+

अचानक कानमा कीरा पस्यो, के गर्ने ?

२०८० फागुन  ७ गते १८:४० २०८० फागुन ७ गते १८:४०
अचानक कानमा कीरा पस्यो, के गर्ने ?

कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा । कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो असह्य हुन्छ ।

कानमा कीरा पस्यो भने के गर्ने त ? सानो चिम्टीले च्यापेर निकाल्ने कि सिन्काले कोट्याउने ? तेल हाल्ने कि ? मान्छेमा द्विविधा हुन्छ । यस्तो द्विविधा त्यसबेला बढी हुन्छ, जब बालबच्चा वा नवजात शिशुको कानमा कीरा पस्छ । उनीहरु छटपटाउँछन्, रुन्छन् । यस्तो अवस्थामा के गर्ने, के नगर्ने ? अलमल हुन्छ ।

कानमा कीरा पस्यो भने धेरै आत्तिनु भने पर्दैन । बरु केही घरेलु विधि अपनाउन सकिन्छ । यसको सबैभन्दा सरल र प्रचलित विधि भनेको जुन कानमा कीरा पसेको छ त्यसमा तेलको केही थोपा हाल्ने हो ।

जब कानमा तेलको थोरै थोपा हालिन्छ, कीरा त्यसमा लपेटिन्छ । हिंड्न, उड्न सक्दैन । त्यसपछि कीरा पसेको कानतर्फ ढल्किएर टाउकोलाई सुताउनुपर्छ । यसो गर्दा कानभित्रको कीरा निस्कन सक्छ ।

कीरा कानको बाहिरी सतहमा छ, आँखाले देखिने ठाउँमा छ भने सावधानीपूर्वक आफैंले पनि निकाल्न सकिन्छ । यस्तोमा कानलाई भुईंतिर झुकाएर, हल्लाएर ट्वीचरले बाहिर निकाल्न सकिन्छ ।

धेरै जना बिरामीले घरमै त्यो कीरालाई निकाल्न कोसिस गरेर कानको जालीमा प्वाल पारेर, संक्रमण बनाएर अस्पताल आउने गर्छन् । कीरा आँखाले देख्ने ठाउँमा छैन, भित्र पसेको छ भने घरमा निकाल्ने कोसिस गर्नु हुँदैन ।

अस्पतालमा गएर चिकित्सकको निगरानीमा कीरालाई निकाल्न सजिलो हुन्छ र पछि केही समस्या पनि हुँदैन । कीराको साथै कानभित्र कहिलेकाहीं सिन्का वा बर्डको कपास पनि अड्कने गर्छ, यस्तो अवस्थामा  पनि चिकित्सकको निगरानीमा निकाल्नुपर्छ ।

बालबालिकाहरू खेलौनासँग धेरै खेल्ने गर्छन् । यस्तोमा कतिपय बालबालिकामा खेलौना वा घडीको साना ब्याट्री कानमा पस्ने समस्या पनि हुन्छ । कानमा त्यस्तो ब्याट्री पस्यो भने त्यो इमरजेन्सी अवस्था हो ।

ब्याट्री कानमा पस्यो र समयमा निकालिएन भने त्यसमा भएको रसायन निस्किएर संक्रमण हुने, नसामा समस्या हुने समेत हुन्छ । त्यसैले ब्याट्री अड्किएको खण्डमा तुरुन्त अस्पताल गएर चिकित्सकको निगरानीमा त्यसलाई निकाल्नुपर्छ ।

कानेगुजीले कानको सुरक्षा गर्छ

अभिभावकले बालबालिकाको कानमा कानेगुजी देखे भने फोहोर भन्दै निकाल्दिने गर्छन् । कानेगुजी निकाल्नका लागि कानभित्र कुनै तीखो वस्तु पसाउनु हुँदैन यसले अन्य समस्या निम्त्याउन सक्छ । त्यसलाई निकाल्नु जरुरी छैन । धेरै अवस्थामा कानको कानेगुजी आफैं बाहिर निस्किन्छ ।

कानेगुजी कानमा आफैं उत्पादन हुन्छ र यसका कैयौं फाइदाहरू समेत हुन्छ । यसले धुलो तथा अन्य बाह्य पदार्थ र कीटाणुहरूलाई समेत आफूमा समायोजित गर्छ र कानभित्रको संवेदनशील क्षेत्रमा जान दिंदैन । कानेगुजीमा कानमा संक्रमण हुनबाट जोगाउँछ ।

इयरबर्डको प्रयोगले कानगुजी निकाल्नु पनि सुरक्षित नहुन सक्छ

इयरबडले कान सफा गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर लगातार इयरबडले कानेगुजी निकाल्ने प्रयास गर्दा केही कानेगुजी उल्टै कानको भित्री भागतर्फ ठेलिन्छ । जसकारण कानको जालीको नजिकै गएर कानेगुजी जम्मा हुन थाल्छ । यसले कानको जालीमा संक्रमण हुने तथा चोट पुग्ने खतरा हुन्छ ।

अड्किएको वस्तु समयमा ननिकाल्दा समस्या निम्तिन सक्छ

धेरैको बानी दुखाइ भए पनि सहेरै बस्ने बानी हुन्छ । फलस्वरुप कानभित्र कुनै वस्तु पसेर ननिकाल्दा भित्रै कुहिने, कान पाक्ने, दुखाइ बढ्ने, रगत आउने र कानको जाली नै फुट्ने सम्भावना रहन्छ । कानको जाली फुटेपछि कान नै नसुन्नेसम्मको जोखिम हुनसक्छ ।

कानमा कीरा डा.अरुण केसी स्वास्थ्य
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय