जब हामी निदाउँछौं, मस्तिष्कले आरम पाउँछ । मस्तिष्कलाई ताजा र स्वस्थ राख्न गहिरो र पुग्दो निद्रा जरुरी हुन्छ ।
हामीलाई थाहा भएकै हो, राती मस्त निद्रा सुतेपछि शरीरमा फुर्ति एवं ताजापन महसुष हुन्छ । यतिबेला मस्तिष्कले पनि राम्ररी कार्य सम्पादन गर्न सक्छ । त्यसैले राम्ररी निद्रा लिइएको छ भने मन चंगा हुने, शरीर उर्जावान् हुने र मस्तिष्क उत्सुक हुने गर्छ ।
निद्रा यस्तो औषधि हो, जसले मस्तिष्कको कार्य संचालनलाई सन्तुलित राख्न ठूलो भूमिका खेल्छ । राती गहिरो र पर्याप्त निद्रा लिइएको छ भने मस्तिष्कको रचनात्मक शक्ति बढ्छ ।
तर, यसको ठीक विपरित राती राम्ररी निद्रा नलिदा मनस्थिती खराब हुन्छ । राती राम्ररी निद्रा नलिएको अवस्थामा आफ्नो भावनालाई नियन्त्रण गर्न एवं मन र व्यवहारलाई सन्तुलनमा राख्न कठिन हुन्छ । त्यती मात्र होइन, यसले मान्छेलाई मनरोगी बनाउँदै लान्छ ।
राती अबेर सुत्ने, पर्याप्त निद्रा नलिनेहरुमा छटपटी, बेचैनी बढ्छ ।
मेन्टल हेल्थ फाउन्डेसनका अनुसार कति सुत्यौं भन्ने भन्दा पनि कसरी सुतेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । निद्रा गहिरो र शान्त हुन जरुरी छ । यसका लागि मूख्यत चार वटा कुराले भूमिका खेल्छ ।
शारीरिक स्थिती
शारीरिक स्वास्थ्य ठीक छ भने मात्र गहिरो निद्रा लिन सकिन्छ । यदि स्वास्थ्य ठकि छैन भने त्यसको प्रभाव निद्रामा पनि पर्छ । गहिरो निद्रा लिन सकिदैन ।
सुत्ने समय
सुत्ने समय निश्चित हुन जरुरी छ । अहिले हामी मोवाइलमा यसरी लम्पट हुन्छौं कि सुत्ने र उठ्ने कुनै निश्चित तालिका नै हुँदैन । यस किसिमको गडबडीले निद्रालाई सोझै असर गर्छ । सुत्ने तालिका नियमित छैन भने गहिरो निद्रा लिन सकिदैन ।
जीवनशैली बदलौं
सुत्ने उठ्ने, खाने तालिका नियमित हुन जरुरी छ । त्यस्तै सही खानपान, व्यायामले पनि निद्रामा राम्रो प्रभाव पार्छ । शारीरिक रुपमा निस्क्रिय रहने, खराब खानपान गर्ने, मदिरापान गर्ने जस्ता बानीले निद्रा बिग्रन्छ ।
सुत्ने शैली
कतिपयलाई किताब पढेपछि निद्रा लाग्छ । कतिलाई मधुर संगीतमा निद्रा पर्छ । आफुलाई कुन अवस्थामा राम्ररी निद्रा पर्छ ? खोजौं । जस्तो कतिपयलाई झलमल्ल बत्ती बालेको बेला निद्रा पर्दैन, कतिपयलाई सानोतिनो हल्लीखल्ली भएमा पनि निद्रा लाग्दैन । आफुलाई कसरी गहिरो निद्रा पर्छ सोही अनुसार सुत्ने व्यवस्थापन गरौं ।
प्रतिक्रिया 4