+
+
आज विश्व सिमसार दिवस :

हिमालका मुद्दा उठाउँदा उदाङ्गो नहोस् सिमसारको हविगत

सिमसारका बहुआयामिक लाभहरूबारे आम सर्वसाधारणमा पर्याप्त जानकारी पुगेको छैन । २ फेब्रुअरी सिमसार संरक्षणमा जनचेतना जगाउने उपयुक्त अवसर हो ।

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०८० माघ १९ गते ८:३०
बागलुङको तमानखोला गाउँपालिकास्थित बराह ताल । फोटो : तमानखोला गाउँपालिका

फेब्रुअरी महिनाको २ तारिख, विश्व सिमसार दिवस । वर्ष २०२४ को नारा छ- सिमसार र मानव कल्याण । सन् १९७१ मा इरानको रामसार शहरमा सिमसार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि भएको थियो । यसैको वार्षिकोत्सवको रूपमा सिमसार दिवस मनाइन्छ । सिमसार दिवसको अवसरमा जनचेतना अभिवृद्धिको लागि विभिन्न गतिविधि संसारभर गरिन्छ ।

कोप—२८ खनिज इन्धनको निरुत्साहन र नवीकरणीय ऊर्जामा बढी केन्द्रित थियो । यद्यपि त्यहाँ जलवायु परिवर्तनका विविध पक्षबारे पनि घनीभूत छलफल भएको थियो । जसमध्ये जलवायु परिवर्तनको असर रोकथामको लागि प्रकृतिमा आधारित समाधान अर्थात् नेचर बेस्ड सोलुशनबारे पनि बहस भएको थियो । जलवायु परिवर्तनको असरलाई सामना गर्न प्रकृतिमा आधारित समाधान महत्वपूर्ण रहेको तर यसका लागि कम लगानी भएको ठहर भयो ।

त्यसैले प्रकृति आधारित जलवायु न्यूनीकरण कार्यहरूको लागि अलग्गै अमेरिकी डलर १८६.६ मिलियन नयाँ लगानी गर्ने कोप—२८ मा घोषणा भएको छ । यो रकम परिचालन गर्दा नवीनतम सोच र सार्वजनिक–निजी साझेदारीलाई बढावा दिने भनिएको छ । यसमा दातृनिकाय विश्व बैंकले अग्रसरता लिने भएको छ ।

कोप—२८ मा नेपालले हिमालका मुद्दाहरू जोडदारसँग उठाएको छ । यसलाई नेपालको सहभागिताको उपलब्धि नै मान्नुपर्छ । जलवायु परिवर्तनको अजेण्डामा नेपालले अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्दै गर्दा सिमसार संरक्षणमा नेपालले ध्यान दिन जरूरी भएको छ । जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सिमसार संरक्षण उत्तम उपाय हो ।

नेपालमा सिमसार संरक्षण नितान्त प्रकृतिमा आधारित भएर स्थानीय प्रयास र स्रोतसाधनमा गर्न सकिन्छ । बाघ संरक्षण लगायत प्रकृति संरक्षणका अन्य प्रयासहरूमा जस्तै सिमसार संरक्षणमा नेपालले सफलता पाउन सक्छ । आगामी कोप सम्मेलनहरूमा सिमसार संरक्षणको सफल अभ्यासका कथाहरू हामी प्रस्तुत गर्न सक्छौं ।

नेपालमा सिमसारको अवस्था

स्थायी रूपमा वा वर्षको केही महिना पानीले ढाकिएको इकोसिस्टम भएको स्थानलाई सिमसार भनिन्छ । नेपालमा करिब ७ लाख ५० हजार हेक्टर अर्थात् पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । देशभरिमा अति महत्वपूर्ण २४२ वटा सिमसार क्षेत्र रहेका छन् । जसमध्ये नेपालका १० वटा सिमसार क्षेत्रहरू अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् ।

राष्ट्रिय निकुञ्ज, आरक्ष तथा वन क्षेत्रभित्रका सिमसार संरक्षणको अवस्था राम्रो भए पनि, त्यस बाहिरका सिमसार संरक्षणमा बढी समस्या छ ।

नेपालको सिमसार तराईका हिलेधापदेखि हिउँले ढाकिएको उच्च हिमाली तालसम्म पर्दछ । सिमसार प्राकृतिक मात्र नभएर मानवनिर्मित पनि हुनसक्छ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नक्शा सहित प्रकाशन गरेको प्रतिवेदन अनुसार नेपालमा साना–ठूला सबै गरेर ५ हजार ३५८ वटा ताल, पोखरी रहेका छन् ।

नेपालका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आएका र क्रमशः लोप हुँदैछन् । सबैको सामु देख्दादेख्दै फेवाताल क्षेत्र खुम्चिंदै गएको छ । सिमसार क्षेत्र भूमाफियाको निशानामा पर्न थालेको छ । नेपालमा मात्र होइन, संसारभर नै सिमसारको अवस्था चिन्ताजनक छ ।

विगत ३०० वर्षदेखि यता संसारको ९० प्रतिशत सिमसार क्षेत्रको अवस्था बिग्रिएको वैज्ञानिक अनुमान छ । वनजंगलको विनाश भन्दा तीन गुणा छिटो सिमसार क्षेत्र मासिंदैछ । विगत ५० वर्षयता मात्र प्राकृतिक सिमसार क्षेत्रको ३५ प्रतिशत मासिएको छ ।

तसर्थ, सन् २०२३ को सिमसार दिवसको नारा थियो– ‘यो समय हो, सिमसार क्षेत्र पुनर्स्थापनाको’ । संयुक्त राष्ट्रसंघले निकै महत्वका साथ सन् २०२१ देखि २०३० लाई इकोसिस्टम पुनर्स्थापना दशक घोषणा गरेको छ । इकोसिस्टम पुनर्स्थापनाको मुख्य हिस्सामा सिमसार पर्दछ । तर सिमसार संरक्षण र पुनर्स्थापना सजिलो काम चाहिं होइन ।

सिमसार संरक्षणको प्रयास

रामसार सन्धिमा सन् १९८८ मा नेपालले हस्ताक्षर गर्यो । सन्धि पक्षधर भएकाले नेपाल सिमसार संरक्षणको लागि कानुनी रूपमा प्रतिबद्ध छ । सरकारले राष्ट्रिय सिमसार नीति, २०६९ ल्याएको छ । यो नीतिले दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ सिमसार भन्ने दूरदृष्टि राखेको छ । सिमसार नीतिको लक्ष्य सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने रहेको छ । नीतिले राष्ट्रिय सिमसार समिति गठन गरेर काम गर्न दिशानिर्देश गरेको छ ।

सिमसार संरक्षण गर्ने जिम्मेवार निकाय वन तथा वातावरण मन्त्रालय हो । यस अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले सिमसार संरक्षणको फोकल संस्था रहेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय ताल संरक्षण विकास समिति सिमसार क्षेत्रको संरक्षण र विकासमा क्रियाशील रहेको जस्तो देखिन्छ । तर नतिजा सन्तोषजनक छैन ।

राष्ट्रिय निकुञ्ज, आरक्ष तथा वन क्षेत्रभित्रका सिमसार संरक्षणको अवस्था राम्रो भए पनि, त्यस बाहिरका सिमसार संरक्षणमा बढी समस्या छ । सिमसार संरक्षण कार्यमा चुनौतीहरू प्राकृतिक र मानवीय दुवै प्रकारका छन् । तराईमा जलकुम्भी जस्ता मिचाहा झारको समस्या छ । मानवीय समस्यामा सिमसार क्षेत्रको जग्गा अतिक्रमण र जल प्रदूषण छ ।

सिमसार संरक्षणमा जनचेतना

सिमसार संरक्षणमा जनचेतना महत्वपूर्ण छ । जनचेतना वृद्धि भए, जनचासो बढ्छ । बढी जनचासोको विषय राजनीतिक दलको एजेण्डाभित्र पर्छ । तपाईं–हाम्रो आवाजले सिमसार संरक्षणमा योगदान गर्न सकिन्छ । तर रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा सिमसार संरक्षण सम्बन्धी जनचेतनामूलक सामग्री कमै आउने गर्छन् ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्बर इकोसिस्टम हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मूल्यवान् प्राकृतिक प्रणालीको अंश मानिन्छ । सिमसारले दुर्लभ र विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गरेको हुन्छ । सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ । सिमसार क्षेत्रले सिंचाइ, मत्स्यपालन, पर्या–पर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउने लगायत जैविक विविधताको दिगो व्यवस्थापन मार्फत अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ । सिमसारले पर्यावरणीय सुरक्षाकवचको रूपमा कार्य गर्दछ ।

राष्ट्रिय सिमसार नीति, २०६९ ले हाल तीन तहको संघ, प्रदेश र पालिकाको संरचनासँग सामञ्जस्य राख्दैन । सिमसार संरक्षणमा स्थानीय तहको भूमिका र जनसहभागिता अति महत्वपूर्ण छ । यसलाई नयाँ सिमसार नीतिले समेट्नु जरूरी छ ।

सिमसार क्षेत्र वाइल्डलाइफ सफारी र चरा अवलोकनको लागि उत्तम ठाउँ हो । सिमसारको पर्यावरणीय, सांस्कृतिक र आर्थिक महत्व छ । ग्रामीण समुदाय जीविकाको लागि सिमसारमा निर्भर हुन्छन् । माझी, जलारी, थारू, मल्लाह समुदायको लागि सिमसार आयआर्जनको स्रोत हो ।

सिमसार विज्ञ प्रा.डा. मोहन शिवाकोटीका अनुसार सिमसारको मुख्य तीनवटा महत्व छन् । पहिलो, सिमसारले ‘प्रकृतिको मिर्गौला’ को रूपमा कार्य गर्छ । दोस्रो, सिमसारले माछा लगायत विभिन्न खाना उपलब्ध गराउने भएकाले ‘जैविक सुपरमार्ट’ जस्तै छ । र; तेस्रो, सिमसारले बाढी नियन्त्रण, खानेपानी भण्डारण गर्ने ‘प्राकृतिक सिभिल इन्जिनियर’ को भूमिका खेल्ने गर्दछ ।

सिमसारका यी बहुआयामिक लाभहरूबारे आम सर्वसाधारणमा पर्याप्त जानकारी पुगेको छैन । फेब्रुअरी २ तारिख सिमसार संरक्षणमा जनचेतना जगाउने उपयुक्त अवसर हो । विडम्बना, सिमसार दिवसको अवसरमा नेपालमा सरकारी तथा गैरसरकारी संस्थाहरूको विरलै गतिविधिहरू हुने गरेको छ ।

बदलिंदो सन्दर्भमा सिमसार

जलवायु परिवर्तन वर्तमान विश्वको प्रमुख मुद्दा बनेको छ । हरेक वर्ष संसारभरिबाट राजनेता, वैज्ञानिक, अभियन्ता लगायत हजारौं विशिष्ट व्यक्ति भेला भई कोप सम्मेलनमा सहभागी हुन्छन् । त्यहाँ सिमसारको विषय जोडिएर आउने गर्छ । जैविक विविधता, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, जलवायु अनुकूलन, पानीको उपलब्धता, स्थानीय अर्थतन्त्र, आदिवासीहरूको जनजीविका र अन्य धेरै कुराहरूमा सिमसारको योगदान रहन्छ ।

तसर्थ, राष्ट्रिय सिमसार नीति, २०६९ लाई जलवायु परिवर्तनको बदलिंदो सन्दर्भमा परिमार्जन आवश्यक भइसकेको छ । संयुक्त राष्ट्रसंघलाई पेश गरिने जलवायु सम्बन्धी नेपालको राष्ट्रिय प्रतिबद्धता पत्र (एनडीसी) मा सिमसारलाई उचित स्थान दिइनुपर्छ । नेपालले हिमालका मुद्दा उठाउँदै गर्दा विश्वसामु सिमसारमा नेपालको हविगत उदाङ्गो नहोस् ।

राष्ट्रिय सिमसार नीति, २०६९ ले हाल तीन तहको संघ, प्रदेश र पालिकाको संरचनासँग सामञ्जस्य राख्दैन । सिमसार संरक्षणमा स्थानीय तहको भूमिका र जनसहभागिता अति महत्वपूर्ण छ । यसलाई नयाँ सिमसार नीतिले समेट्नु जरूरी छ ।

राष्ट्रिय ताल संरक्षण विकास समिति जस्ता सरकारी निकायलाई अधिकार र स्रोतसाधन दिई नतिजामुखी बनाउने कि खारेज गरी अर्को उपयुक्त व्यवस्था गर्ने भन्ने नीतिनिर्माण तहमा छलफल हुन आवश्यक छ ।

सिमसार संरक्षणको नाममा जथाभावी भौतिक संरचना र वातावरण अमैत्री कार्यहरू स्थानीयस्तरमा धेरै ठाउँमा देखिन थालेका छन् । यसलाई नियमन गर्ने र आवश्यक भए स्थानीय समुदायलाई प्राविधिक सरसल्लाह दिने निकायको खाँचो छ ।

सिमसार सम्बन्धी नेपालमा खासै प्राज्ञिक अनुसन्धान नभएको, जेजति भएको छ, त्यो पनि छरिएर रहेको, एकै प्रकृतिका अध्ययन दोहोरिएको र अनुसन्धानको नतिजालाई कार्यान्वयनमा ल्याउन नसकिएको प्रा.डा. शिवाकोटीको कथन यहाँ विचारणीय छ ।

बदलिंदो सन्दर्भमा सिमसार सम्बन्धी अन्य सवालहरू पनि हुनसक्छ । यी सबै सवालहरूलाई समेट्ने गरी सिमसारको नयाँ नीति तथा कार्यक्रमहरू आओस्, मानव कल्याण होस् । विश्व सिमसार दिवस २०२४ को शुभकामना !

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?