+

ओलम्पिक छनोट खेल्न तेक्वान्दो र पारा तेक्वान्दो टोली चीन जाने

२०८० फागुन  २७ गते २१:३९ २०८० फागुन २७ गते २१:३९
ओलम्पिक छनोट खेल्न तेक्वान्दो र पारा तेक्वान्दो टोली चीन जाने

२७ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ ।

पेरिस ओलम्पिकको तेक्वान्दव छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।

नेपाली तेक्वान्दो टोलीको प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ ।

यसैगरी पेरिस पारालिम्पिक छनोटअन्तर्गत के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पारा तेक्वान्दो टिमको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।

मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसंगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउदै खेलाडीको तयारी बारे चासो व्यक्त गरेका थिए । ‘छनोट प्रतियोगिता तपाईंहरुका लागि चुनौतीसंगै इतिहास दोहोर्‍याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दो बाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धी हासिल गर्नु भएको छ । उहाँहरु पछि तपाईंहरुलाई इतिहास रच्ने मौका छ ।’ सदस्य सचिव घिसिङले भने,‘निर्भिक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस् । खेलका दौरान खेलाडी मात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ ।’

‌ओलम्पिक तेक्वान्दो पारा ओलम्पिक पारा तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय