+

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

२०८० मंसिर  ११ गते १३:०७ २०८० मंसिर ११ गते १३:०७
कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै दर्दनाक घटना घट्दा डर लाग्नु सामान्य हो । यसलाई एक्युट स्ट्रेस डिसअर्डर (तीव्र तनाव विकार) भनिन्छ । त्यसको असर केही क्षण, केही दिनसम्म रहन सक्छ, त्यो सामान्य नै हो । तर त्यही घटना घटेको ६ महिना बितिसक्दा पनि भावनात्मक र मानसिक आघातको समस्या घटेको छैन भने त्यसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिन्छ ।

आघात धेरै किसिमले हुन सक्छ । भूकम्प, प्राकृतिक प्रकोप, युद्ध, दुर्घटना, यौन हिंसालगायत विभिन्न कारणले मानसिक आघात पुगिरहेको हुन्छ । त्यस्तो घटना आफैंलाई मात्र होइन, अरु कसैलाई भएको छ भने पनि त्यस्तो समस्या हुन्छ । जस्तै, भूकम्पमा मान्छे मरेर लासहरु देखेको व्यक्तिलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर हुन सक्छ ।

लक्षण

पीटीएसडी हुँदा कुनै घटना बारम्बार सम्झनामा आइरहने हुन्छ । सपनामा पनि त्यही देख्ने हुन्छ । शरीरमा चिटचिट पसिना आउने, मुटुको चाल बढ्ने, छटपटी हुने, रक्तचाप बढ्ने, एकै ठाउँमा बस्न नसक्ने, सुत्न नसक्ने, चिडचिडापन हुने र हरेक समय आफू असुरक्षित भएको अनुभूति गर्ने लक्षण पीटीएसडीमा देखिन्छ ।

पहिले देखेको दर्दनाक घटना जस्तै परिस्थिति देखेमा आत्तिने वा डराउने, जस्तै पहिला भूकम्पका कारण पीटीएसडी भएको छ भने केही कारण घर वा केही सामान हल्लिंदा आत्तिने गर्छन् ।

कसलाई बढी हुन्छ ?

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर सबैलाई हुन सक्छ । यही उमेर समूहलाई हुन्छ भन्ने छैन । तर धेरैजसो सानो सानो कुरामा डराउने, आत्तिने मान्छेलाई हुने सम्भावना बढी हुन्छ । परिवारमा कसैलाई पीटीएसडीको समस्या पहिल्यै छ भने पनि त्यो परिवारको सदस्यलाई हुन सक्छ । तर घटना घटेको छ भने मात्र हुन्छ ।

उपचार

औषधि र थेरापीबाट उपचार गरिन्छ । यो अन्य रोग जस्तै औषधि खानेबित्तिकै निको हुँदैन । यसको उपचारमा लामो समय लाग्छ । कसैलाई केही महिनामा निको हुन्छ भने कसैलाई लामो समय पनि लाग्न सक्छ ।

रोकथाम

घटना हुनेबित्तिकै केही समयमा लक्षण नदेखिने भएकाले यसको रोकथाम यही भन्ने छैन । तर एक्युट स्ट्रेस डिसअर्डर भइसकेपछि त्यसलाई हेलचेक्र्याइँ नगरी समयमै निको पार्नुपर्छ । कुनै रलाग्दो घटना भएको एक महिना नाघिसक्दा पनि समस्या लक्षण त्यस्तै छ भने पोस्ट स्ट्रेस डिसअर्डर हुन सक्छ । यस्तो अवस्थामा मनोविद् वा मनोचिकित्सकलाई जाँच देखाइहाल्नुपर्छ ।

डा. सुरज तिवारी मानसिक आघात मानसिक स्वास्थ्य
डा. सुरज तिवारी
लेखक
डा. सुरज तिवारी
मनोचिकित्सक

डा. तिवारी ललितपुरस्थित पाटन मानसिक अस्पतालमा प्रमुख परामर्शदाताको रुपमा कार्यरत छन् । उनले मनोचिकित्सामा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ७७६७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय