+
+

‘ढुंगामाटोले बनेका घरमा च्यापिएर धेरै मान्छे मरे’

बाहिरबाट हेर्नेलाई कसरी जाजरकोटमा यति धेरै मान्छे मरे, घाइते भए भन्ने लाग्ला । तर, मूल कुरा भनेको हाम्रा घरहरू ढुंगामाटोले बनेका कारणले यसो भएको रहेछ भन्ने अहिले थाहा भयो ।

डिल्लीबहादुर रावल, नलगाड जाजरकोट डिल्लीबहादुर रावल, नलगाड जाजरकोट
२०८० कात्तिक २४ गते १६:३१

म नलगाड नगरपालिका नजिकै होटल चलाउँदै आएको छु । जाजरकोटमा सबैभन्दा बढी क्षति यहीं भएको छ । झण्डै ५० जनाभन्दा बढीको यहाँ मृत्यु भएको छ । सबैको मृत्यु घर भत्किएर, भत्किएको घरले किचेर भएको हो ।

समय हाम्रो अनुकूल भएन । अहिले तपाईंसँग कुरा गरिरहेको जस्तो साढे ९ बजे आसपासको समय भएको भए पनि त्यति साह्रो क्षति हुँदैनथ्यो । तर, समय प्रतिकूल भइदियो । मस्त निद्रामा परेको बेला घर भत्किए ।

पौने १२ बजे भनेको एकदमै मस्त निद्रामा परेको बेला हो । त्यो हुनाले मान्छेहरूले थाहै पाएनन् । एक्कासी झट्काहरू आउँदा घरहरू भत्किए, त्यसले किचेर मान्छेको मत्यु भयो । बाहिर निस्किने मौका नै भएन ।

ढुंगामाटोको घरमा मात्रै क्षति

हामी राति १२ बजेदेखि उद्धारमा खटिएका थियौं । म बस्ने ठाउँ अगाडि रहेको घर भूकम्पले भत्कायो । त्यहाँ एक जना व्यक्ति पुरिए । हामीले उद्धार गरेर निकाल्यौं । त्यो घर ६÷७ वर्ष पहिला बनेको थियो । ढुंगामाटोको घर थियो त्यो ।

म पहिलो झट्कामा हल्लिने वित्तिकै बाहिर निस्किएको थिएँ । त्यतिबेलै यति धेरै क्षति भएछ भन्ने थाहा भइहाल्यो । अनि, घर–घर जान थालिहाल्यौं । गाउँमा भएका माटोका अधिकांश घर भत्किएका थिए ।

नलगाडको नगर अस्पताल पनि मेरै घर अगाडि छ । राति ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले यहाँबाट नजिकैको गोविन्द मल्लको घर भत्कायो । उहाँ मेरो आफन्त पनि हुनुहुन्छ ।

घरभित्र मल्ल, उहाँकी जहान सरिता, एक वर्षीय छोरा र ३ वर्षीया छोरी थिए । ढुंगामाटोको घर थियो । त्यो एकै झट्कामा भत्कियो । दुवै पर्खालले छोरीलाई किच्यो । दुवै पर्खालले किच्दा पनि आमाले एक वर्षका छोरालाई च्यापेर जोगाइन् । छोरीलाई चाहिं तत्काल अस्पताल ल्याएका थिए ।

राति नभएको भए मानवीय क्षति कम हुन्थ्यो होला । जाडो मौसम छ, घाममै हुन्थे । गाउँमा चुल्हो भान्छा तल हुन्थ्यो । मान्छेहरू निस्किहाल्थे । त्यसो हुँदा दिउँसो भएको भए क्षति कम हुन्थ्यो । तर, जाजरकोटवासीका लागि दुर्भाग्य नै यही भयो कि राति त्यत्रो ठूलो घटना भयो ।

अर्को समस्या के भयो भने गाउँमा भएका अधिकांश ढुंगामाटोको घरमा माथि पनि ढुंगा राखिएको थियो । हाराहुरी धेरै चल्ने भएकाले त्यसले उडाउला कि भनेर पनि माथि ढुंगा राख्ने चलन छ । भूकम्पले त्यसलाई तल झार्दा धेरै मान्छेहरू घरभित्रै चेपिएर मरे ।

राति झण्डै १२ बज्न लाग्दा भूकम्प गएलगत्तै बत्ती पनि गयो । त्यसपछि निस्किन खोज्दा खोज्दै धेरै चेपिएरै मरे । टाडे घरमा माथिबाट झर्न पनि समस्या भयो । कतिपय हल्लाइरहेका बेला अप्ठ्यारो भर्‍याङबाट पनि झर्न सकेनन् । छामछुप गर्दागर्दै धेरैको मृत्यु भयो, थुप्रै घाइते भए । धेरैले भूकम्प गएकै थाहा पाएनन् । निद्रामा झ्याम्म आयो, भत्काइहाल्यो र च्याप्यो ।

नजिकै एउटै परिवारका ५ जना मरेका छन्, परियार थरका हुन् । उनको अवस्था कस्तो छ भने एक्कासी भूकम्प आयो, दिनभरि काम गरेर थाकेका थिए । ढुंगामाटोको पुरानो घर थियो । सुरुमा एक तला मात्रै थियो । पछि माथि तला थपेका थिए ।

बाँच्नेलाई पनि गैंती, कोदालाले खनी–खनी निकाल्नु परेको थियो । यसमा परेका दुई जनाको जीवितै उद्धार भयो । तर, मान्छे पुगेका थिएनन् भने तिनीहरू पनि सकिन्थे । यसरी हेर्दा ढुंगामाटोका घरले भूकम्पमा ज्यान लिने काम गरेको देखियो ।

अधिकांश घर ढुंगामाटोका

हाम्रोतिर सबैजसो ढुंगामाटोका घर मात्रै छन् । सबै कच्ची घरहरू मात्रै भएको ठाउँ हो, हाम्रो । हाम्रोमा झण्डै ६ हजार घरधुरी छन् । तीमध्ये ९५ प्रतिशत कच्ची घर छन् । ६.४ को भूकम्पले घर नै भत्काइहाल्नु नपर्ने हो ।

बाहिरबाट हेर्नेलाई कसरी जाजरकोटमा यति धेरै मान्छे मरे, घाइते भए भन्ने लाग्ला । तर, मूल कुरा भनेको हाम्रा घरहरू ढुंगामाटोले बनेका कारणले यसो भएको रहेछ भन्ने अहिले थाहा भयो ।

कच्ची घर एक झट्कामा तहसनहस हुने रहेछन् । यो घटनाले पिलरविनाको घर भनेको धराप रहेछ भन्ने देखियो । कतिपय ठाउँमा छरछिमेक र सुरक्षाकर्मी आएर उद्धार भयो । यदि समयमा उद्धार हुन नसकेको भए क्षति अझै धेरै हुन्थ्यो ।

 (नलगाड नगरपालिका, दल्लीका रावलसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?