+
+

कुशल नेतृत्व खोजिरहेको अर्थतन्त्र

विश्वका आर्थिक महारथी बन्दै गरेका चीन र भारत बीचमा रहेको नेपालले आर्थिक विकासमा सफलता प्राप्त गर्न आर्थिक रूपान्तरणको भिजन भएको नेतृत्व खोजिरहेको छ ।

एनपी रिजाल एनपी रिजाल
२०८० मंसिर ११ गते ७:५५

नेपालको वर्तमान अर्थ-व्यवस्थामा नयाँ पुस्ता आफ्नो भविष्य देख्दैनन् । स्नातक तह अध्ययन गर्दै गरेका विद्यार्थी पनि आफ्नो अध्ययन बीचैमा छोडेर विदेश पलायन भइरहेका छन् । प्लस टु पढिरहेको पुस्ता प्रमाणपत्रको लागि मात्र अध्ययन गरिरहेका छन् । एसईई पास हुँदा मात्र अध्ययनका लागि विदेश जान पाइने भए हाम्रा शिक्षालयका कक्षाकोठा लगभग आधाआधी खाली भइसक्थे ।

युवा पुस्ता नेपाली अर्थतन्त्रभित्र कृषि, सेवा, व्यवसाय वा सरकारी जागिरमध्ये कुनै पनि पेशामा आफ्नो भविष्य देख्न छाडेका छन् । कृषकहरू पेशाबाट पलायन भइरहेका छन् । कृषि उत्पादन लागत उच्च बन्दै जाँदा आफैं उत्पादन गर्नु भन्दा बाहिरबाट खरिद गर्दा सस्तो पर्न जान्छ । कृषि कृषकले स्वदेशमै राम्रो बजार प्राप्त गर्न सक्दैनन् । खाद्यान्न, फलफूल तथा तरकारीका लागि छिमेकी देशको निर्भर रहनुपरेको छ ।

निज्ाी क्षेत्र उद्योग सञ्चालन गरेर आयात प्रतिस्थापन गर्दै स्वदेशमा रोजगारका अवसर सिर्जना गर्नुभन्दा आयात व्यापार व्यवसायमा लागेर नाफा आर्जन गरिरहेका छन् । त्यो नाफाकेन्दि्रत निजी क्षेत्रमा श्रमिकको रूपमा संलग्न मानिसहरूको आयस्तर पनि निम्न छ । विश्वव्यापीकरणका कारण तीव्र रूपमा बढ्दै गएको मागलाई धान्ने खालको आयस्तर नहुँदा युवापुस्ताको रोजाइ वैदेशिक रोजगारी, विदेशयात्रा वा अष्ट्रेलिया, क्यानाडा, जापानमा अध्ययन गर्न जाने र विस्तारै अन्य देशमा स्थायी रूपमा बसाइँसराइ गर्ने क्रम बढ्दो छ ।

के साँच्चै नेपालको अर्थतन्त्र निराशाजनक अवस्थामा छ त ? किन आधाभन्दा धेरै युवा पुस्ता नेपालमा बस्न, व्यवसाय गर्न, रोजगारी गर्न रुचाउँदैनन् ? अनेकौं प्रश्न छन् । तर नेपाली अर्थतन्त्रमा केही आशाका किरण पनि छाएका छन् । देशमा लोडसेडिङको अन्त्य भएको छ । हरेक भौगोलिक क्षेत्रमा रेडियो, टेलिभिजन मात्र होइन इन्टरनेटको पहुँच पुगेको अवस्था छ । ग्रामीण क्षेत्रमा बैंक, वित्तीय संस्था वा सहकारीले आम जनतालाई बैंकिङ क्षेत्रसँग पहुँच पुर्‍याएको छ ।

कक्षा १२ सम्म अध्ययन गर्नका लागि पहाडका गाउँ-गाउँसम्म माध्यमिक कक्षाहरू सञ्चालित छन् । यातायातको क्षेत्रमा हेर्ने हो भने सडक यातायातको संरचना सुरुङ र आकाशे मार्गमा प्रवेश गरिसकेको छ ।

केही कमजोरीहरू नभएका होइनन् । व्यापार घाटा उच्च छ । सानो भन्दा सानो उत्पादन पनि विदेशबाट आयात गर्नु परिरहेको अवस्था छ । पेट्रोलियम पदार्थको आयातले मात्र कुल आयातको ५० प्रतिशत ओगटेको छ । तर विस्तारै विद्युतीय गाडीको प्रयोगमा वृद्धि भइरहँदा त्यसलाई पनि प्रतिस्थापन गर्न सकिन्छ ।

नेपाली अर्थ-राजनीतिक संरचनामा नयाँ शक्तिको नाममा धेरै राजनीतिक दलहरू आए । गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा स्थापना भएको छोटो अवधिमा नै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम जनताले दिएको मत अनि तीन वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार मेयर पदमा निर्वाचित भएसँगै देखिएको परिवर्तनलाई हेर्दा अर्थतन्त्रले नयाँ नेतृत्व खोजेको थिए

नयाँ पुस्तालाई अब नेपालमा पनि केही हुनसक्छ । नेपालको अर्थतन्त्रमा पनि सहज रूपमा जीवनयापन गर्न सकिन्छ । युवा पुस्तालाई सुन्दर भविष्यका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको महसुस दिलाउन सक्नुपर्छ । देशको राजनीतिक नेतृत्वकर्ताले वा सत्तामा आसीन अभिभावकको भूमिकाले आम जनतालाई स्वदेशमा आर्थिक रूपान्तरणको काम भइरहेको वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक विकासको ठूलो सम्भावना बोकेको नेपालमा विश्वास दिलाउन सक्ने अर्थतन्त्रको नेतृत्वकर्ताको अभाव हुँदा युवा पुस्ताको पहिलो रोजाइ विदेश बन्दै गएको हो भन्दा फरक नपर्ला ।

देशमा देखिएको पछिल्लो अर्थ-राजनीतिक उतारचढावदेखि आमजनता राजन्ाीतिक व्यवस्थाप्रति धेरै निराश छन् भने नेपाली अर्थतन्त्रले पनि युवा पुस्तालाई देशमा नै केही हुन्छ, हुँदैछ भन्ने विश्वास दिलाउन सक्ने खालको नेतृत्व खोजी गरिरहेको छ ।

अब प्रश्न उठ्छ- वर्तमान नेपाली नेतृत्वकर्ताप्रति किन नयाँ पुस्ता ठूलो आशा भरोसा राख्दैनन् ? यसको उत्तर खोज्न २०६२/६३ सालको दोस्रो जनआन्दोलनलाई प्रत्यक्ष रूपमा अनुभव गरेको व्यक्तिसम्म पुग्न सकिन्छ ।

अहिले सत्तामा रहेका राजनीतिक दलका नेतृत्वकर्ताहरू नेपालको अर्थतन्त्रलाई कायापलट गर्ने योजना कम भएका तर राजनीतिक प्रणालीको शल्यक्रिया गर्न सफल नेतृत्वकर्ताहरू धेरै हुन् । ठूला र पुराना राजनीतिक दलका नेतृत्वकर्ताहरूले दुई-दुई पटक राजनीतिक प्रणाली परिवर्तन गर्न भ्याएका छन् ।

२०४६ सालको पहिलो जनआन्दोलनको नेतृत्वकर्ताहरूको मुख्य लक्ष्य पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुनस्र्थापना गरी सक्रिय राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा परिणत गर्नु थियो । उनीहरूले राजनीतिक व्यवस्था त परिवर्तन गरे तर त्यसपछि स्थापित प्रजातान्त्रिक व्यवस्थामा आर्थिक रूपान्तरणका कार्यहरू गर्न असफल भएको पक्कै हो ।

१० वर्षे माओवादी जनआन्दोलनका दौरानमा धेरै जनतालाई गणतन्त्र आएपछि देशको आर्थिक अवस्थाको शल्यक्रिया गर्ने र आम जनतालाई नेपाली अर्थतन्त्र विश्वको एक सफल अर्थतन्त्र बन्छ है भन्ने विश्वास जगाएको भए पनि उनीहरूको मुख्य लक्ष्य गणतन्त्र स्थापना गर्नु नै थियो । त्यो राजनीतिक मिसनमा सफल भए तर त्यसको दुई दशक बित्नै लाग्दा पनि भुईंमान्छेलाई दैनिक गुजारा गर्न समस्या छ ।

नेपाली अर्थ-राजनीतिक संरचनामा नयाँ शक्तिको नाममा धेरै राजनीतिक दलहरू आए । गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा स्थापना भएको छोटो अवधिमा नै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम जनताले दिएको मत अनि तीन वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार मेयर पदमा निर्वाचित भएसँगै देखिएको परिवर्तनलाई हेर्दा अर्थतन्त्रले नयाँ नेतृत्व खोजेको थिए ।

गत साता झापाको बिर्तामोडमा एउटा निजी कलेजमा स्थापना गरिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणमा प्रमुख अतिथि बनेका पूर्वराजाको स्वागतका लागि हजारौंको संख्यामा आम जनता र्‍यालीमा देखिएका छन् । उनीहरूले राजा आए देश बचाउने नारा दिएका थिए भने दुर्गा प्रसाईं जस्ता व्यवसायीले नेतृत्व गरेको अभियानमा बैंकको ऋण पीडितदेखि सत्तारुढ दल, कर्मचारीतन्त्रले वाक्क भएका र राजनीतिक चेतना भएका व्यक्तिहरू पनि सडकमा उत्रिएको अवस्था छ ।

यी त केही उदाहरण मात्र हुन् । तर विश्वका ठूला आर्थिक महारथी बन्दै गरेका चीन र भारत बीचमा नेपालले आर्थिक विकासमा सफलता प्राप्त गर्न आर्थिक रूपान्तरणको भिजन भएको नेतृत्व नै आजका नेतृत्वकर्ताको विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?