+
+
मिनेन्द्र रिजालको विश्लेषण :

‘पूर्वराजा भन्दा नेताहरूमा आत्मविश्वास गुम्नु ठूलो चुनौती’

कहीं न कहीं कम्युनिस्ट–कम्युनिस्ट मिल्न चर्को गणतन्त्रवादी देखिन त होइन ? किनकि राष्ट्रवादका नाममा त पुराना राजासँग प्रतिस्पर्धा गर्न सकिन्न । नभए बेकारमा हावामा बक्सिङ हान्नुपर्ने के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १०:४५

पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता अनि राप्रपा लगायत राजावादी शक्तिहरूको गतिविधिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख दलका शीर्ष नेताहरूले चासोका साथ हेरेको देखिन्छ । बढ्दो नागरिक निराशालाई उपयोग गरेर विद्यमान व्यवस्था उल्ट्याउने खेल भइरहेको विश्लेषणमा गणतन्त्र पक्षधर नेताहरू लगभग सहमत देखिन्छन् ।

तर नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल पूर्वराजाबाट व्यवस्थामाथि कुनै खतरा देख्दैनन् । ‘मेरो चिन्ता हिजोको ज्ञानेन्द्रसँग छैन, हिजोको संविधान फिर्ता होला भन्ने छैन । मेरो चिन्ता जनता आत्तिए भन्ने भन्दा पनि आत्तिएका जनताको समस्या सम्बोधन गर्न सक्छु भन्ने आत्मविश्वास राजनीतिक नेतृत्वले गुमाउन थाल्यो भन्ने हो’, रिजाल भन्छन् ।

बरू पूर्वराजाको विरोध गरेर चर्को गणतन्त्रवादी बन्ने नेताहरूको टिप्पणीप्रति नेता रिजाल आशंका गर्छन् । ‘कहीं न कहीं कम्युनिस्ट कम्युनिस्ट मिल्न चर्को गणतन्त्रवादी देखिन त होइन ? राष्ट्रवादका नाममा त पुराना राजासँग प्रतिस्पर्धा गर्न सकिन्न’, रिजालको आशंका छ ।

यदि कम्युनिस्टहरू मिले पनि त्यसलाई स्वाभाविक रूपमा कांग्रेसले स्वीकार्नुपर्ने रिजालको तर्क छ । भन्छन्, ‘२१०० सालसम्म गठबन्धन बनाइराख्ने मन छैन होला नि ? छैन भने कुन बाटोमा कांग्रेस लैजान खोजेको हो परिभाषित गर्नुपर्ला ।’
प्रस्तुत छ, कांग्रेस नेता डा. रिजालसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

नागरिकमा उकुसमुकुस छ भन्ने अनेक घटनाक्रमबाट अनुमान लगाउन सकिन्छ । राजनीतिभित्र चाहिं बाहिर देखिए जस्तै शान्त छ अथवा तपाइँहरूभित्र पनि उकुसमुकुस छ ?

सबै पार्टीमा पहिलो नेता बाहेकलाई मैले गरेर के पो हुन्छ र ! सत्ताको राजनीति होस् अथवा प्रतिपक्षी राजनीति होस्, केही पनि प्रभावित पार्न सक्दिनँ । उहाँहरूले (पहिलो नेता) परिभाषित गरेको परिधिभित्र बसेर मैले आफ्नो काम गर्ने हो । त्यसमा मेरो महत्वाकांक्षा कसरी पूरा गर्न सक्छु ? अगाडि बढ्ने प्रबन्ध कसरी निर्माण हुनसक्छ ? त्यसो भयो भने पुगिहाल्यो जस्तो देख्छु । यो भनेको देशका लागि गर्न सक्दिनँ, पार्टीका लागि गर्न सक्दिनँ, मैले मेरा लागि गरौं भन्ने सोच हावी हुनु हो । यसले हाम्रो पार्टीलाई (नेपाली कांग्रेस) बढी परिभाषित गर्ला ।

एमालेले अहिले पनि कहाँ छु भनेर टुंगो गर्न सकेको छैन । केपी शर्मा ओलीजीले अलिअलि गर्नुभयो जस्तो लाग्छ । पहिलो, ७० वर्षको उमेर हद हटाउनुभयो । यससँगै पार्टी अध्यक्ष हुने बाटो नरोकिने भयो । त्यसपछि मध्यपहाडी लोकमार्गको यात्रा गर्नुभयो ।

काठमाडौंको बैठकले खासै केही नदिन सक्छ । त्यसैले काठमाडौंको बैठकबाट केही नपाए पनि आममान्छे बीचमा गएर पार्टीको ठाउँ चाहिं जोगाइराख्नुपर्छ भन्ने मोटिभेसन देख्छु । तर उहाँका पार्टीका मान्छेहरू ढंगका साथ हिंडेको देख्दिनँ । केही मान्छे माओवादीका दोस्रो तहका नेतालाई भविष्य देखाएर दुइटा कम्युनिस्ट कसरी एक बनाउन सकिन्छ भनेर असाध्यै मिहिनेत गरेको देखिन्छ । यो बाहेक अरू ध्यान छैन । अलिअलि अत्तालिनु भएको पनि होला । बुढो नै हुन थालें भन्ने पनि होला । गएको १७ वर्षदेखि सत्तामा बस्न यति अभ्यस्त भइसक्यौं कि त्यो नहुँदाको सकस पनि होला ।

माओवादीले कता जाने हो टुंगो गर्न सकेको छैन । त्यहाँ दुइटा द्वन्द्व देख्छु । प्रचण्डजीको कति लामो प्रधानमन्त्री बस्ने ? र, प्रधानमन्त्री हुँदा के गर्न सकिन्छ भन्ने छ । पार्टी बनाउनेतिर धेरै ध्यान छ जस्तो लाग्दैन । अरू मान्छेलाई प्रधानमन्त्रीसँगै हिंड्न त आनन्द होला !

सरकार भन्दा बाहिर बसेका मान्छेलाई कहिले मन्त्री हुन मन लाग्ला, कहिले पार्टीको कुरा गर्न मन लाग्ला । एमालेसँग लहसिएकाहरूलाई त्यहीं भविष्य सुरक्षित हुन्छ भन्ने पनि लाग्दो हो । तर उहाँहरूले आफैंले कुनै दिन मूली हुन्छु, पार्टीलाई यसरी लिएर जाने भन्ने सोचेको देखिन्न ।

त्यसअर्थमा परनिर्भरता माओवादी पार्टीका दोस्रो तहका नेताहरूमा देख्छु । कोही–कोही त्यसभन्दा बाहिर निस्कनुभएको छ । अलिअलि आक्रोश, अलिअलि यस्तो गजबको सत्तामा बसेको छौं कि पाँच वर्ष नै प्रधानमन्त्री भइन्छ कि जस्तो छ । तर त्यसपछि के हुने भन्दा ‘पुनर्मुसिको भवः’ भन्ने ठाउँमा पुग्ला भन्ने नि छ ।

अघिल्लो निर्वाचनमा (२०७४ सालमा) १४ वटा निर्वाचन क्षेत्रमा माओवादी सबभन्दा अगाडि थियो । त्यो बेला हामी सबैलाई लाग्यो, माओवादी निकै ठूलो सकसमा छ, एक्लै चुनाव लड्दैन । हामीले हाम्रो पार्टीमा तर्क गर्यौं कि माओवादीलाई मिलेर चुनाव लड्ने बाटो दिऊँ, नभए छोडेर हिंड्छ । भयो त्यही !

अहिले माओवादीले १८ वटा निर्वाचन क्षेत्रमा जितेको छ, घच्चीको प्रधानमन्त्री पद पाएको छ । तर जम्मा ८ वटा निर्वाचन क्षेत्रमा मात्र उहाँहरूको मत सबभन्दा बढी छ । कोशीको कुनै पनि निर्वाचन क्षेत्रमा ठूलो पार्टी रहेन । मधेशमा ३/४ वटा क्षेत्र थियो, यो पटक त्यो रहेन । अघिल्लो चुनावसँग तुलना गरेर हेर्ने हो भने सबभन्दा ठूलो स्खलन भएको छ ।

बागमतीमा पहिला सिन्धुली थियो, अहिले त्यो पनि छैन । गण्डकीमा त्यही गोरखा हो । लुम्बिनीमा दुई र कर्णालीमा ४ वटा निर्वाचन क्षेत्रमा माओवादी सबभन्दा ठूलो पार्टी छ । सुदूरपश्चिमा एउटा निर्वाचन क्षेत्रमा ठूलो दल थियो, त्यो पनि गुमाउनुभयो ।

पार्टी त संकुचित हुँदै गएको ज्ञान उहाँहरूलाई नै बढी होला । त्यो सकसमा अर्को चार वर्ष प्रधानमन्त्री भए बापत संगठन त बनाउनुहुन्छ जस्तो लाग्दैन मलाई । त्यसैले एक वर्षपछि सत्ता अरूलाई जिम्मा लगाएर साइड लागेर बस्ने हो वा प्रधानमन्त्री पद लम्ब्याउने हो भन्ने अलमलमा पूरै पार्टी देख्छु ।

मधेशमा जसपा र लोसपाले सेन्स अफ डिरेक्सन गुमाइसकेको छ । उनीहरू भन्दा बलिया दुइटा नयाँ पार्टी आए । एउटा त थारूहरूको बाहुल्य भएको क्षेत्रभन्दा बाहिर जान नसक्ला, तर अर्को पार्टी त अलि चौडा किसिमले मधेशमा फैलिने देखिन्छ । यो सकसले जसपा र लोसपाभित्र गएको १७ वर्षमा प्राप्त भएको सत्ता सुख कसरी कायम राख्ने भन्ने अलमल जस्तो लाग्छ ।

अर्थात् सबैको मनमा मेरो आफ्नो राजनीति के हो ? म कहाँ पुग्छु भन्ने छ, जनताको निराशातर्फ धेरै ध्यान छैन । जनतामा निराशा रहेको सामान्य चेत छ । तर निराशाले अर्को चुनावसम्म मलाई कहाँ पुर्याउला ? त्यसैले जे गर्ने हो अहिले नै गरिहालौं भन्ने रिजाइन टु द फेथ (आफ्नो नियतिप्रति सम्झौता गरेको) देख्छु ।

प्रश्नको कठघरामा दोस्रो–तेस्रो तहका नेताहरू पनि छन्, भन्न सकिन्छ ?

मेरो पार्टीमा आज इन्सेन्टिभ कहाँ छ र ? कसैले पार्टी सभापतिको प्रतिरक्षा गरेको सुन्दिनँ, बरु पार्टी सभापतिबारे भएका बजारु टिप्पणीप्रति हो–मा–हो मिलाएर हिंडेका छन् ।

कहीं न कहीं कम्युनिस्ट–कम्युनिस्ट मिल्न चर्को गणतन्त्रवादी देखिन त होइन ? किनकि राष्ट्रवादका नाममा त पुराना राजासँग प्रतिस्पर्धा गर्न सकिन्न । नभए बेकारमा हावामा बक्सिङ हान्नुपर्ने के छ ? बरु ज्ञानेन्द्र भन्दा त आत्मविश्वास गुमाएका हामी नेताहरू भएका कारण समस्या छ ।

तर पार्टीभित्र सभापतिको आशीर्वाद कसले पाउने प्रतिस्पर्धा छ । उहाँ फेरि पार्टी सभापति हुने होइन, उहाँको आशीर्वाद पाए सभापति हुने बाटो खुल्छ भन्ने छ । त्यसैले भित्रका बैठकमा सभापतिलाई नचिढ्याउने, बाहिर पार्टी र सभापतिको प्रतिरक्षा नगर्ने बाहेक नेतृत्वमा तल–माथि गर्न सक्ने नेताहरूको अरू ध्यान भएको जस्तो लागेन । यो भन्दा मिनेन्द्र आफू अप्ठ्यारोमा परेको हुनाले आफ्नो निराशा अरूको टाउकोमा हाल्न थालेको हो कि भन्नुहुन्छ भने पार्टी देखिने ठाउँमा को उभिएको छ त !

एमालेमा ओलीजी फेरि अध्यक्ष हुने बाटो खुल्यो । अब भीम रावल बन्न कोही किन तयार हुने ? बरु ओलीजीलाई खुसी बनाइराख्दा मेरो पोलिटिकल करियर बनिराख्ला भन्ने होला । माओवादीमा त प्रधानमन्त्री हुनुहुन्छ, सबथोक उहाँ हुनुहुन्छ । उहाँलाई खुसी नराख्ने हो भने अरू के होला ?

व्यक्तिगत रूपमा असाध्यै राम्रो मित्रता, स्नेह र सम्मान भाव राख्नुहुन्छ, पूर्व सभामुख अग्निप्रसाद सापकोटा । मलाई कहीं न कहीं मनमा के लाग्छ भने सभामुख भइसकेको व्यक्ति आज किन पार्टीको प्रवक्ता ?

नजिकको मित्र, सुवास नेम्वाङ पार्टीको उपनेता हुँदा मलाई यस्तै मनमा लागेको थियो । मैले भनें पनि, ‘सुवासजी उपनेता बन्न सुहाउँछ त ?’ उहाँले ‘म कसरी उपप्रधानमन्त्री हुने त ? बरु पार्टी नै हेरेर बस्छु’ भन्नुभयो । उपप्रधानमन्त्री हुन नमिल्ने मान्छे उपनेता हुन कसरी मिल्छ मैले बुझेको थिइनँ ।

अब खालि पार्टीले लगाए अह्राएको काम गर्ने हो भने राष्ट्रपति हुने पनि पार्टीले लगाए अह्राएको काम हुनेभयो, उपराष्ट्रपति हुने पनि पार्टीले लगाए अह्राएको काम हो भन्ने मनोविज्ञान स्थापित हुनेभयो । त्यसो गर्यौं भने त्यो निराशा झन् चुलिएला । मैले देखेको चिन्ता यो हो ।

तर नेताहरूले त पूर्वराजालाई चुनौती भनिरहनुभएको छ नि !

ओलीजीले असाध्यै चर्कोसाथ दरबार हत्याकाण्डको कुरा उठाउनुभयो । दीपेन्द्रलाई दोष लगाएर राजा बनाउन नमिल्ने मान्छेलाई राजा बनाइयो भन्नुभयो । मलाई लाग्यो, ओली जस्तो बलियो नेताले ज्ञानेन्द्रसँग प्रतिवाद गर्नुपर्ने कारण किन आयो ?

