+

बालबालिकामा एन्टीबायोटिकको प्रयोग कम गर्न जरुरी

२०८० मंसिर  ४ गते ११:४७ २०८० मंसिर ४ गते ११:४७
बालबालिकामा एन्टीबायोटिकको प्रयोग कम गर्न जरुरी

काठमाडौं । चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन नेपालमा व्यापक छ । सिटामोलदेखि एन्टीबायोटिकसम्मको प्रयोग बिना कुनै संकोच धेरैले गरिरहेका हुन्छन् ।

कुन औषधि कुन समयमा, कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान अधिकांश मानिससँग हुँदैन, तर पनि कसैले भनेको भरमा जस्तोसुकै औषधि खान हतारिने बानी छ ।

वयस्क मात्रै होइन, बच्चा बिरामी भए पनि एन्टीबायोटिक खुवाइहाल्ने आम मानिसको बानी छ । तर यसरी बच्चालाई जथाभावी एन्टीबायोटिक दिनु गलत भएको बाल छातीरोग विशेषज्ञ डा. जगतजीवन घिमिरे बताउँछन् ।

‘बालबालिकामा एन्टीबायोटिकको प्रयोग एकदमै धेरै छ । विशेषगरी नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता विकासोन्मुख देशमा चाहिने भन्दा धेरै एन्टीबायोटिकको प्रयोग भएको पाइन्छ,’ उनी भन्छन् । कुनै बच्चालाई ज्वरो आयो वा सामान्य रुघाखोकी लाग्ने बित्तिकै विभिन्न औषधि र एन्टीबायोटिक दिइहाल्नु राम्रो अभ्यास नभएको डा. घिमिरे बताउँछन् ।

‘हामीले बच्चालाई ब्याक्टेरियाको विरुद्धमा खोप लगाइदिएका हुन्छौं । त्यसैले एक-दुई दिन ज्वरो आउने बित्तिकै बच्चालाई एन्टीबायोटिक दिन जरुरी हुँदैन,’ उनी भन्छन्, ‘केही स्वास्थ्य समस्या हुने बित्तिकै एन्टीबायोटिक दियो भने निको भइहाल्छ भन्ने सोच गलत हो ।’

निमोनियाको समस्या बालबालिकामा एकदमै धेरै देखिने स्वास्थ्य समस्या हो । यसमा एन्टीबायोटिकको प्रयोग पनि अझ बढी भइरहेको देखिन्छ । विश्वव्यापी रूपमा हालसालै भएको एक अध्ययन अनुसार बच्चामा निमोनिया हुने कारण भाइरल संक्रमण हो । भाइरल संक्रमणमा एन्टीबायोटिक खान नहुने र यसमा चिकित्सकहरु समेत सचेत हुनुपर्ने डा. घिमिरे बताउँछन् ।

‘बच्चाहरूमा धेरै भाइरल इन्फेक्सन हुन्छ र भाइरल इन्फेक्सनमा एन्टीबायोटिकले काम गर्दैन । नेपालमा  एन्टीबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्यांकले नै देखाएका कारण सचेतनाको आवश्यकता छ,’ उनी भन्छन् ।

डा. जगतजीवन घिमिरे

एन्टबायोटिकको धेरै प्रयोगले अन्य समस्याको जोखिम

एन्टीबायोटिकको अनुचित प्रयोगले कतिपय संक्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् ‘एन्टीबायोटिक रेजिस्टेन्स’ विकास गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त हुँदै आएको छ ।

एन्टीबायोटिकको जथाभावी प्रयोगले संक्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता ‘एन्टीबायोटिक रेजिस्टेन्स’ कम भएर बच्चा सिकिस्त बिरामी भएर अस्पताल आएको बेला दिनुपर्ने एन्टीबायोटिकले काम नगर्ने अवस्था सिर्जना हुन सक्ने डा. घिमिरे बताउँछन् ।

‘हरेक औषधिको साइड-इफेक्ट भएजस्तै एन्टीबायोटिकको पनि साइड-इफेक्ट हुन्छ । अनावश्यक प्रयोग गर्दा कहिलेकाहीं त्यसको एलर्जी भएर ज्यानै जान सक्ने जोखिम हुन्छ,’ उनी भन्छन् । जथाभावी एन्टीबायोटिकको प्रयोगले कालान्तरमा मिर्गौलासम्बन्धी विभिन्न समस्या निम्तिन सक्ने सम्भावना रहने उनको भनाइ छ ।

अति आवश्यक भए मात्र प्रयोग गरौ

पिसाबको संक्रमण, टन्सिल, कान पाकेको बेला, चार-पाँच दिनभन्दा बढी लगातार ज्वरो आएको छ भने एन्टीबायोटिक खानुपर्ने हुन्छ । यस्तो अवस्थामा एन्टीबायोटिक खान हुँदैन भनेर तर्सिनु नपर्ने डा. घिमिरे बताउँछन् ।

‘एन्टीबायोटिक्स भनेको यस्तो रासायनिक तत्त्व हो, जसले शरीरमा रहेका ब्याक्टेरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । त्यसैले यो महत्त्वपूर्ण औषधि हो,’ उनी भन्छन्, ‘जसले मृत्युदरलाई घटाएको छ । त्यसैले यसलाई सही ढंगले प्रयोग गर्नुपर्छ ।’

सचेत हुनैपर्छ

कुनै एउटा स्वास्थ्य समस्यामा एन्टीबायोटिकको प्रयोगपछि बालबालिका निको भए भने अर्को पटक सानो समस्यामा पनि एन्टीबायोटिक नै प्रयोग गर्नुपर्छ भन्ने अभिभावकलाई लाग्छ । तर त्यो गलत रहेको डा. घिमिरे बताउँछन् । चिकित्सकको सल्लाह बिना एन्टीबायोटिकको प्रयोग गर्नु हुँदैन भन्ने कुरामा अभिभावक सचेत हुनुपर्ने उनी सुझाउँछन् ।

‘चिकित्सकको सल्लाह बिना मेडिकलमा गएर एन्टीबायोटिक किनेर खान पाइने भएर यसको प्रयोग बढेको हो । छिटो निको हुन पाए हुन्थ्यो भन्ने मानवीय स्वभाव नै हो,’ उनी भन्छन्, ‘तर चिकित्सकको सल्लाह बिना एन्टीबायोटिकको प्रयोग गर्न जहिलेसम्म पाइन्छ, तबसम्म यसको जथाभावी प्रयोग रोकिंदैन । त्यसैले सरकारले यो कुरामा सचेत भएर चिकित्सकको सल्लाह बिना एन्टिबायोटिकको बिक्री गर्न नपाउने नियम ल्याउनैपर्छ ।’

एन्टीबायोटिकको प्रयोगबारे हामी उति धेरै सचेत छैनौं । एन्टीबायोटिक लिइसकेपछि त्यसको निश्चित डोज पूरा गर्नुपर्ने हुन्छ । आफ्नो समस्या ठीक भइसकेपछि औषधिको डोज पूरा नगरी छाड्नस गलत भएको डा. घिमिरे बताउँछन् ।

‘कुनै पनि बच्चा बिरामी भयो भने ब्याक्टेरिया वा भाइरस के कारणले बिरामी भएको हो भनेर पत्ता लगाउने प्रविधि विकसित देशहरूमा छ । हाम्रो देशमा त्यो प्रविधि त छैन,’ उनी भन्छन्, ‘तर कस्तो अवस्थामा एन्टीबायोटिक खाने भन्ने सल्लाह चिकित्सकसँग लिन सकेको खण्डमा यसको अनावश्यक प्रयोग कम हुनेथियो ।’

एन्टीबायोटिक बालबालिका
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय