+
+

यू-१९ विश्वकप : न्यूजिल्याण्डसँग अहिलेसम्म हारेको छैन नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १२:३३

६ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल आइतबार न्यूजिल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार दिउँसो १ : ४५ मा सुरु हुनेछ । नेपालले न्युजिल्यान्डसँग पछिल्लो पटक २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

नेपालले यू-१९ विश्वकपमा न्यूजिल्याण्डसँग खेलेका दुबै खेल जितेर विश्व क्रिकेटमा सनसनी मच्चाइसकेको छ । नेपालले न्यूजिल्याण्डलाई सन् २०१६ को यू–१९ विश्वकपमा ३२ रन र २००६ मा १ विकेटले हराएको थियो ।

सन् २००६ को प्लेट फाइनलमा नेपालले न्यूजिल्याण्डलाई हराएर उपाधि जितेको थियो । श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्ड २०४ रनमा अल आउट भएको थियो ।

त्यतिबेला नेपालका स्पिनर वसन्त रेग्मीले ३, शरद भेषावकर र अमृत भट्टराईले २–२ विकेट लिएका थिए । पारस खड्का र राज श्रेष्ठको नाममा १–१ विकेट रहेको थियो ।

उक्त लक्ष्य नेपालले ४९.४ ओभरमा ९ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका वसन्त रेग्मीले ७३ बलमा ७ चौकासहित ६६ रन बनाउँदै जित दिलाएका थिए । शरद १८, ज्ञानेन्द्र मल्ल ५ र पारस खड्का ४ रनमा आउट भएका थिए । न्यूजिल्याण्ड टिमका सफल तीव्र गतिका बलर टिम साउथीले त्यो खेलमा विकेट लिन सकेका थिएनन् ।

२०१६– नेपाल ३२ रनले विजयी

नेपालले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा समूह चरणमा न्यूजिल्याण्डलाई ३२ रनले हराएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । नेपालका सन्दीप सुनार ३९, सुनिल धमला १५, राजु रिजाल ४८, आरिफ शेख ३९, दीपेन्द्रसिंह ऐरी १६ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए ।

न्यूजिल्याण्ड भने ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो । न्यूजिल्याण्डका रचिन रवीन्द्र ४, ग्लेन फिलिप्स ५२ र फिन एलेन ११ रनमा आउट भएका थिए ।

यी तीन खेलाडी वर्तमान समयका विश्व क्रिकेटकै सुपर स्टारमा पर्छन् । न्यूजिल्याण्डलाई दीपेन्द्रले ३, प्रेम तामाङले २, सन्दीप लामिछाने र सुनिल धमलाले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?