छालारोगले निम्त्याउँछ मानसिक समस्या

शरीरमा लाग्ने कैयौं रोग जस्तै छाला रोगमा पनि स्नायु र मस्तिष्कबीच अन्तरसम्बन्ध हुन्छ । किनभने मानसिक समस्याले विभिन्न प्रकारका छाला रोग निम्त्याउन सक्छ भने कतिपयलाई यिनै छालारोग दीर्घकालीनसम्म भइराख्नाले पुनः मानसिक समस्या हुन सक्छ ।
छालासम्बन्धी रोगलाई दु:ख नदिएसम्म रोग मानिंदैन । अझ दीर्घ छालारोग हुने मानसिक समस्याबारे धेरैजसो जानकार छैनन् । यसकै परिणाम हो, मानसिक समस्या ।
त्यसैले जागरुक गर्ने उद्देश्यले छाला रोग र मानसिक स्वास्थ्यको अन्तरसम्बन्ध दर्शाउनका निम्ति नोभेम्बेर १८ तारिखमा विश्वभर ‘वोल्ड साइकोडर्माटोलोजी डे’ मनाइन्छ ।
४० प्रतिशत दीर्घ छालारोग हुनेलाई मानसिक समस्या
अध्ययन तथा अनुसन्धानमा करिब ४० प्रतिशत छालाका दीर्घरोगीलाई कुनै न कुनै किसिमको मानसिक समस्या हुने देखिएको छ । जसले पुनः छालारोगलाई बढाउँछ ।
जसरी छालारोगले मानसिक स्वास्थ्यमा असर गर्छ । त्यसरी नै मानसिक अस्वस्थता र तनाव धेरै लिने मानिसलाई पनि छालारोग (डन्डीफोर, कत्लेरोग, अटोपिक एक्जेमा, पसिना धेरै आउने रोग, कपाल झर्ने रोग) बढी हुने गरेको देखिन्छ ।
दीर्घ छालारोग जस्तै, कत्लेरोग (सोरायसिस), सेतो दुबी, एक्जेमा, चाया–पोतो, डन्डीफोर (एक्ने), ढुसी (फंगल इन्फेक्सन) लगायतका रोगले शरीरको छालाको स्वरुप बिगार्छ । फलस्वरुप समय बित्दै जाँदा चिन्ता र आत्मबल कम हुँदै डिप्रेसन, चिन्तारोग (एन्जाइटी), हीनताबोध र आत्महत्या गर्ने सोचसम्मका रुपमा देखिन्छ ।
गम्भीर खालको कत्ले रोग र डन्डीफोरले करिब पाँच प्रतिशत बिरामीलाई आत्महत्या गर्ने विचारसमेत आउने देखिएको छ । यसैगरी निजामती कर्मचारी अस्पतालमा १२८ जना छालाको ढुसी (फंगस)का बिरामीमा गरेको अनुसन्धानमा ५७ जना (करिब आधा) बिरामीलाई मानसिक स्वास्थ्यमा धेरै ठूलो असर परेको देखिएको छ ।
साथै, छाला चिलाउने, पोल्ने, बिझाउने, दुख्ने समस्या भएकालाई मानसिक स्वास्थ्यमा धेरै असर गरेको देखिएको छ । यसले गर्दा सामाजिक र अतिरिक्त क्रियाकलापमा समेत असर गरेको पाइएको छ । पोखराका २०० जना चायापोतोका बिरामीमा गरिएको अध्ययनमा पनि दीर्घ रुपमा भएको चायापोतोले मानसिक स्वास्थ्यमा ठूलो असर गरेको देखिएको थियो ।
कारण
भ्रूण विकासका क्रममा छाला, मस्तिष्क र नसा एउटै कोषिकाबाट विकसित हुँदै जान्छन् । जसले स्वतः छाला र मस्तिष्कको अन्तरसम्बन्धलाई चित्रण गर्छ । यस्तै, छालारोग भएकालाई हुने तनावले स्ट्रेस हार्मोन अर्थात् तनाव हार्मोनको उत्पादन गर्छ, जसले छालामा विभिन्न प्रकारका एलर्जी र संक्रमण सिर्जना गर्छ ।
शारीरिक र मानसिक समस्याबीच अन्तरनिर्भरता
कुनै पनि रोग त्यसमा पनि दीर्घरोगले मानसिक स्वास्थ्यलाई असर गर्छ । डिप्रेसन, एन्जाइटी र आत्महत्या अहिले प्रमुख मानसिक रोगका रुपमा देखा परेका छन् । हाम्रो जस्तो विपन्न र अति विपन्न मुलुकमा विश्वको करिब ७७ प्रतिशत आत्महत्या दर देखिन्छ ।
दीर्घ छालारोगका बिरामीमध्ये करिब नौ प्रतिशतमा मुख्य डिप्रेसन र पाँच प्रतिशतमा आत्महत्याको विचार आउने तथ्यांक चिकित्सक र जनमानसका लागि पनि चिन्ता र चासोको विषय हो । यस्तै समयमै मानसिक अस्वस्थता र दीर्घरोगको निदानले मानसिक, सामाजिक र आर्थिक हानि कम गर्न सकिन्छ । मानसिक अस्वस्थता पत्ता लाग्नेबित्तिकै मनोचिकित्सकको परामर्श र उपचार लिइहाल्नु उपयुक्त हुन्छ ।
उपचार
छालारोगको समयमै रोग पहिचान र उचित उपचार गर्नाले दीर्घरोगबाट हुने शारीरिक विरूप र मानसिक असर कम गर्न सकिन्छ । निजामती कर्मचारी अस्पतालमा गरिएको अध्ययनमा करिब ७० प्रतिशत छालामा देखिने ढुसीका बिरामीले त्यसमा लगाउनै नहुने स्टेरोइड क्रिम लगाउने गरेको पाइएको छ । र, ६३ प्रतिशतमा सोही कारणले रोग दीर्घकालसम्म रहेर मानसिक असर परेको देखिएको छ ।
तसर्थ, समयमै छालारोगको परामर्श लिई रोगअनुसारको उपयुक्त उपचार गरी मानसिक अस्वस्थताबाट बच्न सकिन्छ । छालारोगका बिरामीमा भएको मानसिक अस्वस्थताको उपचार–विश्राम विधि (रिल्याक्सेसन टेक्निक), संज्ञानात्मक व्यवहार विधि (कग्निटिभ बिह्याभियर थेरापी) र मनोचिकित्सकीय औषधि प्रयोगबाट गर्न सकिन्छ । त्यसका लागि सर्वसाधारण, छालारोग विशेषज्ञ र मनोचिकित्सकहरूले सहकार्य गर्न जरुरी छ ।
(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् ।)
प्रतिक्रिया 4