+
+

दशैंपछि पोखरामा आन्तरिक पर्यटकको लर्को, धेरैको उद्देश्य ‘ट्रेकिङ’

'सिडो टुरिजम्'ले पोखरेली पर्यटनको बिँडो थाम्दैन !

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक १६ गते १०:२६

१६ कात्तिक, पोखरा । नर्थ नेपाल ट्राभल एन्ड ट्रेक्स चलाइरहेका मोहन भण्डारी यो सिजनमा एकदमै व्यस्त छन् । आफ्नो एजेन्सीमा आएका पाहुनालाई घुमाउन उनलाई भ्याइनभ्याइ छ । उनको एजेन्सीमार्फत ट्रेकिङ जाने गरी ‘बुक’ गरेका अधिकांश पदयात्री नेपाली छन् ।

‘कोभिडपछि नेपालीहरुको घुम्ने, ट्रेक जाने एकदमै ट्रेन्ड नै भयो । दशैंपछि त झन् भ्याइनभ्याइ छ,’ भण्डारीले भने, ‘यो संख्या बढ्नुमा धेरैपछि दसैंमा धेरै बिदा भएर पनि हुन सक्छ ।’

भण्डारीका अनुसार यो वर्ष अधिकांश नेपाली पदयात्री पोखरादेखि नजिकै पर्ने पदमार्ग मर्दी र खुमैंडाँडा ट्रेकिङ जानेेको लर्को नै लागेको छ । विदेशी पदयात्रीको रोजाइ भने मनास्लु र अन्नपूर्ण सर्किट छ ।

करिब २ वर्षअघिमात्रै ‘एक्स्प्लोर’ भएकोे खुमैंडाँडा-कोर्चाङ पदमार्ग एकाएक आन्तरिक पदयात्रीको घुइँचो छ । आँखैअगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृंखला र दक्षिणी भागमा पोखरा बजार खुमैं-कोर्चाङको मुख्य विशेषता हो ।

समुद्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा रहेको खुमैंडाँडा पोखरादेखि छोटो समयमै पुगेर फर्किन मिल्ने भएपछि धेरै नेपाली पदयात्रीको पहिलो रोजाइँ भएको भण्डारी बताउँछन् । ‘पोखरादेखि नजिकै र छोटोसमयमै त्यो उचाइँमा पुग्न पाएपछि धेरै नेपाली त्यहाँ पुग्न थालेका छन्,’ भण्डारी भन्छन् ।

पछिल्लो समय सोही क्षेत्रमा पर्ने मर्दी हिमाल पदमार्गमा पनि आन्तरिक पदयात्रीको घुइँचो छ । माछापुच्छ्रे गाउँपालिकाका कार्यपालिका सदस्य राम गुरुङका अनुसार मर्दीमा गतवर्षमात्रै ३५ हजारजना भन्दा बढी पदयात्री पुगेका थिए । ‘यो वर्षचाहिँ नेपालीभन्दा विदेशी धेरै आएका छन् । खुमैं भर्खरै खुलेको पदमार्ग भएकाले त्यहाँ पुगेकाहरुको तथ्यांक राख्न बाँकी छ,’ उनले भने ।

दशैंलगत्तै पोखराको पर्यटन हृवात्तै बढ्दा एकहप्तायता पोखराका होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पुगेको थियो । होटल व्यवसायीका अनुसार यो सिजनमा कोभिड महामारीपछि कै सबैभन्दा धेरै हो ।

‘गण्डकीका जुनसुकै पर्यटकीय गन्तव्य गए पनि पोखरा ट्रान्जिट प्वाइन्ट भएकाले बसाइ यहीं हुन्छ । सरदरमा भन्दा पोेखरामा पर्यटकको बसाइ २ दिनको हुन्छ,’ पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘मुस्ताङ गए पनि, एबीसीलगायत ट्रेकिङ गए पनि बास भने पोखरामै हुन्छ ।’

सुवेदीका अनुसार पोखराका होटलहरुले एकदिनमा ४० हजार जना राख्ने क्षमता राख्दछ । त्यसरी हेर्दा पछिल्लो एक सातायता दैनिक करिब २० हजारभन्दा धेरै पर्यटक पोखरा आएका छन् । ‘आन्तरिक पर्यटकको ठ्याक्कै तथ्यांक हामीसँग हुँदैन । हामीले राख्ने भनेकै होटल अकुपेन्सीका आधारमा हो । यो हप्तामा पोखरा आएका पर्यटकमध्ये ३५ प्रतिशत विदेशी थिए,’ सुवेदीले भने ।

अक्टुबर र नोभेम्बर पर्यटकीय सिजन भएकाले पनि धेरै पर्यटकको संख्या योबेला धेरै हुने पर्यटन व्यवसायीको भनाइ छ । ‘दशैंको विदा सकिएसँगै अकुपेन्सी पनि विस्तारै घट्दैछ । अहिले दैनिक ४५/५० प्रतिशतको हाराहारीमा होटल अकुपेन्सी छ,’ सुवेदीले अनलाइनखबरसँग भने ।

सुवेदीका अनुसार सन् २०२० र २१ मा पोखराको पर्यटन शून्यमा झरेको थियो । सन् २०२२ मा केही पर्यटक आए पनि २०२३ मा भने हृवात्तै बढेका हुन् । ‘पहिलो ६ महिनामै हवाइमार्ग प्रयोग गरेर आउनेहरु ६ लाखभन्दा बढी थिए । यसरी हेर्दा यो वर्ष ९ लाखभन्दा पर्यटक आउने अपेक्षा राखेका छौं,’ सुवेदी भन्छन्, ‘किनभने पर्यटनको पिक सिजन अझै हामीसँग बाँकी छ ।’

पर्यटन व्यवसायी मोहन भण्डारीका अनुसार विदेशी पर्यटकमा सबैभन्दा बढी अमेरिका र अस्ट्रेलियादेखि आएका छन् । अघिल्ला वर्षहरुमा भारतदेखि आउने पर्यटकको संख्यामा यो वर्ष केही कमी आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप)को तथ्यांकअनुसार सन् २०२२ को अक्टुबर-नोभेम्बरमा सबैभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण सेन्चुरी पदयात्रा गरेका थिए । उक्त सिजनमा ४ हजार ५५ जना अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

तर, सन् २०२३ को अपि्रल-मे महिनामै अघिल्लो वर्षको ‘पिक सिजन’को रेकर्ड तोड्दै यो वर्ष ४ हजार ५ सय ८३ जना अन्नपूर्ण आधार शिविर पुगिसकेका छन् । अन्नपूर्ण आधार शिविर पदयात्रामा जानेमा सबैभन्दा बढी जर्मनी नागरिक छन् ।

सामाजिक सञ्जालले सुधारेको नेपालीको घुम्ने बानी

पर्यटन व्यवसायीका अनुुसार पछिल्लो समय नेपालीहरुमा घुम्ने बानीको असाध्यै विकास भएको छ । केही वर्षअघिसम्म विदेशी पर्यटकको मात्रै भर पर्नुपर्ने पदमार्गहरुमा अहिले थानिनसक्नु नेपाली छन् । यसको प्रमुख कारण हो, सामाजिक सञ्जालको प्रभाव ।

करिब २ वर्षअघिमात्रै सामाजिक सञ्जाल टिकटबाट चम्केको पोखरा खुमैंडाँडामा पदयात्रामा अहिले करिब ९० प्रतिशत नेपालीमात्रै पुग्ने गरेका छन् । मर्दी हिमालको पनि प्रचार पनि सामाजिक सञ्जालले राम्रै गरिदिएको छ ।

‘युट्युब बनाउन कन्टेन्ट चाहिन्छ । मेहेनत चाहिन्छ । तर, टिकटक र रिल्स बनाउन राम्रो सिन खिचेर १५ सेकेन्ड राखिदिए भो,’ पर्यटन व्यवसायी मोहन भण्डारी भन्छन्, ‘पछिल्लो समय हाम्रोे सम्पर्कमा आउने प्रायः नेपालीले टिकटक हेरेरै ट्रेकिङ जान खोजेको भेटिन्छ ।’

केही दिनअघिमात्रै मर्दी पदयात्राबाट फर्किएका विनोद ढुंगाना पनि मर्दी ट्रेक स्वदेशी पदयात्रीले गुल्जार बनेको सुनाए । ‘त्यसमा पनि २० देखि ४० वर्ष उमेर समूहका तन्नेरी पुस्ता धेरै देखियो,’ उनले सुनाए, ‘होटलहरु भरिभराउ थिए ।’

पर्यटक बढ्दै, बसाइ घट्दै

पदयात्रीको संख्या बढेसँगै विदेशी पदयात्रीको बसाइ भने छोटिंदै गएको छ । कुनै समय २१ दिन लगाएर सकिने अन्नपूर्ण सेरोफेरो अहिले हप्तादिनमा झरेको छ । ५ दिनमा सकिने मर्दी मर्दी ट्रेक ३ दिनमा सीमित भएको छ । यसको मुख्य कारण हो, मोटर बाटो पहुँच ।

पथप्रदर्शकसमेत रहेका पर्यटन व्यवसायी मोहन भण्डारी आफूहरुसँग पछिल्लो समय अन्नपूर्ण सर्किटका लागि ९/१० दिनको बुकिङ गरे पनि बाटोकै कारण बीचमै बुकिङ रद्द गर्न थालेको अनुभव सुनाए ।

‘बाटोमा धुलैधुलो हुन्छ । लास्ट डेस्टिनेसनको नजिकैसम्म मोटरबाटो पुगेको छ । नेपालीहरु त वास्ता गर्दैनन्, उनीहरु खास नेचरमा इन्जोय गर्दैनन् । तर, विदेशी सेन्सेटिभ हुन्छन्,’ भण्डारीले भने, ‘विदेशीहरु बाटोको अवस्था देखेपछि बसाइ पनि छोट्याउन थालेका छन् ।’

गण्डकीका विभिन्न भागमा पदयात्रामा आएका पदयात्रीको पोखरा बसाइ पनि छोटिएको हान अध्यक्ष सुवेदी बताउँछन् । ट्रान्जिट प्वाइन्टका कारण सरदरमा २ दिनमात्रै व्यवसायी पोखरा बसाइँ बस्न थालेका छन् ।

‘सिडो टुरिजम्’ले बिँडो थाम्दैन !

कोभिड महामारी पछि लामो समय ठप्पै रहेको पोखराको पर्यटनमा केही चाँदीको घेरा देखिन थालेको छ । तर, अहिले बढेका पर्यटक ‘सिडो’ अर्थात् अवास्तविक रहेको अर्काथरि पर्यटन व्यवसायीको तर्क छ ।

गण्डकीमा विदेशी पर्यटककोे संख्या नबढ्दासम्म पर्यटन उद्योगको विकास हुन नसक्ने व्यवसायी गणेशबहादुर थापाको तर्क छ । उनी भन्छन्, ‘अहिले देखिएकोे सिडो टुरिजम् हो । केही दिन देखिन्छ, फेरि हराउँछ । दीर्घकालीन होइनन्, यसमा रमाएर बस्नु भएन ।’

आन्तरिक पर्यटकको संख्या बढ्दामात्रै पर्यटनको विकास मान्न नसकिने थापाको भनाइ छ । ‘आन्तरिक पर्यटक होइनन्, उनीहरु हाम्रा पाहुनामात्रै हुन् । पाहुनाहरुले हामी व्यवसायीलाई व्यक्तिगत फाइदा त गर्ला र देशलाई कुनै फाइदा हुँदैन,’ उनी भन्छन् ।

देशमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सरकारले नै दीर्घकालीन योजना ल्याउनुपर्ने उनको भनाइ छ । ‘अहिलेको पर्यटन भनेको मलखादमा उम्रेको सागजस्तो हो । खाँदा मिठो हुन्छ । तर, अर्को पटक उम्रिंदैन,’ भन्छन्, ‘नेपाल किन घुम्ने भन्ने सरकारले नै नीतिगत कारण दिन सक्नुपर्छ ।’

तस्वीर सौजन्य : नर्थ नेपाल ट्रेक

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?