+

जाडोमा मुटुरोगको जोखिम किन बढ्छ ?

२०८० मंसिर  १५ गते १३:१७ २०८० मंसिर १५ गते १३:१७
Shares
जाडोमा मुटुरोगको जोखिम किन बढ्छ ?

काठमाडौं । केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ । जसकारण हृदयघात, फ्लु आदिको जोखिम बढाउँछ । चिसो मौसमले मुटु र रक्तसञ्चार प्रणालीलाई पनि असर गर्न सक्छ ।

जाडोमा रुघाखोकी, घाँटी दुख्ने, खोकी जस्ता हल्का रोग पनि लाग्ने गर्छ । यद्यपि यी सामान्य समस्या हुन्, तर मुटुमा पहिले नै कुनै समस्या छ भने जाडोमा झन् बढ्न सक्छ ।

जाडोमा शारीरिक गतिविधि कम हुन्छ । मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न रुचाउँछन् । जसले गर्दा यो सिजनमा शरीरलाई आवश्यक पर्ने व्यायाम गरिंदैन र शरीर निष्क्रिय भएका कारण पनि विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

तापक्रममा कमी आउँदा रक्तसञ्चार नलीहरू कहिलेकाहीं खुम्चिन्छन् । जसले रक्तचाप बढ्दा मुटु र मस्तिष्क दुवैमा असर गर्न सक्छ । चिसोमा धेरै चिल्लो खाना खाने र निष्क्रिय दैनिकीका कारण पनि मुटुरोगको जोखिम बढ्छ । चिसोमा धेरैले धुम्रपान र मादक पदार्थको प्रयोग बढी गर्ने भएकाले पनि मुटुमा असर गर्छ ।

जाडोमा कोरोनरी धमनीहरू खुम्चिन्छन्, जसले कोरोनरी हृदयरोगका कारण छाती दुखाइलाई अझ बढाउन सक्छ । एकातिर शरीरको तापक्रम स्थिर राख्न मुटुले थप मेहनत गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ चिसो हावाले मुटुको यो कडाइलाई झनै कठिन बनाइदिन्छ किनभने चिसो हावाका कारण शरीरको तापक्रम द्रुत गतिमा घट्छ । यदि शरीरको तापक्रम ६ डिग्रीभन्दा तल झर्‍यो भने हाइपोथर्मियाले मुटुको मांसपेशीलाई हानि पुर्‍याउन सक्छ ।

जोखिम

चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ । मुटुलाई भार पर्ने भएकाले चिसो मौसम मुटुरोगीका लागि जोखिमपूर्ण हुन्छ । साथै, उच्च रक्तचाप, धुम्रपान र मदिरपान अत्यधिक गर्ने, रोगको पारिवारिक इतिहास, उच्च कोलेस्टेरोल, मोटोपनजस्ता कारणले जाडोमा हृदयघातको सम्भावना धेरै हुन्छ ।

पहिल्यैदेखि मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग भएका व्यक्ति वा क्यान्सर तथा केही रोगका उपचार गरिरहेका व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । फलस्वरूप, त्यो व्यक्ति संक्रमणको सबैभन्दा उच्च जोखिममा हुन्छ । केही रोगले मुटुमा थप दबाब दिन सक्छ ।

जाडोमा मुटुलाई कसरी स्वस्थ राख्ने ?

डा. अभिषेक ठाकुर , मुटुरोग विशेषज्ञ

मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिले जाडो मौसममा धेरै सचेत हुनुपर्छ । मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न समय समयमा जँचाउने र नियमित औषधि सेवन गर्ने गर्नुपर्छ ।

शरीरलाई न्यानो राख्नु पनि जरुरी हुन्छ । शरीरलाई न्यानो राख्न र चिसोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ । आफूलाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । सधैं घरबाहिर व्यायाम गर्नु आवश्यक छैन, घरमै व्यायाम गर्न सकिन्छ । घरमै हल्का एरोबिक्स, योग, कसरत, नृत्य वा ध्यान जस्ता गतिविधि पनि गर्न सकिन्छ ।

फलफूल र तरकारीमा पाइने भिटामिन र मिनरल्सले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत राख्छ ।  भुटेको, चिल्लो, मीठो र उच्च कोलेस्टेरोलयुक्त खानेकुरा नखानुहोस् किनभने यिनीहरूले हृदयरोगको जोखिम बढाउन सक्छ । जाडोमा धेरै मात्रामा चिल्लो पिरो खानेकुरा खाइन्छ, जसले कोलेस्टेरोल बढाएर मुटुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ, त्यसैले सन्तुलित आहार लिनुपर्छ ।

स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

छोटो दिन र लामो रात, घरभित्र धेरै समय बिताउँदा उदास वा बेचैनी महसुस हुन सक्छ । घामको किरणको कमीका कारण धेरैलाई भिटामिन डी पर्याप्त मात्रामा प्राप्त हुँदैन । यसले डिप्रेसन बढाउन सक्छ । त्यसैले उदासीबाट बच्न योग र ध्यानका साथै सक्रिय हुन जरुरी छ ।

अत्यधिक तनावले शरीरको प्रतिरक्षा प्रणालीको काममा बाधा पुर्‍याउँछ, विशेषगरी जाडोमा । तनाव व्यवस्थापन महत्त्वपूर्ण छ । तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । मधुमेह उच्च रक्तचाप, मिर्गौला र अन्य स्वास्थ्य समस्या भएका बिरामी झन् धेरै सचेत हुनुपर्छ ।

राम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पर्याप्त आराम आवश्यक छ । निद्रा नपुग्दा मुटुरोग, उच्च रक्तचाप, मधुमेह र पक्षघातजस्ता धेरै स्वास्थ्य समस्या देखा पर्छन् । कुनै पनि वयस्क व्यक्तिले हरेक दैनिक ६ घण्टा सुत्नु आवश्यक हुन्छ ।

यदि दिनचर्या नियमित छ भने राम्रोसँग सुत्न सकिन्छ । दिनचर्या राम्रो भयो भने राति समयमा सुतिन्छ र समयमा उठिन्छ । जसले गर्दा निद्रामा कुनै समस्या निम्तिंदैन ।

यी कुरामा पनि ध्यान दिनुपर्छ

जाडोमा मुटुसम्बन्धी समस्याका लक्षण पहिचान गर्नु झनै महत्त्वपूर्ण हुन्छ । कहिलेकाहीं हृदयघातको चेतावनी सूचकहरु छातीमा तीव्र जलन, असहजता, अत्यधिक पसिना आउनु, सास फेर्न गाह्रो हुनु, बंगारा, हात वा काँधमा लामो समयसम्म दुख्नने समस्या देखिन्छन् ।

यद्यपि, यी लक्षणहरू पुरुष र महिलामा फरक हुन सक्छन् । तर कुनै पनि लक्षणलाई बेवास्ता गर्नु हुँदैन । लक्षणहरू देखा परेको खण्डमा तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । हृदयघातका लक्षणहरू पहिचान गर्न र उपचार गर्नमा थोरै ढिलाइले पनि समस्याको जटिलता बढाउने मात्र होइन, घातक पनि हुन सक्छ ।

जाडोयाम डा. अभिषेक ठाकुर मुटुरोग
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची