन खरिदमा कर्जा उपलब्ध गराउन बैंकहरुबीच प्रतिस्पर्धा

बेसरेटमा १ प्रतिशत प्रिमियममै कर्जा

विजय पराजुली विजय पराजुली
२०८० भदौ २९ गते १८:३०

२९ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि जारी ‘नाडा अटो शो–२०२३’ मा नयाँ गाडीहरुमा मात्रै होइन, बैंक तथा वित्तीय संस्थाको लगानी प्योकजमा पनि आकर्षण देखिएको छ ।

गाडी खरिद गर्न चाहनेहरुलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितको कर्जा योजना ल्याएका छन् ।

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनमाभन्दा इन्धनबाट चल्ने सवारीसाधनमा उपलब्ध गराउने कर्जामा कडाइ गरेको छ । सोहीअनुसार बैंकहरुले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनका लागि फरक–फरक अफर ल्याएका छन् ।

बैंक तथा वित्तीय संस्थाको लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरु नै बताउँछन् । तर, आर्थिक गतिविधि बढाउन योगदान दिए पनि उत्पादन, पूँजी निर्माण र आर्थिक वृद्धिमा सकारात्मक योगदान नदिएको भन्दै राष्ट्र बैंक अटोमोबाइलमा जाने कर्जामा अनुदार छ ।

राष्ट्र बैंकले ठूला र विलासिताका गाडी खरिदमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म तोकेको छ, जसले बैंकहरुलाई हायर पर्चेज कर्जा लगानीमा निरत्साहित गर्दै आएको छ ।

७ साउनमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखसम्मको हायर पर्चेज कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गरेको छ । तर, व्यवसायीहरुले भने सबै प्रकारका अटो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गर्न माग गर्दै आएका छन् ।

विद्युतीय गाडीमा २० प्रतिशत डाउन पेमेन्ट गरेर ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले तोकेको नियामकीय व्यवस्थाभित्रै रहेर बैंकहरुले गाडी कर्जामा विभिन्न अफरहरु ल्याएका छन् ।

राष्ट्र बैंकले तोकेको जोखिम भार र विद्युतीय बाहेकका गाडीमा धितोको ५० प्रतिशतमात्रै ऋण दिने व्यवस्थाले बैंकमा तरलता हुँदा पनि अटोमोबाइलमा अपेक्षित ऋण नगएको व्यवसायीहरु बताउँछन् । नाडा अटोमोबाइल्स एसोसियसनले मौद्रिक नीतिमा सुझाव दिँदै हायर पर्चेज कर्जामा जोखिम भार ७५ प्रतिशत कायम गर्नुपर्ने बताएको थियो । त्यस्तै, निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्यालु रेसियो’ हालको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने सुझाव पनि नाडाको थियो ।

राष्ट्र बैंकले २५ लाखसम्मको हायर पर्चेज कर्जामा केही लचकता अपनाए पनि त्यसभन्दा माथिको कर्जामा भने जोखिम भार यथावत छ । त्यही पनि बैंकहरुमा बढ्दो लगानीयोग्य स्रोतसँगै बैंकहरुले हायर पर्चेज कर्जामा आकर्षक अफरहरु ल्याएका छन् ।

‘नाडा अटो शो’ मा कस्ता छन् बैंकहरुको अफर ?

‘नाडा अटो शो’भित्रै स्टल राखेको प्रभु बैंकले विद्युतीय सवारीसाधनमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने अफर ल्याएको छ ।

यस्तै, इन्धनबाट चल्ने गाडीमा आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा दिने र अन्य गाडीमा भने ५० प्रतिशत मात्रै कर्जा सुविधा रहेको छ । वाणिज्य बैंकहरुलाई कर्जा दिँदा सेवाशुल्क ०.७५ प्रतिशत मात्रै लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । प्रभुले हुन्डाइका गाडी खरिदमा भने १ वर्षसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा नै कर्जा दिने व्यवस्था मिलाएको छ ।

लक्ष्मी सनराइज बैंकले पनि विद्युतीय गाडीमा आधार दरमा १ प्रतिशत प्रिमियममै कर्जा दिने योजना ल्याएको छ । अन्य गाडी खरिद गर्दा भने आधार दरमा १.५ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यस्तै बैंकले स्थिर ब्याजदरको योजना पनि ल्याएको जनाएको छ । जुनसुकै गाडी खरिद गर्दा पनि ५ वर्षसम्म १२.५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।
हिमालयन बैंकले आधार दरमा १.१२ प्रतिशत प्रिमियममा जुनसुकै गाडी खरिदमा कर्जा दिने योजना ल्याएको हो । बैंकले कर्जाको सेवाशुल्क पनि ०.५० प्रतिशत मात्रै लिने जनाएको छ ।

सानिमा बैंकले ७ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा अफर ल्याएको छ । सबै गाडी खरिदमा ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ । यस्तै सबै गाडी खरिद कर्जामा सेवाशुल्क पनि ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।

नबिल बैंकले ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा अफर ल्याएको हो । ५ वर्षका लागि सबै गाडीमा १०.४९ प्रतिशत ब्याजदर र ७ वर्षको लागि भने १०.९९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले भने विद्युतीय गाडीमा १०.४९ प्रतिशत र अन्य गाडीमा १०.९९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको छ । बैंकले विद्युतीय गाडीका लागि कर्जामा सेवाशुल्क ०.५ प्रतिशत र अन्य हायर पर्चेज कर्जामा भने ०.७५ प्रतिशत सेवाशुल्क रहेको जनाएको छ । यस्तै आधार दरमा १.५ प्रतिशत प्रिमियममा फ्लोटिङ व्याजदरमा कर्जा दिने योजना बैंकले ल्याएको छ । उक्त कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै सेवाशुल्क रहेको बैंकले जनाएको छ ।

बैंकले कमर्सियल भेहीकलमा विद्युतीयका लागि ११.४९ प्रतिशत र अन्यमा १२.४९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । कमर्सियल भेहीकलमा पनि विद्युतीयमा ०.५ प्रतिशत सेवाशुल्क र अन्यमा ०.७५ प्रतिशत सेवाशुल्क पुगेको छ ।

विकास बैंकतर्फ कामना सेवा विकास बैंकले आधार दरमा ०.१४ प्रतिशत प्रिमियम थप गरी कर्जा योजना ल्याएको छ । बैंकले विद्युतीयमा ८० प्रतिशतसम्म र अन्यमा ५० प्रतिशत कर्जा दिने जनाएको छ । यता महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा योजना ल्याएको छ । यस्तै फ्लोटिङ ब्याजदरमा पनि कर्जा योजना ल्याएको हो ।
नाडा अटोमोबाइल एसोसिसनका अध्यक्ष ध्रुवराज थापा हायर पर्चेज कर्जाका लागि आकर्षक अफर सहित बैंकहरु लगानी गर्न तयार देखिएको बताउँछन् ।

‘सर्वसाधारणको भीड पनि अपेक्षाभन्दा राम्रो देखिएको छ । हायर पर्चेज कर्जाका लागि बैंकरुमा पनि प्रतिस्पर्धा देखिएको छ । मेलामा उत्साह देखिन्छ,’ थापा भन्छन्, ‘नाडा अटो शो’मा सर्वसाधारणको चासो धेरै देखिएको छ । यस्तै बैंकहरुले पनि आकर्षक कर्जा अफर ल्याएर राम्रो साथ दिएका छन् ।’

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली विद्युतीय गाडी खरिदमा धेरै नै सुझबुझ आएको बताउँछन् । ‘नबिल बैंकको आधार दर तुलनात्मक रुपमा कम नै भएकोले ब्याजदर पनि कम नै हुन्छ ,’ उनले भने, ‘स्थिर ब्याजदर नै १०.४९ र १०.९९ मा कर्जा दिएका छौं । अहिले कर्जाको माग छैन । कन्जुमर फाइनान्सिङलाई बैंकले प्राथमिकता दिएको छ ।’

बैंकमा भएको लगानीयोग्य स्रोत बैंकमा राखेर मात्रै हुँदैन, आर्थिक गतिविधि बढाउन पनि लगानी गर्नुपर्छ भनेर मुद्दती निक्षेपमा दिएको भन्दा कम दरमा स्थिर ब्याजदरको कर्जा दिएको उनले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?