कहीं न कहीं कम्युनिस्ट–कम्युनिस्ट मिल्न चर्को गणतन्त्रवादी देखिन त होइन ? किनकि राष्ट्रवादका नाममा त पुराना राजासँग प्रतिस्पर्धा गर्न सकिन्न । नभए बेकारमा हावामा बक्सिङ हान्नुपर्ने के छ ? बरु ज्ञानेन्द्र भन्दा त आत्मविश्वास गुमाएका हामी नेताहरू भएका कारण समस्या छ ।

सत्ता चलाउने र सत्ता चलाउन बलियो साथ दिने सबभन्दा ठूलो पार्टी कांग्रेस अनि प्रतिपक्षमा भएको एमालेले आफ्ना कामहरू संविधानको मर्म र भावना अनुसार अगाडि बढाउने हो भने ज्ञानेन्द्र कुनै चुनौती होइनन् ।

भोलिपल्ट चर्को प्रतिस्पर्धा नै गरे जसरी प्रधानमन्त्रीले बोल्नुभयो, दरबार हत्याकाण्डको फेरि छानबिन हुन्छ । फेरि छानबिन किन गर्नुपर्यो ? दरबार हत्याकाण्डको छानबिन गरेर के खन्न खोजेको हामीले ? चिहान खन्न खोजेको त होइन होला !
संवैधानिक राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत गर्नुपर्ने भए पनि यस्ता मानिस हुन् भनेर भन्नुपर्ने हुन्थ्यो होला । हामीले त्यो गर्नुपर्दैन, किनकि गणतन्त्र नै ल्याइसक्यौं । प्रधानमन्त्री र ओलीलाई सुनेपछि मलाई के चिन्ता लाग्यो भने आफूले के गर्नुपर्छ भन्ने ध्यान छैन । आफूले गर्नुपर्ने कुरामा भाषण गरिदिए पुग्या छ ।

कतिसम्म गैरजिम्मवार हुन थाल्यौं भने दाहालजी प्रधानमन्त्री हुनुभयो, बिग्रिएको अर्थतन्त्र म आएपछि राम्रो भयो भन्नुहुन्छ । जबकि उहाँ प्रधानमन्त्री हुनुभन्दा एकनिमेष अगाडि पनि उहाँ सत्तामै हुनुहन्थ्यो ।

उहाँ प्रधानमन्त्री हुनुभन्दा अगाडि उहाँले लगाए अह्राएको गर्ने साथी, उहाँको पार्टीको नेता जनार्दन शर्मा प्रभाकर देशको अर्थमन्त्री हुनुहुन्थ्यो । अनि प्रभाकर हुँदा देश डुबिसकेको थियो, प्रचण्ड आएपछि अर्थतन्त्र जोगाउन खोजें भन्न खोज्नुभएको हो ?

मेरो पार्टीको अर्थमन्त्रीले पनि अप्ठ्यारोमा परिसकेको अर्थतन्त्र जोगाएँ भन्नुभयो । सभापतिले बाहिर त बोलेको सुनेको छैन, भित्र भन्नुभयो भनेर सुने कि श्रीलंका बन्न थालेको थियो, जोगायो नि !

मैले एकछिन सोचें, डा. प्रकाशशरण महत अर्थमन्त्री हुनुभन्दा पहिला अलिक दिन चाहिं विष्णु पौडेल अर्थमन्त्री हुनुभयो, त्यसबेला दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । त्योभन्दा अगाडि त शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो त । बीचमा अलिक दिन विष्णु पौडेल हुँदा डुबिहाल्यो भनेको त होइन होला नि !

भनेको, आफ्नो पार्टीलाई निरन्तरतामा नहेर्ने, आफूभन्दा माथिको वा मुनिको साथीलाई आफ्नो निरन्तरता, पार्टीको निरन्तरतामा नहेरेर मैले चाहिं गजब गरें, अरू बाँकी सब नाशवान् थिए भन्ने बोल्दा जनताले मनमा के सोचिरहेका होलान् ?
आफूमाथि विश्वास छैन, आफ्नो पार्टीमाथि विश्वास छैन, यति अविश्वास छ कि म एक्लै चाहिं उम्किन पायो भने गजब हुन्छ भन्ने । मैले अरू पार्टीको भन्नु परेन, हाम्रै पार्टीमा पनि सत्तामा बस्ने–नबस्ने, यो समूहले त्यो समूहमा सबै जिम्मा छाडेर हिंड्ने प्रवृत्ति बढी छ । योभन्दा बढी भनें भने मिनेन्द्र रिजालले कसैको इर्ष्या गर्यो भन्ने अर्थ लाग्ला । तर आमरूपमा यो प्रवृत्ति भनेको हामी आफूमाथि नै विश्वास, भरोसा नभएको राजनीतिक नेतृत्व बन्न थाल्यौं । यस्तो राजनीतिक नेतृत्वले जुन तहको निराशा जनतामा छ, त्यसलाई सम्बोधन गर्न सक्दैन ।

जनतामा निराशा बढ्ने, नेतृत्वमा भएकाहरूले यसरी नै अनदेखा गरिराख्ने परिस्थिति त सधैं नरहला नि !

केही दिन पहिले पूर्व राष्ट्रपतिको सुविधाका लागि खर्च यति (१ करोड) हुन्छ भनेर आएको थियो । समाचार आयो, त्यसकारण उहाँहरूलाई पनि भनिहालौं भन्ने अर्थमा भन्न खोजेको होइन । हामी राजनीति गर्ने मान्छेहरूले लेखेको कानुन हो, चित्त बुझ्दैन भने फिर्ता गरे हुन्छ । तर पूर्व राष्ट्रपतिहरूका लागि त्यति पैसा खर्च गर्न सक्ने हैसियतको अर्थतन्त्र त बन्यो नि !

अर्थतन्त्रको आफ्नो कठिनाइ छ, एक होइन अनेक छन् । पूर्वाधारमा खर्च सक्ने पैसा पनि राम्रोसँग खर्च गर्न सकेका छैनौं । ६ वर्ष अगाडि २७० करोड पूँजीगत खर्च थियो, आज ४१५/४२० करोड हुनुपर्ने हो ।

तर कहिल्यै २७० करोड पनि पूँजीगत खर्च भएको छैन । ठेकेदारलाई पैसा नदिएर बसेका छौं, किनभने पैसा पुग्दैन । चालु खर्च धान्न राजस्वले नपुग्ने भएको छ । यो समस्या सजिलै जाने छैन ।

तर नेपालको अर्थतन्त्र यति ठूलो भएको छ कि मज्जाले जुरुक्कै उठेर हिंड्ने अवस्थामा छ । आजभन्दा ३२/३३ वर्ष अगाडि मुस्किलले ६/७ अर्ब राजस्व उठाउने ठाउँमा थियौं । तर २०४८ सालमा भन्दा १०० गुणा राजस्व उठाउँछौं, नोमिनल टर्म्समा । ४५ गुणा जीडीपी बढेको छ । भनेको अर्थतन्त्र मज्जाले बढेको छ । २०६२/६३ पछाडि राजनीतिमा सारा गोलमालका बाबजुद अर्थतन्त्र नयाँ बाटोमा छ ।

हिजो नहुने उत्तर–दक्षिण रेल, पानीजहाजको कुरा गरेर बसिबियाँलो गर्यौं, आज पाँच वर्ष सरकार चलाउने भनेर सम्झौता गरेका छौं । तर यो पाँच वर्षमा पूर्वाधार निर्माण कसरी गर्छौं ? कसरी पर्यटनलाई अगाडि लैजान्छौं भन्नेतिर ध्यान छैन ।
१० वर्षमा १० हजार मेगावाट बिजुली लैजान भनेर भारतसँग गरेको सम्झौताले जलस्रोतको क्षेत्र चलायमान भएको छ । यस्तो अपूर्व अवसर बनेको बेला २०८४ सम्म म के हुन्छु ? २०८४ पछि के हुन्छु ? भन्नेमा रुमल्लिएका छौं ।

आमनागरिकको निराशा कस्तो छ भने ठूलो संख्यामा मानिसहरू अवसरको खोजीमा बाहिर (विदेश) गइरहेका छन् । त्यो अवसर यहाँ सृजना गर्ने संवादमा पुग्न सक्यौं भने उनीहरू यतै थेगिएलान् नि ! त्यसमा मिहिनेत भएन ।

हामी देशभरि कार्यक्रम गर्ने भनेर हिंड्छौं, मैले आफ्नै पार्टीको कुरा नगरौं । ओलीलीले यात्रा त गर्नुभयो, तर मेचीदेखि महाकालीसम्म उहाँले यो काम नलाग्ने सरकार हो, हामी नआई केही बन्दैन भन्नुभयो । हामी चाहिं यो गठबन्धन टुट्नै दिन्नौं भनेर बसेका छौं । चार वर्ष गठबन्धनले उहाँलाई आउनै नदिने, उहाँ नआई देश नबन्ने । अनि चार वर्ष जनताले के गर्ने त !

त्यसैले मेरो चिन्ता हिजोको ज्ञानेन्द्रसँग छैन, हिजोको संविधान फिर्ता होला भन्ने छैन । मेरो चिन्ता जनता आत्तिए भन्ने भन्दा पनि आत्तिएका जनताको समस्या सम्बोधन गर्न सक्छु भन्ने आत्मविश्वास राजनीतिक नेतृत्वले गुमाउन थाल्यो ।

यसले कहाँ लैजान्छ ?

चटकी मानिसहरू ठूल्ठूला सभा, जुलूस गर्न पाउँछु भनेर हिंडेका छन् । चर्का कुरा गरेका छन् । पार्टी केही होइन, एउटै व्यक्तिले देश चलाइहाल्छु भन्ने गरेका छन् । एउटा मान्छेलाई युट्युबमा धेरै हेरिदियो, भाइरल भइदियो भने त्यसले नै पार्टी बनाउँछ भने जस्तो उत्साह पनि देखाउँछन् । यो हाम्रो समस्या कति गहिरो हो भन्ने द्योतक हो ।

हामी कहाँ एउटा चिजले झन्झट भएको छ जस्तो लाग्छ । हामी जुन लोकेसनमा बसेका छौं, तीनतिर भारत छ, एकतिर चीन छ । दुवै शक्तिशाली मुलुक हुन् ।

चीन स्थापित भइसकेको छ, भारत स्थापित हुने क्रममा छ । चाँडै दुनियाँको तेस्रो ठूलो अर्थतन्त्र हुने अवस्थामा छ । सैनिक बलमा पनि दुवै ग्लोबल फुटप्रिन्ट राखेर अगाडि बढेका छन् ।

यो दुई देशको बीचमा भएकाले हाम्रोमा ठूलो तरंग आउन गाह्रो हुन्छ । छिमेकीहरूले नेपालमा धेरै अस्थिरता नहोस् भन्ने चाहना राख्दा हाम्रा सबै झन्झटका बाबजुद अहिले भएको अर्डर टिकिराख्ने कुसन पाएको छ । हिजो राजतन्त्र वा संवैधानिक राजतन्त्र हुँदा पनि त्यो खालको कुसन थियो होला, आज गणतन्त्र हुँदा पनि त्यो कुसन होला । त्यसले तलबाट समर्थनको आधार बनाउने भन्दा पनि अनायासै राजनीतिक भूकम्प आइहाल्ला कि भन्ने चिन्ताले सताउँछ होला ।

मलाई धेरै ठूलो दुर्घटना नेपालको राजनीतिमा निम्तिन्छ भन्ने लागेको छैन । मेरो चिन्ता चाहिं ज्ञान र होश नगुमाइकन भन्ने हो भने देशको अर्थतन्त्रमा जुन सम्भावना बनेको छ, जुन सम्भावना भारत र चीनको बीचमा भएका कारण बनेको छ, जुन सम्भावना जलस्रोत, पर्यटन र पूर्वाधार निर्माणमा देखिन थालेको छ— त्यसलाई प्राप्त गर्नेतर्फ ध्यान भएन भन्ने हो ।

त्यो अवसर सदुपयोग गर्न त राजनीति ठीक हुनुपर्यो होला, राजनीति ठीक गर्ने बाटो के हो ?

यो कठिनाइपूर्ण कुरा छ । सहज देखेको छैन । जस्तो सबभन्दा चर्को गरी गठबन्धन गर्नुहुँदैन भनेर आम रूपमा बोल्ने नेताहरूले एकजनासँग बसेर गठबन्धन गर्नुभयो ।

गठबन्धनका दलहरूमा पनि कस्तो मनोविज्ञान छ भने कांग्रेसको फलाना मानिस ठीक छ, फलाना ठीक छैन । फलाना भए सहयोग गर्छौं, फलाना भए सहयोग गर्दैनौं । कांग्रेसभित्र पनि गठबन्धनको दलले फलानालाई चाहिं मान्छ होला, फलानालाई चाहिं मान्दैन होला भन्ने छ । हामी पनि यो मन्त्री चाहिं फेरिदिए हुन्थ्यो, यो चाहिं नफेरिदिए हुन्थ्यो भन्न जान्छौं ।

हुँदा–हुँदा कस्तो मनोविज्ञान छ भने ८ वटा निर्वाचन क्षेत्रमा सबभन्दा ठूलो भएको पार्टी । १८ वटा सिट जित्यो, समानुपातिकमा १४ वटा जित्यो । तर ५७ वटा प्रत्यक्ष जित्ने, ३२ वटा समानुपातिक पाएर ८९ सिट भएको पार्टीलाई के भनिरहेको छ भने, ‘बढ्ता होइन है ! तपाईंहरू मात्र हो र हामीलाई काँध थाप्ने ?’

हाम्रो नेतृत्वलाई (प्रधानमन्त्रीको पालो) अन्तिमसम्म कुर्नुपर्नेछ । त्यो कुर्दाकुर्दा एकदिन पनि प्रधानमन्त्रीले ‘तपाईंहरूले यस्तो गर्नुभयो नि, अब छोड्दिनँ’ भन्ने बहाना पाउनुहोला कि भन्ने होला ।

प्रधानमन्त्रीलाई आफ्नो पद लम्ब्याउन सकिन्छ भन्ने मनमा आउला । बीचमा माधवजी पर्नुभएको छ । उहाँलाई म सम्मान गर्छु, तर वास्तविकता त वास्तविकता हो । उहाँको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन, तर उहाँ प्रधानमन्त्री बन्ने सहमति छ ।
त्यसपछाडि हाम्रो पालो छ । एकछिन मान्नुस्, सबै सम्झौता गज्जबसँग पालना भयो । पाँच वर्षपछि के गर्ने ? फेरि गठबन्धन बनाएर चुनाव लड्ने ? अनि त्यो गठबन्धन क–कसको बीचमा हुन्छ ? क–कसको बीचमा हुन्न ? त्यो बेला उस्तै नारा खोज्ने होला ।

समानुपातिक निर्वाचन प्रणालीको राम्रो अंशलाई राख्ने र ११० लाई घटाएर ६० को आसपास बनायौं भने प्रतिनिधिसभा २२५ आसपासको हुन्छ । समानुपातिकबाट प्रतिनिधि सभामा जाने चोरबाटो बन्द गरौं ।

अर्थात् हामी बालुवाटारमै रमाउने भयौं । बालुवाटार भनेको बालकोट र बूढानीलकण्ठलाई पनि जोडेर भनेको हुँ । यहाँबाट बाहिर हामी जानु परेन । ज्यादा जानु परे, अदालतले केही गोलमाल गर्ला कि भन्ने चिन्ता गर्नुपर्ला, अख्तियारले गोलमाल गर्ला कि भन्ने चिन्ता गर्नुपर्ला । संवैधानिक परिषद्मा के हुन्छ भन्ने चिन्ता गर्नुपर्ला ।

मिडियाले लेखेको कुरामा पनि मूल नेतृत्वलाई धेरै चिन्ता भएको जस्तो लागेन । सञ्चारजगतले राम्रो लेखिदिनुस् भन्ने चाहना त होला, तर खराब नै लेखिदिनेसँग पनि चिन्ता छैन । किनभने लेखेबापत केही बिग्रिएको छैन ।

त्यसैले मैले धेरै ठूलो हल्लिने देखेको छैन । सकस आम रूपमा बढेर जाने, तर हाम्रो भूराजनीतिका कारण धेरै ठूलो राजनीतिक परिवर्तन नहुँदा भूकम्प नै पर्खिनुपर्ने हुन्छ । तर घर धरमर गर्न थाल्यो, जग हल्लिन थालेको छ, चिराहरू देखिन थालेको छ । भुइँचालो भन्दा कमले भत्काउन सक्दैन भन्ने त्यो आनन्दमा बसेर गाह्रो हुन्छ भन्ने मात्र चिन्ता हो ।

सँगसँगै के पनि भन्नुपर्छ भने हामी सत्तामा बस्नेका लागि भूराजनीति जुन अनुकूलतामा छ, त्यो कुनै दिन प्रतिकूलता भयो भने बोल्नै नसक्ने गरी मुख बन्द हुने अवस्था आउन सक्छ । किनभने यो अर्डरबाट काम हुँदैन भनेर भूराजनीतिले अर्को काँध खोज्न थाल्यो भने नास हुन्छौं हामी ।

यो भूकम्प आउनुअघि ठीक पार्ने उपाय ?

अर्थतन्त्रको सम्भावनाहरू प्राप्त गर्नेतर्फ लाग्यौं भने नयाँ संविधान र स्थिरताको लाभांश जनताले सीधै पाउन सक्छन् । राजनीतिक तहमा सामान्य गर्न सक्ने कुरा भनौं न, पहिलो संविधानको निर्वाचन भयो २०६४ सालमा । पछि संविधान बनाउन सँगै जान सक्छौं, सरकार बनाउन सक्दैनौं भन्यौं । २०७२ मा दुइटा कम्युनिस्ट पार्टी मिलेर प्रचण्ड नेतृत्वको सरकार बन्यो । त्यो बेलादेखि अहिलेसम्म धेरै छलफल भयो, दुइटा कम्युनिस्ट मिलेर जाने कि नजाने ?

अब यो टुंगो लाग्नुपर्छ । एक पटक संविधानलाई हेरौं, हाम्रो निर्वाचन प्रणालीमा झञ्झट छ । हामीले मिश्रित निर्वाचन प्रणाली अपनायौं । दलित, महिला, अल्पसंख्यक यति ठूलो संख्यामा उपस्थिति हुनु ठूलो उपलब्धि हो ।

यससँगै कांग्रेस र एमालेको आज जुन समर्थन आधार छ, भोलि कुनै पनि पार्टी बन्यो भने पनि योभन्दा ठूलो बन्ने देखेको छैन । त्यो पार्टीले पनि (११० समानुपातिक र १६५ प्रत्यक्ष गरी २७५ सदस्यीय प्रतिनिधिसभामा) बहुमत प्राप्त गर्न सक्दैन । एक्लै बहुमत प्राप्त गर्न नसक्ने भएपछि अनेक नारा दिएर पनि गठबन्धन गर्ने भयौं ।

गठबन्धन गर्ने भएपछि जनतालाई खुसी पार्नेतिर मतलब भएन । प्रचण्डजी कांग्रेससँग खुसी हुनुभयो भने कांग्रेसलाई सत्तामा बसिराख्न सजिलो हुनेभयो । ओजीलाई पनि प्रचण्डजी खुसी हुनुभयो, आनन्द भयो । प्रचण्डजीलाई दुइटा मध्ये एउटा आइहाल्छन्, पार्टी सानै भए पनि फरक परेन ।

त्यसबाट मुक्त गर्न समानुपातिक निर्वाचन प्रणालीको राम्रो अंशलाई राख्ने र ११० लाई घटाएर ६० को आसपास बनायौं भने प्रतिनिधिसभा २२५ आसपासको हुन्छ ।

समानुपातिकबाट प्रतिनिधि सभामा जाने चोरबाटो बन्द गरौं । अहिले पहिचानको समूहभित्र मधेशी समुदायमा रजगज मारवाडी समुदायले गरेको छ, आदिवासी जनजातिमा नेवार समुदायको छ । त्यसैले निर्वाचन प्रणालीलाई घच्चीसाथ परिवर्तन गरौं र प्रतिनिधि सभालाई २२५ आसपास बनाऔं ।

यसमा कांग्रेस र एमालेको स्वार्थ पनि मिल्छ । दुवै दल एक्लाएक्लै प्रतिस्पर्धा गरौं भन्ने ठाउँमा पुग्छन् । नयाँ दलले पनि कांग्रेस र एमालेभन्दा ठूलो हुन्छु भनेर फुर्ती लगाउनुभएको छ, एक्लै बहुमत ल्याउन सक्ने निर्वाचन प्रणाली बनाउन मद्दत गर्नुहोला नि !

खालि माओवादी पार्टीले एड्जस्ट गर्नुपर्ने हुन्छ । काँध फेरिराख्ने मात्र होइन, कुन बाटो हिंड्ने भनेर टुंगो गर्नुपर्छ । नभए हामी भूकम्प पर्खिराख्छौं ।

भनेपछि आजको राजनीतिक समस्याको जड निर्वाचन प्रणाली भन्न सकिन्छ ?

कुनै पनि राष्ट्रिय पार्टीले निश्चित संख्यामा महिला उम्मेदवार बनाउनै पर्नै र समानुपातिकको संख्या घटाउने हो भने एक्लै बहुमत वा बहुमत छेउछाउ पुग्न सक्छन् । त्यो अवस्थामा कांग्रेस र एमालेको जस्तो समर्थन आधार भएका दलहरू, जुन ठाउँमा भोलि माओवादी नै पुगोस्, उनीहरूलाई गठबन्धन बनाउनुपर्ने हुँदैन ।

यो अवस्थामा राजनीतिलाई नपुर्याउँदासम्म सकस व्यहोरिराख्छौं, देशले गठबन्धन व्यहोरिराख्छ, जनताको मुद्दाभन्दा बालुवाटारका बैठकहरू महत्वपूर्ण हुन्छ ।

अन्त्यमा, माओवादीसँग सहकार्यबारे कांग्रेसको नीति सधैं यस्तै रहन्छ अथवा परिवर्तन हुन जरूरी छ ?

मैले त यो गठबन्धन गर्नुहुँदैन भनेको हो । मूल नेतृत्वलाई त भन्दिनँ, तर छेउछाउमा उभिएका नेताहरूसँग भन्न मन छ, राजनीति त २०८४ सम्म होइन । २१०० साल हुँदा पनि कांग्रेसको मूल नेतृत्वमा हुनुहोला, रहीरहने चाहना होला । उहाँहरूले २१०० सालमा पार्टीको मूल नेता भएर पार्टीको नेतृत्व अर्कोलाई दिंदा देश यहाँ पुग्छ भन्ने कहीं तरंगमा पनि सोच्नुहुन्छ कि सोच्नुहुन्न ? सोच्नुपर्ला नि !

त्यो तरंग रह्यो भने कम्युनिस्टहरू एक भए पनि पनि लड्नुपर्छ भन्ने मनमा त आउला । कि यही गठबन्धन २१०० सालसम्म राख्ने हो ? सिटौलाजीले दशौं वर्ष यो गठबन्धन रहन्छ भन्नुभयो । उहाँले पनि आफ्नो टाइमलाइन हेरेरै भन्नुभएको होला । मूल नेतृत्वको छेउछाउमा भएकाहरूलाई त २१०० सालसम्म गठबन्धन बनाइराख्ने मन छैन होला नि ! छैन भने कुन बाटोमा कांग्रेस लैजान खोजेको हो परिभाषित गर्नुपर्ला नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?