+
+
Shares

के पढ्ने, किन पढ्ने ?

सरुभक्त सरुभक्त
२०८० असोज २७ गते १८:३२

पढ्नु महत्वपूर्ण, के पढ्ने महत्वपूर्ण होइन । जानेर पढ्नु महत्वपूर्ण होइन, नजाने पढ्नु महत्वपूर्ण कुरा हो । धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्नसक्नु महत्वपूर्ण कुरा हो ।

पढेको कुरा सम्झिबस्नु महत्वपूर्ण कुरा होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्वपूर्ण कुरा हो । पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताब भन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।

मेरो अभिरुचिको किताब पढ्छु भनेको मेरो आग्रहको किताब पढ्छु भनेको हो । मान्छे अहमद्वारा परिचालित छ । अहम् मान्छेको ज्ञान, विश्वास, परिवेश र नैसर्गिक परिवेशद्वारा निर्मित छ । अहमयुक्त विश्वमा किन पढ्ने भनी व्याख्यान दिनु, के कुरा पढ्ने भनी छनौट दिनु एक कोणिक विश्वास हो ।

विश्व एक कोणद्वारा निर्मित छैन अनेक कोणद्वारा निर्मित छ । बहूकोणीय अहममा विश्वास गर्ने मान्छे म त्यसैले कसैलाई के पढ्ने भन्ने सल्लाह दिने इच्छा गर्दिन । किन पढ्ने भन्ने कुरा सल्लाह माग्नेलाई पहिल्यै थाहा हुन्छ ।

विल गेट्सले किताब पढ्छन् तर गैह्र आख्यान रे उनलाई साहित्य किन पढ्दैनौं सोध्नु ? एलन मस्कले विज्ञान पढे, इञ्जिनिएर भए। वैज्ञानिक निकोला टेस्लाको योगदानलाई सम्मान गरेर टेस्ला कम्पनी खोले केहीसित मिलेर । उनीसित प्रश्न गरे साहित्य पढ्ने समय छैन भन्लान् ।

पढेकाले आफ्नो चासोका पुस्तक रोज्छन् । धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चाहने मानिसका पुस्तक चयन फरक हुन्छन् । पुस्तक पढ्नुको अर्थ ‘केही बन्नका लागि’ कि स्वयं आलोकित हुनका लागि ? प्रश्न गम्भीर छ ।

पढेकाहरूले पढाइबाट बञ्चित भएका, गरिएकाहरू सित क्षमायाचना गर्नुपर्छ । यस्ता मानिसको संख्या पृथ्वीमा ठूलो छ । यिनलाई के पढ्ने, किन पढ्ने भनी प्रश्न गर्नु अपमान गर्नु हो ।

सुकरातले के-के पढे, के-के सोचे होलान् लेख्न चाहिँ केही लेखेनन् तर उनका चेला प्लेटो र उनका पनि चेला अरस्तुले अनेक किताब लेखे, को ज्ञानी ?  जिसस, मोहम्मद र सिद्धार्थ गौतमहरूले हामीले भन्दा कम्ती किताब पढ्न पाए तर अहिले उनका धर्मका किताब पढेकाहरू ज्ञानी मानिएका छन् ।

किताब पढेर धर्मयुद्ध जारी छ विश्वभर । सहअस्तित्व सहिष्णुताको प्राचीन भूमि भनिने हाम्रो देशमा धरान-नेपालगञ्ज काण्ड घटित भइसके । किताब पढेका ज्ञानीहरूले रेनेसाँ मात्र ल्याएनन् ब्रुनोलाई जिउँदै जलाए, ग्यालिलियोलाई झन्डै मारे, सलमान रुस्दीलाई फतवा कम छुरा प्रहार गरे, पुराना हातहतियारका विकल्पमा अरु नयाँ र विध्वंसात्मक हतियारहरू निर्माण गरे, अणु बमहरू निर्माण गरे । अहिले हामी सम्पूर्ण विश्व किताव पढ्ने लेख्नेहरूका सन्त्रासमा बाँचेका छौं ।

पुराना राष्ट्रपतिका कुरा नगरम्, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले हत्यारा छोड्ने सिफारिसमा ल्याप्चे ठोकेछन् । अहिले गिडगिडाउँदै छन् राष्ट्रपतिको बाध्यात्मक कर्तव्य, राष्ट्रपतिलाई दोष नदिनू । बबुरोलाई गई सोधम् के पढ्ने किन पढ्ने ? दर्जनौं किताबका नाम लिन सक्छन् ।

वाल्मीकिले रामायण रचे, कृष्ण द्वैपायन व्यासले महाभारत । अन्धो होमरले इलियट, ओडेसी । के तिनले one handed years of solitude पढ्न पाए ? के तिनले ल्यापटप र एन्ड्रोइड मोवाइल चलाए ? हाम्रा भानुभक्त बाजेले पनि पुराना केही शास्त्र पढ्न भ्याए, अहिलेका नयाँ शास्त्रहरू जन्मलान् भन्ने अमरावती कान्तिपुरी नगरीका यात्रीलाई के पत्तो ? के तिनलाई अहिलेको उन्नत ज्ञानविज्ञानका किताब नपढेर केही फरक पर्‍यो ।

जेम्स वेव टेलिस्कोपले प्रत्येक क्षण नयाँ-नयाँ सत्य उद्घाटन गरिरहेको छ, वैज्ञानिकहरूले प्रत्येक दिन नयाँ-नयाँ सत्य खोजिरहेका छन् । दार्शनिकहरूले नयाँ नयाँ चिन्तन गरिरहेका छन्, साहित्यकारहरूले नयाँ-नयाँ सिर्जना गरिरहेका छन् । यस्तो लाग्छ, सत्य अहिले पनि नयाँ हुन्छ, संशोधनीय हुन्छ तर मानवीयताको लक्ष्य के हो ? प्रश्न गम्भीर छ ।

चालिस सालतिर मैले एउटा नाटक लेखेको थिएँ- इतिहास भित्र इतिहास । मेरो विचार थियो- मानवता अथवा मानव सभ्यता जति विकसित भए पनि मूलभूत रूपमा आदिम अवस्थामै अवरुद्ध छ । आदिम प्राणीका नैसर्गिक प्रवृत्ति जे छन् अहिलेका विकसित प्राणी हामी मानिसका मूल प्रवृत्ति पनि तीनै छन् ।

बुद्धले हिंसा नगर भने हामी हिंसा गरिरहेका छौं, जिससले प्रेम गर भने हामी घृणा गरिरहेका छौं, मोहम्मदले दयालु भावका कुरा गरे हामी अरूका घाँटी काटिरहेका छौं, कृष्णले निष्काम कर्मका कुरा गरे हामी असंख्य स्वार्थमा कैद छौं । दुःखको कुरा, धर्मको झण्डा बोक्नेहरू नै एकअर्काका रक्त पिपासु भएका छन् । इतिहासमा कुन किताब पढेर हामीले प्रगति गर्ने ? आत्मोन्नति गर्ने ।

हामी सिर्जनधर्मी साहित्यकार- हामी पनि कम्तीका छैनौं झण्डा बोक्न । कहिले झण्डा फेरफार गरेर बोक्न । साहित्यकारले झण्डा बोक्ने कि सिर्जनाको विराट विश्व निर्माण गर्ने ? जहाँ सबैको बास होस् जहाँ सर्वत्र आस होस् ।

म यो सानो कार्यक्रम कक्षमा झण्डा बोक्ने कति छन् भनेर जनमत सङ्ग्रह गर्दिनँ, तर मेरो समस्या छ, कसैले मलाई कुन किताब वा सो सरह अरू माध्यममा पढ्ने भनी सोध्नु भयो भने किताबको नाम भन्नुभन्दा पहिले मैले सोध्नुपर्छ, तपाईं कुन झण्डा बोक्नुहुन्छ वा अहिले बोकिराख्नुभएको छ ?

धर्म, जात, राजनीति, सम्प्रदाय र अनेक विभेदहरूका भासमा, राजनीतिक अक्षमता र झगडालु मानसिकताका गर्तमा हामी सबै फँसिरहेका छौं । यस्तो विकट समयको प्रश्न हो- के पढ्ने ? किन पढ्ने ? प्रश्न सरल छ, बारम्बार गरिनुपर्ने खालको छ ।

तर उत्तर वर्तमान देशका जटिलताहरू झैं जटिल हुनसक्छन् । मैले सयवटा किताबका नाम टिपाएपछि तपाईं पढ्नुहुन्छ भने तपाईं मेरो अभिरुचिलाई पढ्नुहुन्छ । यो तपाईंको मौलिकता र स्वतन्त्रताको हनन हो । तर मसित सरल प्रश्नको एक सरल, मेरो विश्वासमा उपयुक्त उत्तर भने अवश्य छ। के पढ्ने किन पढ्ने ?

तपाईं अरूलाई होइन आफैँलाई सोध्नुहोस् । आफ्नै अन्तरआत्मालाई सोध्नुहोस् । अन्तरआत्माले झूटो बोल्दैन भने कथन कम्तीमा अहिलेको मितिसम्म झूटो मानिएको छैन ।

बरु तपाईंको अन्तरआत्मा साच्चैको प्राकृतिक नै छ कि कृत्रिम भइसक्यो ? महसुस गर्ने जिम्मा तपाईंकै । अन्तमा एउटा मुक्तक:

चढ्नु छ भने थुम्को हैन हिमाल नै चढ्ने भन्छन् ।

बढ्नु छ भने धरती छोडी आकाश मै बढ्ने भन्छन् ।।

ज्ञानविज्ञान पुस्तकका प्राप्ति कति छन् कति

तर जान्नेहरूले पुस्तक हैन जीवन नै पढ्ने भन्छन् ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?