+
+
विचार :

पानी-चक्रले बिथोलिंदै खेतीपाती

खासगरी, आधुनिक हुन भन्दै हामीले प्रोत्साहन गरेको खनिज ऊर्जामा आधारित भौतिक विकास, प्रकृतिको अति दोहन, उत्पादन केन्द्रित खनिज ऊर्जा, कृत्रिम रसायन र विषादीमा आधारित एकल र सफा खेती प्रणालीले हरित ग्याँस उत्सर्जन, तापक्रम वृद्धिका साथै पानी चक्रमा अनिश्चितता बढेको छ ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८० माघ २८ गते १८:०३

अहिले हाम्रो खाद्य तथा कृषि प्रणाली सबैतिरबाट संकटले घेरिएको छ । यो कृत्रिम रसायन मल, विषादी, हर्मोन र प्लाष्टिकले आक्रान्त छ । माटोको मरुभूमिकरण बढिरहेको छ भने उत्पादकत्व निरन्तर घटिरहेको छ । कृषि बजार नाफाखोर दलालको कब्जामा छ । किसानले खेती गरेर उत्पादन लागत समेत पाउन सकेका छैनन् ।

नेपाली उत्पादनको बजार अन्य देशको प्रतिस्पर्धी कृषि उत्पादनले खोसेको छ । आयात र किसानका स्थानीय उत्पादनको बजार नियमन गर्नुपर्ने राजनैतिक तथा प्रशासनिक नेतृत्व यसको मूकदर्शक बनेको छ ।

हामी एकातिर मान्छे बेच्ने देशमा नाम दर्ज गराउँदै विप्रेषणको खेती भित्र्याउँदै छौं भने अर्कोतर्फ यसैबाट आएको आम्दानीले हाम्रो खाना र घरबार चलेको छ । लाग्छ, नेपाली राज्यसत्ता निरीहता, निकम्मापन र पाखण्ड कोरल्न ओथारो बसेको छ ।

विकासे हुन गरिएको प्रदूषण, वातावरणीय ह्रास र समग्र प्रकृतिको उत्ताउलो विनाशसँगै थपिंदै गएका वातावरणीय संकटमा हावा, माटो, घामपानी र जैविक सन्तुलनमा आएको फेरबदलको प्रभाव सतहमै आएका छन् । यो क्रम निरन्तर बढिरहेको छ । यस्ता फेरबदलमध्ये धेरै मानिसका आफ्नै उत्ताउला कर्मले प्रकृति र जलवायुमा भइरहेका परिवर्तन हुन् । तीमध्ये विलाउँदै गरेको हिउँदे झरी एक हो ।

कृष्णप्रसाद पौडेल

हिउँदे झरी हाम्रो भूगोलको वार्षिक पानी चक्रको एउटा महत्वपूर्ण अंश हो । यो झरीसँगै यस भूभागमा समग्र प्राणीको वार्षिक खानाको बन्दोबस्त गर्ने प्राकृतिक व्यवस्था सुरु हुन्छ । मध्य हिउँददेखि नै सूर्य उत्तरतर्फ ढल्किन सुरु गर्छ ।

यसको लगत्तै सुरु हुने बसन्तसँगै सूर्यको ताप र हिउँदे झरीको चिस्यानले बोट-बिरुवाका पालुवा पलाउन, फूल फुल्न, बीउ उम्रन माटोमा हुने सूक्ष्म जैविक प्रक्रिया सुरु हुन्छ । माटोमा चाहिने यस्तो चिस्यानको बन्दोबस्त माघे झरीले सम्भव बनाउँछ । यो नै उत्तरी गोलाद्र्धको सबै प्राणी जगतको खानाको व्यवस्था मिलाउने प्राकृतिक प्रणाली हो ।

हिउँदे झरी वर्षायाममा जस्तो बंगालको खाडीबाट उत्पन्न हुँदैन । यो झरी भूमध्यसागर र अरबसागरबाट उत्तरतर्फ लाग्ने बादल नेपालको हिमालको चिसोमा ठोक्किएर हुने गर्छ । यो हाम्रो समग्र भूभागको हिउँदे खेतीपातीका लागि चाहिने पानीको मुख्य स्रोत हो ।

यो नेपालको पश्चिम क्षेत्रबाट नेपालमा प्रवेश गर्ने हुँदा तुलनात्मक रूपमा सुख्खाग्रस्त उत्तर-पश्चिम नेपालको लागि अत्यधिक महत्वको पानी चक्र समेत हो । वर्षात्मा पानी कम पर्ने क्षेत्र भएको र हिउँदमा झरी समेत नहुँदा यो क्षेत्र छिट्टै खडेरीको चपेटामा पर्ने गरेको अनुभव छ ।

कता विलायो झरी ?

नेपालमा हिउँदका ३ महिनामा सरदर २०, २१ दिन वर्षा हुने गरेको तथ्याङ्क छ । हिउँदभरिमा ३-४ पटकसम्म हुने यस्तो झरी केही वर्ष अघिसम्म माघ महिनामा ८-१० दिनसम्म हुने गथ्र्यो । पछिल्ला केही वर्षमा ठाउँ हेरी ८–१० दिन मात्र हिउँदे झरी हुने गरेको थियो । तर गत वर्ष यस्तो झरी एक दिनमा टर्‍यो भने यो वर्ष हिउँद सकिनै लाग्दा पश्चिम नेपालमा केही पानी परेको छ ।

वर्षा मापन गरिएका सरदर तथ्याङ्कले समेत हिउँदे झरी घट्दै गएको देखाउने गरेको छ । तथ्यांकले विगत पाँच दशकमा सरदरमा वार्षिक हिउँदे झरी २० प्रतिशतले घटेको देखाउँछ भने गएको दुई दशकमा निरन्तर कम हुँदै गएको छ ।

यसबाट सजिलै भन्न सकिने कुरा के हो भने हिउँदे झरी निरन्तर घट्ने क्रममा छ । हुनत हिउँदे झरीको अनुभव भौगोलिक क्षेत्र, धरातल र यसको अवस्थिति अनुसार फरक फरक हुने गर्दछ ।

केही महिना अघि मात्र जल तथा मौसम विभागले यस वर्ष पर्याप्त हिउँदे झरी हुने प्रक्षेपण गरेको थियो । तर पानी पर्ने छाँट नदेखेपछि यसलाई सच्याउँदै यस्तो प्रक्षेपणको समीक्षा गरिने जनाएको थियो । यस्तो समीक्षा गर्ने भनेको के हो भनेर धेरै स्पष्ट नभए पनि यस वर्ष हिउँदे झरी नहुनुको कारणबारे यसका विज्ञहरू समेत अलमलमा भएको तर्फ इङ्गित गर्छ । यसको सोझो अर्थ के हुन्छ भने परम्परागत रूपमा गरिने गरेको प्रक्षेपणका आधारहरूमा मात्र अब धेरै भर पर्न नसकिने भएको छ । यो कुराले हाम्रो जस्तो आकासे पानीका भरमा खेती गर्नुपर्ने किसानका लागि थप जोखिमको सन्दर्भ हो ।

हिउँदे मात्र होइन भदौरे झरी समेत विलाउँदै गएको छ । यी झरी अहिले कता र किन विलाए ? सबैतिर चासो बढेको छ । जलवायुमा आएको परिवर्तन एउटा महत्वपूर्ण कारक हो भन्न भने कठिन छैन ।

खासगरी, आधुनिक हुन भन्दै हामीले प्रोत्साहन गरेको खनिज ऊर्जामा आधारित भौतिक विकास, प्रकृतिको अति दोहन, उत्पादन केन्द्रित खनिज ऊर्जा, कृत्रिम रसायन र विषादीमा आधारित एकल र सफा खेती प्रणालीले हरित ग्याँस उत्सर्जन, तापक्रम वृद्धिका साथै पानी चक्रमा अनिश्चितता बढेको छ ।

वर्षा मौसममा उखरमाउलो गर्मी हुन थालेको छ भने हिउँदमा चिसो बढ्ने क्रम तीव्र छ । हिमालमा हिउँ जम्न छोडेको छ । उल्टै यो पग्लिने क्रम तीव्र छ । एशियाकै पानीको मूल स्रोत मानिएको हिमाल पग्लिंदा सबैभन्दा छिटो यसको असर हाम्रा नदी प्रणालीमा परेको छ । यसले नेपालको विकासको प्राथमिक क्षेत्र भनिएको जलविद्युत् समेत प्रभावित हुन थालेको छ ।

हिउँदे मात्र होइन भदौरे झरी समेत विलाउँदै गएको छ । यी झरी अहिले कता र किन विलाए ? सबैतिर चासो बढेको छ । जलवायुमा आएको परिवर्तन एउटा महत्वपूर्ण कारक हो भन्न भने कठिन छैन ।

महाभारत शृङ्खलामा पानीको पूर्ण पुनः भण्डारण नभएको धेरै वर्ष भइसक्यो । यसका कारण हिउँद लाग्दा नलाग्दै पानीका मुहान सुकेका छन् । धेरै खोला खोल्सामा हिउँदमा पानी नभएको वर्षौं भएको छ । यसको प्रभावले पहाडमा कतै बस्ती नै खाली भएका छन्, कतै खेतीयोग्य जमिन बाँझै पल्टेका छन् भने चुरे भावर र तराईमा जलस्रोतको अभावसँगै मरुभूमिकरणको जोखिम बढेको छ ।

यी सबैको जैविक र वातावरणीय सन्तुलनमा गहिरो प्रभाव परेको छ । स्थानविशेषमा यसको मसिनो लेखाजोखा भइनसके पनि पानी विना जैविक प्रक्रिया हुँदैन । पानीको अभावमा मानिस मात्र हैन सबै जीव बसाइँसराइ गर्न बाध्य हुन्छन् । यसले समग्र जैविक प्रक्रिया खल्बलिन्छ । पानी घट्दै जाँदा हाम्रो आफ्नै खानाको बन्दोबस्तमा पर्ने दूरगामी प्रभाव यसैबाट समेत आकलन गर्न सकिन्छ ।

बढिरहेको तापक्रम, अप्रत्याशित र प्रक्षेपण गर्न समेत नसकिने गरी पानी चक्रमा आएको फेरबदल र जैविक विविधताको उत्ताउलो दोहनले वातावरणीय तथा खाद्य संकट चुलिंदै गएको छ । यी कुरालाई समयमै सम्बोधन गर्न नसके आगामी दिनहरू थप संकटग्रस्त हुँदै जाने कुरा आकलन गर्न कठिन छैन ।

खासगरी, नेपालमा हिउँ पग्लिने र हिउँदे खडेरीसँगै बढ्ने खाद्य अभाव आम किसान समुदायको जीवनपद्धतिको प्रमुख चुनौतीको रूपमा देखा परिरहेको छ । हुनत यो हाम्रो मात्र चुनौती होइन । दक्षिण एशिया नै विलाउँदै गएको झरीबाट प्रभावित छ ।

यो कुरा विश्व जलवायु सम्मेलन, विश्व खाद्य सम्मेलन, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्च र संयुक्त राष्ट्रसंघमा समेत चासोका साथ उठ्ने गरेको छ । यसको सम्बोधनमा देशीय, क्षेत्रीय र विश्वव्यापी प्रयास समेत भइरहेका छन् । तर हाम्रोमा भने यस्ता प्रयासहरू गोष्ठी, भेला र कागजमा धेरै र अभ्यासमा नगन्य मात्रामा भएका छन् । यस्तो हुनुमा नीतिनिर्माता, योजनाविद् र बौद्धिक जमातको विषयको गम्भीरता माथि विवेक नपुग्नु हो । सँगै, नागरिक समाज र अभियानको समेत उपयुक्त दबाब पुगेको छैन । यसलाई सम्बोधन गर्न नेतृत्व गर्नुपर्ने राजनैतिक नेतृत्व सत्ताका वरिपरि भागबन्डामा बरालिएको छ भने स्थायी सरकार अनिर्णयको बन्धक भएको छ ।

अब के गर्ने होला ?

यी सबै कुराले हिउँदमा झरी विलाउँदै जाँदा हाम्रो समग्र जैविक प्रणालीमा गडबडी आएको छ र थपिने क्रम जारी छ । योसँगै, मूलतः आकासे पानीमा भर परेको नेपालको कृषि प्रणाली थप तहसनहस हुँदै जाने देखिन्छ । मिचाहा प्रजाति, रोग कीराको प्रकोप बढेको छ । वस्तुभाउको चरन, खर्क र घाँस मात्र हैन प्रजनन् क्षमता र उत्पादकत्व समेत घट्दै गइरहेको छ । जैविक गुण, प्रजाति र जैविक क्षेत्र सबै तहमा जैविक विविधताको व्यापक ह्रास भएको छ ।

यी सबै कुराबाट धेरै नै प्रभावित हामी नेपाली धेरै सामाजिक, सांस्कृतिक र वातावरणीय जटिलताबाट गुज्रिरहेका छौं । यी सबै कारणहरूले हावा, पानी, माटो र मानव स्वास्थ्यमा संकटहरू थपिंदै गएका छन् । हिउँदे झरी विलाउन थालेसँगै नेपालको हिउँदे र बर्खे दुवै खेतीपाती साथै जैविक विविधताको व्यापक ह्रास भएको छ ।

खासगरी, चैते धान, गहुँ, जौ, फापर, हिउँदे आलु, गेडागुडी र तेल बाली उत्पादनमा व्यापक असर परिरहेको छ । वस्तुभाउको उत्पादन धेरै नै प्रभावित भएको छ । खेती प्रणाली र पानी चक्रको अन्तरसम्बन्ध पुनस्र्थापित गर्न नसके यसले थप अन्योल र जोखिम बढाउनेछ । त्यसै त खेतीपाती थाम्न नसकेर पलायन भइरहेको किसान समुदायले यस्तो जोखिम लिनसक्ने कुरा आउँदैन । साथै भविष्यमा यस्ता जोखिम थप बढ्नेछन् । यसले खाद्य चुनौती थप जटिल हुनेछ ।

जलवायु, वातावरणीय र मानव स्वास्थ्य संकटहरूको सम्बोधन गर्न खेतीपातीका साथै विकासका अन्य आयामलाई प्रकृतिसम्मत दिगो विकासको दृष्टिकोण र ढाँचा पुनर्निर्माण गर्न आवश्यक देखिएको छ ।

विलाउँदै गएको हिउँदे झरीलाई पानी–चक्रमा आएको महत्वपूर्ण फेरबदलको रूपमा लिएर नेपालको कृषि तथा खाद्य प्रणालीको दृष्टिकोण र ढाँचामा तत्कालै फेरबदल गर्नुपर्ने भएको छ । यसो नगरे अहिले अपनाइएको हरित क्रान्तिमा तथाकथित आधुनिक कृषि प्रणालीको जैविक कृषि प्रणालीमा रूपान्तरण गर्ने संक्रमणकालीन र दीर्घकालीन ढाँचा तत्कालै बनाउनुपर्नेछ । तत्कालै विलाएको हिउँदे झरीको प्रभावको आकलन गरी यसलाई सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।

यसका साथै सामाजिक तथा भौतिक विकासका सबै आयामको वस्तुनिष्ठ समीक्षाका आधारमा परिमार्जन गर्ने अठोट अपरिहार्य भएको छ । दीर्घकालीन रूपमा प्रकृतिसम्मत खाद्य प्रणालीका साथै दिगो विकासका मापदण्ड विना शर्त लागू गर्नुको अर्को कुनै विकल्प छैन । खासगरी, परिवर्तित सन्दर्भमा खाद्य सम्प्रभुताको दृष्टिकोण र ढाँचामा आधारित दिगो कृषि प्रणालीको पुनर्निर्माण गर्न भइरहेको ढिलाइले समग्र खेती तथा खाद्य प्रणालीमा थप प्रतिकूल प्रभाव परिरहेको छ भन्ने बुझाइमै सबै तहमा स्पष्टता चाहिएको छ ।

अर्को अर्थमा; जलवायु, वातावरणीय र मानव स्वास्थ्य संकटहरूको सम्बोधन गर्न खेतीपातीका साथै विकासका अन्य आयामलाई प्रकृतिसम्मत दिगो विकासको दृष्टिकोण र ढाँचा पुनर्निर्माण गर्न आवश्यक देखिएको छ । यसका लागि विकासको दृष्टिकोण र ढाँचा, स्थानीय पर्यावरणीय विशेषता, पानी चक्र, कृषि जैविक विविधताको बुझाइलाई उन्नत बनाउँदै प्रभावकारी नीतिगत हस्तक्षेप बढाउन सबै तहमा उच्च नैतिक बल चाहिएको छ ।

अन्त्यमा, अनुहारमा लागेको दाग ऐना पुछेर हटाउने सपनामा अभ्यस्त हाम्रो समाजको नेतृत्व वर्गले यी सबै कुराको आत्मबोध गरी यस्तो दूरगामी प्रभाव सच्याउन निर्णायक बाटो पहिल्याउन कति जमर्को गर्ला ? यसैमा निर्भर हुनेछ हाम्रो अनिश्चित भविष्यको नियति !

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?