+

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

२०८० मंसिर  १८ गते १२:२८ २०८० मंसिर १८ गते १२:२८
यसकारण हुन्छ गर्भावस्थामा बान्ता

काठमाडौं । गर्भावस्थाको अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन र पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै ख्याल राख्नुपर्छ ।

गर्भावस्थामा वाकवाकी लाग्ने, खान खान मन नलाग्ने जे पनि खाएपछि बान्ता हुने धेरैमा देखा पर्ने समस्या हो । कतिपय अवस्थामा बान्ताको समस्या गर्भावस्थाको छैटौं हप्तादेखि लामो समयसम्म रहन सक्छ । जसका कारण आमाको शरीर कमजोर हुने सम्भावना हुन्छ । गर्भावस्थामा बान्ता किन हुन्छ ? यसले अरू कुनै समस्या पो निम्त्याउँछ कि भन्ने प्रश्न धेरै महिलामा हुन सक्छ ।

गर्भावस्थामा बान्ता हुने कारण

गर्भावस्थामा धेरै प्रतिशत गर्भवती महिलामा वाकवाक लाग्ने बान्ता हुने समस्या हुन्छ । यसलाई गर्भावस्थाको पहिलो लक्षण पनि भन्ने गरिन्छ । सामान्यतया गर्भावस्थाको लगभग ६ हप्ताबाट सुरु हुन्छ र केही हप्ता वा महिनौंसम्म जारी रहन्छ ।

जर्नल अफ प्रेग्नेन्सीमा प्रकाशित अनुसन्धानअनुसार गर्भावस्थामा बान्ता हुनु सामान्य कुरा हो । तर कसैलाई बढी र कसैलाई कम हुन्छ । गर्भावस्थाको समयमा हार्मोनमा धेरै परिवर्तन हुन्छ । गर्भाशयमा भ्रूणको विकासको लागि एक हार्मोन हुन्छ, जसलाई ह्युमन कोरियोनिक गोनाडोट्रोफिन भनिन्छ । गर्भावस्थाको समयमा शरीरमा यो एचसीजी हार्मोनको स्तर अचानक धेरै छिटो बढ्छ ।

डा. प्रियंका त्रिपाठी

यो हार्मोनले महिलाको पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पार्छ । जसले गर्दा मर्निङ सिकनेस (बिहान उठ्ने बित्तिकै वाकवाक लाग्ने) वा खाना खाएपछि वाकवाक लाग्ने, बान्ता हुने हुन्छ ।

कुनै महिलाले गर्भमा जुम्ल्याहा वा त्यसभन्दा बढी बच्चा भएमा बान्ताको समस्याले लामो समयसम्म सताउन सक्छ । पहिलो पटक गर्भवती भएको महिलामा पनि बान्ताको समस्या धेरै हुन्छ ।

खानामा पोषणको कमी, भिटामिन ‘बी वान’ ‘बी सिक्स’को कमी भयो भने वा चिल्लो, मसालेदार खानेकुरा खाँदा पनि बान्ता हुन सक्छ । यदि समस्या साढे तीन महिनाभन्दा बढीसम्म भइरह्यो भने अन्य समस्या पो छ कि भनेर चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भावस्थामा बान्ता नहुनु पनि समस्या त होइन ?

यदि कुनै महिला गर्भवती छिन् र उनलाई वाकवाक लाग्ने वा बान्ता हुने जस्ता कुनै लक्षण छैन भने आत्तिनु पर्दैन । किनभने बान्ता हुनु वा नहुनु हार्मोनको स्तरमा भर पर्छ ।

गर्भावस्थामा बान्ता हुनबाट बच्ने उपाय

– खानपानमा विशेष ध्यान दिनुपर्छ सन्तुलित खाना खानुपर्छ ।

– दुई–दुई घण्टामा थोरै केही न केही खाइराख्नुपर्छ ।

– बिहानको समयमा टोस्ट, बिस्कुट जस्ता सुक्खा चीज खानुपर्छ ।

– प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– भुटेको, चिल्लो वा मसालेदार खानेकुरा खानुहुँदैन ।

– अदुवाको टुक्रालाई मुखमा लिइराख्नुपर्छ ।

– सुकुमेल चुस्नु राम्रो हुन्छ ।

– ग्यास्ट्रिकको समस्या छ भने चिकित्सकको सल्लाहमा ग्यास्ट्रिकको औषधि खानुपर्छ ।

– आफूलाई केही खानेकुराको गन्ध आउँछ, वाकवाक लाग्छ भने त्यो खानेकुरा खानु हुँदैन ।

– यी उपाय अपनाउँदा पनि समस्या कम नभएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भावस्था डा. प्रियंका त्रिपाठी बान्ता
डा. प्रियंका त्रिपाठी
लेखक
डा. प्रियंका त्रिपाठी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०५४७ अध्ययन : एमबीबीएस, एमएस, फेलोसिप (कस्मेटिक गाइनोकोलोजी) हाल काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल र जावलाखेलस्थित वान क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय