+

चुरोटमा त्यस्तो के हुन्छ, जो क्यान्सरको कारण बन्छ ? (भिडियो सहित)

२०८० पुष  २६ गते १७:२३ २०८० पुष २६ गते १७:२३
Shares
चुरोटमा त्यस्तो के हुन्छ, जो क्यान्सरको कारण बन्छ ? (भिडियो सहित)

चुरोट पिउनेहरु धुम्रपान नगर्नेको तुलनामा फोक्सो क्यान्सर हुने र यसबाट मृत्यु हुने सम्भावना १५ देखि ३० गुणा बढी हुन्छ । अमेरिकाको सेन्टर फर डिजिजको अध्ययनले यसै भन्छ । संसारभर हेर्ने हो भने चुरोटकै कारण ४० प्रतिशतमा फोक्सोका साथै अन्य क्यान्सर गराएको पाइन्छ । क्यान्सर भएकामध्ये धेरैजसोमा चुरोटको सेवन प्रमुख जड रहेको देखिन्छ ।

आखिर चुरोटमा के त्यस्तो तत्व हुन्छ त जसले क्यान्सर गराइरहेको छ ?

चुरोटमा पाँच हजारदेखि सात हजारसम्म रसायन मिसिएको हुन्छ । जसमा ७० वटा रसायन क्यान्सर गराउने खालका हुन्छ । तीमध्ये तार, कार्बनमोनोअक्साइड, बेन्जिन, आर्सेनिक, फरमर्ल्डिहाइड र निकोटिन मुख्य  हानिकारक रसायन हुन् ।

तार :  चुरोटमा पाइने तार फोक्सो र दाँतमा गएर बस्छ । यो फोक्सोमा क्यान्सर गराउने मुख्य रसायनमध्ये एक हो ।

कार्बनमोनोअक्साइड : यो विषालु ग्यास हो । जसको न कुनै गन्ध हुन्छ न कुनै स्वाद । यसले अक्सिजनको ठाउँ प्रतिस्थापन गरी रगतबाट अक्सिजन पुर्‍याउन अवरोध खडा गर्छ । जसकारण मुटुले अक्सिजनयुक्त रगत अन्य अंगमा पठाउन कठिन गराउँछ ।

बेन्जिन : यस रसायनबाट रक्तक्यान्सरको जोखिम उच्च हुन्छ । साथै, शरीरको प्रतिरोधात्मक क्षमतामा पनि ह्रास ल्याउँछ ।

आर्सेनिक : चुरोटजन्य पदार्थमा हुने आर्सेनिक धातुले रगतलाई विषाक्त पार्छ । र, शरीरका कोषिकाहरुलाई नष्ट गर्छ ।

फरमर्ल्डिहाइड : यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पुर्‍याउँछ ।

निकोटिन : त्यस्तै चुरोटमा पाइने निकोटिनले धुम्रपानको लत बढाउने काम गर्छ । यो हानिकारक रसायनले क्यान्सर मात्र नगराएर मिर्गौला, मस्तिष्क, रक्तसञ्चारमा बाधा गर्नेदेखि मुटुको रोग जस्ता भयानक रोग समेत गराउँछ ।

कसरी क्यान्सर गराउँछ ?

शरीरको कोषमा हुने डीएनएमा एउटा अंग बन्न आवश्यक सबै संरचना हुन्छन् । चुरोटमा पाइने माथि उल्लेखित रसायनले हाम्रो डीएनए (डीअक्सिराइबोन्युक्लिइक एसिड)मा म्युटेट गराउन थाल्छ अर्थात्  क्रमभंगता ल्याउन सक्छ । जसले गर्दा डीएनएको नियमित काममा दखलअन्दाजी हुन जान्छ । डीएनएमा भएको जीनलाई बिगारेर आफ्नै हिसाबले अन्य किसिमको कोषहरु बनाउन थाल्छ । त्यो कोषहरुको नियन्त्रण गर्न सकिने खालको हुँदैन । जसकारण कोषको संख्या अत्यधिक बढ्न गई अन्यत्र फैलिन थाल्छ । यस्तोमा प्रभावित अंगमा क्यान्सर विकसित हुने र त्यसको कार्य बिगार्ने गर्छ । र, रगतको माध्यमबाट अन्य अंगमा पनि क्यान्सरका कोष गएर बस्न सक्छ ।

उदारहणका लागि फोक्सोमा क्यान्सर भएमा त्यस अंगको कार्यमा प्रभावित गर्नुका साथै त्यहाँका क्यान्सर कोष मस्तिष्क र कलेजोमा सर्न सक्छ । त्यसपछि त्यहाँको नियमित कार्य पनि बिगार्न थाल्छ । बिस्तारै समय बित्दै जाँदा शरीरका विभिन्न अंग एवं कार्य प्रणालीमा असर पुर्‍याएर बिरामीको मृत्यु गराउन सक्छ ।

यी समूह क्यान्सरको उच्च जोखिम

उमेर

क्यान्सर गराउने जोखिममध्ये उमेर पनि एक हो । जति उमेर बढ्दै गयो, त्यति क्यान्सरविरुद्ध शरीरमा भएको लड्ने क्षमता खस्किंदै जान्छ । बिस्तारै कार्य क्षमतामा ह्रास आउँदै जान्छ । यस्तोमा शरीर पनि कमजोर हुँदै जान्छ ।

त्यसो त शरीरमा हरेक दिन हजारौं म्युटेसन (उत्परिवर्तन) भइरहेको हुन्छ । तर पनि स्वस्थ शरीरले ती म्युटेसनलाई सन्तुलनमा राख्छ । र, क्यान्सर हुने सम्भावना भइहाल्दैन । तर चुरोटको अत्यधिक सेवनले गर्दा क्यान्सर गराउन सक्ने रसायनले शरीरले सन्तुलनमा राख्न सक्ने भन्दा बढी म्युटेसन गराइरहेको हुन्छ । उमेर बढ्दै गएपछि लड्न सक्ने क्षमता कम हुँदा यस्तो अधिक म्युटेसनलाई नियन्त्रणमा राख्न पनि कठिन हुन्छ । जसका कारण क्यान्सरको सम्भावना बढेर जान्छ ।

वंशाणुगत

क्यान्सर वंशाणुगत पनि हुन्छ । यस्तोमा शरीरले क्यान्सरविरुद्ध देखाउनुपर्ने क्षमतामा पहिला नै अवरोध आएको हुनसक्छ । त्यस्ता व्यक्तिले अत्यधिक मात्राका चुरोट पिएमा क्यान्सरको जोखिम चाँडो र बढी हुन जान्छ ।

सबैभन्दा बढी फोक्सो र मुखको क्यान्सर

चुरोट खानेमा सबैभन्दा बढी फोक्सो र मुखको क्यान्सर बढी देखिन्छ । किनकि चुरोट सिधै मुखले तानेर यसको धुवाँ श्वासनली हुँदै फोक्सोमा जान्छ । चुरोटमा पाइने तार रसायन मुख एवं दाँत र फोक्सोमा गएर टाँसिएर बस्ने गर्छ । बिस्तारै ती क्यान्सरजन्य रसायन निस्किन थाल्छन् । जसको सोझो प्रभाव फोक्सो र मुखमा पर्न जान्छ ।

अन्य अंगमा भने रगतको माध्यमबाट बिस्तारै फैलिन थाल्छ । फलस्वरुप कलेजोको क्यान्सर, खाद्यनलीको क्यान्सर, प्यान्क्रियाज क्यान्सर, नाक कान घाँटीको क्यान्सर गराउनमा पनि चुरोट जिम्मेवार मानिन्छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरमा पनि चुरोट सेवन कारण हुनसक्ने केही अध्ययनले देखाएका छन् ।

लगातार चुरोट खाइरहने व्यक्तिले छोडेमा क्यान्सरको जोखिम कम हुन्छ ?

भनिन्छ, चुरोटको एक सर्कोले पनि क्यान्सर गराउन सक्छ । जसकारण धेरै वर्षदेखि चुरोट खाइरहेको व्यक्तिमा क्यान्सरको जोखिम नखानेको दाँजोमा भइरहन्छ । तर १० वर्षसम्म चुरोट खाएर छोडेको छ भने उनीहरुको फोक्सो पुनः पहिलेको अवस्थामा आउन १० देखि १५ वर्ष लाग्छ । यद्यपि, यसले फोक्सोमा हुन सक्ने क्षति कम भने गर्दै लैजान्छ ।

सेकेन्ड ह्यान्ड स्मोकिङ

धुम्रपान गर्नेलाई प्रत्यक्ष असर पुर्‍याउने कुरा हामीले थाहा पाइहाल्यौं । र, धुम्रपानको क्रममा बाहिर निस्किएको धुँवाले सँगै बस्ने व्यक्ति वा घरका अन्य सदस्यलाई पनि अप्रत्यक्ष तवरमा असर पुर्‍याइरहेको हुन्छ, जसलाई ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ वा ‘प्यासिब स्मोकर्स’ भनिन्छ ।

यसको मतलब हो धुम्रपान गर्ने व्यक्तिको वरिपरि बसेको अन्य व्यक्ति पनि उक्त धुवाँको सम्पर्कमा आएका कारण धुम्रपानको सिकार भइरहेका हुन्छन् । यस्तोमा परिवारको अन्य सदस्य वा दिनँहु सँगै बस्ने साथीभाइ आफूले धुम्रपान नगरे पनि वा चुरोट तथा अन्य सुर्तीजन्य वस्तुलाई सिधै नछोए पनि फोक्सो, मुख तथा घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । किनभने चुरोट पिउने व्यक्तिले फिल्टरबाट निस्किएको धुवाँ ग्रहण गरिरहेका हुन्छन् भने त्यही समयमा चुरोट नखाने व्यक्तिले सास फेर्दा फिल्टर नगरिएको धुवाँ सिधै लिइरहेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सुर्तीजन्य पदार्थको सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । जसमा ७० लाख आफैंले सुर्तीजन्य पदार्थ सेवन गरेर र थप १३ लाख अरुले उपभोग गरेको सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउँछन् ।

योजनावद्ध ढंगले धुम्रपान छोड्न सम्भव छ’

-धुम्रपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ । जस्तै, नयाँ वर्ष, जन्मदिन, दशैं आदि ।

-धुम्रपान छोड्नु भन्दा अगाडि यसले हुने हानिबारे स्पष्ट हुनुपर्छ । यसले फाइदा गर्दै गर्दैन केवल हानि मात्र गर्छ भनी मनमा लिनुपर्छ ।

-धुम्रपान छोड्न चाहनेले आफू बस्ने कोठामा पनि यसले गर्दा हुने हानिबारेको तस्वीर वा चित्र टाँस्ने गर्नुपर्छ । ताकि धुम्रपान गर्नेतिर ध्यान केन्द्रित नहोस् ।

-धुम्रपान गर्न मन नलाग्ने वातावरणको सिर्जना गर्नुपर्छ । जस्तै, धुम्रपानसम्बन्धी सामग्री चुरोट, सलाई, एस्ट्रे आफूसँग नराख्ने ।

-धुम्रपान गर्न मन लागेको बेला धुम्रपानको वैकल्पिक उपाय रोज्न सकिन्छ । जस्तै, चुइङ्गम वा ल्वाङ चपाउने ।

-बिस्तारै लामो लामो श्वास लिने र फाल्ने ।

-प्रशस्त पानी पिउने ।

-अन्य रचनात्मक काममा व्यस्त रहने ।

यी सबै उपाय अवलम्बन गर्दा पनि पुनः धुम्रपान सुरु गर्न सक्ने सम्भावना एक महिनासम्म धेरै रहन्छ । त्यसैले यस्तो वातावरण सिर्जना हुन नदिन सचेत हुनुपर्छ । धुम्रपानको तलतल धुम्रपान छोडेको दुई-तीन दिनसम्म अत्यधिक रहन्छ र त्यसपछि यो क्रमश: कम हुँदै जान्छ र खानामा रुचि बढ्न थाल्छ ।

नोरटोनहेल्थकेयर डटकमका अनुसार यस्ता छन् धुम्रपान छोड्नुका फाइदा

-अन्तिम चुरोट पिएपछि केही मिनेटमा शरीरमा सकारात्मक परिवर्तन आउन थाल्छ, जुन वर्षौंसम्म रहन सक्छ ।

-छोडेको २० मिनेटपछि हृदयको दर घट्छ । १२ घण्टापछि रगतमा कार्बनमोनोअक्साइडको स्तर सामान्यमा झर्छ ।

-छोडेको दुई हप्तादेखि तीन महिनापछि हृदयघातको जोखिम कम हुन थाल्छ । फोक्सोको काममा सुधार हुन थाल्छ ।

-छोडेको एकदेखि नौ महिनापछि खोकी कम हुनुका साथै छिटो सास फेर्ने गति कम हुन्छ ।

-छोडेको एक वर्षपछि हृदयघातको थप जोखिम धुम्रपान गर्ने व्यक्तिको भन्दा आधा हुन्छ ।

-छाडेको पाँचदेखि १५ वर्षपछि स्ट्रोक (मस्तिष्काघात)को जोखिम धुम्रपान नगर्नेको भन्दा कम हुन्छ ।

-छोडेको १० वर्षपछि फोक्सोको क्यान्सरबाट मृत्युको जोखिम धुम्रपान गर्ने व्यक्तिको तुलनामा आधा हुन्छ । मुख, घाँटी, खाद्यनली, मूत्राशय, मिर्गौला र प्यान्क्रियाजको क्यान्सरको जोखिम कम हुन्छ ।

-छोडेको पन्ध्र वर्षपछि हृदयघातको जोखिम धुम्रपान नगर्ने व्यक्तिसरह हुन्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

क्यान्सर चुरोट धुम्रपान प्रा. डा. विवेक आचार्य
प्रा. डा. विवेक आचार्य
लेखक
प्रा. डा. विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ

प्रा. डा. आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । उनले रेडिएसन ओन्कोलोजीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३४ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