+

कृत्रिम दाँत राख्न कति लाग्छ खर्च ?

२०८० मंसिर  २० गते १७:५९ २०८० मंसिर २० गते १७:५९
कृत्रिम दाँत राख्न कति लाग्छ खर्च ?

दाँत खिइने, किराले खाने, टुक्रिने, मक्किने जस्ता समस्या हुन्छ । यही कारण कतिपयको दाँत नै उखेल्नुपर्ने हुनसक्छ । वा कतिपयको दाँत टुटेको, उखेलिएको हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प रहन्छ, कृत्रिम दाँत राख्ने ।

कृत्रिम दाँत कति प्रकारको हुन्छ ? दाँत प्रत्यारोपण गर्न कति खर्च लाग्छ ? यो कति भरपर्दो र दीगो हुन्छ ?

कृत्रिम दाँत के कस्तो अवस्थामा राख्नुपर्छ ?

चोटपटक लागेर दाँत झरेको, किराले खाएर दाँत निकालेको  लगायत विभिन्न अवस्थामा कृत्रिम दाँत राख्न सकिन्छ । कृत्रिम दाँत सामान्यतया दाँत नभएको रिक्त ठाउँमा राखिन्छ । कृत्रिम दाँत राख्नकै लागि सम्पूर्ण दाँत निकाल्नु पर्दैन । कुनै एउटा दाँत छैन भने पनि त्यस्तो ठाउँमा कृत्रिम दाँत राख्न मिल्छ ।

बिग्रेको सौन्दर्यलाई सुधार्न, अन्य दाँतलाई थप बिग्रन नदिन कृत्रिम दाँत राख्न सकिन्छ ।

यो कति प्रकारको हुन्छ ?

कृत्रिम दाँत तीन प्रकारको हुन्छ ।

पहिलो राख्ने -निकाल्ने दाँतः  यस्ता दाँत सस्तो हुनुका साथै राती सुत्नु अगाडी निकाल्न सकिन्छ । उक्त दाँतले सक्कलीले झैँ काम गर्न नसके तापनि दाँतको बिच भागमा राखेर खानेकुरा चपाएको अवस्थामा त्यसले सक्कली दाँतले थप काम गर्ने गर्दछ ।

दोस्रो निश्चित (फिक्स) दाँत : यस्ता दाँत सामान्यतया अघिल्लो र पछिल्लो दाँत सही भएको अवस्थामा त्यसको आड लिएर दाँतलाई फिक्स गरिने गरिन्छ । फिक्स दाँत प्राकृतिक दाँत झैँ हुन्छ । यो आफैमा फिक्स्ड भएकोले यसलाई निकाल्न, राख्न पर्दैन । यसलाई प्राकृतिक दाँतलाई झैँ सफा गर्न सकिन्छ । यसले खानेकुरा टोक्न तथा चपाउनको लागि पनि प्राकृतिक दाँतले झैँ काम गर्दछ ।

तेस्रो दाँत इम्प्लान्टः सामान्यतया, दाँत इम्प्लान्ट त्यस्तो ठाउँमा गरिन्छ, जहाँनेर दाँत हुँदैन । दाँत नभएको त्यस्तो ठाउँमा मेटलले बनेको नक्कली जडा उक्त ठाउँमा राखिन्छ र त्यस ठाउँमा एउटा दाँत बनाइन्छ जसलाई चिकित्सकीय भाषामा क्राउन गर्ने भनिन्छ ।

यी उपचार पद्धतिमध्ये जुन पद्धति आफ्नो लागि उपयुक्त छ तथा आर्थिक हैसियत छ, त्यही अनुसार छान्न सकिन्छ ।

कति अवधि लाग्छ ?

राख्ने, निकाल्ने दाँत राख्नको लागि त खासै समय लाग्दैन एकै दिनमा यो राख्न सकिन्छ । फिक्स दाँत काट्न समय लाग्ने भएको चार देखी पाँच दिन लाग्छ ।

कृत्रिम दाँत राखेपछि के कस्ता सावधानी अपनाउनुपर्छ ?

कृत्रिम दाँत राखिसकेपछि राती सुत्नु अगाडि निकाल्नुपर्ने हुँदा त्यसलाई हरेक दिन पानीमा भिजाएर राख्नु पर्ने हुन्छ र भोलिपल्ट बिहान सफा गरेर मात्र त्यसलाई लगाउनु पर्छ ।

फिक्स दाँत राखिएको छ भने त्यसको साफ सफाइको लागि प्रत्येक दिन प्राकृतिक दाँत झैँ बिहान बेलुकी ब्रस गर्नु पर्छ । अन्यथा, हामीले जुन दाँतमा आड लिएर कृत्रिम दाँत हाल्ने गर्छौ, त्यो नै कमजोर भई खिइन सक्छ । उक्त दाँत नै खिइएको अवस्थामा कृत्रिम दाँत समेत हल्लिने वा झर्ने हुँदा यसबारे विशेष ध्यान दिन आवश्यक छ ।

प्रत्यारोेपण गरेको दाँतको हकमा मेटल राखेर दाँत राखिने हुँदा त्यसमै असर पर्ने गरी टोक्नु हुँदैन । प्रत्यारोपण गरेको दाँतको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । दाँतको बिचमा खानेकुरा अड्कन दिनु हुँदैन । यस्ता कृत्रिम दाँतलाई प्राकृतिक नभई प्राकृतिक जस्तो बनाउन राखिने हुँदा यसबारे विशेष ध्यान दिन आवश्यक छ ।

यो कति सुरक्षित र दिगो हुन्छ ?

यो सुरक्षित नै हुन्छ । तर, कृत्रिम दाँत राख्दा विशेषज्ञ चिकित्सकको सहयोग लिइयो भने झन् धेरै सुरक्षित हुन्छ ।

कृत्रिम दाँत दिगो नै हुन्छ । फिक्स दाँत र प्रत्यारोपण दाँत  १० देखी १२ वर्ष चल्छ भनिन्छ । तर, त्यो भन्दा लामो समय पनि टिक्न सक्छ । राख्ने निकाल्ने दाँत भने भाँच्चिने सम्भावना हुन्छ ।

यसका लागि कति खर्च लाग्न सक्छ ?

यस्ता कृत्रिम दाँतको बजारमा विभिन्न मूल्य पर्ने गर्छ । सरकारी अस्पतालहरूमा र निजी अस्पतालमा खर्च फरक पर्न सक्छ । तर, सामान्यतया राख्ने निकाल्ने एउटा दाँतको ५ सय देखी १५ सय रुपैयाँ  पर्न सक्छ । एउटा फिक्स दाँत राख्न ५ हजार देखी ८ हजार रुपैयाँ पर्न सक्छ । दाँत इम्प्लान्ट गर्न  २५ हजार देखी ६० हजार रुपैयाँ सम्म खर्च लाग्न सक्छ ।

कृत्रिम दाँत
डा. खुश्बु गोयल
लेखक
डा. खुश्बु गोयल
दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ

डा. गोयल हाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन् । उनले बीडीएस र एमडीएस गरेकी छिन् । डा. खुश्बुको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ७५१३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय