+
+
बालकुमारी घटना :

मन्त्रीको गाडीमा आगो नलाग्दै एसएलआरबाट चलेको थियो गोली

गौरव पोखरेल गौरव पोखरेल
२०८० पुष १५ गते २२:०१

१५ पुस, काठमाडौं । दुई युवकको मृत्यु हुने गरी शुक्रबार ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँचबुझ आयोग ऐन– २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।

‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’, छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्छ ।’

शुक्रबार घटना भएकै दिन गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

घटना भएको दिनदेखि आइतबारसम्म राजनीतिक तहमा श्रृंखलावद्ध बैठकहरु पनि भएका छन्, जिल्ला प्रशासन कार्यालय, ललितपुर, नेपाल प्रहरी र गृह प्रशासन सबैको चासो गोली कसरी चल्यो भन्नेमा छ । स्रोतका अनुसार प्रदर्शनकारीले मन्त्रीको गाडी रोकेको, तर आगो नलगाउँदै प्रहरीले गोली चलाएको पाइएको छ ।

२५ मंसिरमै भएको थियो तनाव

यो विवादको सुरुवात १८ मंसिरमा ईपीएस कोरिया शाखाले निकालेको सूचनाबाट सुरु भएको छ ।

कोरिया शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८०० कामदारका लागि भाषा परीक्षाको फारम भर्न सूचना निकालेको थियो । सूचनामा साउनमा पानी जहाज बनाउने कामका लागि भएको भाषा परीक्षामा फेल भएकाहरु सहभागी हुन नपाउने उल्लेख थियो । पानी जहाज बनाउने कामको लागि लिइएको भाषा परीक्षामा ३६ हजारले फारम भरेका थिए । तीमध्ये ३ हजार ९८९ जना उतीर्ण भए भने ३२ हजार जना अनुतीर्ण भए ।

उत्पादनमूलकतर्फको भाषा परीक्षाको फारम खुलेपछि पानीजहाज बनाउने कामको भाषा परीक्षामा अनुतीर्ण भएका करिब एक हजार जनाले आफूहरुले फारम भर्न पाउनुपर्ने माग राख्दै २५ मंसिरमा नै ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालय घेराउ गरेका थिए । प्रहरीले लाठी र अश्रुग्यास हानेर भीड तितरबितर बनाएको थियो ।

त्यही बेला जिल्ला प्रशासन कार्यालय, ललितपुरले गृह मन्त्रालयलाई घटनाबारे जानकारी मात्र गराएन, भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग सम्बोधनका लागि पहल गर्न श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरेको थियो । तर यसबारे सरकारी तहबाट कुनै पहल भएन ।

अनुतीर्ण भएकाहरुमध्ये १८ जनाले भाषा परीक्षामा सहभागी गराउन आदेश माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिए । अदालतले ५ पुसमा उनीहरुलाई पनि भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दियो । उत्पादनमूलक कामका लागि भाषा परीक्षाको फारम भर्ने म्याद भोलिपल्ट ६ गतेसम्म मात्र थियो । अदालतको आदेशपछि ईपीएस कोरिया शााखाले कुनै निर्णय गरेन ।

एकै पटक १२ पुसमा सूचना निकाल्यो, अदालत गएका १८ जना मात्र १३ गते विहान १० बजेदेखि ३ बजेभित्र ईपीएस कोरिया शाखामा पुगेर फारम भर्नू । सूचनालाई लिएर ३००/४०० युवा ईपीएस कार्यालयमा धर्ना दिन पुगेपछि निर्देशक गुरुदत्त सुवेदी जिल्ला प्रशासन कार्यालय, ललितपुर पुगे ।

अदालतको आदेश र शाखाको सूचना देखाए । अनि १३ पुसमा तनाव हुनसक्ने भएकाले सुरक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरे । स्रोतका अनुसार त्यो छलफलमा प्रशासनका अधिकारीहरुले अदालतको आदेशको मर्मअनुसार पानी जहाजतर्फ भाषा परीक्षामा असफल हुने सबैलाई उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षामा सहभागी गराउन सुझाव दिएका थिए । तर निर्देशक सुवेदीले श्रम मन्त्रालयका अधिकारी र महान्याधिवक्ताको कार्यालयसँग परामर्श गरेर नै १८ जनालाई मात्र भाषा परीक्षामा सहभागी गराउने सूचना निकालेको जवाफ दिएका थिए ।

स्रोतका अनुसार वैदेशिक रोजगार विभागका महानिर्देशकले विभागका कानुन अधिकृतको रायमा १८ जनालाई मात्र परीक्षामा सहभागी गराउन भनेका थिए ।

अनि चल्यो गोली

शुक्रबार विहानै ईपीएस कोरिया शाखा, ग्वार्को परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन भयो । भीड तितरवितर बनाउन लाठी र अश्रुग्यास हान्नु, तर अधिक बल प्रयोग नगर्नू भन्ने प्रशासनको आदेश थियो । २०० भन्दा बढी प्रहरी कर्मचारी फिल्डमा खटिए ।

विहान ८/८ः१५ तिर प्रहरीले प्रदर्शनकारीको संख्या २ हजार भन्दा बढी भएको भन्दै थप फोर्स माग्यो । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको १५/२० जना मात्र भएकाले थप फोर्स मागिएको थियो । प्रशासन कार्यालयले तत्काल सशस्त्र प्रहरी बलको थप ५० जनाको टोली खटायो ।

प्रदर्शनकारीहरुले भाडामा माइक ल्याएर नाराबाजी गरेका थिए । तनाव बढ्दै गएपछि उनीहरुले त्यो माइक सुरक्षा फौजलाई दिए, ताकि झपडका घटना नहोस् । जति समय घर्किँदै गयो, प्रदर्शनकारी र प्रहरीबीच तनाव बढ्न थाल्यो । विहान ११/११ः१५ तिर ढुंगा हानाहान सुरु भएको थियो । तर प्रहरीलाई बल प्रयोग नगर्नू, प्रदर्शनकारीलाई चक्रपथ बाहिर लखेट्नू भनिएको थियो ।

तर क्षणभरमै परिस्थिति बिग्रियो । साढे १२ तिर एकाएक मन्त्रीको गाडीमा तोडफोड भएको सूचना प्रहरीको सञ्चार सेटमा आयो । को मन्त्री हुन् ? उनको अवस्था के छ प्रष्ट थिएन । फिल्डमा खटिएका महानगरीय प्रहरी प्रभाग सातदोबाटोका डीएसपी उमेश लम्सालले पनि त्यही सूचना पाए ।

उनी ग्वार्को नजिक थिए । मन्त्रीको गाडी कोटेश्वरतर्फ थियो । मन्त्रीको गाडीमा तोडफोड भएको र मन्त्रीको अवस्थाबारे प्रष्ट नभएको अवस्थामा उनी प्रदर्शनकारीलाई लखेट्दै अगाडि बढे । त्यही क्रममा गोली चल्यो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बालकुमारीस्थित कान्तिपुर बैंकेटमा एकीकृत समाजवादीको केन्द्रीय बैठकमा सहभागी हुन पुगेका थिए । विहानैदेखि बाहिर आन्दोलन चलिरहेकाले बैठकमा सहभागी नेताहरुलाई बाहिर नजान बारम्बार भनिएको थियो, तर मन्त्री ज्वाला उक्त सूचनाको बेवास्ता गर्दै निस्किए । उनी सडकमा आउँदा उनका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीले सडक क्लियरेन्स पनि मागेनन् । प्रहरी स्रोतले भन्यो, ‘यहाँ मन्त्रीका पीएसओको लापरबाही देखिन्छ ।’

नाराबाजी र प्रदर्शन भइरहेको सडकमा मन्त्रीको गाडी आइपुगेपछि प्रदर्शनकारीले रोके । त्यसक्रममा केहीबेर सामान्य विवाद भयो । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो फुटेजमा एक प्रदर्शनकारीले मन्त्रीलाई पछाडिबाट धकेलेको देखिन्छ । त्यो सूचना पाएलगत्तै मन्त्रीलाई उद्दार गरेर सुरक्षित स्थानतर्फ लैजानू भन्ने आदेश प्रशासन कार्यालयले दियो ।

तर प्रहरीको ठूलो फौज ईपीएस कोरिया शाखाबाट करिव ५०/६० मिटर दक्षिण पश्चिमतर्फ थियो । मन्त्रीको गाडी कोरिया शाखाबाट करिव ५००/७०० मा उत्तर पूर्वमा रोकिएको थियो ।

मन्त्रीको गोडी तोडफोड भएको र मन्त्रीको अवस्थाबारे प्रष्ट नभएको सूचना पाएपछि डीएसपी उमेश लम्सालले फोर्स अगाडि बढाउन खोजे । प्रदर्शनकारीलाई छिचोलेर जान सहज नभएपछि गोली चलाए । ‘मन्त्रीको गाडी तोडफोड भयो भनेपछि मन्त्रीलाई तलमाथि केही भयो भने कारबाहीमा परिएला भन्ने भयो कि भयो ? परिस्थितिलाई बढी अनुमान गरेर फिल्ड कमाण्डरले गोली चलाउने आदेश दिएको देखिन्छ’ उच्च स्रोतले भन्यो ।

प्रहरीले चलाएको गोली लागेर अछामका वीरेन्द्र शाह सडकमा ढले । उनलाई प्रदर्शनकारीले उठाएर एम्बुलेन्समा हालेका थिए । तत्काल पाटन अस्पताल पुर्‍याइएका उनलाई एसएलआरकै गोली लागेको पाइएको गृह मन्त्रालय स्रोतको दाबी छ । उनको उपचारका क्रममा मृत्यु भयो ।

प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाए । तनाव बढ्यो, त्यही क्रममा दैलेखका सुजन रावत पनि सडक किनारमा ढले । उनलाई गोली लागेको छैन । किस्ट अस्पतालमा पुर्‍याउँदा उनको छातीमा निलो डाम भेटिएको थियो । प्रहरी सम्वद्ध स्रोतका अनुसार उनलाई बन्दुकको कुन्दाले हानेको देखिन्छ । यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

घटनामा कमजोरी भएको स्वीकार गरेको गृह प्रशासनले फिल्डको कमाण्ड गरेका डीएसपी उमेश लम्साल र मन्त्रीका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरेको छ । साथै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका छन् ।

यद्यपि शुक्रबार साँझ गृह मन्त्रालयमा भएको छलफलमा भने प्रमुख जिल्ला अधिकारी पण्डित र एसएसपी शाह दुबैले गोली चलाउने आदेश आफूहरुले नदिएको बताएका थिए । प्रहरीको आन्तरिक छानबिनले पनि उनीहरुको दाबीलाई पुष्टि गर्छ । ‘फिल्डमा खटिएको टोलीबीच एकदमै समन्वय अभाव देखिएको छ, फिल्डको रिपोर्टिङ समेत प्रमुख जिल्ला अधिकारी पण्डित र जिल्ला प्रहरी प्रमुख शाहलाई समयमा भएको देखिँदैन, स्रोतले भन्यो, ‘जिल्लाको प्रहरी प्रशासनको नेतृत्व गरेका उहाँहरुको नैतिक जिम्मेवारी त रहन्छ ।’

सुरक्षा अधिकारीहरुले यो आन्दोलनमा घुसपैठ भएको हो कि भनेर पनि हेरेका थिए । तर अहिलेसम्म त्यस्तो नभेटिएको गृह स्रोतले बताएको छ । घटनामा मृत्यु भएका मात्र होइन, पक्राउ परेका सबैजसो युवा भाषा पढेर रोजगारीका लागि कोरियामा जान चाहेकाहरु नै रहेको पाइएपछि सबै छुटेका छन् ।

अधिकारीहरुका अनुसार उच्चस्तरीय जाँचबुझ आयोग नै बनाउने सहमति भएकाले घटनामा भएका कमी कमजोरीबारे औपचारिक रुपमा बोल्न हतार हुन्छ । तर अहिलेसम्म आएको रिपोर्टका आधारमा समन्वयको अभाव देखिएको प्रष्ट छ ।

काठमाडौं उपत्यकाका प्रहरी प्रशासनबीच अहिले जसरी समन्वय हुने गरेको छ, यसमा ग्याप छ । घटनास्थलमा खटिएका प्रहरीले ११४ सेल अश्रुग्यास, २१ राउण्ड रबरको गोली र एसएलआरबाट ३० राउण्ड गोली चलाएको देखिन्छ । तर सशस्त्र प्रहरी बलले जम्मा ३ सेल अश्रुग्यास मात्र फायर गरेको पाइएको छ ।

प्रहरीको आन्तरिक छानबिनले घटनास्थलमा रहेका प्रहरीले संयमता गुमाएको प्रहरी अधिकृतहरुको निष्कर्ष छ । ‘भिडलाई तितरबितर पारेपछि स्थिति नियन्त्रणमा आउँछ भन्ने भयो, तर मन्त्रीज्यूको गाडी त्यहाँ आएपछि परिस्थिति फरक बन्यो’, स्रोतले भन्यो, ‘यद्यपि, पूर्वतयारीका लागि जे जे गर्नुपथ्र्यो, त्यो प्रहरीका तर्फबाट पनि हुनसकेन ।’ कतिसम्म भने शुक्रबार विहानदेखि प्रदर्शन भएपनि घटनास्थलमा वाटर क्यानन समेत तयारी अवस्थामा थिएन ।

उनीहरुका अनुसार प्रहरीलाई उपलब्ध गराउने सञ्चार सेट, चुस्तादेखि भीड नियन्त्रणका लागि प्रयोग हुने हातहतियार समेत अपग्रेड गर्नुपर्ने यो घटनाले देखाएको छ ।

‘भीडलाई तितरवितर बनाउने अनेक उपकरण आइसके, हामी भने अहिले पनि दोस्रो विश्वयुद्धमा प्रयोग भएको एसएसआर प्रयोग गरिरहेका छौं’, एक अधिकारी भन्छन्, ‘प्रहरीलाई पनि आवधिक तालिम दिनुपर्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?