+

अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी किन बढे ?

२०८० पुष  १० गते १३:४८ २०८० पुष १० गते १३:४८
अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी किन बढे ?

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतको केरलामा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच नेपालका अस्पतालहरूमा पनि श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् ।

चिसो मौसम यसै पनि मुटु र दमका बिरामीका लागि जोखिमपूर्ण मानिन्छ । साथै अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम समेत बढ्छ । यस्तोमा पछिल्लो समय देखिएको श्वासप्रश्वाससम्बन्धी समस्या कोरोना हो कि अन्य संक्रमण ? कुन उमेर समूहमा संक्रमण बढी मात्रामा देखिएको छ ? लगायत विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डिन तथा छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग अलाइन खबरकर्मी सुमित्रा लुइटेलले गरिएको कुराकानी :

अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण के हो ?

सामान्यतया जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ । त्यहीअनुसार यो वर्ष पनि वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीहरूको संख्या दुई हप्तायता बढेको छ ।

विशेषगरी दमरोग भएका व्यक्ति दम बिग्रेर आउने, भाइरल निमोनिया र छातीको संक्रमण भएर अस्पताल आउनेहरु बढेका छन् ।

कुन उमेर समूहमा यो समस्या बढी देखिन्छ ?

छातीसम्बन्धी संक्रमण सबै उमेर समूहमा देखिने समस्या हो । तर दमको समस्या भने बालबालिका र वृद्धवृद्धामा बढी देखिन्छ । पछिल्लो दुई हप्तायता भने निमोनिया संक्रमण भएर युवाहरू अस्पताल भर्ना हुने क्रम बढेको छ ।

कोभिड संक्रमणमा पनि बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा परेको थियो, यो पनि कोभिडको नयाँ भेरियन्टको लक्षण त होइन ?

अहिलेसम्म नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको छैन । लक्षणको कुरा गर्दा कोभिड, इन्फ्लुन्जा र अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणको लक्षण धेरैजसो मिल्दोजुल्दो हुन्छ । त्यसैले सङ्क्रमणको लक्षण भएकाहरूले कोभिड टेस्ट गर्नुपर्छ र सतर्क पनि हुनैपर्छ ।

ंक्रमणको जोखिम कसलाई बढी हुन्छ ?

रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, वृद्धवृद्धा र बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ । साथै मधुमेह, मुटुको समस्या, मिर्गौलाको समस्या र अन्य रोगको औषधि खाइरहेका व्यक्तिमा भाइरल संक्रमण र निमोनियाको जोखिम बढी हुन्छ ।

भाइरल संक्रमणका अन्य लक्षणहरू के के हुन् ?

संक्रमण भएका बिरामीमा श्वासप्रश्वासको समस्यासँगै ज्वरो आउने, ब्लड प्रेसर लो हुने, खोकी लाग्ने, खाना रुचि नहुने लगायतका लक्षणहरू देखा पर्छ ।

यसले जटिलता निम्ताउँछ कि निम्ताउँदैन ?

सामान्यतया भाइरल सङ्क्रमणमा रुघा, खोकी र ज्वरोको समस्या देखिएर केही आफैं निको हुने हुन्छ । तर केही बिरामीहरूमा निमोनिया हुन सक्छ । जसले गर्दा लामो समय खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिन सक्छ । यस्तो अवस्थामा बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

निको हुन कति समय लाग्छ ?

जटिलता नभएका र निमोनिया नभएका भाइरल संक्रमणहरू ५ देखि ७ दिनमा आफैं निको हुन्छ । तर यदि जटिलता बढेर छातीको संक्रमण भयो, निमोनिया भयो भने लामो समय रहने अस्पतालमा भर्ना भएर लामो समय उपचार गराउनुपर्ने पनि हुन्छ । बिरामी कति समयमा निको हुन्छ भन्ने कुरा जटिलता कति छ भन्ने कुरामा निर्भर हुन्छ ।

भाइरल संक्रमणबाट बच्ने उपाय र घरेलु उपचार छ ?

भाइरल संक्रमणबाट बच्नको लागि कोभिडमा जस्तो संक्रमित व्यक्तिले आफूलाई आइसुलेट गर्नुपर्छ जसले गर्दा संक्रमण अर्को व्यक्तिलाई सर्न पाउँदैन । त्यस्तै घरबाहिर निस्कनुअघि मास्कको प्रयोग गर्ने, भीडभाडमा जानुहुँदैन । सरसफाइमा विशेष ध्यान दिने,  साबुन पानीले पटकपटक हातलाई सफा गर्ने गर्नुपर्छ ।

भाइरल संक्रमणको सामान्य लक्षणहरू मात्र देखिएको छ भने घरमै पनि हेरचाह गर्न सकिन्छ । ज्वरो आएको छ भने सिटामोलको सेवन गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ र लक्षणहरूलाई कम गर्न सहयोग गर्छ ।

घरमै उपलब्ध हुने तुलसीको पात, ल्वाङ, दालचिनी जस्ता गरम मसला राखेर पानी पकाएर पिउने, नुन पानीले मुख कुल्ला गर्ने गर्नुपर्छ ।

डा. अशेष ढुंगाना बिरामी श्वासप्रश्वास स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय