एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ वा जाम भएको संकेत पाइन्छ । यस्तो समस्या भोग्ने उनी मात्र एक्लो छैनन् । धेरैलाई यसले असहज बनाएको छ ।
खासमा किन कुम दुख्छ, किन जाम हुन्छ ? यो समस्याको जड के हो ? कसलाई हुन्छ ? चर्चा गर्नु जरुरी छ ।
कुम जाम भनेको के हो ?
कुम जाम हुनु भनेको स्वभाविक रुपमा कुमलाई सञ्चालन गर्न नसक्ने अवस्था हो । जस्तो हातलाई यताउता लैजाँदा असहज हुने, कुमको मांसपेशी कडा हुने, दुख्ने । यसलाई ‘पीए सोल्जर’ पनि भनिन्छ । कहिलेकाहीं यसलाई एडिसेभ क्याप्सुलाइटिस भनिन्छ ।
कुमको जोर्नी तीनवटा हड्डीले बनेको हुन्छ । कहिलेकाहीं यसलाई एकठाउँमा राखिराख्न मद्दत गर्ने तन्तु सोल्जर क्याप्सुल बाक्लो र कडा हुन्छ । त्यहाँ भएका तरल पदार्थ कम हुन्छ । यस्तो अवस्थामा कुम कडा हुन्छ, कुम चलाउन गाह्रो हुन्छ र कुम दुख्ने गर्छ । यसलाई चलनचल्तीको भाषामा कुम जाम भएको भनिन्छ ।
किन यस्तो हुन्छ ?
यस्तो समस्या हुनुको कुनै एउटा निश्चित कारण छैन । खासगरी कुम झट्कार्दा, चोट लाग्दा, लामो समयसम्म हात नचलाइ राख्दा यो समस्या देखिन्छ ।
कसलाई बढी जोखिम ?
-पुरुषमा भन्दा बढी महिलामा
-४० देखि ६० वर्ष उमेर समूहमा
-कुममा चोटपटक लागेको व्यक्तिमा
-मधुमहेका समस्या भएकालाई
-थाइराइड, मुटुको बिरामी, पार्किन्सन रोग लागेकालाई
कसरी थाहा हुन्छ ?
हातलाई राम्ररी चलाउन सकिंदैन । खासगरी हात उचाल्दा, घुमाउँदा कुममा दबाब महसुस हुन्छ र असहज हुन्छ । हातलाई माथि उचालेर काम गर्न सकिंदैन । कुममा दुख्छ ।
यस्तो लक्षण तीन तहमा देखिन्छ
पहिलो तह
दुखाइ महसुस हुन्छ । चलाउन कठिन हुन्छ । यदि यस चरणमा कुनै उपचार गरिएन भने ८-९ महिनासम्म यो चरण रहन्छ ।
दोस्रो तह
दुखाइ कम हुन्छ तर चलाउन एकदम गाह्रो हुन्छ । दैनिक क्रियकलापमा नै समस्या आउँछ । यो चरण चार देखि १२ महिनासम्म हुन्छ ।
तेस्रो तह
बिस्तारै चल्न छाड्छ ।
कसरी समस्या पहिचान गर्ने ?
यो समस्या मुख्यतया क्लिनिकल र शारीरिक परीक्षणबाट पत्ता लगाउन सकिन्छ । एक्सरे र भिडियो एक्सरेको सहायताले अझ धेरै सहज हुन्छ ।
उपचार के छ ?
केही दुखाइ कम गर्ने औषधिबाहेक अकुपञ्चर, फिजियोथेरापी एकदम प्रभावकारी विधि हुन् ।
दुखाइ कम गर्न र हातको गतिविधि बढाउन अकुपञ्चर एकदम प्रभावकारी छ । अकुपञ्चरका साथै फिजियोथेरापी एकसाथ गर्दा छिट्टै निको हुन्छ ।
घरमा आफैंले के गर्न सकिन्छ ?
घरमा आफैंले पनि गर्न सकिन्छ । खासगरी हल्का मसाज गर्ने, हातको गतिविधि बढाउने गर्नुपर्छ ।
प्रतिक्रिया 4