+
+

नाइँ भनेको नाइँ नै हो

भिन्न स्वभावद्वारा निर्देशित हाम्रा ‘नाइँहरू’ का आवाज कोही बढी चर्को सुनिएलान् कोही कम । कसैले रिसाएर भन्ला कसैले हाँसेर । जसरी भनिए पनि नाइँ भनेको नाइँ नै हो ! ‘नो मिन्स नो !’

दीपा दाहाल दीपा दाहाल
२०८० माघ ४ गते १२:४०

बलात्कार, यौनजन्य हिंसा, दुर्व्यवहारबारे मान्छेका प्रतिक्रिया हेर्दा, सुन्दा यस्तो लाग्दैछ, कि त यिनीहरूलाई केही थाहा छैन कि थाहा पाउनै चाहँदैनन् ।

पठित व्यक्ति हरेक विषयमा शिक्षित हुन्छन् भन्ने छैन । सहवास र बलात्कार, यौन र यौनिकता, लिङ्ग र लैङ्गिकता आदिबारे द्विविधामा पर्न सक्छन् भन्ने मानिदिऊँ । किनकि हाम्रो आधारभूत शिक्षाले यी विषयबारे कहिल्यै सिकाएन, बुझाएन ।

स्वाध्ययन, स्वविवेक प्रयोग गरेर सूचित, सचेत हुने न्यूनतम जागरुकता सम्म नदेखाएकोमा कथित शिक्षितहरूमाथि प्रश्न गर्न सकिन्छ तर तिनलाई सरापिहाल्न भने मिल्दैन । किनकि त्यो समूहमा साँझ–बिहानको छाक टार्नै संघर्ष गरिरहेकाहरू पनि छन् । पाठ्यक्रम बाहेकको संसारमा जीवनलाई परिष्कृत गर्ने खुराक भेटिन्छन् भन्ने थाहै नपाएकाहरू छन् ।

आजको समाज हिजो जे थियो त्यसको निरन्तरताले होइन बरु आज जे हुनुपर्ने हो सो प्राप्तिको चाहना र संघर्षले बनेको हुन्छ भनेर बुझ्नलाई तिनको दिमाग विकसित भएकै छैन । यसरी निदाएकाहरूलाई साक्षरताको भोक जगाउनुपर्ने छ ।बुझ्नै नखोज्ने, नसक्ने पटमूर्खहरू पनि त्यही भीडमा छन् ।तिनलाई कानको जाली फुट्नेगरी चिच्याएपनि फरक नपर्ने रहेछ ।

निर्मलाको नाम नसुन्ने, उनीप्रति सहानुभूति नदेखाउने मान्छे छैनन् । तर त्यही मान्छे गौशाला २६, रोशनी, समीक्षाहरूको उछित्तो काढ्न पछि पर्दैनन् । किनकि यहाँ जिउँदा बलात्कृतहरूलाई मर्न बाध्य पारेर दया वर्षाउन खोज्नेहरूको भीड छ ।

जोसँग घटना, दुर्घटनाहरू विना आग्रह, पूर्वाग्रह सुन्न सक्ने धैर्य छ । जोसँग थाहा नभएका कुरा जान्ने, बुझ्ने चाह छ । जसमा गलत अभ्यास, सिकाइहरूलाई बिर्संदै परिष्कृत, परिमार्जित चेतना भित्र्याउने खुल्लापन छ– यो आलेख तिनका लागि हो ।

गएको पुस महिनाको १३ गते काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरिदियो । उक्त फैसलाको आदेश पुस २५ गते आयो । जसमा बलात्कारी लामिछानेलाई ८ वर्ष कैद, रु.३ लाख जरिवाना र पीडितलाई क्षतिपूर्तिस्वरुप रु.५ लाख भुक्तान गर्नुपर्ने आदेश दिइयो ।

अदालतको फैसला र सजायको आदेश आएलगत्तै सामाजिक सञ्जाल मुख्यतः दुई परस्पर विरोधी धारमा बाँडियो । कोही अदालतको फैसलालाई स्वागत गरिरहेछन् त कोही विरोध । कोही बलात्कारीको पक्षमा वकालत गरिरहेछन् त कोही बलात्कृतको ।

‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने न्यायको मूल मर्मलाई संविधानले सुनिश्चित गरेको तर व्यवहारमा हुबहु लागू हुन नसकेको बेला अदालतको यस निर्णयको पक्षमा सम्पूर्ण न्यायप्रेमीहरू उभिने नै भए ।

यो निर्णयप्रति विरोध जनाउनुपर्ने कारण चाहिं के हुनसक्ला ? के बलात्कारीको पक्षमा पनि वकालत गर्न मिल्छ ?

लाखौं प्राणीहरूमा सर्वश्रेष्ठ कहलिएको एक्काइसौं शताब्दीको मानव जातलाई थाहा छ, सिधासिधी बलात्कारीको जयजयकार गर्न सकिन्न । मिल्दैन । तब ऊ कहिले ख्यातिप्राप्त क्रिकेटरको समर्थनमा हुइया पिट्छ । कहिले राष्ट्रिय गहनाको नाम जप्दै खिया परेको आफ्नै भ्रममा तेल घस्छ ।

रामबहादुर बम्जनहरूले बलात्कार, हत्या, मान्छे बेपत्ता पारेको आरोपलाई कोही निःसन्देह षड्यन्त्र देखिरहेछन् । गुम्बामा लामाहरूले आनीलाई गरेको बलात्कार, पादरीहरूले चर्चमा महिलालाई गरेका यौनहिंसा, ऋषि, सन्त, महन्त, बाबा, पण्डित, पुजारीहरूले भक्तिनी, दासीका रूपमा महिलालाई भोग्या बनाउँदा आँखामा पट्टी, मुखमा ताल्चा लगाएर बस्नेहरूको संख्या निकै ठूलो छ समाजमा ।

कथित धर्म, संस्कार, संस्कृतिको कालछिद्रमा जाकिएको मान्छे मानवजातिकै कलंकका रूपमा रहेको अपराधलाई अनदेखा गरिदिन्छ । यही मनोविज्ञानमा हुर्किएको मस्तिष्कले पद, पैसा र पावर हुनेहरूलाई ‘सात खुन माफ’ गरिदिने नाङ्गो चरित्र देखाइरहेको छ ।

सन् १६ डिसेम्बर २०१२ मा भारतको नयाँदिल्लीमा भएको निर्भया ‘ग्याङ रेप’ काण्डपछि लाखौं मान्छे न्यायका निम्ति सडकमा उत्रिए । सरकार, सदन, सार्वजनिक वृत्त जताततै खैलाबैला भयो । ट्रेन, बस, ट्याक्सी लगायत सार्वजनिक यातायातका साधन र स्थानलाई महिलामैत्री बनाउने वाचा गरेको सरकारले दश वर्ष बितिसक्दा पनि ती वाचा पूरा गर्नु त परै जाओस् उक्त दुर्घटना भएको मुनिरका बस स्ट्याण्डको ल्याम्पपोस्ट समेत बाल्न नसकेको भिडियो सार्वजनिक भएको थियो ।

यता नेपालमा कञ्चनपुरकी निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भयो । देशभर निर्मलाको न्यायका निम्ति आवाज उठ्यो । आन्दोलनका क्रममा एक युवाको ज्यान गयो । तर सरकारले हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।

निर्भया र निर्मलाभन्दा अघि र पछि पनि धेरै बालिका, किशोरी, वृद्धा वा अधबैंसे महिलाको अपहरण, बलात्कार, हत्या भएको थियो÷छ । तर यी दुई मुद्दाले राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यान खिचे । बहस सिर्जना गरे । खासगरी नेपालमा ‘निर्मला काण्ड’ पछि बलात्कारविरुद्धका आवाज सशक्त रूपमा उठ्न थालेको छ ।

बलात्कार सार्वजनिक बहसको विषय बनेको छ ।तर कतिपयले यो देशमा बलात्कृत भनेको निर्मला मात्र हुन् भन्ने बुझेका छन् ।निर्मलाको नाम नसुन्ने,उनीप्रति सहानुभूति नदेखाउने मान्छे छैनन् । तर त्यही मान्छे गौशाला २६, रोशनी, समीक्षाहरूको उछित्तो काढ्न पछि पर्दैनन् । किनकि यहाँ जिउँदा बलात्कृतहरूलाई मर्न बाध्य पारेर दया वर्षाउन खोज्नेहरूको भीड छ ।

डेढ दुई दशक अघिसम्म मैले थाहा पाउँदा गाउँमा कुनै युवतीको बलात्कार भए बलात्कारीसँगै केटीलाई जिम्मा लगाइदिने चलन थियो । तुलनात्मक रूपमा बलात्कारप्रति अहिले मान्छेमा केही सचेतना देखिन्छ । हिजोको समाजले बलात्कारीलाई गरेको सजाय र बलात्कृतलाई दिलाएको न्याय थियो बलात्कृत महिलाको बलात्कारीसँग विवाह गरिदिनु ।

केही सचेत न्यायप्रेमीहरूले त्यो झन् अन्यायपूर्ण रहेको ठहर गरे । फलस्वरुप नेपालको कानुनले बलात्कारलाई फौजदारी मुद्दा अन्तर्गत राख्यो जसलाई मिलेमतोमा राफसाफ गर्न नसकियोस् । यद्यपि भित्रभित्रै मिलाइनेत्यस्ता घटनाहरू ‘ओपन सेक्रेट’ छन् । यस्तो गैरकानुनी काम गर्न मान्छेहरूलाई कत्ति पनि संकोच लाग्दैन किनभने बलात्कृतहरू जिउँदै रहेसम्म त्यो अपराध हुन्छ भनेर स्वीकार्न उनीहरू तयारै छैनन् ।

हिजोको सती प्रथा, बालविवाह, बालविधवा, बलात्कृतलाई बलात्कारीकै जिम्मा लगाइदिने जस्ता कुप्रथा अन्यायपूर्ण थियो भन्ने ठान्नेहरू आज बलात्कारीको पक्षमा उभिनुलाई न्यायपूर्ण मानिरहेका छन् । दास, सती, हरवाचरवा जस्ता प्रथाको समर्थन गर्ने मान्छे कस्ता थिए होलान् ? कहिलेकाहीं सोच्थें म । अचेल गौशाला २६ लाई सत्तोसराप गरिरहेका, समीक्षा अधिकारीलाई मुद्दा फिर्ता लिन बाध्य बनाउनेहरूलाई हेर्ने गर्छु ।

सरकारले छाउपडी प्रथाको अन्त्य ग¥यो तर समाजले छाउगोठलाई जोगाएकै छ । कानुनले बलात्कारीलाई कडा सजाय र बलात्कृतका लागि सहज कानुनी उपचारको व्यवस्था त मिलाइदियो तर परिवार, समाज, राज्यनै पीडितलाई पीडित मान्न तयार छैन । गोरु बेचेसम्मको साइनो लाग्ने मान्छे, धन, इज्जत कमाएकाहरू, शक्तिमा भएकाहरू बलात्कारी हुनै नसक्ने, तिनले अपराधैनगर्नेलम्पसारवादीबुझाइ जताततै व्याप्त छ ।

डार्विनले उन्नाइसौं शताब्दीमै भनेका थिए, परिवर्तनशील वातावरणमा अभ्यस्तता कायम गर्न त्यस्ता प्राणी मात्र सक्षम हुन्छन् जो त्यसो गर्न योग्य छन् । अर्थात् समयको धारलाई नबुझेर, बुझ्न नचाहेर बनिबनाउ धारणा र प्रवृत्तिमा चल्ने जोसुकैको लागि यो धर्ती प्रलयकारी छ । सोचमा परिष्कृत परिवर्तन र व्यवहारमा रूपान्तरण गर्न नसक्ने, तयार नहुनेहरूको मनमा हालैमा अदालतले सुनाएको निर्णयले खताराको घण्टी बजाइसकेको छ ।

गुम्बामा लामाहरूले आनीलाई गरेको बलात्कार, पादरीहरूले चर्चमा महिलालाई गरेका यौनहिंसा, ऋषि, सन्त, महन्त, बाबा, पण्डित, पुजारीहरूले भक्तिनी, दासीका रूपमा महिलालाई भोग्या बनाउँदा आँखामा पट्टी, मुखमा ताल्चा लगाएर बस्नेहरूको संख्या निकै ठूलो छ समाजमा ।

दुःखको कुरा के भने, विचार निर्माणको पूर्व प्राथमिक तहमा रहेको ठूलो जमात, मूर्खतापूर्ण सोच राख्नेहरूलाई पछ्याउँदै आगोमा होमिन खोजिरहेछन् । अबका औपचारिक शिक्षा, बहस, छलफल र अनौपचारिक चिया गफ, सामाजिक सञ्जालका पोस्ट, कमेन्ट आदि मार्फत त्यो जमातलाई दीक्षित र पीडक पक्षधरलाई हस्तक्षेप, बर्खास्त नगरेसम्म बलात्कारमैत्री समाजको अन्त्य हुन अझै वर्षौं लाग्नसक्छ ।

अपरिचित पुरुषलाई भेट्न एक्लै किन गएको ? बलात्कार गरुन्जेल किन नचिच्याएको ? बलात्कार भएपछि सरासर प्रहरीकहाँ नगएर किन महिना दिन कुरेको ?
यी प्रश्न निदाएका र निदाएको स्वाङ पार्ने दुवैथरीले गरिरहेका छन् । निदाएका अर्थात् बुझ्न चाहनेहरूको मनमा जिज्ञासाको भाव छ भने अबुझहरूमा जिज्ञासुहरूलाई दिग्भ्रमित पार्ने नियत देखिन्छ ।

म जिज्ञासुको मनोविज्ञानसँग किन पनि नजिक छु भने हिजो म पनि त्यही अवस्थाबाट गुज्रिएर आएकी हुँ ।आज पनि धेरै विषयमा मेरा सिकाइ र भोगाइ, शिक्षा र चेतना द्वन्द्वरत छन् । शायद यस्ता कैयौं युद्ध मृत्युपर्यन्त आफैंसँग लडिरहनुछ ।

आजको मेरो चेतलाई दश वर्ष आयु घटाइदिने हो भने ? पक्कै म पनि जिज्ञासुहरूको कित्तामा उभिएर ‘गौशाला २६’ हरूलाई घृणापूर्वक सोधिरहेकी हुँदी हुँ ‘कसरी थाहा हुँदैन कसैले आफ्नो फाइदा उठाउन खोजेको ?’

जसरी शंखेकिरो त्यसको सुँड छुनासाथ आफ्नो शंखभित्र पसेर सुरक्षित भइहाल्छ, जसरी सुस्त गतिमा घस्रिरहेको अरिमठ्ठे छोइनासाथ मरेजस्तो अरिमठ्ठ परेर बस्छ त्यसैगरी मैले पनि कैयौं संभावित बलात्कारीका अव्यक्त छुवाइहरू परैबाट महसुस गरेर आफ्नो वरिपरि आफैंले ‘दिपरेखा’ कोरेकी थिएँ । अद्यापि कोर्ने गर्छु ।

मनमनै एकअर्कालाई मन पराएका दुई व्यक्तिहरूबीच जसरी विना आवाज, विना भाषा पनि प्रेमको सञ्चार हुनसक्छ त्यसैगरी घृणा, रिस, डर, व्यभिचारले पनि तिनमा विकर्षण पैदा गराउँछ । गराउनुपर्ने हो । तर यसको आभास सबै व्यक्तिमा समान रूपमा नहुन सक्छ । जसरी सबै प्राणी गगँटा, शंखेकिराजस्तो छुनै नपाई सतर्क हुने हुँदैनन्, जसरी सबै बिरुवाले सिस्नोजस्तो छोयो कि पोल्यो पार्ने गुण बोक्दैनन् त्यसैगरी सबै महिलाहरू बलात्कारी, दुर्व्यवहारी, हत्याराका आक्रमणको पूर्वाभास गर्न समर्थ हुँदैनन् ।पूर्वाभास भएपनि बच्न सक्षम हुँदैनन् ।

मेरीस्कुले साथीलाई सँगै पढ्ने केटो साथीले बातैपिच्छे कुममा हिर्काउँदै भन्थ्यो, ‘ओइ मोटी के छ ?, ओइ मोटी के गरेकी ?’ ‘ऐय्या ! नकुट न हौ ।’ बस्, मेरी साथीको जवाफ यत्ति हुन्थ्यो ।

मलाई त्यो केटोसँग भन्दा धेरै रिस मेरी साथीसँग उठ्थ्यो । उसको प्रतिक्रिया देख्दा ऊ रिसाएकी हो कि प्याउलिएकी हो बुझ्न नसकेर अवाक् हुन्थें । मलाई लाग्थ्यो मेरी साथी पनि खुसी नै होली केटोको त्यस्तो हर्कतबाट । किनभने साथीको ठाउँमा आफूलाई राखेर हेर्दा म त्यो केटोलाई झापड हानिरहेको पाउँथें ।केटो नभएको बेला साथीले आफूलाई त्यसरी कुटिएको मन नपर्ने बताउँथी ।

मेरो विचारमा उसले त्यो कुरा रिसले दाह्रा किटेर भन्नुपर्थ्यो । तर ऊ यति सामान्य तरिकाले बताउँथी कि मैले म भए यसो गर्थें, उसो गर्थें भन्नु बाहेक खासै गम्भीरतापूर्वक लिइनँ ।

त्यो केटोले गरेको ‘बडी सेमिङ्ग’ र यौनजन्य दुर्व्यवहारमा भन्दा मेरी साथीले जनाएको लोसे विरोधमा बढी गल्ती देखिरहेकी थिएँ म । ज्ञानको अभाव भएपछि मान्छे यस्तै भ्रमजालमा फस्छ । साथीप्रति दुःखी थिएँ म । उसलाई सहयोग गर्ने मनसाय पनि नभएको होइन । तर साथीले किन उग्र रूपमा केटोको विरोध गरिन भन्ने प्रश्नले माकुराको माउझैंजेलिइरहें म ।

लामिछाने विरुद्धको मुद्दामा धेरैले भनेको सुन्छु— ‘बलात्कारीको पक्षमा छैन म तर त्यो केटी किन होटल गई ?’ घुमिफिरी मान्छे त्यही रटान लगाइरहेको छ । यसो भन्नेमा आफूलाई शिक्षा र उमेरले परिपक्व ठान्नेहरू पनि प्रशस्तै छन् ।

नेपाली कांग्रेसका नेता तथा वर्तमान सभासद चन्द्र भण्डारीले कानुनले बलात्कारको परिभाषा गर्न नसकेको भनेर ट्विट गरे ।उक्त ट्विटप्रति आएका विरोधलाई प्रष्ट्याउन  अन्तर्वार्ता दिंदै उनी भन्छन्— अन्याय र अत्याचारको विरुद्ध लडेर आएको मान्छे म कसरी अपराधलाई समर्थन गर्न सक्छु ? !

उनी अपराधको वकालत गर्ने नियत भएका मान्छे होइनन् भनेर पत्याउन सकिएला तर अपराध, बलात्कार के हो भनेरै अन्योलमा रहेकाजिम्मेवार मान्छेले जे बोलिरहेको छ त्यसले बलात्कारमाथि पक्षधरता देखाएका छन् ।

यौनबारे सार्वजनिक स्थानमा मुख आँ… गर्नै नसक्ने, छोरीमान्छेले शिरदेखि पाउसम्म छोपेर हिंड्नुपर्छ भन्ने समाज हो यो । जसलाई ज्योति मगरले नाङ्गा तिघ्रा देखाएरआफूसँगै नाच्न उक्साइन् ।

यो मानेमा संकुचित नेपाली समाजलाई थोरै उदार बनाएको जस दिनुपर्छ भन्ने लागेको थियो तर विवादित व्यक्ति प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा, सन्दीप लामिछानेलाई फसाइएको हो भन्ने आशयको अभिव्यक्ति दिएपछि मगरले पनि दिमागमा चाहिं पुरुषवाद नै बोकेर हिंड्छिन् भन्ने उदाङ्गियो ।यिनीहरूलाई अहिले म चेतनाको तहमा उही आफ्नो स्कुलकालीन समकक्षीको दाँजोमा पाउँछु ।

धेरै वर्ष भएको छैन । कामविशेषले म काठमाडौं जानुपर्ने भयो । मेरो छिमेकीकेटो साथी घर आएको थियो । उसको काठमाडौंको डेरामा हाम्रो समकालीन अर्को केटो साथी ‘रुम’ साझेदारको रूपमा बसिरहेको थियो । उक्त साथीप्रति आफूलाई कुनै भरोसा नभएको तर अवज्ञा नै गरिहाल्ने मनस्थिति पनि नरहेकोले आफ्नी केटी साथीलाई बोलाएँ र म उसकै डेरामा बस्नेगरी गएँ । जो साथी हाम्रो सर्कलमा सबैसँग परिचितै थिई ।

कोठामा पुगेको पाँच मिनेट हुन नपाई त्यो केटोले मेरी साथीसँग यस्तरी छुस्कन थाल्यो कि म लाज, शरम, घिन, रिस, पश्चात्ताप (त्यहाँ बस्ने निर्णय गर्नुको) ले पोको परें । उतिविघ्न मन नबुझेकी साथी हाँसेहाँसे पारामा भनिरहेकी थिई, ‘दादा के गर्नुभएको हौ ? नगर्नु न !’ केटोले उसलाई झनै कस्सेर पकड्न थाल्यो । मलाई सहिनसक्नु भएको थियो तर तत्क्षण मैले के गर्नुपर्ने हो मेसो पाइरहेकी थिइनँ ।

सपनामा आपत परेर भाग्न खोज्दा खुट्टा भासमा परेजस्तो, छिमेकमा आगो लाग्दा मुखाग्र दमकल वा पुलिसको नम्बर भुलेजस्तो । मन अत्तालिएको, मस्तिष्क जमेको त्यो क्षण कसोकसो पार भयो । लगत्तै हामी सब्जी किन्न बाहिर निस्कियौं । त्यतिबेला साथीले भनी ‘यो दादाको बानी मलाई मनै पर्दैन, त्यसैले ऊ एक्लै भएको बेला म यो कोठामै आउदिनँ ।’

त्यो दुर्घटनाका बखत म दोधारमा थिएँ । कतै तिनीहरू दुवै सहज छन् कि ! म भएकोले पो साथीले अप्ठ्यारो मानेजस्तो गरेकी हो कि ?पहिलेदेखि नै तिनीहरूको यस्तै चल्थ्यो कि !

उक्त दुर्व्यवहारी केटोलाई त्यति हिंस्रक रूपमा नदेखेपनि उसको स्वभावसँग थोरैतिनै परिचित र सचेत थिएँ म । उसका अन्य सकारात्मक पाटा, आफूमाथिको विश्वास, त्यस्ता नाथे केटालाई तह लगाउन सक्छु किन अन्त जाने भन्ने अहम् र त्यो साथी केटो सुध्रियो कि भन्ने थोरै अपेक्षा बोकेर उसैकोमा बस्न गएकी थिएँ म ।

अबका औपचारिक शिक्षा, बहस, छलफल र अनौपचारिक चियागफ, सामाजिक सञ्जालका पोस्ट, कमेन्ट आदि मार्फत त्यो जमातलाई दीक्षित र पीडक पक्षधरलाई हस्तक्षेप, बर्खास्त नगरेसम्म बलात्कारमैत्री समाजको अन्त्य हुन अझै वर्षौं लाग्न सक्छ ।

मैले साथीलाई किन तत्काल बचाउन सकिनँ भनेर पछिसम्मै आफूलाई झाकिहेरें । मैले साथीको ‘नाइँ’ लाई भन्दा उसको नाइँ भन्ने तरिकालाई महत्व दिएकोले त्यसो भएको हो भन्ने थाहा पाएँ । तर मलाई उसको त्यो नाइँप्रति कसरी अविश्वास पैदा भयो ? त्यो जान्न मैले आफैंलाई उधिन्नुपर्थ्यो । त्यो पनि त्यही केटासँग जोडिएका अनुभूतिहरूको साथ ।

क्याम्पसको सुरुवाती दिन थियो । साथी–साथीबीच हात मिलाउने चलन सिक्दै थियौं हामी । एकदिन हात मिलाइसकेपछि त्यही केटोले भन्यो, ‘यो दिपाको हात कति सानो ! छुँदै भाँचिइहाल्लाजस्तो !’ त्यतिबेलै मैले घोषणा गरेथें, ‘मेरो हात सानो होस् कि ठूलो तिमीलाई के खाँचो ! आइन्दा मसँग हात मिलाउन नआउनू । म बिर्सेर पनि तिमीसँग हात मिलाउने छैन ।’

थेत्तरोको पराकाष्ठा ऊ बेला–कुबेला मेरो अघि हात तेर्स्याउँदै आइपुग्थ्यो । जवाफमा म नमस्कार गर्थें । सँगै पढ्ने साथीकिरणले एकदिन भनेथ्यो, ‘कस्तो अनसिभिलाइज्ड भएकी दिपा !’ साहित्यिक गोष्ठी अथवा सार्वजनिक स्थानमा परैदेखि हात पसार्दै आउने उसलाई नमस्ते ठोकेर असभ्य बनिरहें म ।

कतिपय साथीले त्यो केटाको फिर्ता हात देखेर म कसैसँग हातै मिलाउदिनँ भन्ठानेछन् । समूहमा हुँदा सबैसँग हात मिलाउँथें । मसम्म आइपुगेपछि नमस्कार गर्थें । पछिपछि त म पनि त्यसमै अभ्यस्त भएछु । आजभोलि पनि कसैले हात तेर्स्याउँदा हत्तपत्त म आफूलाई त्यसका निम्ति तयार भएको पाउँदिनँ ।

त्यो केटोबाट यसरी सतर्किएकी ‘म’ लाई अवचेतनाले तत्क्षण यही सोचेर रोकेको हुनुपर्छ, मेरी साथीले किन त्यसको कपाल भुतलिन ? घाँटी ङ्याकिन ? हाँसे जस्तो गरेर नाइँ भन्नु पनि कहीं विरोध हुन्छ ?

शायद म आफ्नो स्वभाव अनुरूप साथीको व्यवहार अपेक्षा गरिरहेथें । त्यही कारण थियो मैले उसको नाइँलाई नाइँ नै हो भनेर विश्वास गर्न सकिरहेकी थिइनँ । धेरैले गौशाला २६ किन सँगै होटल गई ? भनिरहेका छन् तर उसले बलात्कार हुनुअघि नाइँ भनी कि भनिनँ? कसैलाई चासो छैन ।

मान्छेहरू अझैपनि कसैसँग घुम्न, डुल्न वा भेट्न जानु भनेको घुम्न, डुल्न वा भेट्न नै जानु हो ‘सेक्स’ गर्न जानु होइन भनेर बुझ्न चाहिरहेका छैनन् ।

कोही आफ्नो शरीर, ती माथिका प्रतिक्रिया, छुवाइ आदिबारे अति संवेदनशील होलान् कोही कम । त्यसको मतलब बढी संवेदनशील व्यक्तिलाई हरेक छुवाइहरू अप्रिय लाग्ने र कम संवेदनशील व्यक्तिलाई जुनसुकै छुवाइ मनपर्ने भन्ने हुँदैन ।

मेरी साथी त्यो केटाको व्यवहारबाट आजित छ तर दह्रो गरी प्रतिकार गर्न सक्दिनँ वा त्यसो गर्नु उसको स्वभाव होइन भन्ने थाहा भएपछि मैले त्यो केटोको हर्कतबारे उसको ‘रुममेट’ अर्थात् मेरो बच्चैदेखिको मिल्ने साथीलाई कुरा गरें । ऊबाट थाहा भयो,त्यसलाई साथीहरूले त्यही आदतको लागि पहिल्यैदेखि सम्झाउने, बुझाउने, हप्काउने गरेका रहेछन् ।

मैले मेरो साथीलाई किन पहिल्यै भनिनँ त्यो केटो मलाई ठिक लाग्दैन भनेर ? उसले मलाई भनेको भएपनि त हुन्थ्यो, उसको रुममेट एउटा यौन दुर्व्यवहारी हो भनेर ।

यस्ता कैयौं रहस्यहरू छन् हामीभित्र जो आफ्ना नजिकका मान्छेहरूलाई सुइँकोसम्म हुँदैन । यौनजन्य मात्रै होइन हरेक प्रकारका दुर्व्यवहारलाई सामान्यीकरण गर्दैै हुर्केको पुस्ता हो हाम्रो ।

घटनाहरू दुर्घटित नहुन्जेलसम्म, दुर्व्यवहारी बलात्कारी नहुन्जेलसम्म, दुले चोर डाकु, टोले गुण्डा हत्यारा नहुन्जेलसम्म हामी चुइँक्क बोल्दैनौं । हिम्मत गरेर निस्केका आवाजहरूलाई बरु ‘अढाइ’ किलोका हातले निसास्सिने गरी थुनिदिन्छौं ।

भिन्न स्वभावद्वारा निर्देशित हाम्रा ‘नाइँहरू’ का आवाज कोही बढी चर्को सुनिएलान् कोही कम । कसैले रिसाएर भन्ला कसैले हाँसेर । जसरी भनिए पनि नाइँ भनेको नाइँ नै हो ! ‘नो मिन्स नो !’

यति कुरा बुझाउन हामीले अझै कति हण्डर खानुपर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?