+

शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ, जब हामी तनावमा हुन्छौं ? (भिडियो)

२०८० माघ  १० गते १७:३७ २०८० माघ १० गते १७:३७
शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ, जब हामी तनावमा हुन्छौं ? (भिडियो)

तनाव एक भावनात्मक स्थिति हो । जब हामी तनावको स्थितिमा हुन्छौं यसले मनलाई मात्र निचोर्दैन, मुटु, मिर्गौला, पाचनयन्त्र र स्नायुतन्त्रको कार्य प्रणालीमा पनि असर गर्छ ।

आखिर मनमा हुने तनावले तनको संयन्त्रलाई कसरी सताउँछ ?

जब हामी तनावमा हुन्छौं, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । यसलाई चिकित्सकहरु ‘स्ट्रेस हार्मोन’ भन्ने गर्छन् । अर्थात् हामीलाई तनाव बढाउनुमा यही हार्मोनको भूमिका छ ।

यद्यपि कार्टिसोल हार्मोन नै सम्पूर्ण खराब भन्ने होइन । यो एक शरीरका लागि जरुरी हार्मोन हो । मुटुको चाल, खाना पच्ने प्रक्रिया, शरीरमा चिनीको व्यवस्थापन, थाइराइडको व्यवस्थापनमा यही हार्मोनले काम गरिरहेको हुन्छ । तर जब यो धेरै वा थोरै उत्पादन हुन्छ, त्यसले समस्या निम्त्याउँछ ।

खासगरी तनाव प्रतिक्रियाका लागि यही हार्मोन जिम्मेवार मानिन्छ । यसरी हामी तनावको स्थितिमा हुँदा शरीरभित्रको रसायनिक प्रतिक्रिया नै खलबलिन पुग्छ । कार्टिसोलको बढोत्तरीले गर्दा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुनपुग्छ । यसले भाइरल संक्रमणको जोखिम पनि बढाइदिन्छ ।

तनावको स्थिति लामो समयसम्म रहँदा छाला चाहुरिन थाल्छ । छालामा बुढ्यौलीका संकेत देखापर्न थाल्छ । मस्तिष्कमा यसको असर अरु बढी हुन्छ । हामी बिस्तारै स्मरण क्षमता गुमाउन पुग्छौं । हामी जति जति तनावग्रस्त बन्छौं, शरीर उत्ति नै शिथिल र कमजोर हुँदै जान्छ । यसले साइकोलोजिक डिस्ट्रेस, एन्जाइटी, डिप्रेसन, कडा प्रकृतिका मानसिक रोग साइकोसिस र आत्महत्या समेत निम्त्याउन सक्छ ।

किन हुन्छ तनाव ?

तनाव स्वतःस्फूर्त प्रक्रिया हो । संसारमा करिब आठ अर्ब मान्छे छन् । यसमध्ये कोही त्यस्ता नहोलान्, जो पूर्ण रुपमा तनावबाट मुक्त छन् । तनाव सबैलाई हुन्छ । तर तनावको स्थिति, कारण र प्रभाव भने मान्छेमा एकनास हुँदैन ।

कसैलाई ऋण तिर्नुपर्ने हुन्छ, कसैलाई रोगको उपचार गराउनुपर्ने हुन्छ, कसैलाई मुद्दा मामिला किनारा लगाउनुपर्ने हुन्छ । कसैलाई अपुग भएर तनाव हुन्छ, कसैलाई पुगिसरी भएर तनाव हुन्छ । बालबच्चालाई विद्यालय जानुपर्ने कुराले तनाव हुन्छ, किशोरकिशोरीलाई करिअरको कुराले तनाव हुन्छ, युवालाई प्रेम र विवाहको कुराले तनाव हुन्छ । तनाव उमेरअनुसार पनि फरक हुन्छ तर तनावबाट टाढा कोही हुँदैन ।

भोकको स्थितिमा पनि हामीलाई एक किसिमको तनाव हुन्छ । कुनै नतिजाको पर्खाइमा बस्दा पनि तनाव हुन्छ । तनाव त हुन्छ नै, तर त्यसलाई कति वा कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो । तनावलाई हामीले आफ्नो जीवनबाट पूर्णत: अलग गर्न सक्दैनौं । त्यसलाई व्यवस्थापन गर्ने हो ।

हाम्रो शरीरभित्र कति विकार हुन्छ । दिसा–पिसाब, खकार, पसिना, दुर्गन्ध । यी सबैकुरालाई हामी पूर्ण रुपमा हटाउन सक्दैनौं, केवल व्यवस्थापन गर्ने हो । तनाव पनि मनको विकार हो । यसलाई हटाउने होइन व्यवस्थापन गर्ने हो ।

कसरी गर्न सकिन्छ तनाव व्यवस्थापन ?

डा. सगुनबल्लभ पन्त

तनाव मानसिक स्वास्थ्यसँग जोडिएको कुरा हो । जब हामी मानसिक रुपले बलियो वा स्वस्थ हुन्छौं, तनावले हामीलाई उति धेरै पिरोल्दैन ।

मानसिक रुपमा स्वस्थ हुनका लागि हामीले त्यस्तो काम–व्यवहार गर्नु हुँदैन, जो तनावको कारण बन्छ । जस्तो हामी परीक्षामा असफल भयौं । त्यसले तनाव दिन्छ । तर हामीले मिहिनेतसाथ पढेको भए यस्तो नतिजा आउने नै थिएन ।

हामीले रातभर अनियन्त्रित रुपमा रक्सी पियौं भने भोलि त्यही कुरा हाम्रो तनावको विषय बन्छ । रक्सी नपिएको भए ? तनाव हुने नै थिएन । कुनै निहुँमा हामी घरझगडा गर्छौं । त्यही झगडाले हामीलाई तनावग्रस्त बनाउँछ ।

यसरी काममा, करिअरमा, व्यवहारमा, सम्बन्धमा गरिने कतिपय गलत कुराले हामीमा तनाव पैदा गर्छ । त्यसबाहेक संगतले, बाहिरी वातावरणले, सम्बन्धले, व्यवहारले हामीलाई तनावको स्थितिमा पुर्‍याउँछ । यी सबै स्थिति आउन नदिन संयमित, सन्तुलित र सदाचार जीवनशैली अपनाउनुपर्छ । त्यससँगै पारिवारिक सम्बन्ध सुमधुर बनाउन सके, साथीभाइसँग सन्तुलित सम्बन्ध राख्न सके, व्यवहार पारदर्शी र प्रष्ट गर्न सके हामीमा तनाव आउने बाटो त्यति हुँदैनन् । तनावलाई यसरी नै तह लगाउने हो ।

त्यसबाहेक केही यस्ता शारीरिक अभ्यास छन्, जसले तनावको स्थितिमा हामीलाई केही सान्त्वना दिन्छ । जस्तो गहिरो श्वासप्रश्वास लिने, मनलाई मनोरञ्जन वा आफूलाई खुसी लाग्ने कुरामा भुलाउने, मनपर्ने पुस्तक पढ्ने, फिल्म हेर्ने, मीठो खानेकुरा बनाउने, खाने ।

तनाव व्यवस्थापनका लागि हामीले आफूलाई अनुशासनमा राख्नुका साथै खुसी र उत्साहित हुने कुरामा समाहित हुन जरुरी छ ।

इर्ष्या नगर्ने, धेरै महत्वाकांक्षी नहुने, हरेक कुरामा प्रतिक्रिया नजनाउने, सधैं सकारात्मक रहने, सबैप्रति सम्मान गर्ने जस्ता प्रवृत्तिले धेरै हदसम्म तनाव कम गर्छ । तनाव निकै विषालु हुन्छ । हामी ठान्छौं, यो मनको कुरा त हो नि । तर यसले तनलाई नै घाइते बनाउँछ । त्यसैले तनावलाई व्यवस्थापन गर्नैपर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

डा. सगुनबल्लभ पन्त तनाव मानसिक स्वास्थ्य
डा. सगुनबल्लभ पन्त
लेखक
डा. सगुनबल्लभ पन्त
मनोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११५८४ एमडी (मनोचिकित्सा) त्रिवि शिक्षण अस्पताल, मनोरोग विभागमा सहायक प्राध्यापक तथा मनोरोग विशेषज्ञको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय