+

कब्जियतमा मुख बार्नु हानिकारक हुनसक्छ

२०८० पुष  २५ गते १६:३९ २०८० पुष २५ गते १६:३९
कब्जियतमा मुख बार्नु हानिकारक हुनसक्छ

मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो समस्या धेरै देखिनेमा अहिले विलासी जीवनशैली र गलत खानपानका कारण कलिलो उमेरका बालबालिकासमेत यसबाट पीडित भइरहेका छन् ।

कब्जियत एक यस्तो समस्या हो, जसमा पेट ठीक ढंगले सफा हुन पाउँदैन । मल त्याग गर्ने समयमा कष्ट हुन्छ । कब्जियतबाट प्रताडित व्यक्ति अन्य व्यक्तिको तुलनामा कम शौच गर्छन् । सामान्य व्यक्तिले दिनहुँ दिसा गर्छन्, तर कब्जियत भएकाले दुई-तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् ।

कब्जियतको समस्या भएका बेला शौच गर्दा मलद्वारमा पीडा हुने र रगत आउनेसम्म हुन्छ । यही कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुस हुँदैन । खानामा अरुचि हुन्छ । कब्जियतको कारण कतिलाई बान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

कब्जियत हुनुको कारण मैदाजन्य खानेकुरा बढी खाने, तनावपूर्ण जीवन र व्यायाम फिटिक्कै नगर्नु हो । साथै केही रोगका औषधि दैनिक सेवनले पनि कब्जियतको जोखिम हुन्छ ।

कसलाई बढी कब्जियतको समस्या ?

बालबालिका

त्यसो त अहिलेको सागसब्जीमा हानिकारक रसायन मिसिएको पनि हुनसक्छ । धेरैजसो पौष्टिक आहार भनिएका खानेकुरा गुणस्तरीय र पोषिलो हुँदैनन् । यस्तोमा खानेकुराको गुणस्तर त्यसै कम छ । र, बालबालिकाहरुमा सागपात, हरिया सागसब्जी भन्दा जंकफुड र चक्लेटको बानी परेको देखिन्छ । उनीहरु पानीको सट्टा रसायन र रङ मिसिएको पेय पिउन रुचाउँछन् ।

एक त पौष्टिक तत्व कम खाने त्यसमाथि फुर्सदिलो समयमा बाहिर खेल्न नगई मोबाइल बढी चलाउने र त्यसमा रमाउने गर्दा शारीरिक गतिविधि अत्यन्त कम हुन पुग्छ । जसकारण कब्जियतको समस्या अन्य उमेर समूहभन्दा बढी बालबालिकामा देखिन्छ ।

वयस्क

आजभोलि वयस्क व्यक्तिहरु पनि शारीरिक गतिविधि र सन्तुलित खानपानमा निष्क्रिय देखिन्छन् । आफ्नो काम, पढाइ, करिअर बनाउन व्यस्त हुँदा शारीरिक गतिविधि कम हुन्छ । कतिपयको बानी त काम नसकी दिसा, पिसाब पनि समयमा नगर्ने बानी हुन्छ । जुन कब्जियतको मुख्य कारण हो ।

घरबाहिरको खाना, जंकफुड, चिया र कफी बढी खाने, सुत्ने र आराम गर्ने समयमा पनि मोबाइल प्रयोगमा समय खेर फाल्ने, पानी धेरै नपिउने, खाली पेट धेरै बस्ने गर्दा अपेक्षाकृत आन्द्राको चलायमान हुँदैन । यस्तो जीवनशैली जिउने व्यक्तिमा कब्जियतको समस्या देखिन्छ ।

वृद्ध

वृद्ध उमेरका व्यक्तिमा बाहिरको खानेकुरा कम खाने तथा घरको खानेकुरालाई प्राथमिकता दिने, चाँडै सुत्ने र उठ्ने जस्ता बानीले अन्य उमेर समूहका मानिसहरुको दाँजोमा वृद्धहरुमा कब्जियतको समस्या कम देखिन्छ । यसो भन्दैमा उनीहरुलाई कब्जियत नै हुँदैन भन्ने होइन । औषधिको प्रयोग र उमेरसँगै आन्द्राको पाचन क्षमता कम हुँदै जाने भएकोले यो उमेर समूहमा पनि कब्जियत हुन सक्छ ।

धेरै मुख बार्दा समस्या

कब्जियतको समस्या भएकाले सबैभन्दा बढी मुख बार्न थाल्दा समस्या बढिरहेको छ । बाहिरको खानेकुरा बार्नु त ठीक हो । तर धेरैले घरमा पाइने दाल, मोही, दही, माछामासु नै खान छाडेको देखिन्छ । यसले शरीरलाई झनै पोषणको कमी गराएर शारीरिक कमजोरी हुनेदेखि अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

माछामासुका साथै दालभात, मकै, भटमास खान छाड्दा म्याग्नेसियम, भिटामिन, जिंक, बी १२ र डी जस्ता तत्वको कमी हुन जान्छ । फलस्वरुप छाला, नसा, जोर्नीमा दुखाइ र मानसिक समस्या बढ्दै जान्छ । जसले गर्दा कब्जियतको समस्या एवं यसको जटिलताका कारण अस्पताल धाइरहनुपर्ने अवस्था आउँछ । त्यसैले यसबारे जान्न के खाने ? के नखाने ? यसबारे बुझ्न आवश्यक छ ।

के नखाने ?

मदिरा

कब्जियतको समस्या नहोस् भन्नका मदिरा सेवन गर्नु हुँदैन । यसले शरीरलाई डिहाइड्रेसन (जलवियोजन) गराउँछ । हाम्रो शरीरमा पानीको कमी हुँदा तुलनात्मक रुपमा दिसा कमलो हुन नपाई कब्जियतको समस्या हुनसक्छ ।

मैदाजन्य खानेकुरा

मैदाजन्य खानेकुरा भन्नाले यसबाट निर्मित खानेकुरा चाउमिन, पास्ता, म:म, चाउचाउ जस्ता फास्टफुड पर्छन् । जुन दिनहुँजसो खाजाको रुपमा उपभोग भइरहेका हुन्छन् । मैदाजन्य खानेकुरा प्रशोधित गरिएको हुन्छ । जसमा फाइबर न्यून मात्रमा हुन्छ । त्यसैले त्यस्ता खानेकुरा कहिलेकाहीं खाँदा त्यति हानि नगरेपनि निरन्तर खाँदा कब्जियत गराउन सक्छ ।

त्यसैले दैनिक खानपिनमा मैदाजन्य खानेकुरा सम्भव भएसम्म कम गर्दै लैजानु उचित हुन्छ ।

क्याफिनयुक्त पेय

कब्जियतको समस्या हुनेहरुले कफी जस्ता क्याफिनयुक्त पेय कम गर्दै लैजानुपर्छ । किनकि यस्ता पेयले शरीरलाई डिहाइड्रेट गराउँछ । जब शरीरमा पानीको कमी हुन्छ तब दिसा गर्नमा कठिनाइ हुन्छ । जसले कब्जियतको समस्या गराउँछ ।

ब्रोइलर कुखुराको मासु

दिनहुँजसो ब्रोइलर कुखुराको मासु खाने व्यक्तिमा पनि कब्जियतको समस्याले पिरोल्न सक्छ । किनकि यस्ता कुखुरामा विभिन्न एन्टिबायोटिक औषधि प्रयोग गर्नुका साथै समयअगावै कुखुराको तौल बढाउन स्टोरोइड औषधि दिइएको हुन सक्छ । लगातार ब्रोइलर कुखुराको मासु खाँदा कब्जियतदेखि अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

के खाने ?

पानी बढी पिउने

पानी कमी भएमा कब्जियतको समस्या हुन्छ । कम पानी पिउँदा दिसा हुने प्रक्रियामा असर गर्छ ।

गहुँको चोकर

कब्जियतको समस्या हुनेले दैनिकजसो गहुँबाट बनेको चोकर खानु राम्रो हन्छ । किनभने यसमा अत्यधिक मात्रामा फाइबर हुन्छ । जसले दिसालाई कडा हुन दिंदैन ।

दाल तथा गेडागुडी

दाल घुलनशील फाइबर हो । जसले शरीरमा भएको पानीलाई सोसेर पचाएको खानेकुरामा तरलता ल्याउँछ । जसकारण दिसा आउन सहज हुन्छ ।

केरा

कब्जियत भएकालाई केरा फाइदाजनक फलफूल हो । केरामा पनि एक घुलनशील फाइबर हुन्छ ।

सागसब्जी

सागसब्जीमा मुला, गाँजर, पालुङ्गो जस्ता विभिन्न प्रजातिको साग, ब्रोकाउली, काउली खान सकिन्छ । यसमा उच्च मात्रामा फाइबरसँगै शरीरलाई आवश्यक भिटामिनको स्रोत पाइन्छ । यसले पाचन प्रक्रियामा सघाउ पुर्‍याउनुका साथै कब्जियतको समस्या कम गर्दै लैजान्छ ।

पर्याप्त झोलिलो खानेकुरा

पानी प्रशस्त भएको झोलिलो खानेकुरा तथा सादा पानी नै पर्याप्त पिउने बानी गरेमा शरीर सिञ्चित भइराख्छ । यसले कब्जियत हुने सम्भावना कम गर्छ । यो समस्या भएका व्यक्तिले दैनिक ८ देखि १० गिलास पानी पिएमा कब्जियतको समस्याबाट राहत मिल्छ ।

ध, दही र मोही

धेरैजसोले कब्जियतको समस्यामा दूध, दही र मोही चटक्कै खान छोडेको पाइन्छ । तर यसरी चटक्कै खान छोड्दा शरीरमा चाहिने पोषण र झोलिलो पदार्थको कमी हुन्छ । धेरैजसो अध्ययनले दुग्धजन्य पदार्थको सेवनले कब्जियतको समस्यामा कम गर्ने देखाएको छ । जसमध्ये एक अप्टिब्याकप्रोबायोटिक्स डटकममा प्रकाशित अध्ययन अनुसार दूधले खानेकुरा पचाउन सहज गर्ने, दही र मोहीमा हुने प्रोबायोटिकले स्वस्थ ब्याक्टेरियाको वृद्धि गराई खानेकुरा पचाउन, हाइड्रेट गरिराख्न र आन्द्राको परिचालनमा सहयोग गर्छ ।

माछामासु

कब्जियतको समस्याबाट पीडित धेरैले माछामासु खान मन हुँदाहुँदै पनि छाड्ने गरेका हुन्छन् । तर माछामासु छोड्दा शरीरलाई चाहिने प्रोटिन, भिटामिन बी १२ जस्ता तत्वको कमी हुन्छ । यस्तोमा के बुझ्न जरुरी छ भने माछामासुले सोझै कब्जियत गराउँदैन । बढी मसालेदार भएको मासु अत्यधिक खाने तर फाइबरयुक्त खानेकुरा पटक्कै नखाने र ‘रेड मिट‘ बढी खाँदा भने समस्या गराउन सक्छ । यस्तोमा  कम मसला हालेको, नतारेको माछामासु खाएपछि फाइबर भएको फलफूल वा सलाद खाने गरेमा कब्जियतले सताउँदैन ।

यद्यपि, रेड मिट भने नखाएकै राम्रो हुन्छ । यसमा उच्च बोसो हुने र फाइबर शून्य बराबर हुन्छ । जसले पाचनमा ढिला गराउँछ ।

बाहिरी खाजाको विकल्पमा के खाने ?

कार्यालय वा कलेजमा हुँदा बाहिरको खाजा खानुपर्ने अधिकांशको बाध्यता हुन्छ । यस्तो बाध्यता भएमा बाहिरको खानेकुरा सकेसम्म कम खाने, घरबाटै रोटी, ओट्स जस्ता खानेकुरा लिएर जान सकिन्छ । यो सम्भव नभएमा बाहिर खाँदा झोलयुक्त खाजालाई प्राथमिकता दिने र मैदाजन्य खानेकुरा खानै परेको खण्डमा फलफूल पनि साथमा खाने गर्नुपर्छ । साथै, प्रशस्त मात्रामा पानी पिउनु समाधानको उपाय हुनसक्छ ।

मसालेदार तथा सुक्खा खानेकुरा कम गरी पौष्टिक आहार, पर्याप्त पानी दैनिकजसो पिउनुका साथै खानालाई पचाउन र शरीरको हरेक अंगलाई चलायमान राख्न शारीरिक व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र तनाव कम लिने गरेमा कब्जियतबाट सजिलै बच्न सकिन्छ ।

कब्जियत खानेकुरा डा. प्रभाकर शाह स्वास्थ्य
डा. प्रभाकर शाह
लेखक
डा. प्रभाकर शाह
जनरल तथा ल्याप्रोस्कोपिक सर्जन

जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. शाह सिनामंगलको होप अस्पतालमा कार्यरत छन् । उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एबीबीएस र किङ एडवार्ड मेडिकल युनिभर्सिटी, मायो अस्पतालबाट जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जरीमा एमएस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय