+
+

तन्नेरीको रोजाइ : क्याफे, कफी र किताब 

शहरमा यस्तो क्याफे बढ्दैछन्, जहाँ तन्नेरी पुस्ता कफीको चुस्कीसँगै पुस्तक पढ्न जान्छन्

आभास बुढाथोकी शंकर गिरी आभास बुढाथोकी, शंकर गिरी
२०८० फागुन २८ गते ८:१०

फागुन महिनाको एक साँझ । व्यस्त बजारको कोलाहलदेखि केही पर । शंखमूलस्थित, ‘उजामा कफी एण्ड बेकरी विइथ लाइब्रेरी’को एकछेउ बसेकी छन्, २० बर्षीया प्रेक्षा मल्ल । बाफ उडिरहेको अमेरिकानो (कफीको एक प्रकार) लिएर किताबी संसारमा डुबेकी छन् ।

प्रेक्षाका लागि किताबी संसार त्यो हो, जहाँ उनको बेग्लै दुनियाँ छ । उनी त्यहाँ ठूलो योद्धा, रहस्यमय स्वभावको जासुस वा बन्न सक्छिन् कसैकी प्रेमिका । त्यो दुनियाँमा छैन शहरको कोलाहल, छैन गाडीको कर्कश लाग्दो आवाज । छैनन्, दैनिक जीवनका चिन्ताहरू । छन् त केवल पुस्तकका पात्रहरू । रोचक कथा, रहस्यमय घटनाहरू । पुस्तकका पानासँगै पात्रका जीवनमा आउने उतारचढाव छन् । जसै–जसै पुस्तकका पाना पल्टिन थाल्छन्, उनी ती पात्रहरूसँग जोडिन्छिन् । उनीहरूसँगै हाँस्छिन्, उनीहरूसँगै दुःखी हुन्छिन् ।

उनी आफैंमा कफी लभर । साथमा मन पर्ने पुस्तक भए उनलाई अरू केही चाहिंदैन । क्याफेमा कफी पिउँदै किताब पढ्दा बेग्लै संसारमा पुग्छिन्, उनी । यस्तो बेलामा उनको लागि सबैभन्दा मिठो भइदिन्छ, अमेरिकानोको महक । ‘कफी पनि डार्क होस्, विइथ नो सुगर’ कफी र पुस्तकसँगको अनुभव साट्दै सुनाउँछिन्, ‘यस्तो बेला साथमा मन पर्ने पुस्तक भइदिए, केही चाहिंदैन ।’

कफी र पुस्तक प्रेक्षाका मनपर्ने कुरा हुन् । पुस्तक पढ्नै भनेर महिनामा दुई चार पटक क्याफे पुगिरहेकी हुन्छिन्, उनी । दुईदेखि तीन घन्टा पुस्तक पढेरै बिताउँछिन् । कफी पिउँदै किताब पढ्नु एक प्रकारको लत नै हो, उनका लागि । आफ्नो दैनन्दिनको व्यस्तताबाट फुर्सद मिल्नासाथ क्याफेमा पुगिहाल्छिन्, उनी ।

प्रेक्षा मल्लका लागि कफी र पुस्तक मनप्रिय कुरा हुन्

जब कफी लिएर पुस्तकका पाना पल्टाउन थाल्छिन्, पुस्तकका पात्रसँग साक्षात्कार हुन पुग्छिन् । पुस्तकमा लेखिएको शब्दले मस्तिष्कमा पात्रको चित्र नै बनिसक्छ । पुस्तकका शब्द–शब्दबाट पात्रका भावनासँग जोडिन्छिन् ।

‘कहिलेकाहीं पुस्तक पढ्दै जाँदा क्यारेक्टरसँग अट्याचमेन्ट नै भइसक्छ’ पुस्तकको दुनियाँका कुराहरू सुनाउँछिन् उनी, ‘कुनै पात्र त महिना दिनसम्म पनि मस्तिष्कबाट जाँदैनन् । पात्रहरूसँग एक खालको भावनात्मक सम्बन्ध बनिसकेको हुन्छ । कहिलेकाहीं पात्रहरूसँग यस्तो अट्याचमेन्ट भइदिन्छ कि किताब नै नसकियोस् भनेर मनमनैै भनिरहेकी हुन्छु ।’

हालसालै उनलाई ‘स्केर्स लाइक विइग्स्’ पुस्तक पढ्दा यस्तै भयो । यो पुस्तक उनले क्याफेमै बसेर पढेकी थिइन् । पुस्तककी प्रमुख पात्र हुन्छिन्, १६ वर्षकी इभा ली । टिनएजकी ती इभा एक दिन आगलागीमा पर्छिन् र उनको शरीरको भाग आगोले जल्छ । त्यसपछि उनले शरीरलाई समाजले गर्ने जजमेन्टको सामना गर्नुपर्छ । वास्तविक संसारमा जुध्न उनले छुट्टै संघर्ष गर्छिन् । पुस्तकमा उनी यति डुबिन् कि, पूरै पुस्तक पढुञ्जेल उनले आफूलाई नै इभा मानेर पढिरहेकी थिइन् । इभाले समाजसँग लड्न गरेको संघर्ष स्वयं आफूले नै अनुभूत गरिन् ।

यस्ता थुप्रै पात्र र पुस्तक छन्, उनीसँग अट्याचमेन्ट हुन पुगेका । केही समयअघि क्याफेमै बसेर चेतन भगतको ‘हाफ गल्फ्रेन्ड’ पढ्दा पनि उनलाई यस्तै भएको थियो ।

अंग्रेजी फिक्सन रुचाउने उनलाई कफी पिउँदै पुस्तकको संसारमा हराउन औधी मन पर्छ । उनलाई पुस्तक पढ्नु कुनै एड्भेन्चर भन्दा कम लाग्दैन । त्यसमा अझ रोमाञ्चक थपिदिने काम गर्छ, कफीले । त्यसैले कफी अघि राखेर पढ्न रुचाउँछिन् । ‘कफीले एकाग्रता बढाउँछ, दिनभर ताजगी राख्छ, घन्टौं पढ्न बस्दा पनि बोरिङ हुँदैन’, उनले भनिन् ।

उजामा क्याफेकै एक कुनामा बसेर चार्ली बुकोसीको ‘अन ड्रिङ्किङ’ पढ्दैछन्, शाहिल पोखरेल । क्याफेमा गुञ्जिएको ज्याज साउण्डको मधुर धुन र तातो अमेरिकानो पिउँदै पुस्तक भित्र हराएका छन्, उनी ।

रक्सीको नशा सम्बन्धमा लेखिएको यो पुस्तक पूरै अल्कोहोलिक पात्रबारे छ । रक्सीको नशामा डुबेको पात्रका जीवनमा आउने रमाइला किस्साहरू र आइपर्ने अनेक संकट, मोडहरूबारे पुस्तक केन्द्रित छ । त्यही पुस्तकमा डुबुल्की लगाउँदैछन्, उनी । उनलाई साथ दिइरहेको छ, तातो अमेरिकानोले ।

उजामा क्याफेमा चार्ली बुकोसीको ‘अन ड्रिङ्किङ’ पढ्दै, शाहिल पोखरेल

अक्सर उनी क्याफेमा पुस्तक पढ्दै गरेको भेटिन्छन् । यसो भन्दा पनि हुन्छ, किताब पढ्नकै लागि उनी क्याफे पुग्छन् । ‘घरमा पुस्तक सधैं पढ्ने मुड बन्दैन’ क्याफेमा पुस्तक पढ्नुको कारण सुनाउँछन् उनी, ‘क्याफेमा कफी पिउँदै पुस्तक पढ्ने बानी लाग्यो, अहिले यहीं आएर पढ्न मन पर्छ ।’

किशोरावस्थादेखि नै पुस्तक पढ्ने बानी बस्यो, शाहिललाई । ‘सधैं पुस्तक किनेर पढ्न नसकिने’ उनले भने, ‘क्याफेमा पुस्तकहरू राखिएका हुन्थे, त्यहाँ गए कफीसँगै किताब पढ्न पाइने । अनि म किताब पढ्नकै लागि भए पनि क्याफे जान थालें ।’ त्यसपछि न हो उनलाई क्याफेमा गएर पुस्तक पढ्ने लत बसेको ।

अहिले सात वर्ष बित्यो, उनले क्याफेमा गएर नियमित पुस्तक पढ्न थालेको । महिनामा ३-४ पटक उनी पुस्तक पढ्न गइरहन्छन् । त्यस्तो बेला उनलाई लाइब्रेरी भएको क्याफे नै चाहिन्छ । ‘कफी पिउँदै मन लागेका पुस्तक पढ्न पाइन्छ’ उनले भने, ‘अहिले त लत नै यही लाग्यो ।’ र, त उनी फुर्सद भयो कि यस्ता क्याफेमा पुगिहाल्छन् ।

आफैं पनि कविता लेख्ने शाहिललाई फिक्सन पढ्न मन पर्छ । खास गरी अंग्रेजी नोबेल र पोइमहरू पढ्न रुचाउँछन् उनी । कहिलेकाहीं त उनी किताब पढ्न बस्दा समय वितेको पत्तै पाउँदैनन् । क्याफेमा बसेर पढ्दा एउटा यस्तै रोचक अनुभव उनले हामीलाई सुनाए ।

एक पटक उनी बिहान विराटनगरकै एक क्याफेमा छिरे । कफी लिएर पुस्तक पढ्न बसे । पुस्तक यति रोचक थियो कि उनले दिन वितेको पत्तै पाएनन् । पुस्तकमा उनी यति डुबेका थिए, त्यसबीच कति कप कफी मगाए समेत थाहा पाएनन् । ‘त्यो किताब मैले एक बसाइमै पढेर सिध्याएँ’ उनले सुनाए, ‘बिहान आठ बजे पढ्न बसेको, बेलुका ४ बजे मात्र उठें ।’ पुस्तक पढ्दाका यस्ता थुप्रै रमाइला क्षण छन्, उनीसँग ।

 क्याफे रिडिङ कल्चर

भक्तपुरको कौशलटारस्थित रिडर्स हब एण्ड क्याफेमा कफी पिउँदै पुस्तकका पानाहरूमा हराएकी थिइन्, २१ वर्षीया आकृति गौतम । टेबुलमा राखिएको कफी कतिबेला चिसो भइसकेछ, थाहै पाइनन् उनले ।

कफी र पुस्तकसँग अचम्मको प्रेम छ आकृतिको । क्याफेमा पुस्तक र कफी लिएर जब उनी पढ्न बस्छिन्, त्यो बेला बाहिरको दुनियाँसँग सम्पर्क टुटेको हुन्छ । कफीको स्वादले उनलाई नयाँ–नयाँ पुस्तकको दुनियाँमा लैजान्छ । ‘पुस्तक पढ्न बस्दा म हराएकी हुन्छु’ उनले भनिन्, ‘यस्तो बेला कफी चिसो भएको पनि थाहा नै हुँदैन ।’ पुस्तक पढ्न बस्दा चिसो कफी पिउनु परेको धेरै घटना छन्, उनीसँग ।

उनी पनि एकपटक पुस्तक पढ्न बसेपछि घन्टौं बिताउँछिन् । कहिले त बिहान आएर बेलुकासम्म पुस्तक पढेरै बसेको रोचक अनुभव पनि छ, उनीसँग ।

रिडर्स हब एण्ड क्याफेमा आकृति गौतम

बीएलएलबी पढिरहेकी उनी परीक्षा हुँदा पनि क्याफेमै आएर पढ्ने गर्छिन् । उनको रोजाइ नै पुस्तक भएका क्याफे हुन्छ । ‘क्याफेभित्रको शान्त वातावरणमा पढ्न मन लाग्छ’ उनी भन्छिन्, ‘बाहिर जस्तो यहाँ हल्ला हुँदैन, क्याफेमा बसेर पढ्दा एकदमै पिस फिल गर्छु । दिनभर कफी पिउँदै पढ्न बस्दा समय वितेको पत्तै पाउँदिनँ ।’

आकृतिले साहित्यिक कथादेखि फ्यान्टासीसम्म पढ्छिन् । पुस्तक पढ्नु उनका लागि जीवनलाई नजिकबाट चियाउनु, संस्कारका रहस्यमय कुराहरू थाहा पाउनु हो । पुस्तकले उनलाई बाहिर संसारबारे बुझाएको छ । ‘हाम्रा दैनन्दिनका दैनिकी भन्दा जीवनबारे नयाँ कुराबारे सिकाउँछ’ उनी भन्छिन्, ‘मानवीय संवेदनासँग नजिक गराउँछ ।’ कहिलेकाहीं उनी कफी पिउँदै पुस्तकबारे साथीसँग कुरा गरिरहेकी हुन्छिन् । कहिले साथीहरूसँग पनि पुस्तकहरू पढ्ने गर्छिन् । कहिलेकाहीं चाहिं उनी एक्लै बसेर पढिरहेकी हुन्छिन् ।

 पुस्तकले जोड्ने सम्बन्ध

बानेश्वरका धिरज जोशी पनि शंखमूलस्थित उजामा क्याफेमा प्रदीप रोदनको मफलर पढ्दै गर्दा भेटिए । ५-६ महिना यता उनी उजामा क्याफेमा नियमित पुस्तक पढ्नै भनेर गइरहेका छन् ।

उनी पुस्तक पढ्न मात्र होइन, क्याफेमा हुने छलफल र विमर्शहरूमा पनि सहभागी हुन रुचि राख्छन् ।

‘क्याफेमा पुस्तक पढ्नेहरूको एउटा सर्कल नै भइसकेको हुन्छ’ उनले भने, ‘क्याफेहरू पुस्तक पढ्ने थलो मात्र होइनन्, सम्बन्ध पनि जोड्छ । आफूले पढिरहेको पुस्तक कसैले पढिरहेको छ, पुस्तकबारे कुरा हुन्छ, सम्बन्ध पनि जोडिंदै जान्छ ।’

धिरज जोशी पुस्तक पढ्न मात्र होइन, क्याफेमा हुने छलफलमा पनि सहभागी हुन रुचि राख्छन्

राजनीतिक विचार, दर्शन जस्ता पुस्तकमा रुचि राख्ने उनी कहिलेकाहीं पक्ष लिएर गरिने विमर्श झन् रोचक हुने सुनाउँछन् । ‘कहिले आफू लेफ्टिस्, कहिले राइटिस् भएर पक्ष–विपक्ष लिएर तर्क–विमर्श गर्दा छुट्टै रमाइलो हुन्छ’, उनी सुनाउँछन् ।

धेरैलाई एकै ठाउँमा बसेर पुस्तक पढेको देख्दा बोरिङ लाग्न सक्छ, तर यसरी पुस्तक पढ्दाको रमाइलो भने छुट्टै हुन्छ । उनले किताब पढ्दाको एउटा रोचक अनुभव हामीलाई यसरी सुनाए ।

मध्य हिउँदको कुनै एक साँझ हुनुपर्छ । उनी कफी लिएर कविता पढ्दै थिए । कविता एकदमै सुन्दर थियो । कविताका ती हरफ उनलाई पढेरै सुनाउन मन लाग्यो । तर छेउछाउमा कोही भए पो ! उनलाई भने नसुनाई भएको थिएन । अनि उनले क्याफेकै वेटर बहिनीलाई बोलाएर कविता सुनाए । ‘एकदमै रमाइलो क्षण थियो, त्यो’ एकछिन हाँसे र ठट्टा गर्दै भने, ‘पुस्तक पढ्ने मान्छे अलि स्टुपिट् नै हुन्छन् !’

‘क्याफेमा बसेर पढ्दाको रमाइलो के भने, कफीमा हुने क्याफिनको मात्राले दिनभर ताजगी राख्छ । कफी चिसो नै किन नहोस्; बोरिङ बनाउँदैन’, उनले भने ।

यसरी पढ्न बस्दा निश्चित समय नहुने उनी बताउँछन् । ‘कहिले घन्टौं पढिन्छ, कुनै दिन पढिंदैन पनि’ उनले सुनाए, ‘कहिलेकाहीं एकै लटमा पुस्तक पढेर सकिन्छ । कहिले दुई तीन पाना पढेर उठिन्छ । कहिले बिहान पढ्न बसेको, रात नै परिसकेको हुन्छ ।’ उनका लागि लाइब्रेरी सहितका क्याफेहरू युवा जमात भेला हुने ठाउँ र खुसी साट्ने थलो पनि हो ।

 कफी र किताब

तन्नेरी युवा पुस्ताका रोजाइ बनिरहेका छन्, काठमाडौंका लाइब्रेरी सहितका क्याफेहरू । पुस्तक राखिएका यी क्याफेहरूमा किताब पढ्ने एक खालका युवाहरूको जमात नै हुन्छ । कफी पिउँदै उनीहरू अक्सर घन्टौं पुस्तक पढिरहेका भेटिन्छन् ।

प्रायः क्याफेमा कफीसँगै भेटिने पात्र हुन्, निशा बानियाँ । उनी कफी लिएर मात्र पढ्न बस्छिन् । उनलाई किताब र कफीको छुट्टै प्रकारको सम्बन्ध छ जस्तो लाग्छ । उनी पनि प्रायः कफी पिउँदै पुस्तक पढिरहेकी हुन्छिन् । किताब र कफीको अनौठो सम्बन्ध छ जस्तो लाग्छ, उनलाई । ‘कफीमा हुने क्याफिनले ताजगी बनाइराख्छ’ उनले भनिन् । दिनभर किताब पढेर बस्दा पनि बोरिङ बनाउँदैन । कफी पिउँदै दिनभर किताब पढेर बसेको इतिहास छ, उनीसँग ।

नेपालगञ्जकी प्रेक्षालाई पुस्तक पढ्न लाइब्रेरी भन्दा क्याफे नै मन पर्छ । कफी पिएर पुस्तक पढ्न बस्नु उनका लागि सेलिब्रेसन भन्दा कम होइन । ‘रिडिङ बुक्स विइथ कफी इज लाइक, अ काइण्ड अफ सेलिब्रेसन’, उनी भन्छिन् । कफीले गर्दा पुस्तक पढ्दा एकाग्रता बढ्ने भएकाले पुस्तकभित्र डुब्न मद्दत गर्ने प्रेक्षाको बुझाइ छ ।

शाहिल पोखे्रलको बुझाइमा कफी र किताब एक–अर्काका परिपूरक हुन् । त्यसैले त उनलाई किताब र कफी सँगसँगै चाहिन्छ । किनभने पुस्तक मात्र पढ्नलाई त लाइब्रेरी पनि जान सकिन्थ्यो । तर क्याफे नै किन त ? हामीले उनलाई सोध्यौं । जवाफमा उनले हाँस्दै सुनाए, ‘लाइब्रेरीमा कफी पाइँदैन नि त !’

पाठककै लागि खोलिएका क्याफे

राजधानीमा लाइब्रेरी सहित खोलिएका क्याफे पाठककै लागि हुन् । जस्तो कि, ‘रिडर्स हब एण्ड क्याफे’ । भक्तपुरको कौशलटार, ललितपुरको हात्तीवन र काठमाडौंको टोखामा गरी तीन ठाउँमा रिडर्स हब सञ्चालनमा छन् ।

पाठकमै केन्द्रित गरी खोलिएको क्याफेको नाम पनि रिडर्सकै नामबाट जुराइएको रिडर्स हब एण्डका क्याफेका सञ्चालक अनुप आचार्यले सुनाए । भन्छन्, ‘पुस्तक पढ्ने र क्रियटिभ काम गर्न रुचाउनेहरूका लागि भनेर पाठककै नामबाटै राखेका छौं । क्याफेभित्रको वातावरण पनि पाठकमैत्री छ ।’

रिडर्स हबमा लाइब्रेरी त छँदैछन्, त्यसमा पनि अध्ययन गर्ने पाठकका लागि भनेर छुट्टै ठाउँ नै बनाइएको छ । भन्छन्, ‘शान्त वातावरणमा पढ्न चाहनेहरूका लागि क्याफे भित्र छुट्टै कक्ष नै बनाइएको छ । जहाँ शान्त भएर जति समय पनि पढ्न, लेख्न र काम गर्न सकिन्छ ।’ त्यति मात्र नभएर क्याफेमा पुस्तक सम्बन्धी छलफल, विमर्श, अन्तरक्रिया समेत हुने गरेको उनले सुनाए ।

शंखमूलस्थित ‘उजामा कफी एण्ड बेकरी विइथ लाइब्रेरी’का सञ्चालक लीलाराम खड्का पनि पुस्तक अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा युवा जमातलाई ध्यानमा राखेर खोलिएको सुनाउँछन् । उनी पढ्न आउनेका लागि छुट्टै कक्ष नै छुट्याइएको पनि बताउँछन् ।

उनका अनुसार पुस्तक पढ्नै भनेर आउने विशेष खालका पाठकले क्याफेमा आएर मनलागुञ्जेलसम्म पुस्तक पढेर बिताउन सक्छन् । ‘यहाँ आएपछि अर्डर गरेर केही खानै पर्छ भन्ने छैन’ उनले भने, ‘उहाँहरू दिनभर बसेर पुस्तक मात्र पढे पनि कुनै आपत्ति हुँदैन ।’

पाठकको चाहना र मागलाई हेर्दै क्याफेमा ५०० बढी पुस्तकहरू राखिएको बताउँछन्, उनी । उनका अनुसार क्याफेमा धार्मिक, इतिहास, मोटिभेसन, दार्शनिक, फिक्सनदेखि ननफिक्सन सबैखाले पुस्तकहरू राखिएका छन् ।

उनी क्याफेमा पुस्तक पढ्न आउने जमात देखेर आफू अचम्मित भएको पनि सुनाउँछन् । ‘सुरुमा क्याफे खोल्दा नेपालमा पुस्तक पढ्ने कति नै होलान् र जस्तोे लाग्थ्यो’ उनी भन्छन्, ‘तर पुस्तक पढ्ने जमात देखेर म आफैं अचम्मित भएँ ।’

उनले उजामा क्याफेमा मात्र पुस्तक पढ्न र पुस्तक सम्बन्धी छलफल, विमर्श गर्न आउने संख्या १५० भन्दा बढी भएको बताए ।

राजधानीका पाँच बढी क्याफेमा पुग्दा के थाहा भयो भने क्याफेमा पढ्न आउने अधिकांश तन्नेरी युवा छन् । खासगरी १५ देखि ३५ वर्ष उमेर समूहका युवा पुस्तक पढ्न क्याफेमा आउने गर्छन् । अर्काे के थाहा भयो भने उनीहरू नेपाली साहित्यभन्दा विदेशी पुस्तक बढी खोज्दै आउने रहेछन् । युवा पुस्ताको नेपाली भन्दा अंग्रेजी साहित्य नै रोजाइमा पर्ने रहेछ । तर नेपाली साहित्य पढ्ने जमात पनि कम छैन ।

क्याफे सञ्चालकहरू पनि पाठककै रोजाइ र माग अनुसार पुस्तकहरू थप्ने गरेको बताउँछन् । पुस्तक राखिएका यस्ता क्याफेहरूले युवाहरूमा पठन संस्कृति पनि बढाएको सञ्चालकहरूको बुझाइ छ । ‘क्याफेमा कफी र खाजा मात्र राखियो भने त्यही मात्र खान्छन्’ उजामा क्याफेका सञ्चालक लीलाराम भन्छन्, ‘तर किताब देख्यो भने एकछिन अल्झिन्छन् । किताबका पानाहरू पल्टाउन थाल्छन् ।

रिडर्स हबका सञ्चालक अनुप अहिलेको पुस्तालाई किताब पढ्ने कुरा सेलिब्रेसन जस्तै भएको बताउँछन् ।

क्रियटिभ स्पेस एण्ड ह्यापिनेश प्लेस

बोधी बुक्स एण्ड बेक्सका सञ्चालक जगन्नाथ लामिछानेले यस्ता क्याफेहरू व्यापार मात्र नभएर पठन संस्कृति बढाउने सोसल मुभमेन्ट भएको बताउँछन् । उनी यसलाई व्यवसाय मात्रै भन्दा पनि सोसल क्रियटिभ स्पेसका रूपमा खोलिएको बताउँछन् । भन्छन्, ‘कफी बेचेर पैसा कमाउने भन्दा पनि क्रियटिभ स्पेस र ह्यापिनेश प्लेसका रूपमा विकास गर्न खोजेका छौं ।’

भीडभाडको कोलाहलबाट मन भुलाउन र सिर्जनात्मक काम गर्नेहरूका लागि यस्ता क्याफेहरू खोलिएको बताउँछन्, उनी । ‘क्याफे भनेको कफी पिउने, खाजा खाने ठाउँ मात्र होइन’ उनले भने, ‘यहाँ आएर घन्टौं समय बिताउन पाइयोस् । खुसी साट्ने ठाउँको रूपमा यसलाई विकसित गर्न चाहन्छौं ।’

कफीका ज्ञाता एवं नेशनल कफी एकेडेमीका सञ्चालक डा. राजकुमार बञ्जारा कफी कल्चर कफी मात्र पिउने कुरा नभएको बताउँछन् । अझ पुस्तक पढ्ने कुरा क्याफे कल्चरसँग जोडिएको बताउँछन् उनी । ‘क्याफेमा कफीले दिने आनन्द र पुस्तकहरूको उपस्थितिले मानिसलाई सोसलाइज गर्ने र विचारहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्छ’ उनी भन्छन्, ‘जहाँ बसेर मानिसहरू आफ्ना अनुभव र भावनाहरू एकअर्कासँग साटासाट गर्न सक्छन् ।’

क्याफेका आगन्तुकले कुनै खानेकुरा अर्डर गर्नैपर्छ भन्ने छैन, आरमले पढ्न, लेख्न र अभ्यास गर्न पाउँछन्

कफीको चुस्कीसँगै पढ्ने र परीक्षा अभ्यास गर्नेहरुको पनि उपयुक्त गन्तव्य बनेको छ, क्याफे
तस्विर-भिडियो : शंकर गिरी
लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?