+
+

द्रुत बस सेवा : उद्घाटन भव्य, प्रभावकारितामा शंका

द्रुत बसहरु ट्राफिक लाइटमा रोक्ने कि नरोक्ने, एक्सप्रेस लेनलाई ओभरटेक गर्ने प्रयोजनमा प्रयोग गर्न पाइने कि नपाइनेलगायत विषयमा अन्योल छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज ३ गते १८:४८

३ असोज, काठमाडौं । बुधबार ‘द्रुत बस सेवा’ लेखिएका दुई वटा गाडी रत्नपार्कको शान्तिबाटिकाबाट सूर्यविनायकतर्फ हिँडे । सडकमा भर्खरै पोतिएको रातो रङको लेन हुँदै दुवै बस बिहान १० बजेर ५३ मिनेटमा अगाडि बढेका थिए ।

ट्राफिक प्रहरीको स्कर्टिङमा हिँडेका द्रुत बस भक्तपुरको सूर्यविनायक पुग्दा ११ बजेर ३८ मिनेट गएको थियो । यसअघि सडक जामका कारण रत्नपार्कदेखि सूर्यविनायक पुग्न कम्तीमा पनि १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो । तर, यी बसहरु ठ्याक्कै ४५ मिनेटमा गन्तव्यमा पुगे ।

सूर्यविनायकतर्फ जाँदा विभिन्न चोकमा ट्राफिक लाइटमा र बिसौनीमा तोकिएको समयभन्दा बढी गाडी रोकिएनन् ।

काभ्रे–काठमाडौं नगर बसको बा ४ ख ९१८१ नम्बरको बसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, महानगरीय ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेललगायत सवार थिए ।

रत्नपार्कबाट गाडी छुट्ने बेला मन्त्रालयका कर्मचारीले ट्राफिक लाइटमा रोकिन नपर्ने बताएका थिए । चालक सोही अनुसार चलाउँदै थिए तर ट्राफिक लाइट आउने बित्तिकै ट्राफिकले रोके । त्यसो हुँदा बसका चालक अल्मलिए । सूर्यविनायक पुगेर फर्कने बेलामा संघका मन्त्री ज्वाला र प्रदेश मन्त्री लम्सालले ट्राफिक प्रहरी प्रमुख डीआईजी पोखरेललाई बोलाएर ट्राफिक लाइटमा बस नरोकिने गरी निर्देशन दिनुपर्ने बताए । तर पोखरेलले भने ‘यस विषयमा छलफल गरेर मात्रै निर्णय हुनसक्ला, आज त लाइटमा रोक्नैपर्छ’ भने ।

त्यसपछि ट्राफिक लाइटमा पनि एम्बुलेन्स जसरी चलाउने योजनासहित द्रुत बस सञ्चालन थालिएकाले त्यहीअनुसार व्यवस्था गर्ने विषयमा छलफल भएको थियो । ‘एक्सप्रेस लेन बनाएकै ट्राफिक लाइटमा पनि बस नरोकियोस् भनेर हो, के गर्न सकिन्छ, छलफल गरौं, तर बस बत्तीमा रोकिन हुँदैन,’ मन्त्री ज्वालाले भने । सूर्यविनायकबाट रत्नपार्कतर्फ आउँदा पनि बिसौनी र ट्राफिक लाइटमा रोकिँदै बस आइरहेको थियो । तर, शिक्षकहरुले आन्दोलनले सडक बन्द भएका कारण बस त्यहाँबाट अघि बढ्न भने सकेन ।

बसबाट ओर्लेपछि मन्त्री ज्वालाले परीक्षण यात्रामा केही कमजोरी देखिएको र त्यसलाई तत्काल सच्याउने बताए । ‘हामीले पहिलो दिन परीक्षणका लागि भनेरै चलाएका हौं, बस स्टेसनमा बाहेक अन्य स्थानमा नरोकिने गरी चलाउँछौं । रेगुलर चल्न थालेपछि मिल्दै जान्छ,’ ज्वालाले भने ।

बुधबार परीक्षणका रुपमा चलाइएको द्रुत बससेवा बिहीबारदेखि भने निरन्तर सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रभावकारितामा आशंका

उद्घाटन यात्रामा भीआईपी यात्रु र ट्राफिक प्रहरीको स्कर्टिङका कारण सहज रुपमा गाडी चले पनि यही स्तरको प्रभावकारिता आगानी दिनमा कायमै रहनेमा सरकारी अधिकारीहरु नै विश्वस्त छैनन् ।

‘ललितपुरले साइकल लेन बनाएको छ, तर, लेन मिच्नेलाई कारबाही नहुँदा त्यो प्रभावकारी हुन सकेको छैन । एक्सप्रेस लेनमा पनि भोलि त्यस्तै हुने हो कि भन्ने आशंका छ,’ बसमा सवार एक सरकारी कर्मचारीले भने ।

