+

पाँच मानक, जसले बच्चाको विकास सही ढंगले भइरहेको देखाउँछ

२०८० कात्तिक  १२ गते १३:३४ २०८० कात्तिक १२ गते १३:३४
पाँच मानक, जसले बच्चाको विकास सही ढंगले भइरहेको देखाउँछ

बच्चाको विकासको आयामहरू मुख्यतया पाँच प्रकारको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक तथा ‘डेभलप्मेन्टल पिडियाट्रिसियन’ डा. अनिल ओझा बताउँछन् ।

उनी भन्छन् ‘बच्चाको विकास सही ढङ्गले भएको छ वा छैन भनेर हेर्ने पहिलो आधार भनेको उसको शारीरिक विकास हो । बच्चा कति उमेरमा बस्छ, कति उमेर हिँड्न थाल्छ आदि । जस्तो एक वर्षमा बच्चा  हिँड्न थाल्नु पर्यो  । दुईचार महिना पछि देखी हिँड्न थाल्दा खासै समस्या भएन । तर, त्यसपछि पनि हिँड्न थाल्दैनन् भने उसको विकास सही ढङ्गले भएको छैन की भनेर अभिभावक सचेत हुनुपर्छ ।’

अर्को भाषाको विकास पनि त्यत्तिकै जरुरी छ । बच्चा एक वर्षको उमेरबाट बोल्न थाल्छन् । आमा, बाबा वा अन्य कुनै शब्द उदाहरण गर्छन् भने उनीहरूको भाषाको विकास राम्ररी भएको छ भनेर बुझ्नुपर्ने ओझा बताउँछन् । उनी भन्छन् ‘यदि बच्चाले दुई वर्षको उमेर सम्म पनि बोल्दैनन्, बोले पनि शब्द प्रस्ट उदाहरण गर्दैनन् भने उनीहरूमा भाषाको विकास राम्ररी भएको छैन भनेर बुझ्नुपर्छ ।’

ओझाका अनुसार उमेरसँगै बच्चाको सामाजिक तथा संवेगात्मक विकास पनि हुनुपर्छ । जस्तो एक वर्षको बच्चालाई आमाले बच्चालाई गालामा माया गर भन्दा उसले माया गर्नुप¥यो । ताली बजाउँ भन्दा ताली बजाउनु पर्यो ।

‘बच्चाले केही कुरा समात्न आफ्नो हात, औंला , नाडी र मांसपेशीहरूको प्रयोग गर्छन् भने त्यसलाई ‘फाइन मोटर स्किल’ भनिन्छ । यी सीपहरू मार्फत, बच्चाहरूले आफ्नो आँखा, हात, औंलाहरू र नाडीहरूको समन्वय गर्न सिक्छन् ।’ ओझा भन्छन्  ‘यो दुई  देखि पाँच वर्षका बच्चाहरूको लागि महत्त्वपूर्ण छ । दुई देखी ५ वर्षको उमेरमा नै यो सिप विकास हुनुपर्छ । यसको मद्दतले बच्चाहरूले चीजहरू समात्न, लेख्न, बुझ्न आदि सिक्छन् ।’

उमेर अनुसार बच्चाको बौद्धिक विकास हुनु पनि उत्तिकै जरुरी छ । एक वर्षको बच्चाले लुकाएको कुरा खोज्न थाल्छ । कुनै कुरामा जिज्ञासा देखाउँछ भने उसको बौद्धिक विकास पनि राम्ररी भइरहेको छ भनेर बुझ्नुपर्छ । तर, यदि बच्चामा यी पाँच सिपको विकास भएको छैन भने उसको विकासमा ढिलाइ भएको मानिने ओझाले बताए ।

बच्चाको उमेर अनुसार तौल र उचाइ कति हुनुपर्छ

बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरूले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरू बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया भएको डेभलप्मेन्टल पिडियाट्रिसियन डा ओझा बताउँछन् ।

उनी भन्छन् ‘जस्तो जन्मँदा बच्चाको तौल ३ केजी छ भने ६ महिनामा उसको तौल डबल ६ केजी हुन्छ । बच्चा जन्मँदा उसको उचाइ भने सरदर ५० सेन्टिमिटर हुन्छ, एक वर्षमा ७५ सेन्टिमिटर हुन्छ ।’

५ वर्षको बच्चाको तौल लगभग १७ दशमलव ९ किलोग्राम हुनुपर्छ । यो उमेरमा बच्चाको उचाइ औसत ४२ दशमलव ५ इन्चको सेरोफेरोमा हुनु स्वस्थ मानिने उनले बताए ।

‘उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भइरहेको छैन भने कतै केही त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।’ ओझा भन्छन् ।

कुन उमेरसम्म बच्चाको शारीरिक विकास तीव्र हुन्छ ?

सुरुको एक वर्ष बच्चाको शारीरिक विकास एकदमै तीव्र रूपमा हुन्छ । बच्चाको उमेरसँगै  शारीरिक विकास क्रम हुँदै जाने ओझाले बताए । ‘तर, एक वर्ष पनि गति भने कम हुँदै जान्छ । बच्चाको मानसिक विकास भने सुरुको दुई देखी तीन वर्षमा एकदमै तीव्र रूपमा हुन्छ ।’

यो उमेर अवधिमा बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ

दुई देखि तीन वर्षको उमेर समूहका बालबालिकाको खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको राम्रो स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने ओझाले बताए ।

‘६ महिनासम्म आमाको दूधले मात्र पुगे पनि ६ महिनादेखि सेमी सोलिड अर्थात् दाल, जाउलो, फलफूलको जुस, लिटो लगायत खानेकुराहरू सुरु गर्नुपर्छ ।’ उनी भन्छन्  ‘एक वर्षपछि आमाको दूधलाई घटाउँदै अर्ध ठोस (सेमी सोलिड) र ठोस पदार्थ (सोलिड) खानेकुराको मात्रा बढाउँदै लैजानुपर्छ ।’

बच्चा राम्ररी बढेको छैन, उमेर भन्दा सानो छ वा अस्वाभाविक रूपमा ठुलो छ भने त्यसको कारण खोज्नुपर्छ

बच्चा उमेर अनुसार राम्ररी बढेको छैन, सानो छ  वा अस्वाभाविक रूपमा बढेको छ ठुलो छन् भने वंशाणुगत कारण हुन सक्छ । कोही बच्चा ११-१२ वर्षसम्म सानै देखिन्छन् तर वयस्क उमेरमा ह्वातै बढ्न सक्छन् । बच्चालाई पोषणको अभाव भयो भने पनि बच्चाको वृद्धि विकास राम्ररी हुँदैन । कुनै स्वास्थ्य समस्याको कारण पनि बच्चा उमेर भन्दा सानो वा ठुलो देखिन सक्ने ओझाले बताए ।

बालबालिकाको विकास उमेर अनुसार भएको छैन भने त्यसको कारण पत्ता लगाउन चिकित्सकको सहयोग लिनुपर्ने उनले सुझाए ।

बच्चा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय