+
+

अरुण चौधरीको घर बिहानै घेराउ, अदालतबाट पुर्जी ल्याएपछि पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०८० माघ १८ गते १९:४०

१८ माघ, काठमाडौं । प्रहरीले बिहीबार व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपिएको मामलामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।

व्यवसायी चौधरीलाई हठात् पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

तर सीआईबीकी प्रमुख किरण बज्राचार्यले भने तीन महिनादेखि अनुसन्धान गरिरहेको दाबी गरेकी छन् ।

उनका अनुसार ब्यूरोका एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले मालपोत र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुराना कागजात अध्ययन गर्नेदेखि लिएर आवश्यक प्रमाण जुटाउने काम गरिरहेको थियो । ‘त्यसक्रममा फेला परेका प्रमाणहरुले अरुण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने देखियो’ उनले भनिन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, बाँसबारीको सरकारी जग्गा पछिल्लो समय सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो । यसको अध्यक्ष अहिले सञ्जय ठाकुर र सदस्यमा अरुण चौधरी र उनकी पत्नी शिला चौधरी छन् ।

‘तीमध्ये प्रभाव र पहुँचको आधारमा कसले जग्गा हत्याउन सक्छ भन्ने प्रहरीले हेर्ने भयो, त्यसपछि आज (बिहीबार) अरुण चौधरीलाई पक्राउ गर्नुपर्छ भन्ने भएपछि नियन्त्रणमा लिन टोली परिचालित भएको थियो’, बज्राचार्यले भनिन् ।

घर घेरेर अदालतबाट पक्राउ अनुमति

चौधरीलाई पक्राउ गर्ने निर्णय भएपछि ब्यूरोको इन्टेलिजेन्स हेर्ने पिलरका डीएसपी धर्मराज भण्डारीलाई बिहानै लाजिम्पाटस्थित चौधरी निवासमा पठाइएको थियो । यद्यपि पक्राउ पुर्जी लिइनसकेकाले टोली बाहिरै बस्यो ।

बुधबारै पुर्जी लिंदा सूचना चुहिए चौधरी भाग्न सक्ने डर थियो भने पुर्जी नलिई जाँदा अदालतमा टिकाउन गाह्रो हुनसक्ने विश्लेषण अधिकृतहरुले गरेका थिए ।

‘सुनिल शर्माको घटनामा जरुरी पक्राउ पुर्जी दिएर ल्याउँदा अदालतले म्याद नै दिएको थिएन’ एक अधिकृतले भने, ‘त्यसैले यसपालि पहिले निगरानीका लागि टोली पठाएर अदालतबाट पुर्जी लिन पठाएका थियौं ।’

बिहान १० बजेसम्ममा डीएसपी भण्डारीको टोलीले चौधरीको घरमा घेरा हालिसकेको थियो । ‘अर्को टोलीले त्यहीबेला अदालतबाट चौधरीलाई पक्राउ गर्न अनुमति लियो’, सीआईबीका एक अधिकृतले भने, ‘पक्राउ अनुमति पाएको कागज आएपछि बल्ल डीएसपी सा’बको टोली भित्र छिरेको थियो ।’

स्रोतका अनुसार, चौधरीको घरमा प्रवेश गर्नुअघि त्यहाँका सुरक्षागार्डले सिभिल टोलीलाई रोकेको थियो । त्यसक्रममा सादा पोशाकमा गएको टोलीले ‘हंगेरीमा आफ्नो मान्छे पक्राउ परेको र छुटाउन सहयोग हुन्थ्यो कि भनेर भेट्न खोजेको’ बताए ।

तर गार्डले टोलीलाई छिर्न दिएनन्, अफिसमै जान सुझाए । त्यसपछि टोलीले आफूहरु सीआईबीबाट आएको प्रहरी भएको बतायो । अझै वादविवाद रोकिएन, त्यसपछि प्रहरी बलपूर्वक प्रवेश गर्‍यो ।

प्रहरी आएको छनक पाएका अरुण कोठाबाट बाहिर निस्किएनन् । बैठक कोठामा प्रहरी उनलाई कुरेर बसिरहे ।

कहिले चौधरीका म्यानेजर प्रहरीलाई भेट्न आए, कहिले वकिल । टोलीले उनीहरुलाई ‘केही विषयमा बुझ्नुपर्ने भएकाले सीआईबीसम्म जानुपर्ने भएको’ बताए ।

म्यानेजर र उनका कानुनी सल्लाहकारले चौधरीसम्म प्रहरीको कुरा ‘रिले’ गरिरहेका थिए । आधा घन्टाजति कुरेपछि उनका छोरा करण पनि त्यहाँ आइपुगेको अपरेसनमा खटिएका एक अधिकृत बताउँछन् । ‘छोरालाई पनि त्यही अनुसारको ब्रिफ भयो, त्यसपछि उनी बुबालाई भेट्न गए’, उनले भने ।

लगभग ४५ मिनेटपछि चौधरी आफैं प्रहरी भएतिर आए । प्रहरीले उनलाई ‘नमस्कार’ गर्दै आफूहरु लिन आएको बताए । चौधरीले कारण सोधे, प्रहरी टोलीले अदालतबाट जारी भएको पक्राउ अनुमति थमाए । अधिकृतहरुका अनुसार, पुर्जी लिएपछि अलमलिएका चौधरीले ‘आलटाल’ गर्न खोजे, फेरि कतै फोन गर्न प्रयास गरे ।

आफ्नै गाडी चढेर सीआईबी

‘कसले लिन पठाएको ?’ भनेर सोधेपछि टोलीले ‘आफूहरुको लैजाने जिम्मेवारी मात्र भएको र बाँकी सीआईबी गएर प्रमुख किरण बज्राचार्यसँगै कुरा गर्न’ भन्यो ।

स्रोतका अनुसार, टोलीले त्यसपछि आफूहरु घरमा प्रवेश गरेपनि नलिई जान नमिल्ने बताउँदै सहयोग गर्न आग्रह गरेको थियो । ‘हजुर आफैं प्रतिष्ठित व्यक्ति हुनुहुन्छ, प्रहरीले जबर्जस्ती गर्दा छरछिमेकतिर पनि राम्रो सन्देश जाँदैन’, टोलीले सम्झायो । त्यसपछि चौधरी आफैंले प्रस्ताव अघि सारे, ‘मेरै गाडीमा जान्छु ।’

टोलीले आफ्नै गाडीमा जान दिने तर, एक जना प्रहरी पनि साथमै हुने बतायो । व्यवसायी चौधरीले मुन्टो हल्लाए । त्यसपछि छोरा करण र एक जना प्रहरीसहित चौधरी आफ्नै गाडीमा सीआईबीको लाजिम्पाटस्थित कार्यालय पुगे ।

त्यहीबेला अर्को टोलीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गर्‍यो ।

उनले बाँसबारीपछि नेपाल उद्योग विकास निगम हुँदै च्याम्पियन फुटवेयर लिमिटेडमा काम गरेका थिए । ‘जसरी सरकारी सम्पत्ति हस्तान्तरण हुँदै आयो, उनी पनि त्यसैगरी विभिन्न कम्पनीमा सर्दै आएको देखिन्छ’ सीआईबी प्रमुख एआईजी बज्राचार्य भन्छिन्, ‘सरकारी जग्गा हडपिएको विषयको उनी एक साक्षी हुन्, उनीमार्फत धेरे कुरा खुल्ने भएकाले सुरुमा पक्राउ परेका हुन् ।’

प्रहरीले यो मामलामा सरकारी कर्मचारी र थप केहीलाई समेत निगरानीमा राखेको छ ।

के हो विवाद ?

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो ।

भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो । त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए ।

सुरुवातमा च्याम्पियन फुटवेयर प्रालिमा उद्योगी विनोद चौधरीकाे २०० कित्ता शेयर देखिएको भन्दै अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले भने, ‘पछिल्लो समय कागजमा उनी कतै देखिंदैनन् ।’

अहिले यो जुत्ता उद्योग छैन भने कम्पनीको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ । शेयर सदस्य अरुण र उनकी श्रीमती शिला छन् । जग्गामा चौधरी ग्रुप फाउन्डेसनले चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार, सरकारी जग्गा हडप्नकै लागि च्याम्पियन फुटवेयरको स्थापना भएको देखिन्छ । जिल्ला अदालत, काठमाडौंले चौधरी र थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार अपरान्ह प्रहरीले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि (शुक्रबार) अदालत उपस्थित गराउने तयारी छ ।

पक्राउ परेकाहरुको बयान लिएर शुक्रबारदेखि विस्तृत अनुसन्धान थालिने एआईजी बज्राचार्य बताउँछिन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?