रत्नपार्कको शान्तिवाटिकामा भएको उद्घाटनमा मन्त्री ज्वालाले द्रुत बस सेवालाई निरन्तरता दिँदै अन्य रुटमा पनि विस्तार गरिने बताए । ‘अब बनेपा–धुलिखेल रुटमा पनि द्रुत बस सेवा विस्तार गर्ने योजना अगाडि बढाएका छौं । सरकार छ भन्ने अनुभूति गर्न सार्वजनिक सेवा सुधार गर्ने काम गरिरहेको भन्दै यातायात सम्बन्धी उठेका प्रश्नहरुको जवाफ कामले दिँदै जानेछ,’ ज्वालाले भने ।

यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बस सेवा १ किलोमिटरको फरकमा गुड्ने बताए । लेन कन्ट्रोल गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले द्रुत बस सेवा सञ्चालनको प्रभावकारिता निर्धारण हुने उनले बताए । ओभरटेक गर्ने प्रयोजनका लागि समेत यो लेन प्रयोग गर्न नमिल्ने भएकाले यसको कार्यान्वयन सहज भने नभएको उनले बताए ।

‘हामीले ४५ मिनेटमा रत्नपार्क–सूर्यविनायक पुग्ने समय राखेका छौं, सधैं यही समय कायम गराउन चुनौतीपूर्ण छ । स्टेशन बाहेक अन्य स्थानमा चढाउन र ओराल्न पाइँदैन, ३० सेकेन्ड भित्र त्यो काम भइसक्नुपर्छ । यो कायम गर्नु पनि अर्को चुनौती हो,’ रिजालले भने । सार्वजनिक सवारी चढेर समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने निश्चित भए ७–८ वर्षपछि ठूलाबसहरु चल्ने र साना गाडीहरु घट्ने उनले बताए ।

यस्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढाकालले मास ट्रान्सपोर्टेसन अबको प्राथमिकता रहेको बताए । सार्वजनिक यातायातबाट ग्राहकले समयमै सेवाको अनुभूत गरे सार्वजनिक गाडी प्रति जनताको विश्वास बढ्ने बताए ।

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले संरचनासँगै जनचेतनामा पनि काम गर्नुपर्ने बताए । ‘तोकिएको स्थानबाहेक अन्य स्थानमा ‘पिक एण्ड ड्रप’का लागि रोक्ने वित्तिकै कारवाही हुन्छ, लेनक्रसको विषयमा र अन्य अनुशासनको विषयमा पनि चेतना आवश्यक छ,’ थापाले भने ।

यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलले सार्वजनिक यातायातलाई एम्बुलेन्सकै जस्तै प्राथमिकता दिनुपर्ने बताए । ‘सार्वजनिक यातायात प्रभावकारी हुनुपर्ने विषय हामीले लामो समयदेखि उठाइरहेको हो । तर यो रात्रिकालीन बस सेवा जस्तै नहोस्,’ उनले भने ।

द्रुत बस सेवाको भाडादर बढी हुनुपर्ने उनको भनाइ छ । ‘यातायात व्यवसायीलाई हातखुट्टा बाँधेर पौडी खेल्न जा भन्न मिल्दैन, यो भाडाले लागत उठाउन नसके मन्त्रालयले नीतिगत व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

मन्त्रालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, भक्तपुरका सूर्यविनायक र मध्यपुर थिमिका मेयरहरुलाई पनि आमन्त्रण गरेको थियो । तर, कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी केहीबेर मात्रै बसेर निस्किएका थिए भन्ने अन्य नगरका प्रतिनिधि उपस्थित नै भएनन् ।

५ मिनेटको फरकमा छुट्छन् बस

द्रुत सेवामा चल्ने बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो हुँदै सूर्यविनायक पुगेर बसहरु सोही रुट फर्कन्छन् । यो रुटमा २५ वटा ४० सिटभन्दा बढी क्षमताका बस चल्ने मन्त्रालयले जनाएको छ ।

दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ । बसहरु बिहान र बेलुका तोकिएको समयमा ५–५ मिनेटको फरकमा छुट्ने र कतै जाममा नपरी गन्तव्यमा पुग्ने मन्त्रालयको दाबी छ ।

उच्च सवारी चाप हुनेबाहेक अन्य समयमा उक्त लेनमा सार्वजनिक सवारी मात्रै चलाउन कसरी सकिन्छ भनेर अध्ययन मन्त्रालयले गरिरहेको छ । मन्त्रालयले चार्जिङ स्टेसन नहुँदा ठूला विद्युतीय बस सञ्चालन गर्न नसकेको जनाएको छ ।

फोटो/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?