+
+

पोर्चुगलमा नेपाली राहदानी बनाउन समस्या, २६ सय नेपाली घुम्ती टोलीको पर्खाइमा

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० माघ १९ गते १७:३४

बार्सिलोना। पोखरा महानगरपालिका-१६ लामाचौरका रविन्द्र बहादुर थापा। कमाउने सपना बोकेर पोर्चुगल पुगेको पनि १९ महिना बितिसक्यो। पोर्चुगलको कार्ड बनाउने उनको सपना। रेसिडेन्सी कार्डका लागि बायोमेट्रिक मिति नजिकिदै गर्दा एकातर्फ उनि गदगद छन्।अर्कोतर्फ आफ्नो पासपोर्टको म्याद सकिदैछ।तीन महिनाभित्रमा पासपोर्ट नवीकरण भएर नआए उनको कार्ड बन्ने प्रक्रिया नै पछि धकेलिने डर छ ।

धेरै पटक उनले कन्सुलेट कार्यलयमा फोन गरे।एनआरएन पोर्चुगलको अफिसमा पनि धाए। फ्रान्सको पेरिस राजदूतावासबाट घुम्ती टोली आउँदैछ भन्ने मात्रै सुन्छन्। तर कहिँले आउने हो पत्तै छैन।

‘टोली आउने न आउने पत्तै छैन।यदी नआउने भए स्पेनतिरको सोच बनाउन हुन्थ्यो।तर पोर्चुगल बाहिर जान पाउने कुनै लिगल डकुमेन्ट छैन। म निकै दोधारमा छु।’ थापाले अनलाइनखबरसँग कुराकानी गर्दै दुखेसो पोखे, ‘ बोर्डरमा चेकिङ् हुन्छ भन्ने पनि सुनेको छु। तर कति साथीभाईले केहि पनि हुँदैन पनि भन्छन्।सबै गईरहेकै छन् रे।’

म्याग्दीका प्रेमप्रकाश उपाध्यायले रोजगारीका लागि रोमानिया रोजे।तर रोमानियापुग्दा सम्झौता अनुसारको काम पाएनन्। रोमानिया पुगेको एक हप्तामा नै त्यहाँबाट भागेर पोर्चुगल पुगे। उनले भने, ‘मेरो पासपोर्ट कम्पनीमा नै थियो।कन्ट्राकमा लेखे अनुसार न काम नै थियो न तलव नै। त्यसैले पोर्चुगल जाने निर्णय लिए।’

८ महिनाअघि पोर्चुगलको पुगेका उपाध्याय अहिलेसम्म पनि राहदानी बिहिन नै छन्।‘कम्पनीलाई भनेर साथीभाईले पासपोर्ट पोष्ट गरिदेलान् भन्ने आश थियो।तर महिनौं बितिसक्यो आएन।अब त्यताको आश पनि छैन।’

महाशिला गाउँपालिका-४ पर्वत घर भएकी अमृता रेग्मी क्षेत्री अझै पनि बज्रपातमा नै छन्। उनले पोर्चुगलमा नै श्रीमान् गुमाईन्। गत वर्ष आमा पनि गुमाईन् तर त्यतिबेला पनि नेपाल जान पाईनन्। १३ वर्षका छोरा र ८ वर्षकी छोरीको जिम्मवारी पनि उनकै काँधमा छ।

यो पटक जेनतेन नेपाल जाने सोच बनाएकी उनलाई फेरि अर्को समस्याले पिरोलेकोछ। दुवै जना छोरा छोरीको पासपोर्टको म्याद फेब्रअरी २ बाट सकिदैछ।

‘म्याड्रिडमा नै गएर भए पनि पासपोर्ट बनाउन पाए हुन्थ्यो। तर डेट नै पाईदैन।’ रेग्मीले दुखेसो पोखिन्, ‘बाबु नानीलाई लिएर छिट्टै नेपाल जानुपर्नेछ।छिट्टै राहदानी बनाउन पाए पनि कति राहात मिल्थ्यो।’

सर्लाही मूलघर भएकी मन माया घिसिङ्को पासपोर्टको म्याद जनवरी १३ बाट सक्किएको छ। उनि माल्टा हुँदै १६ महिना पहिले पोर्चुगल पुगेकी हुन्। पोर्चुगलको कार्ड बनाउने सपना बोकेकी उनको बायोमेट्रिक डेट नजिकिदै छ। तर, म्याद नभएको पासपोर्ट बोकेर हिड्नुपर्दा उनि निकै चिन्तित छन्।

‘अहिले तुरुन्तै आवेदन दिए पनि नविकरण भएर आउँन ३-४ महिना लाग्छ भन्ने सुन्छु।आवेदन कहाँ दिने अझै टुङ्गो छैन।’घिसिङ्ले भनिन्।

गत वर्षजस्तै परराष्ट्र मन्त्रालयसहितको टोली छिट्टै पोर्चुगलमा आईदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ। ‘पोर्चुगल बाहिर जानका लागि कागजात छैन।बाध्यताले बाहिर जानु परेमा पनि त्यो जोखिम आफैले मोल्नु पर्छ।’ उनले सुनाइन्।

बर्दिया मूलघर भएकी बिमला केसी पनि डेढ बर्षदेखि पोर्चुगलमा नै संघर्षरत छिन्। उनीसँग साईप्रसदेखि सपना बुन्दै पोर्चुगल पुगेकी हुन्। केसीको पासपोर्टको म्याद जुन ३० मा सकिदैछ।उनको सबभन्दा ठुलो चिन्ता नै पासपोर्ट नविकरण गर्नुछ।

‘डिसेम्बरको अन्तिममा फ्रान्सबाट टोली आउदै छ भन्ने सुनेर कन्सुलेट कार्यालयको फाराम पनि भरेको हो। तर टोली आएन। अब कहिँले आउँने भन्ने पनि अत्तोपत्तो नै छैन।’ केसीले भनिन्।

करिब २६ सय नेपाली घुम्ती टोलीको पर्खाइमा

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय लिस्वनका अनुसार करिव २६ सय नेपाली राहदानी बनाउन प्रतिक्षारत रहेका छन्।

कन्सुलेट कार्यलयका प्रतिनिधि छविलाल बगालेका अनुसार राहदानी हराएको भन्दै फाराम भर्नेको संख्या ४५० रहेको छ। त्यस्तै म्याद सकिएका ४०० जति र बाँकी म्याद सकिन लागेका तथा त्यही जन्मेका बालबालिकाहरुको राहदानीका लागि आवेदन दिन इच्छुक रहेका छन्।

‘डिसेम्बर ३१ सम्म कन्सुलेट कार्यलयमा प्राप्त यो प्रारम्भिक डाटा हो।तर आवदेन दिनेको संख्या अझै उच्च रहने देखिएको छ।’ बगालेले भने, ‘पासपोर्टका लागि बुझ्न आउनेको पनि कन्सुलेट कार्यलयमा दैनिक भिड लाग्ने गरेको छ।पेरिस दूतावासलाई सबै जानकारी दिईसकेका छौ।’

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काको पनि सहजीकरणका लागि यथाशिघ्र टोली आउनु पर्ने माग छ। ‘डिसेम्बरको अन्तिमसम्म पेरिसबाट टोली आउँछ भन्नु भएको थियो।तर आउनुभएन।’ उनले भने, ‘एकातर्फबाट हेर्दा पोर्चुगलमै दूतावास स्थापना गर्ने सरकारको निर्णय पछि उहाँहरुले तयारी नगरेको होकी भन्ने पनि छ। अर्कोतर्फ टोली आउन पनि परराष्ट्रबाट अनुमति लिनु पर्ने भएकाले प्रक्रियामा छ भन्ने सुनिन्छ।’

पोर्चुगल जाने योजनामा छौ, निर्णय भइसकेको छैन : उपनियोग प्रमुख बस्नेत

नेपाली राजदूतावास फ्रान्सका उपनियोग प्रमुख सीता बस्नेतले पोर्चुगल जाने योजनामा आँफूहरु रहे पनि निर्णय भईनसकेको बताइन्।

‘सम्भवत: फ्रेबअरी अन्तिमसम्मका लागि माईण्ड मेकअप बनाएका छौ। तर अहिले भनिहाल्दा छिटो होला।’ उपनियोग प्रमुख बस्नेतले भनिन्। ‘तर हामीले तुरुन्त जाने प्लान गरेका छौ। ठ्याक्कै मिति अहिले नै भनिन। निर्णय नभईकन मैले अहिलेनै  बोले भने उहाँहरु आशमा बस्नुहुन्छ। निर्णय भएपछि मात्रै दूतावासबाट सूचना जारी गर्नेछौ।’

उनले पोर्चुगलको समस्यालाई लिएर दुई हप्ताअघि पेरिस दूतावासबाट परराष्ट्र मन्त्रालय र राहदानी विभागमा पत्राचार भई सकेको पनि जानकारी दिइन्।

‘घुम्ती सेवा संचालनका लागि मन्त्रालय र राहदानी विभागमा पत्राचार गरिसकेका छौ।आर्थिक पाटो पनि हुन्छ ।अर्थबाट स्वीकृति हुनुपर्छ।’ उनले थपिन्, ‘पोर्चुगलमा राजदूतावास खोल्ने र राजदूत पनि नियुक्त नै भईसकेपछि हामीले सैद्वान्तिक रुपमा स्वीकृति पनि लिनुपर्छ।’

पोर्चुगलको काम पेरिस अलवा स्पेन,बेल्जियम र डेनमार्कस्थित दूतावासबाट पनि भईरहेको उनले बताइन्। ‘कागजात हुने कतिपय नेपाली त्यतातिर गएर पनि पासपोर्ट बनाईरहनुभएको छ। कुनै पनि कागजात छैन भने स्पेन वा फ्रान्सको बोर्डर पार गरेर आउदा उहाँहरुलाई रिस्की छ। कोहि त त्यसरी पनि आउनु भएको छ। रिस्की चाहिँ धेरै छ। त्यसैले पोर्चुगलमा जाने हाम्रो योजना हो।’ बस्नेतले भनिन्।

‘पेरिस दूतावासमा जुनदेखि अक्टोबरसम्म हामी दुईजना मात्रै डिप्लोमेटिक स्टाफ थियौं। त्यसैले त्यो समयमा पोर्चुगल जान सकिएन।’ उपनियोग प्रमुख बस्नेतले भनिन्, ‘महामहिम आईसकेपछि हामी त्यहाँ जाने कार्यक्रम थियो। त्यो बीचमा पोर्चुगलमा दूतावास खोल्ने निर्णय पनि भयो।राजदूतका लागि अग्रिमो (स्वीकृति) का लागि चिठ्ठी पठाएका छौ। र प्रतिक्षामा छौ।’

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले पोर्चुगलबाट राहदानी बनाउन आउने नेपालीलाई राजदूतावासले सहजीकरण गरिरहेको बताइन्। ‘म्याड्रिड दूतावासमा अहिले दैनिक १५-२० जनासम्मको राहदानी बनाईरहेका छौ।धेरैजसो पोर्चुगलबाट नै आउने हुनुहुन्छ।’

राजदूत पराजुलीले भनिन्। ‘अफिसर र राजदूत मात्रै भएको दूतावासबाट त्यो संख्यामा पासपोर्ट बनाउन कति ग्राह्रो हुन्छ आँफै अनुमान गर्न सक्नुहुन्छ।’

म्याड्रिड दूतावासमा अपोइन्टमेन्ट डेटनै पाईदैन भन्ने पोर्चुगलबाट धेरैको गुनासो छ नि भन्ने प्रश्नमा राजदूत पराजुलीले मिले र सकेसम्म दूतावासले सहजीकरण गरिरहेको सुनाइन्।

‘यसअघि दुई महिनासम्मका लागि पहिलेनै अपोइन्टमेन्ट खोलिसकेको थियौं।अब एक महिनासम्मका लागि फुल नै छ। तर अब छिट्टै अपोइन्टमेन्ट डेट खुलाएर सहजीकरण गर्नेछौ।’ उनले भनिन्।

दूतावासमा कर्मचारीको अभाव हुँदा कन्सुलर सेवाका कामहरु गर्न ग्राहो भईरहेको पनि राजदूत पराजुलीले बताइन्। ‘लामो समयदेखि  दूतावासमा एकजना मात्रै डिप्लोमेटिक स्टाफ हुनुहुन्छ। रोममा आउँदा प्रधानमन्त्रीलाई भेटेर नै कमर्चारी अभावबारे जानकारी गराएकी थिए।’ उनले भनिन्। ‘मन्त्रालयमा पनि पत्राचार पनि भईसकेको छ। तर उहाँहरुले पठाउनै सक्नुहुन्न।’

पोर्चुगलमा खुल्ने राजदूतावासले कहिँले काम सुरु होला ?

स्पेनस्थित नेपाली राजदूतावास म्याड्रिड पोर्चुगलअघि खोलिएको राजदूतावास हो। फ्रेबअरी २० सन् २०१७ मा स्पेनमा दूतावास खोल्ने सरकारले निर्णय गरेको थियो।

निर्णय भएकै दिन राजदूत समेत तोकियो। तर निर्णय भएको एक वर्षसम्म पनि अत्तोपत्तो नै भएन। जनवरी १० सन् २०१८ मा राजदूत भरत बहादुर रायमाझी म्याड्रिड आए । दूतावास खोल्ने निर्णय भएको एक बर्षपछि राजदूत त आए न दूतावास भवन नै थियो। न त डिप्लोमेटिक स्टाफ नै। अन्तत: राजदूतावास खोल्ने निर्णय भएको १४ महिना पछि मात्रै म्याड्रिडबाट कन्सुलर सेवा सुरु भएको थियो।

एनआरएनए आईसिसि सदस्य राजकुमार थापाले स्पेन दूतावासको उदाहरण हेर्दा पनि लिस्वनमा अझै समय लाग्ने बताए। ‘पोर्चुगलमा दूतावास खोल्ने निर्णय भएको तीन महिना पनि पुगेको छैन। राजदूतका लागि अग्रिमो (स्वीकृति) अझै प्रक्रियामा नै रहेको छ।’ थापाले भने ।

उनले भने, ‘लिस्वनमा दूतावासको काम सुरु नहुँदासम्म हामीलाई हेर्ने पेरिसले नै हो। पहिले झैँ टोली नै आएर यथाशिघ्र समस्याको समाधान गर्नुपर्छ।’ गत वर्ष परराष्ट्र मन्त्रालयसहितको टोली पोर्चुगल पुगेर दुई हजार तीन सय आठ जना नेपालीको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्ट बनाएको थियो।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?