+

‘नेपालमा क्यान्सरले भन्दा पनि ढिलो उपचारले बिरामीको ज्यान जान्छ’

२०८० असोज  २९ गते १३:२८ २०८० असोज २९ गते १३:२८
‘नेपालमा क्यान्सरले भन्दा पनि ढिलो उपचारले बिरामीको ज्यान जान्छ’

काठमाडौं । क्यान्सर तीव्र रूपमा बढ्दो स्वास्थ्य समस्या बनेको छ । यसले धनसँगै जनको पनि क्षति हुन्छ । क्यान्सर रोग सुरुमा पत्ता लागेमा पूर्ण रुपमा निको पार्न सकिन्छ । तर नेपालको सन्दर्भमा अस्पताल ढिलो जाने परिपाटीले गर्दा पहिचान र उपचार पनि ढिलो हुँदा अल्पायुमै ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

यो अनुभव पीडित र उनको परिवारको लागि कुनै आघातभन्दा कम छैन । त्यसैले समस्याको जडमा नै ध्यान दिन सकियो भने यो रोगबाटै बच्न सकिन्छ । विज्ञहरूले क्यान्सरको जोखिमबाट बच्न जीवनशैलीमा परिवर्तन ल्याउन महत्वपूर्ण सुझाव दिइरहेका छन् ।

जीवनशैलीमा सबैभन्दा ध्यान दिनुपर्ने पाटो भनेको शारीरिक व्यायाम रहेको क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य बताउँछन् । ‘व्यायामको क्रममा उत्पादन हुने केही रसायनले शरीरमा क्यान्सरको जोखिमलाई रोक्न वा कम गर्छ । त्यसैले सबै उमेर समूहले गर्न सक्ने खालको व्यायाम नियमित गर्नुपर्छ, ’ डा. आचार्य सुझाव दिन्छन् ।

 

डा. विवेक आचार्य

जामा ओन्कोलोजीमा प्रकाशित एक अध्ययनअनुसार दैनिक दुई मिनेट मात्र मध्यमदेखि तीव्र शारीरिक गतिविधि जस्तै, दौडिने, भर्‍याङ चढ्ने, घरको कामकाज गर्ने र बालबच्चासँग खेल्ने लगायतका क्रियाकलाप गरेमा ३२ प्रतिशतसम्म क्यान्सरको जोखिम कम हुन्छ ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि दैनिक व्यायामलाई दैनिकीमा समावेश गर्न सके क्यान्सरबाट बच्न सकिने बताउँछन । क्यान्सर मात्र नभई अन्य नसर्ने रोग मधुमेह, उच्च रत्तचाप जस्ता समस्याबाट बच्न सकिने उनी बताउँछन् ।

तर अत्यधिक व्यायाम पनि गर्नु घातक सावित हुन सक्ने उनको भनाइ छ । ‘सन्तुलित व्यायाम गर्नुपर्छ । कुनै पनि व्यायाम कम पनि गर्नु हुँदैन । र, धेरै पनि गर्नु हुँदैन । धेरै व्यायाम गर्दा शरीरले थेग्न नसकेर मृत्यु भएको घटना धेरै छन्, ’ उनी भन्छन् ।

संसारभर नै हेर्ने हो भने दोस्रो क्यान्सर गराउने कारक तत्व मोटोपन हो । मोटोपन बढी भएमा कोष अनियन्त्रित रुपमा बढ्न सक्छ । तौल वृद्धिले स्तन, आन्द्रा, मिर्गौला, प्रोस्टेट, पेट, प्यान्क्रियाटिक लगायतका क्यान्सरसँग सम्बन्धित छ । व्यायामले शरीरमा भएको बोसो बर्न गर्छ । र, मांसपेशी बलियो बनाउने उनी बताउँछन् ।

व्यायाम र क्यान्सरको सम्बन्ध

डा. शाहीका अनुसार व्यायाम गर्दा हाम्रो शरीरमा भएको विषाक्त पदार्थहरु पसिनाको माध्यमबाट निस्कन्छ । रक्तसञ्चार छिटो र प्रभावकारी हुन्छ । जसकारण शरीरको मेटाबोलिजम सन्तुलित हुन्छ ।

डा. अरुण शाही

मेटाबोलिजम सन्तुलित भन्नाले मुटुले राम्रो रगतलाई कोषिकामा लिएर जान्छ । नराम्रो रगतलाई फोक्सोतर्फ ल्याएर अक्सिजनले शुद्धीकरण गर्छ । व्यायामले  रक्तसञ्चारईइ सक्रिय बनाउँछ । व्यायाम गर्नाले रगतको सञ्चारमा बाधा हुन पाउँदैन । जसले क्यान्सर जस्ता ठूलो रोग मोटोपनकै कारणले हुन पाउँदैन । शरीरमा बोसोको मात्रालाई घटाई मांसपेशी बलियो बनाउँछ । मुटु र फोक्सोलाई पम्प गर्ने मांसपेशीलाई बलियो हुँदै गएमा शरीरमा अक्सिजन र रगतको प्रवाह राम्रोसँग हुन पाउँदा शरीर स्वस्थ हुन्छ ।

व्यायाम, खानपिन र तौलमा पनि ध्यान दिएमा ९० देखि ९५ प्रतिशत क्यान्सर हुनबाट बच्न सकिने डा. शाही बताउँछन् ।

खानपिनको शैली पनि क्यान्सरको कारक

अहिलेको खानपिनको शैलीले क्यान्सरलाई बढावा दिइरहेको डा. शाही बताउँछन् । ‘भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा फाइबर र माछामासुमा फयाट हुन्छ । दैनिक दाल, भात र तरकारी सुपाच्य हुन्छ । तर अहिले दैनिकजसो खाने माछामासु खाने बानीले शरीरको वजन बढाएसँगै पेटसम्बन्धी रोग बढाउँछ,’ उनी भन्छन् ।

यी खानेकुरामात्र होइन अहिले सबैको रोजाइमा फास्ट फुड छ । फास्टफुडले मोटोपन बढाउनका साथै अनावश्यक क्यालोरी बढाइरहेको हुन्छ । अहिले सानो खुसीको खबरमा उत्सव मनाउने र त्यो उत्सवमा सबैभन्दा बढी तारेका मासुका परिकार र मदिरापान हुन्छन् । यसले पनि कालान्तरमा क्यान्सरको जोखिम निम्त्याउने डा. शाही बताउँछन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्कोलोजी विभागले गत वर्ष ३० देखि ८० वर्षका २५६ जनालाई लिएर गरिएको सर्वेक्षणमा दैनिकजसो बासी सडेगलेको खानेकुरा, फास्टफुड, रातो मासु, बोसोयुक्त खानेकुरा र एचपाईलोरी संक्रमणको इतिहास भएका व्यक्तिलाई पेटको क्यान्सरको जोखिम बढी देखाएको थियो ।

नेपालमा बर्सेनि २५ हजार क्यान्सरका बिरामी थपिन्छन्

नेपालमा प्रत्येक वर्ष करिब २५ हजार क्यान्सरका बिरामी थपिन्छन् । जसमध्ये प्रत्येक वर्ष ७० प्रतिशत मृत्यु भएको पाइन्छ । कारण भनेको छिटो पहिचान नहुनु, ढिला अस्पताल पुग्नु र क्यान्सरको उपचार गर्ने अस्पताल कम हुनु रहेको डा. आचार्य बताउँछन् ।

‘क्यान्सरको संकेत जस्तै पेट दुख्नु, रिंगटा लाग्नु र ज्वरो आउँदा निको बनाउन बिना परीक्षण फार्मेसीमा गएर औषधि खाने कारणले पनि बढी देखिन्छ । संकेतलाई अनुमान गरेर औषधि खाँदै पर्ख र हेर गर्दा ढिलो भइसकेको हुन्छ, ‘ उनी भन्छन् ।

डा. शाहीका अनुसार नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी छन् । दोस्रोमा पाठेघरको मुखको क्यान्सरका बिरामी देखिएका छन् भने त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्रा र मलद्वारको क्यान्सरका बिरामीको संख्या धेरै देखिएको छ ।

त्यस्तै पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

गाँउ सहरमा फरक छ अवस्था

ग्रामीण र दुर्गम क्षेत्रका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । डा. शाही भन्छन्, ‘त्यहाँ असुरक्षित यौन सम्पर्कबाट सर्ने ह्युमन प्यापिलोमा भाइरसको संक्रमण बढी देखिन्छ । साथै कण्डमको अभ्यास नहुने, सरसफाइ नगर्ने, छिट्टै विवाह गर्ने र छिट्टै सन्तान जन्माउने,  धेरै सन्तान जन्माउने परिपाटी हुन्छ । सहरमा भने असुरक्षित यौन सम्पर्क कमै हुन्छ । कण्डमको अभ्यास हुने, सरसफाइबारे सचेत हुने हुँदा पाठेघरको मुखको क्यान्सर तुलनात्मक रपमा कम देखिन्छ ।’

सहरमा फास्टफुड, शारीरिक गतिविधि कम, मदिरा सेवन अत्यधिक बढेकाले मोटोपनको समस्या बढी देखिन्छ । मोटोपनका कारण स्तन क्यान्सरको जोखिम धेरे हुने डा. शाही बताउँछन् ।

पुरुषहरुमा हेर्ने हो भने गाँउशहरमा दुवै अनुपातमा अत्याधिक चुरोट पिउनेको संख्या बढी हुने कारणले फोक्सो क्यान्सर बढी देखिएको उनको भनाइ छ ।

समयमा पहिचान हुन सके दर्घरोगभन्दा राम्रो उपचार

सुरुवाती चरणमै पत्ता लागे दीर्घरोगभन्दा राम्रोसँग क्यान्सरको उपचार हुने डा. शाही बताउँछन् । ‘सुगर र प्रेसर भएमा नियमित औषधि खाँदा पनि निको हुँदैन । तर सुरुको अवस्थामा क्यान्सर पत्ता लागेको हकमा क्यान्सर पूर्ण रुपले शत प्रतिशतलाई निर्मूल हुन्छ,’ उनी भन्छन् ।

कसरी क्यान्सरको जोखिमबाट टाढा रहने ?

डा. शाहीले क्यान्सरको जोखिमबाट बच्न निम्न कुरामा ख्याल गर्न सुझाव दिएका छन् ।

१. क्यान्सर गराउन सक्ने सम्भावित पक्ष जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने ।

२. सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने ।

३. पसिना आउनेगरी नियमित व्यायाम गर्ने ।

४. शरीरमा अनावश्यक गाठागुँठी आएको छ, रंग परिवर्तन भएको छ भने तुरुन्त परीक्षण गराउने ।

 ५. महिलाहरुले बेलाबखतमा स्तन क्यान्सरको लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराउने, पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सकिन्छ ।

६. वंशाणुगत क्यान्सर भए वर्षमा एकपटक क्यान्सरको जाँच गराउनुपर्छ ।

७. असुरक्षित यौन सम्पर्क गर्नुहुँदैन ।

क्यान्सर स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय