+

वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

२०८० माघ  १७ गते १३:३३ २०८० माघ १७ गते १३:३३
वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) विश्वभर मृत्युको तेस्रो प्रमुख कारण हो, जसले सन् २०१९ मा ३० लाख २३ हजारले यही रोगका कारण ज्यान गुमाएका थिए ।

सीओपीडी एक दिन वा छोटो समयमा लागिहाल्ने रोग होइन । यसको विकास हुन धेरै वर्ष लाग्छ । जस कारण विशेषत: यो रोगले वृद्धावस्थामा बढी सताउँछ । के कारणले वृद्धमा सीओपीडी हुन्छ ? यो रोग के हो ? यसको उपचार छ ? चर्चा गरौं ।

डा. नीरज बम, वरिष्ठ छातीरोग विशेषज्ञ

सीओपीडी यस्तो रोग हो, जसमा बिरामीलाई सास फेर्न कठिन हुन्छ । यसलाई दीर्घकालीन दम रोग पनि भनिन्छ । सामान्यतया जब हामी हावाको सहायताले सास लिन्छौं, तब अक्सिजन रगतमा मिसिन्छ र कार्बनडाइअक्साइड बाहिर जान्छ । कुनै कारणवश सीओपीडी रोगले यो निरन्तर चल्नुपर्ने प्रक्रियालाई अवरोध गर्छ । जसकारण सास लिन समस्या हुन्छ र शरीर चलायमान हुन चाहिने अक्सिजन शरीरले पाउन सक्दैन ।

वृद्धमा जोखिम बढी र यसका कारण

धुम्रपान, वायु प्रदूषण (धुवाँ, धुलो), घरभित्र हुने वायु प्रदूषण चुल्होमा पराल, दाउरा आदिको प्रयोग, इट्टाभट्टा, सिमेन्ट, कपडा, रसायन र कोइला खानीबाट निस्किने धुलो र हानिकारक रसायन सीओपीडी गराउने प्रमुख तत्व हुन् ।

यस्तोमा एक त उमेर बढेसँगै फोक्सोको काम गर्ने क्षमता पनि घट्दै गइरहेको हुन्छ । अर्को भनेको लामो समयसम्म धुम्रपानको धुवाँ, वायु प्रदूषणमा प्रत्यक्ष सम्पर्कमा बस्दा हानिकारक रसायन नाक वा मुखबाट श्वासनली हुँदै फोक्सोमा पुगेमा सीओपीडी हुनसक्छ । यी कारक तत्व रहिरहँदा फोक्सोसँग जोड्ने श्वासनली र सासको डायमिटर घटाइदिन्छ । र, काम गर्ने क्षमता घट्छ ।

विशेषगरी ४५ देखि ५० वर्षमाथिको उमेरमा यो समस्याले सताउन सक्छ । फोक्सोको संक्रमण र जाडोयाममा बढ्ने दमले सीओपीडी भइसकेकालाई बढी प्रभावित गर्छ । धुम्रपान अत्यधिक गर्ने गर्भवती आमाको सन्तान जन्मिएपछि बच्चामा दम भई भविष्यमा सीओपीडी हुनसक्छ ।

दैनिकजसो आगोको धुवाँमा काम गर्ने, चुरोट र तम्बाकु सेवन गर्नेको नजिक बस्ने व्यक्तिलाई पनि उमेर बढ्दै जाँदा यो समस्या कालान्तरमा देखिन सक्छ ।

त्यसबाहेक, वंशाणुगत रोग अल्फा वान् एन्टिट्रिप्सिनका कारण बच्चा र वयस्कमा पनि सीओपीडी हुनसक्छ । यो वंशाणुगत रोग विरलै देखिन्छ ।

कसरी यसले फोक्सोलाई खराब गर्छ ?

नाकभित्र फोक्सोसम्म पुग्ने सास लिने र फाल्ने श्वासनली हुन्छ । यसरी चुरोट वा प्रदूषणको धुवाँधुलो दिनहुँजसो लिइरहँदा श्वासप्रश्वास नलीहरु सुन्निने र बिस्तारै साँघुरिंदै जान्छन् । यसरी श्वासप्रश्वास नली साँघुरिंदै गएमा श्वासप्रश्वासमा अवरोध आउँछ । जसकारण फोक्सोले अक्सिजन ग्रहण गर्न पाउँदैन ।

यो प्रक्रिया लगातार चलिरहेर श्वासनली साँघुरिएर काम गर्न सक्दैन । र, फोक्सोले सास लिन र फाल्न सक्दैन । यस्तोमा कार्बनडाइअक्साइडभित्र जमेर बस्छ । जसकारण बिस्तारै फोक्सोलाई नै पूर्ण क्षति गराउँछ ।

सीओपीडी भएमा लक्षणहरू ४० वर्षको उमेरपछि यसको लक्षण देखिन सक्छ ।

लक्षण

लगातार रुघाखोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, अलिकति हिंड्दा पनि स्याँस्याँ हुनु, खकारमा रगत आउनु, राति सुत्न कठिन हुनु, सास फेर्न कठिन हुनु, औंला वा जिब्रो निलो हुनु, पटकपटक छातीको संक्रमण हुनु यसका लक्षण हुन् ।

त्यस्तै, सुक्खा खोकीको समस्या दिउँसोमा भन्दा बिहान र साँझ बितेपछि बढी देखिन्छ । कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ । छाती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो सास तान्न खोज्दा र सास फाल्न खोज्दा बढ्दा गाह्रो हुन्छ ।

जटिलता

यो समस्या बढ्दै गए शरीरको सम्पूर्ण अंगमा असर गर्छ । फोक्सो र श्वासनलीले काम गर्न नसकेपछि कार्बनडाइअक्साइड शरीरमै जमेर बस्छ । र, अक्सिजन पनि शरीरले पाउँदैन । जसकारण खाना नपच्ने, पेटमा अल्सर हुनु, मुटुमा समस्या आउनु, मधुमेहको स्तर बढाउनु, अक्सिजनको स्तर बढाउनु र मोतियाबिन्दुमा असर गर्ने हुनसक्छ ।

यससँगै खुट्टा सुनियो भने मुटुको चार कोठामध्ये दायाँ कोठा सुन्निएको हुनसक्छ । यसलाई पलमेनरी हाइपरटेन्सन भएको बुझिन्छ । बिस्तारै कपाल झर्ने, मांसपेशी सुक्ने, कलेजो सुन्निएर दाँया कोखो दुख्नुको साथै मिर्गौलामा असर गर्ने गर्छ ।

कसरी पहिचान गर्ने ?

लक्षणको आधारमा रगत परीक्षण, छातीको एक्स-रे र आवश्यक परेमा सिटी स्क्यान पनि गरिन्छ । स्पाइरोमेट्रो माध्यमबाट पनि रोगको निदान गरिन्छ ।

रोकथाम तथा उपचार

सीओपीडीका कारण फोक्सोमा क्षति पुगेमा यसलाई निको पार्न सकिंदैन । यद्यपि, यसको लक्षणलाई नियन्त्रण गरेर थप नोक्सान हुनबाट फोक्सोलाई जोगाउन सकिन्छ ।

-यसले मुख्य समस्या गराउने भनेको श्वासप्रश्वासमा हो । त्यसैले ब्रोन्को डाइल्याटल औषधिको प्रयोग गर्न सकिन्छ ।

-तान्ने थेरापीद्वारा क्याप्सुल र मिटरडोज लिन सकिन्छ ।

-फोक्सो सुन्निएको छ भने स्टोरियोड औषधि चिकित्सकले दिनसक्छन् ।

-पल्स अक्सिमिटर घरमै राखेर अक्सिजनको स्तर नाप्नुपर्छ । यदि अक्सिजनको स्तर कम छ भने अक्सिजन दिनुपर्छ । यो अक्सिमिटरले स्याचुरेसन ९० भन्दा माथि देखायो भने अक्सिजन लगाउनु पर्दैन ।

-कडा खालको दम भए अक्सिजन थेरापी गर्नुपर्छ । यस्तो बेला फोक्सो कमजोर हुन्छ जस कारण सीओपीडीका बिरामीका लागि घरमै अक्सिजनको व्यवस्था गर्नुपर्छ ।

-बिरामीलाई संक्रमण भएको भए फ्रोफाइलाइटिक एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ । यसबाट बच्न इन्फ्लुएन्जा र निमोनियाको सुई पनि लगाउनुपर्छ ।

-यस्तोमा कतिलाई अवस्था हेरी पल्मोनरी रिहावलेटेसन थेरापी गराइन्छ, जसले छातीको व्यायाम हुन्छ ।

-यस्ता रोगबाट बच्न र लागिसकेको अवस्थालाई कम गर्न धुम्रपान, वायु प्रदूषण र चिसोबाट टाढा रहनुपर्छ ।

साथै, सीओपीडीको उच्च जोखिममा रहेका व्यक्तिले यसविरुद्ध खोप लगाउन जरुरी छ ।

डा. नीरज बम दीर्घकालीन दम सीओपीडी
डा. नीरज बम
लेखक
डा. नीरज बम
वरिष्ठ छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९२५ अध्यनन : एमडी (पल्मोनोलोजी तथा क्रिटिकल केयर मेडिसिन) हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका सहप्रध्यापक, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र बसुन्धरास्थित स्मृति अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

बिर्सने समस्या रोग पनि हुनसक्छ (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?