+

गर्भावस्थामा गरिने फिटल इकोकार्डियोग्राफी के हो ?

२०८० माघ  २९ गते १२:५३ २०८० माघ २९ गते १२:५३
गर्भावस्थामा गरिने फिटल इकोकार्डियोग्राफी के हो ?

गर्भावस्थामा धेरै कुराको परीक्षण गर्नुपर्छ । परीक्षणबाट नै गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । शिशुको शरीरका अंगहरु कतिको विकसित भइरहेको छ ? भन्ने थाहा पाउने परीक्षणमध्ये एक हो फेटल इकोकार्डियोग्राफी

अल्ट्रासाउण्ड जस्तै प्रविधिबाट गर्भवती महिलाको पेटभित्रको बच्चाको मुटु परीक्षण गर्ने प्रविधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ । यसले गर्भवती महिलाको गर्भमा हुर्किरहेको भ्रुणको मुटुलाई प्रष्ट देखाउँछ । मुटु स्वास्थ्य, यसको विकासको परीक्षण गर्ने यो प्रविधिले भ्रुणको मुटुको संरचना र कार्यक्षमतालाई विस्तृत रुपमा अवलोकन गर्न मद्दत गर्छ । मुटुमा कुनै प्रकारका चालसम्बन्धी गडबडीलाई पनि पहिचान गर्न यस प्रविधिले मद्दत गर्न सक्छ । गर्भभित्रको बच्चाको मुटुको समस्यालाई समयमै पहिचान गर्न, उचित उपचारमा सहयोग पुर्‍याउनुका साथै पछि आउन सक्ने जोखिमको पूर्वतयारी गर्न पनि सहयोग पुर्‍याउँछ ।

यी अवस्थामा गराउनैपर्छ

निम्न लिखित अवस्थामा गर्भवती महिलाको बच्चाका फिटल इकोकार्डियोग्राफी गर्नुपर्छ । ताकि बच्चाको मुटुमा कुनै किसिमको जटिलता नदेखिओस् ।

-गर्भवती महिलामा दीर्घकालीन रोग भएमा जस्तै- मधुमेह, उच्च रक्तचाप, थाइराइड, ग्ल्याण्डका समस्या भएमा मुटुको धड्कनमा असर हुनसक्छ । यस्तोमा यो परीक्षण गराउन सल्लाह दिइन्छ ।

-लागूपदार्थ वा विषजन्य औषधिको प्रयोग

-अधिक मात्रामा धुम्रपान वा रक्सी सेवन गर्ने कुलत भएमा

-बच्चा गर्भमा बसेको पहिलो एकदेखि दुई महिनामा उच्च ज्वरो आउने, डाबर आउने र हाडजोर्नी दुख्ने समस्या भएमा

-आमाको उमेर १६ वर्षमुनि वा ३५ वर्षमाथि भएको वा आमामा कुपोषण (जस्तै) धेरै कम तौल वा चाहिएको भन्दा अत्यधिक तौल भएको खण्डमा

-आमामा स्वप्रतिरक्षी (सेल्फ इम्युन) रोग भएमा

-पहिला जन्मेको बालबालिकामा मुटुका जन्मजात समस्या भएमा वा अंगभंग भएर जन्मेका वा कुनै अन्य जन्मजात रोग बच्चा भएमा

-हाल गर्भमा रहेको भ्रूणको अन्य अल्ट्रासाउण्ड गर्दा अरु अंगमा केही त्रुटि भेटिएमा वा कुनै रोग हुनसक्ने आशंका भएमा

-परिवार वा अन्य नजिकका नातागोतामा मुटुरोगको इतिहास भएमा वा कसैको सानै उमेरमा अचानक मृत्यु भएको इतिहास भएमा

-गर्भमा रहेको बच्चाको धड्कनमा अनियमितता भेटिएमा

कहिले गर्ने ? कति लाग्छ शुल्क ?

सामान्यतया फिटल इकोकार्डियोग्राफी गर्भावस्थाको १८ देखि २० हप्ताको बीचमा गरिन्छ । स्वप्रतिरक्षा रोग हुने गर्भवतीको शिशुमा मुटुको चालको गडबडी हुने जोखिम हुन्छ । यसलाई समयमै पत्ता लगाई उपचार गर्दा यसको नतिजा राम्रो हुने हुँदा त्यस्ता महिलाले १६ हप्तादेखि नै फिटल इकोकार्डियोग्राफी गराउन सकिन्छ ।

यो परीक्षण शुल्क सरकारी अस्पतालमा दुई हजारदेखि २५ सयसम्म लाग्छ । निजी अस्पतालअनुसारको शुल्क तोकिएको हुन्छ ।

परीक्षण सामान्य स्क्यान जस्तै सरल

भ्रूण इकोकार्डियोग्राफी सामान्य स्क्यान जस्तै गरी गरिन्छ, जसमा गर्भवती महिलालाई खाना खाएर आउन सल्लाह दिइन्छ । यो प्रक्रिया गर्दा ४० देखि ४५ मिनेट लाग्छ । गर्भमा रहेको बच्चाको अवस्थाअनुसार यसले कम वा बढी समय लिन सक्छ । भ्रूण इकोकार्डियोग्राफी अनुभवी चिकित्सकबाट मात्र गराइन्छ ।

भ्रण इकोकार्डियोग्राफीको फाइदा 

-रिपोर्टमार्फत बच्चा स्वस्थ छ कि छैन भन्ने थाहा पाउन सकिन्छ ।

-गर्भमा रहेको बच्चाको मुटुको समस्या पत्ता लगाई उपचार कसरी हुन्छ भनेर निर्क्योल गर्न सकिन्छ ।

-शिशुको मुटुमा कुनै किसिमको समस्या देखिएमा बच्चाको मुटुको चिकित्सका साथै नवजात शिशुको आईसीयू (एनआईसीयू)को सुविधा भएको अस्पतालमा प्रसूति गराउन सल्लाह दिइन्छ ।

फिटल इकोकाडियोग्राफी कसले गर्छ ?

हाल नेपालमा पेडियाट्रिक कार्डियोलोजिस्ट एवं रेडियोलोजिस्ट चिकित्सकले उक्त सेवा प्रदान गरिरहेका छन् । विकसित देशहरुमा भने विशिष्ट चिकित्सकको टोलीले फिटल कार्डियाक इन्टर्भेन्सनमार्फत भ्रूणको मुटुको जन्मजात जटिल समस्यालाई गर्भमै निवारण गर्न सक्छन् ।

कार्डियाक इन्टर्भेन्सनमार्फत शरीरमा सफा अक्सिनयुक्त रगत जाने कडा भएका भल्बलाई बेलुनको सहायताले खोलिदिन्छ ।

साथै, अत्यन्त जटिल किसिमका मुटुरोग जसमा मुटुको माथिल्लो कोठाको भित्तामा प्वाल बनाएर ठूलो बनाइन्छ ।

कतिको सुरक्षित हुन्छ ?

यो परीक्षणमा कुनै जोखिम हुँदैन । किनकि यसमा कुनै किसिमको रेडिएसन प्रयोग हुँदैन । यो गर्दा दुखाइ पनि खासै हुँदैन ।

चिकित्सकको सल्लाहमा मात्र गरिन्छ यो परीक्षण

गर्भमा रहेको शिशुको परीक्षण चिकित्सकको सल्लाहमा मात्र गरिन्छ । बिना चिकित्सकको सल्लाह यो परीक्षण गैरकानुनी मानिन्छ ।

गर्भावस्था डा. अंशु शाक्य फिटल इकोकार्डियोग्राफी
डा. अंशु शाक्य
लेखक
डा. अंशु शाक्य
बाल मुटुरोग विशेषज्ञ

डा. शाक्य हाल काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल अस्पतालको पेडियाट्रिक कार्डियोलोजी विभागमा रजिस्ट्रार पदमा कार्यरत छिन् । उनले पेडियाट्रिक (बालरोग) विषयमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९६१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय